+
+
Shares

बिग्रिँदै गएको पार्टीलाई सच्याउन दिनरात खटिरहेको छु : प्रचण्ड

माओवादी पार्टी नुन खाएको कुखुराजस्तो बनिसकेको थियो भन्दै प्रचण्डले भने, ‘सुशासनको पक्षमा संकल्प गरेपछि भ्रष्टाचारको विरोधमा खरो बहस गर्न सक्ने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १५ गते १७:२९
Photo Credit : प्रचण्डकाे सचिवालय ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ।

१५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आधारभूत वर्ग भुलेर पार्टी बिग्रिँदै गएपछि सच्याउन आफू दिनरात खटिरहेको बताएका छन् ।

बर्दियाको राजापुरमा सोमबार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले सच्चिएर जनताको बीचमा पुग्न पार्टीका नेताहरूलाई आग्रह गरे ।

‘पार्टी बिग्रियो । नेताहरू बिग्रिए । हामीले आधारभूत वर्गलाई भुल्यौं । मैले आफूले पनि गल्ती गरें भन्ने महसुस भएपछि म अहिले दिनरात खटिएको छु,’ उनले भने, ‘केही गल्ती गरें भन्ने लागेपछि आफूलाई सच्याउँदै बदल्ने संकल्प गर्दै पछिल्लोपटक सरकार चलाउँदा सुशासनको पक्षमा अभियान पनि छेडे । अहिले दिनरात दौडिरहेको छु । जनताको बीचमा गइरहेको छु । अब अरु नेताहरू पनि सच्चिनुस् । आफ्नो वर्गलाई समाउनुस् ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले शहीद–बेपत्ता परिवारका कुरा सुन्न पनि पार्टीका नेताहरूलाई आग्रह गरे ।

‘त्यसले आफू बिग्रिएको थाहा हुन्छ । तिनको आँशुले आफूलाई बदल्न मद्यत गर्छ । आफूलाई सच्याउन, आफ्नो वर्गतर्फ फर्किन सहयोग गर्छ ।

जनयुद्धको तयारीको समयदेखि नै बर्दियाका थारु समुदाय, मजदुर र किसानले हामीमाथि ठूलो भरोसा राख्नुभयो । जनयुद्धको अवधिभर बर्दिया आधार इलाका थियो । तर, क्रान्तिको बलियो किल्ला बनेको थारु समुदायमा पार्टी छिन्नभिन्न भयो । किनभने, माओवादी पार्टी बिग्रियो । यसका नेता बिग्रिए,’ उनले थपे, ‘अब थारु समुदाय, शहीद र बेपत्ता परिवार, मजदुर र किसानलाई केन्द्रमा राख्नुस् । गहिरो आत्मसमीक्षा गर्नुस् र सच्चिनुस् योभन्दा विकल्प छैन ।’

नेकपा माओवादी केन्द्रले बर्दियाको राजापुरमा सोमबार आयोजित गरेकाे जनसभा । तस्वीर : प्रचण्डकाे सचिवालय ।

उनले केही महिनाअघिसम्म माओवादी पार्टी नुन खाएको कुकुराजस्तो बनिसकेको थियो भन्दै आफूले सुशासनको लागि संकल्प गरेर सरकारको नेतृत्व गरेपछि माओवादी नेता–कार्यकर्ता खुल्ला बहस गर्न सक्ने अवस्थामा पुगेको बताए ।

‘माओवादी नुनखाएको कुखुराजस्तो भइसकेका थियौं । अहिले चोकचोकमा बसेर हामी भ्रष्टाचारविरोधी, सुशासनको पक्षधर भनेर खुल्ला बहस गर्न सक्ने अवस्था ल्याइएको छ । अब लगातार जनताको बीचमा गए दुई वर्षपछि २०८४ मा २०६४ को जस्तो अवस्था ल्याउन सकिन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?