
केही समय पहिले मात्र बितेको महिना (फागुन २०८१) देखि एउटा थप नयाँ पुस्तक बजारमा देखा पर्यो , ‘आश्रय, सुरक्षा र सम्पर्कका सारथि भुइँमान्छे’ । झट्ट शीर्षक पढ्दा समाजशास्त्रीय गैर–आख्यान जस्तो महसुस हुने भए पनि खासमा विन्दा पाण्डेले लेखेको यस किताबले मनग्गे राजनीति बोलेको छ (त्यस कारण यो राजनीतिक किताब हो) ।
यसभित्र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) –नेकपा (एमाले)– को स्थापना, पृष्ठभूमि, भूमिगत काल, विकासक्रम, आदि तमाम पक्ष हुँदै वर्तमानसम्मका प्रमुख घटना–विवरणहरूबारे मूलभूत तथ्यहरू पढ्न सकिन्छ ।
कुन कुन पार्टी कहिले र के कस्तो अवस्थामा एकीकृत हुँदै अहिलेको विशाल नेकपा (एमाले) बन्यो भन्ने पनि यस किताबमा पढ्न पाइन्छ । यद्यपि यति धेरै तथ्य–पक्षहरू पस्किएको भए पनि एमालेसँग जोडिएर बाहिरिएका अनेकानेक विवादहरूबारे भने किताब मौन छ (शायद किताब लेखकको उद्देश्य त्यो होइन पनि होला) ।
किताब छापिएर बजारमा आएपछि जति खुसी लेखक विन्दा पाण्डे छन्, त्यत्तिकै प्रसन्न ती आम मानिसहरू पनि भएका छन्, जसले हिजोको दलविहीन अवस्थामा भूमिगत कार्यरत कम्युनिस्ट नेता–कार्यकर्ताहरूलाई सम्पूर्ण रूपले आश्रय दिए, र जसलाई लेखक पाण्डेले ‘भुइँमान्छे’ भनेर पुकारेकी छन् ।
एउटा रोचक र उल्लेख गर्नै पर्ने तथ्य पनि छ किताबमा– यो किताब छापिएर आउँदा सम्बन्धित सर्वसाधारण जनहरू त खुसी छन्, आफ्नो वा आफूसँगै भूमिगतकालमा काम गरेका साथी र सहयोगीहरूको पनि कम्तिमा नाम त इतिहासले सम्झिने भयो ! तर ती कुनै पनि ‘भुइँमान्छे’ले सत्तासीन हुन पुगेको त्यही आफ्नै पार्टी वा पार्टीको नेतृत्वप्रति भने केवल असन्तुष्टि, निराशा, गुनासा, दुःखेसा र उदेक मात्र व्यक्त गरेका छन् ।
विगतमा हाइस्कूल पढिरहेकै बेलादेखि पञ्चायती व्यवस्थाविरोधी राष्ट्रिय विद्यार्थी राजनीतिमा लागेर हुर्के–बढेकी नुवाकोटे विदुषी विन्दा पाण्डे लामो समयदेखिको सोच, भ्रमण, अध्ययन, अनुसन्धान र विस्तृत संवादजन्य भेटघाट आदि सबैको एकमुष्ट नतिजाका रूपमा आफ्नो यो नयाँ पुस्तक सार्वजनिक गर्न सफल भएकी हुन् ।
किताबको सन्दर्भमा भए गरेका भेटघाट र कुराकानीको समय सीमा हेर्दा पछिल्ला चार वर्ष (वि.सं.२०७७–०८१) अलि बढी व्यस्त देखिए पनि यो सिलसिला वि.सं.२०७० देखि नै शुरु भइसकेको देखिन्छ । अर्थात, यो किताब लेखनको बीजाङ्कुरण विन्दाको मस्तिष्कमा एक दशकभन्दा पनि पहिलेदेखि नै भएको थाहा हुन्छ । अर्को अर्थमा, यो किताब विन्दाको ‘ड्रीम प्रोजेक्ट’ जस्तो छ ।

किताबको शुरू अध्यायतिरै पाण्डेले एउटा सन्दर्भ उल्लेख गरेकी छन्, ‘लामो आन्दोलनबाट मुलुकमा लोकतन्त्र, गणतन्त्र र स्वतन्त्रता आयो त भनियो तर यो गरिबको गाउँबस्तीसम्म पुग्न सकेको छैन । जुन गरिब बस्तीमा बसेर पार्टी निर्माण भयो र पटक पटक सरकारमा पनि पुग्यो, ती गरिब परिवारले अझै पनि घर र जमिनको लालपुर्जा पाउन सकेका छैनन् । गाउँमा नजिकै विद्यालय छैन । कचुरीका बालबालिका पल्लो गाउँको विद्यालय जाँदा कक्षामै जातीय छुवाछूत र विभेदको व्यवहार गरिन्छ । यस कारण बालबालिका विद्यालय जान मान्दैनन् । यस्तो अवस्थामा पनि न विभेद गर्नेलाई राज्यले सजायको दायरामा ल्याउँछ, न त दलित बस्तीमा विद्यालयको व्यवस्था गर्छ ।’ (पृ.८७)।
यो सन्दर्भ धनुषा जिल्लाको एउटा दूर–दराजको गाउँ ‘ठेरा कचुरी’ का बासिन्दाहरूको हो, जुन गाउँका दलितबहुल चरम अभावग्रस्त गाउँलेहरूले पञ्चायतकालमा अहिलेको एमाले दलका तत्कालीन शीर्ष भूमिगत नेताहरूलाई खाने, बस्ने र पूर्णसुरक्षा दिएर राखेका थिए ।
अनि स्थानीयदेखि केन्द्रीय स्तरका महत्वपूर्ण बैठक, भेला र सम्मेलनहरूको आयोजना एवं व्यवस्थापन समेत गरेका थिए । तर अहिले गणतन्त्र नै आइसकेको समयमा पनि गाउँ र गाउँलेहरूको अवस्था उनीहरूकै मुखबाट निस्केका शब्दहरूमा किताबमा पढ्न सकिन्छ, जबकि उनीहरूले आफूलाई बिर्सेर सबैथोक न्यौछावर गर्दै सहयोग पुर्याएका नेताहरू महलमा बस्ने भएका छन् र सबै किसिमका सुख–सुविधा उपभोग गरिरहेका छन् । तर ती गाउँ र गाउँबासीहरूतिर फर्केर हेर्न पनि आफ्नो अपमान हुने जस्तो गर्छन् !
यस्तै–यस्तै सन्दर्भ र प्रसङ्गहरूले किताब भरिएको छ । पुष्पलाल श्रेष्ठको अगुवाइमा वि.सं.२००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएदेखि विभिन्न विवाद र टुटफुट ब्यहोर्दै विविध एकीकरण गर्दै–हुँदै अहिलेको एमाले पार्टी बन्ने सिलसिलामा लामो समय भूमिगत बसेका सन्दर्भहरू, विभिन्न स्थानमा जमिनदारविरुद्ध भएका किसान विद्रोहहरू, भूमिगतकालमा दलहरू प्रतिबन्धित अवस्थामा रहेको भए पनि विद्यार्थीदेखि मजदुर–किसान–महिला–चिकित्सक–शिक्षक–प्राध्यापक–वकिल–नर्स–लेखक–गायन कलाकार–युवा आदि समाजका हर तह र तप्कामा वर्गीय संगठनहरूको निर्माण गर्दै व्यापक जनस्तरमा विस्तारित र बलियोसँग स्थापित हुन सकेका प्रसङ्गहरू किताबमा पढ्न पाइन्छ ।
छयालीस साल चैतमा तीस वर्ष लामो निर्दलीय पञ्चायती व्यवस्था निर्णायक तवरले ढल्नु पहिलेसम्म पार्टीमा लागेका र कुनै पनि तहमा रहेर (वा, नरहेरै पनि) पार्टीको काम गर्ने या पार्टीलाई एक वा अर्को किसिमले सहयोग गर्ने मानिस (भुइँमान्छे) हरूमा अनौठो जुनून थियो, जसले गर्दा भूमिगत कम्युनिस्ट नेता र पार्टीका गतिविधिहरूको सुरक्षाका लागि ती भुइँमान्छेहरू चरम जोखिमलाई हाँक दिन्थे, जमिनदार वा उसका लठैतहरूको यातना सहन्थे, प्रहरी र मण्डलेहरूको हप्की–दप्की–प्रताडना ब्यहोर्थे, आफूहरू र आफ्ना चिचिला बालबच्चा समेतलाई भोकै राखेर भए पनि भूमिगत नेताहरूका लागि खाने व्यवस्था मिलाउँथे, ज्यालादारी वा बेठबेगारीमा काम गर्न गएको बेला आफूलाई दिइएको खाजा जोगाएर ल्याएरै भए पनि नेताहरूलाई खुवाउँथे, आफूले च्यातिएका कपडा लगाएर पनि नेताहरूलाई सफा र नच्यातिएका कपडा लगाउन समेत दिन्थे आदिआदि भन्ने जस्ता अनेक तथ्य पनि किताबले छर्लङ्ग पार्दछ ।
जिन्दगीका धेरै वर्ष नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुमा रहेर राजनीति गर्दै आएकी विन्दाले महाविद्यालयीय अध्ययन सकिएपछि उस्तै गरी थुप्रै वर्ष पार्टीको मजदुर सङ्गठन नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को नेतृत्वमा रहेर काम गरिन् । जिफन्टको कामको सिलसिलामा केही वर्ष हङकङ पनि बसिन् । लामै समय थाइल्याण्ड बसेर उच्चस्तरीय अध्ययन गरिन्, र, समयक्रममा विद्यावारिधि (पीएचडी) पनि हासिल गरिन् ।
अरू धेरै देश–देशावरमा पनि भ्रमण गर्ने, लामो वा छोटो अवधि बस्नु पर्ने, त्यत्तिकै धेरै पढ्नु पर्ने र त्यसभन्दा बढी त मजदुर–विषयक विविध पक्षहरूमाथि कार्यपत्र आदि लेख्नुपर्ने गर्दा–गर्दै उनमा तीव्र लेखन–रुचि विकसित हुँदै गयो । जिफन्टसँगै उनी पार्टीको महिला फाँट अखिल नेपाल महिला संघमा पनि सक्रिय भइरहिन् । स्वयं पार्टीभित्र पनि उनी केन्द्रीय नेता हुन पुगिन्, र, एक कार्यकाल (वि.सं.२०७४–२०७९) संघीय (समानुपातिक) सांसद भएर पनि समयको सदुपयोग गर्न भ्याइन् ।
(एउटा चाखलाग्दो तथ्य के पनि हो भने वि.सं.२०८१ मा भाटभटेनी डिपार्टमेन्ट स्टोर चेनका स्वामी मीनबहादुर गुरुङले कीर्तिपुरमा एक अर्ब रुपैयाँभन्दा बढी लगानी हुने गरी चौध रोपनी जग्गा दान गर्दै केन्द्रीय कार्यालय भवन समेत निर्माण गरीदिने भनी ‘दान दिएको’ सन्दर्भ बाहिरिएपछि र पार्टी अध्यक्ष खड्गप्रसाद ओलीको एकल निर्णयबाट कार्यालय भवनको शिलन्यास समेत भएपछि विन्दाले सामाजिक सञ्जालमा लेखेर आफ्नो असहमसति र असन्तुष्टि पोखेकी थिइन् ।
त्यसकै फलस्वरूप उनलाई एक अक्षर बोल्न नदिई पहिले स्पष्टीकरण मागिएको थियो र लगत्तै पछि त्यो स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई (उषाकिरण तिमल्सिनालाई पनि) पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीबाट छ महिनाका लागि निलम्बन गरिएको थियो ! त्यही प्रकरणमा एमालेका दिग्गज नेता भीम रावललाई पार्टीबाटै निकाला गरिएको थियो !
उता, ‘एमालेको पार्टी राजनीतिका अतिरिक्त अन्य केही काम नजानेकी’ विन्दाले यो अप्रत्याशित, अकल्पनीय एवं स्तब्धकारी कारवाहीको समयमा आफूलाई अवसाद वा डिप्रेशनको भुमरीमा पर्न दिइनन् बरु त्यसलाई अझ शानदार सदुपयोग गर्दै गज्जबको किताब निकाल्ने कार्यलाई निर्णायक रुवरूप दिन प्रयोग गरिन् ।
विन्दाको अध्ययन, कार्यक्षेत्र र सम्पर्क व्यापक हुँदै गयो । अनि लेखनका लागि पनि उनको फलक ठूलो र फराकिलो बन्दै आयो । फलस्वरूप उनी एकपछि अर्को किताब लेख्न अग्रसर भइन्, र ‘समानताका पाइला’, ‘धर्तीमाथिको दावी’, ‘संसदीय राजनीतिमा लैङ्गिक सहभागिता’ आदि किताब छपाइन् पनि । अझ उनको एउटा किताब ‘वीमिन इन नेपाली पोलिटिक्स’ त अङ्गेजी भाषामा पनि छापियो । यही अग्रसरताकै पछिल्लो कडी हो यो पुस्तक, ‘भुइँमान्छे’ ।
‘पूर्वाधार’, ‘सन्दर्भ–सामग्री’ र ‘अनुसूचीहरू’ गरी तीन सहायक शीर्षकका अतिरिक्त यस किताबमा पाँच भाग छन् । तीमध्ये पहिलो भाग शीर्षक ‘नेकपा स्थापना : विकास र विस्तार’ अन्तर्गत उनन्तीस उप–शीर्षक, दोस्रो भाग शीर्षक ‘पुनर्गठन प्रक्रियामा कम्युनिस्ट आन्दोलन’ अन्तर्गत दुई ओटा उप–शीर्षक, तेस्रो भाग शीर्षक ‘नेकपा (माले) गठन र विकास’ अन्तर्गत अठार उप–शीर्षक, चौथो भाग शीर्षक ‘पार्टी निर्माणको जगमा केही भुइँमान्छे’ अन्तर्गत यही एक मात्र शीर्षक र पाँचौं भाग शीर्षक ‘पार्टीसँग जोडिएका केही अनुभव, केही अनुभूति’ अन्तर्गत आठ उप–शीर्षक समेत जम्मा अन्ठाउन्न उप–शीर्षक समेटेर समग्र किताब जम्मा २२+४०४=४२६ पृष्ठमा विस्तारित छ ।
साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि., काठमाडौंले प्रकाशन गरेको यस पुस्तकलाई होम भट्टराईले सम्पादन गरेका छन् । बिक्री मूल्य ८५० रुपैयाँ रहेको यस किताबमा भएका सात ओटा अनुसूची क्रमशः ‘२०३३ चैत १२ गते नक्खु जेलबे्रक गरी निस्किएका राजबन्दी’, ‘पहिलो आमनिर्वाचन (२०१५) मा नेकपाका उम्मेदवार’, ‘राष्ट्रिय पञ्चायतको निर्वाचन (२०४३) मा जनपक्षीय उम्मेदवारको उपलब्ध सूची’, ‘स्थानीय पञ्चायतको निर्वाचन (२०४३) मा निर्वाचित जिल्ला पञ्चायतका जनपक्षीय सभापति÷उपसभापति’, ‘२०४३ सालमा गाउँ–नगर पञ्चायतमा निर्वाचित जनपक्षीय प्रधानपञ्च÷उपप्रधानपञ्चहरूको उपलब्ध सूची’, ‘२०२८ देखि २०४६ सम्म कोके हुँदै नेकपा (माले) निर्माणका सन्दर्भमा पूर्णकालीन भूमिगत भएका नेता–कार्यकर्ताको उपलब्ध सूची’, र, ‘नेपाल अधिराज्यको संविधान, २०४७ माथि नेकपा (माले) द्वारा प्रस्तुत आलोचनाका सत्ताइस बुँदा’ आदिले आफैँमा राजनीतिक इतिहासको एउटा–एउटा महत्वपूर्ण अध्याय बोकेका छन् ।
यससँगै पार्टीमा महिला सहभागिताको सन्दर्भ पनि उनले उठाउँदै अगाडि बढेकी छन् । कम्युनिस्ट पार्टीको शीर्ष नेतृत्व तहमा महिला पुगेको भनेकै वि.सं.२०४७ पुस २७ गते तत्कालीन नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच एकीकरण भएर नयाँ पार्टी नेकपा (एमाले) बनेपछि गठित त्यसको पोलिट ब्यूरो सदस्यमा तत्कालीन वाममोर्चाकी अध्यक्ष सहाना प्रधानको चयन हुनु हो ।
अर्थात्, वि.सं.२००६ मा स्थापना भएको नेकपाको केन्द्रीय नेतृत्वमा एक जना भए पनि पुग्न महिलाले चालीस वर्ष कुर्नु परेको थियो ! विडम्बना, त्यसपछि पनि (अहिले वर्ष वि.सं.२०८२ चलिरहँदा) बितेका चौवालीस वर्षमा नेकपा (एमाले) को नेतृत्वमा महिला उपस्थिति नगण्य मात्र छ, त्यही पनि अध्यक्ष र महासचिव जस्तो महत्वपूर्ण पदमा कहिले पुग्ने हो भन्ने सवाल त अनुत्तरित नै छ ।
किताबमै एक ठाउँमा लेखक विन्दा आफ्नै अनुभव र बुझाइ राख्दै भन्छिन्, ‘अप्ठ्यारो अवस्थामा यसरी आन्दोलन, घर र परिवार सबै धान्न सक्ने महिलाहरूलाई स्थिति साम्य हुँदै जाँदा जब पद, सेवा र सुविधाको कुरा आउँछ, अनि पार्टी, समाज र घरपरिवार समेतले अयोग्य र अक्षम ठान्न थाल्छ । वि.सं.२०१७ सालमा पञ्चायतको शुरुवातदेखि २०४६ सालको जनआन्दोलनसम्म पार्टी निर्माणमा हरतरहले योग्य र सक्षम महिलाहरू आन्दोलनको सफलतापछि राज्यसत्ता र पार्टीसत्ताका विभिन्न पद, सेवा र सुविधाका लागि अवसर आउँदा क्रमशः अयोग्य र अक्षम ठानिए ।’ (पृ.२३१) ।
किताब ‘भुइँमान्छे’ भित्रकै कुरा गर्दा, नुवाकोटबाट बसाइँ सरी हेटौंडा पुगेर भूमिगतकालीन समयदेखि नै पार्टी काममा क्रियाशील चौरासी वर्षीय कृष्णप्रसाद नेपालको उल्लेख छ । उनले लेखक पाण्डेसँग आफ्नो अनुभूति पोख्दै भनेका छन्, ‘दुःखद् कुरा, बहुदल आएपछि भौतिक पूर्वाधार त केही विकास भयो तर मानवता हराउँदै गयो । हिजोका दिनमा तय गरिएको लक्ष्य अनुसार पार्टी सञ्चालन भइरहेको छैन । अराजकता बढ्यो । नेतृत्वको प्रवृत्ति पनि ठीक भएन । पार्टीमा गरीखानेको भन्दा ठगीखानेको वर्चस्व हुन थाल्यो । हुँदा खाने बढारिए, हुनेखानेलाई मात्र अवसर दिन थालियो । पटक पटक आफ्नै पार्टीको सरकार बन्दा पनि गर्वका साथ छाती पिटेर राम्रो काम गर्यो भन्न पाइएन । खै यो कसरी सुध्रिएला ?’ (प.१०९) ।
त्यसै गरी अर्को एक सन्दर्भमा, महोत्तरीको कालापानी क्षेत्रका जनसाधारणको अनुभवमा, ‘तर, उपल्लो तहमा रहनुभएका र भूमिगत कालमा यो भूमिले जोगाएका नेताहरू अहिले भेट्न जाँदा समेत तर्कन खोज्नुहुन्छ । यो सबैभन्दा दुःखको कुरा हो । हामीले व्यक्तिगत रूपमा केही मागेका छैनौं । भूमिगत कालमा त्यत्रो दुःख गर्ने मानकुमारी दिदीको नाममा एउटा सामुदायिक स्मृति भवन बनाइदिन आग्रह गर्दा समेत नपाउनु पार्टी निर्माणका पक्षमा विगतमा यस क्षेत्रले गरेको त्यो योगदान र लगानीको पनि अपमान हो भन्ने हामीलाई अनुभूत भएको छ ।’ (पृ.१७५) ।
महोत्तरीकै अर्की एक जना आश्रयदाता तुला लायो मगरले लेखकलाई भनिन्, ‘त्यतिखेर नेताहरू ‘नेता बिग्रन सक्छन् तर नीति बिग्रँदैन कमरेड’ भन्नुहुन्थ्यो । अहिले भोगिँदै छ । त्यति दुःख गरेर बनाएको पार्टी सत्तामा पुगेपछि नेताहरूकै स्वार्थमा पटक पटक टुक्रियो । यसले चित्त दुःखेको छ । ‘गरीबको दिन ल्याउँछौं’ भनेर आशा बाँड्नुभयो । आफ्नो गास काटेर खुवायौं । सन्तानको आङ नाङ्गो हुँदा पनि ज्याला गरेको पैसा उठाएर पहिला नेताका आङ ढाक्न कपडा किनिदिन्थ्यौं । आफ्ना साना नानीलाई भन्दा बढी नेतालाई मायाले राख्यौं । उनीहरूका लागि के मात्र गरेनौं ? तर नेता साँच्चै बिग्रँदा रहेछन् । आज जनता र पार्टीमाथि घात भएको छ । निजी स्वार्थका लागि जनतामाथि विश्वासघात गर्ने नेताहरूलाई धिक्कार भन्नु भन्दा के गर्न सकिन्छ र !’ (पृ.१७५) ।
‘पार्टी निर्माणको जगमा केही भुइँमान्छे’ शीर्षक अध्यायमा लेखकले आजको नेकपा (एमाले) धेरै भुइँमान्छेको श्रम, साधनस्रोत, समय र सपनाले सिञ्चित भएको औंल्याउँदै पार्टीका केन्द्रीय स्तरका बैठक र भेला गर्ने स्थान, भूमिगत नेता–कार्यकर्ताका लागि आश्रयस्थल मात्र नभएर लाउने, खाने र सुरक्षाको जिम्मेवारी निर्वाह गरेका ती अनगन्ती आश्रयदातामध्ये केही प्रतिनिधि पात्रबारे उल्लेख गरेकी छन् ।
यस्ता पात्रहरूमा झापाकी हरिमाया बराल, छायादेवी र इन्दिरा चापागाईं, चितवनकी सुकमाया दराई, धादिङकी बालकुमारी थपलिया, कास्कीकोटकी हरिकला सुबेदी, नवलपरासीकी विष्णुमाया सुबेदी, रुपन्देहीकी शकुन्तला चमार, सावित्री न्यौपाने, सुशीला न्यौपाने, मकवानपुर फाखेलकी ठूली बल र सानुकान्छा लामा, इलामकी पिङ्गलादेवी बराल, मकवानपुर हटियाकी बालकुमारी थापा, विष्णुकुमारी राई, मोरङका भक्तबहादुर आले ‘मनोहर’, धनुषाको मुढिवाका जगदेव र रामदेव गोहीवार लगायत रामआशीष पासवान, अशेश्वर मण्डल, दुःखी ठाकुर आदि समेत दर्जनौं सर्वसाधारण जन, धनुषाकै पुलकित ठाकुर, मोरङका टेकबहादुर राई, कास्कीका सूर्य अधिकारी र उनको परिवार, बाराकी समरियादेवी महरा (नानी), इटहरीकी लक्ष्मीदेवी निरौला, स्याङ्जा गोलादीकी नर्मदा खराल, महोत्तरी कालापानीकी मानकुमारी बलामी, अर्घाखाँचीकी चुमकला बन्जाडे, काभ्रेको भैंसेपाटीका उद्धव केसी, सोलुखुम्बुकी लालमाया राई आदि छन् ।
किताबमा यी पात्रसमेत अनेक जनका योगदान र विविध अनुभवबारे पढ्न पाउँदा रोमाञ्चक अनुभव हुन्छ । एउटा अनुभव, जुन चुमकला बन्जाडेसित घटेको छ, अत्यन्त दारुण छ । उनको भनाइ छ, ‘हाम्रो सामान्य श्रमजीवी परिवार भएकाले कुखुराको अन्डा बेचेर नुन, तेल, मसला गर्नुपथ्र्यो । एक दिन म कुखुराको अन्डा लिएर बजार जान लागेकी थिएँ । सानो छोराले एउटा अन्डा खान माग्यो । ‘बजारबाट सामान ल्याउन पुग्दैन, कहाँ तिमीलाई दिनु’ भन्दै म सबै अन्डा बोकेर बजार हिँडें । बजारबाट फर्कंदा त्यो अबोध बालक अन्डा पार्ने बेलामा कुखुरा बस्ने टोकरीमा बसिरहेको रहेछ । ‘किन त्यहाँ बसेको ?’ भनेर सोध्दा उनले भने, ‘तपाईंले अन्डा दिनुभएन । अब म आफैँ पार्छु, आफैँ खान्छु ।’ बच्चाको मनोविज्ञान– पराल राखेको टोकरीमा बसेपछि अन्डा पर्छ । त्यो देख्दा मन कटक्क खायो । तर, मेरो बाध्यता, परिवारको खानपान र आएका नेता–कार्यकर्तालाई खुवाउने दायित्व काँधमा थियो ।’ (पृ.३०८) ।
किताबमा अहिलेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष खड्गप्रसाद ओलीको प्रसङ्ग दुई–तीन ठाउँ मात्र आउँछ, त्यो पनि निकै थोरै मात्र । एक ठाउँ उल्लेख भए अनुसार, कुनै पूर्वेली तराई जिल्लामा अत्यन्त गोप्य ढङ्गमा सबै शीर्ष नेताहरूको सहभागितामा पार्टीको महत्वपूर्ण केन्द्रीय भेला हुन गइरहेको थियो । सबै जना भित्र भेलास्थलमा शान्तसँग बसिरहेका थिए तर ‘छुकछुके स्वभाव भएका’ भनेर चिनिने खड्गप्रसाद भित्र–बाहिर गरिरहेका थिए । अन्य सबैले त्यसो नगर्न र थपक्क भित्र बस्न भनिरहँदा उनले मानिरहेका थिएनन् । तर नेता मदन भण्डारीले एक पटक ‘तपाईं धेरै नहिँड्नोस् त’ भनेर भन्ने बित्तिकै उनले त्यसरी भित्र–बाहिर गर्न छाडेर अन्य नेता–कार्यकर्ताहरूसँगै भित्र भेलास्थलमा बसेका थिए । (पृ.२१४) ।
योसँगै किताबले दिवंगत नेता मदन भण्डारीलाई ‘असाधारण व्यक्तित्व’ का रूपमा चित्रण गरेको छ । भण्डारीमा सम्पूर्ण नेतृत्व क्षमता रहेको र उनी पार्टीभित्र मूल पार्टी नीतिसित सहमत असहमत हुने जोसुकैलाई मिलाएर लैजान सक्ने, गज्जबका वक्ता (पब्लिक ओरेटर), उम्दा संगठक र युगीन विचारक भएको अनुभूत गर्न सकिन्छ । अहिले नेकपा (एमाले) पार्टीले आफ्नो नीति भनेर पार्टी दस्तावेजहरू र चुनावी घोषणापत्रमा लेख्ने गरेका ‘जनताको बहुदलीय जनवाद’ का प्रवत्र्तक वा सूत्रधार उनै भण्डारी हुन् ।
यसै गरी ‘भुइँमान्छे’ किताबमा नेकपा (माले) का संस्थापक महासचिव सी.पी. मैनालीबारे पनि प्रशस्त पढ्न, जान्न र बुझ्न पाइन्छ । ‘वान एरिया, वान स्क्वाड, वान एक्शन’ भन्दै वि.सं.२०२९ मा शुरु भएर करीब डेढ वर्ष चल्दा सात जना जमिनदार मारेको झापा अभियानको समयदेखि लगभग एक दशकसम्म नेपाली कम्युनिस्ट आन्दोलनमा सी.पी.मैनालीको नाम बडो चर्चित एवं सम्मानित थियो ।
स्थिति यस्तो भए पनि उनमा आफ्नो विचार नै सबैले मान्नु पर्ने तर उनले अरूका विचार नमान्ने अथवा अरूका विचारसँग असहमत रहने प्रवृत्ति हावी रहेको तथ्य पनि ‘भुइँमान्छे’ किताबले प्रस्ट पार्दछ । पोलिट ब्यूरो वा केन्द्रीय कमिटीमा छलफल भएर त्यहाँ आफ्नो भन्दा फरक विचार ग्रहण भयो वा जारी भयो भने पनि पार्टी नीति विपरीत गएरै पनि आफ्नो अल्पमतको विचार आफू नजिकका वा आफूले प्रभाव पार्न सक्ने नेता–कार्यकर्ताहरूलाई भन्ने (शेयर गर्ने) स्वभाव सी.पी.मा देखिन्छ । पार्टीभित्रको चर्चित र पार्टीभित्र अत्यन्तै नकारात्मक प्रभाव पारेको ‘पार्टी स्वतन्त्रता’ या ‘राजनीतिक स्वतन्त्रता’ भन्ने ‘महाविवाद’ पछि वैचारिक आधारमा नभै पार्टी अनुशासन विपरीत गतिविधि सञ्चालन गरेको हुँदा उनीमाथि ‘पार्टी कारवाही’ भएको थियो र उनलाई महासचिव पदबाट हटाएर प्रवासको पार्टी गतिविधि हेर्न खटाइएको थियो ।
जेहोस्, उल्लिखित प्रसङ्गहरू ‘भुइँमान्छे’ किताब पढ्दै जाँदा देखिने–थाहा पाइने पक्षहरू हुन् । यसमा भूमिगत पार्टीका केन्द्रीय कमिटी बैठक वा केन्द्रीय भेला वा सम्मेलन आदि भएका खासखास ठाउँहरू र ती ठाउँमा पार्टीलाई आश्रय समेत तमाम व्यवस्थापन गर्दै सघाउने अभावग्रस्त सर्वसाधारण जनहरूबारे, त्यसमा पनि प्रतिनिधिमूलक पात्रहरू, बारे बताइएको छ । सबै आश्रयदाता सहयोगीहरूबारे लेख्ने हो भने त मोहनविक्रम सिंहको ‘कमरेड जलजला’ उपन्यासभन्दा दोब्बर ठूलो किताब तयार हुनेमा दुई मत होवोइन ।
तापनि, लेखक विन्दा पाण्डे अहिले चाँडै नै यही ‘भुइँमान्छे’ किताबकै अर्को संस्करण निकाल्न उत्साहपूर्वक लागिरहेको समाचार सार्वजनिक भएको छ । त्यसो गर्दा लेखकले पहिलो संस्करणमा भएका भाषिक शुद्धाशुद्धि र कतिपय शब्दहरूको शुद्ध प्रयोग गर्नेतिर विचार पुर्याउनु पर्छ भन्ने महसुस भइरहन्छ । भने, उनी अर्को चरणमा भूमिगतकालमा पार्टीलाई आश्रय दिने समेत विभिन्न किसिमले दिलोज्यान दिएर सघाउने दर्जनौं महिलाहरूको जीवनकथाको सँगालो छपाउने तयारीमा छन् भन्ने सङ्केत यही किताबभित्र पनि दिएकी छन् ।
किताबमा कमी भन्नु भन्दा पनि सुझावका रूपमा केही भन्दा बेस हुने देखिन्छ । लेखक विन्दाले यस किताबमा लेखेकी छन्, ‘राणा शासन विरुद्ध सङ्गठित आवाजको पहल गर्ने पहिलो व्यक्ति बलदेव शाही (बाकावीर) थिए, जसको मृत्यु १९०६ मा भयो । पछि यही आवाजको नेतृत्व लखन थापाले गरे । त्यही कारण १९३२ सालमा उनी लगायत उनका थुप्रै सहयोगी र समर्थकहरूलाई गिरफ्तार गरियो । लखन थापालाई मनकामना मन्दिर अगाडि झुण्ड्याएर मारियो भने धेरैलाई जेल पठाइयो । यसरी लखन थापा नेपाली जनमुक्ति आन्दोलनका प्रथम शहीद बने ।’ (पृ.१) ।
तर उनले यति लेखेर मात्र पुग्दैन, बाकावीर को थिए र उनले वि.सं.१९०३ मा शुरु भएको राणा शासन विरुद्ध के किन र कसरी विद्रोहको आवाज बुलन्द गरेका थिए भन्ने बारे छोटकरीमै प्रस्ट हुने गरी कम्तीमा एक प्याराग्राफ लेखेर स्पष्ट पार्दा आम पाठकले पनि बाकावीरबारे राम्ररी जान्न पाउनेछन् ।
त्यसै गरी लखन थापाको सन्दर्भमा उनले के कस्तो विद्रोह कसरी सञ्चालन गरे, उनलाई को कस्ता कति मानिसले साथ सहयोग दिए र उनको नेतृत्वको विद्रोह कति लामो चल्यो, अनि उनलाई किन र कसरी ‘नेपाली जनमुक्ति आन्दोलनका प्रथम शहीद’ मानिनु, भन्नु पर्छ भन्ने बारे संक्षिप्तमै भए पनि स्पष्ट लेख्न सके सुन्दर हुने देखिन्छ ।
यसै गरी लेखक विन्दाले पार्टी कामका लागि २०४१ जेठमा दाङबाट पहाडतिर हिँडेर बेपत्ता भएका नेत्रलाल अभागीको रहस्यमयी मृत्यु (पृ.९०) बारे भने केही ठोस सत्य–तथ्य दिएकी छैनन् । यी कवि नेता के कसरी मरे वा मारिएका थिए भनेर पाठकले स्पष्ट बुझ्ने गरी त्यही अध्यायमा केही पंक्ति थपी दिने हो भने त्यसबाट पाठक वर्ग राम्ररी सुसूचित हुन पाउने थिए ।
समग्रमा विन्दा पाण्डेको ‘भुइँमान्छे’ किताब केवल हिजो भूमिगत राजनीति गरेका वा भूमिगत राजनीति गर्नेहरूलाई सघाएका वा त्यस अवधिमा खुलेर या देखिएर काम गरेका वा अद्र्ध–भूमिगत बनेर काम गरेका वा काममा सघाएकाहरूका लागि मात्र होइन, बरु यो किताब त नेपालमा एक महत्वपूर्ण राजनीतिक शक्तिका रूपमा बलियो गरी स्थापित कम्युनिस्ट पार्टी कसरी शुरु भयो, कसरी हुर्कियो, कसरी टुक्रियो, कसरी जोडियो, कसरी फैलियो र कसरी जनस्तरमा सर्वाधिक धेरै संगठित भयो भनेर जान्न चाहने कम्युनिस्ट वा गैर–कम्युनिस्ट सबैले पढ्नु पर्ने किताब हो ।
मुलुकका लागि कम्युनिस्ट राजनीति कति ठीक छ र कति बेठीक छ, स्थापना भएर अहिलेको समय वि.सं.२०८२ आइपुग्दासम्म कम्युनिस्ट पार्टीले देश र देशवासीका लागि के कति गर्यो गरे वा गर्न खोजेर अनि चाहेर पनि गर्न पाएन वा सकेन, अनि, यतिका वर्षहरूमा देशमा छ जना कम्युनिस्ट प्रधानमन्त्री बनिसकेका छन् भने देश र देशवासीले गर्व गर्न लायक के कस्ता उपलब्धि कम्युनिस्ट सरकारले दिन सक्यो वा सकेको छ ? यावत सवालहरू पनि सोच्न यो किताबले सचेत पाठकलाई कम्तीमा एक बाजी त झक्झक्याउँछ नै।
सिद्धान्त र व्यवहार, कार्यक्रम र कार्यान्वयन, प्रतिबद्धता र समर्पण, अनि भाषण र जनमानसबीच प्रेमिल एवं सादर उपस्थिति– हो, यी त्यस्ता तथ्य हुन् जसलाई हिजोको भूमिगत जीवन बिताएर अहिले सत्ता–सुख भोगिरहेका वा भोग्ने पंक्तिमा भएका सारा नेता–कार्यकर्ताले हृदयङ्गम गर्नु पर्ने छ । किताब ‘भुइँमान्छे’ को सबैभन्दा ठूलो शिक्षा यही हो ।
प्रतिक्रिया 4