
१५ वैशाख, काठमाडौं । शिक्षकलाई विद्यालयमा फर्काउन भइरहेको पहलबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोच्च अदालतलाई सोमबार जवाफ फर्काएको छ ।
सर्वोच्चले गत बिहीबार सरकारका नाममा आदेश दिँदै शिक्षकहरूका जायज माग तीन दिनभित्र सम्बोधन गरी पठनपाठनमा फर्काउने वातावरण बनाउन भनेको थियो ।
शिक्षा मन्त्रालय स्रोतका अनुसार सर्वोच्चलाई फर्काएको जवाफमा शिक्षकका मागका बारेमा अहिलेसम्म भएको संवाद, शिक्षा विधेयकबारे संसदीय समितिमा चलिरहेको प्रक्रिया, शिक्षकका माग सम्बोधन गर्नेबारे भइरहेको पछिल्लो अवस्था समावेश छन् ।
नयाँ शिक्षा विधेयकको माग राखेर नेपाल शिक्षक महासंघले २७ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।
शिक्षामन्त्रालय सम्हालेको भोलिपल्टै शनिबार शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्ताका लागि बोलाएका थिए । वार्ताका लागि शिक्षा मन्त्रालयका शिक्षामन्त्री पन्तलाई कुराएर शिक्षकहरू भने वार्तामा गएनन् ।
त्यसयता सरकार र आन्दोलनरत शिक्षकहरू बीच संवाद हुन सकेको छैन ।
सरकारले आफूहरूको माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै शिक्षकहरूले आइतबार बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएको थियो । झपमा परी ६२ जना शिक्षक घाइते भएको महासंघले दाबी गरेको छ ।
२० चैतदेखि महासंघ नेतृत्वमा शिक्षकहरूले आन्दोलनलाई जारी राखेका छन् । शिक्षक आन्दोलनका कारण एसईईको उत्तर पुस्तिका परीक्षण हुन सकेको छैन भने कक्षा १२ को परीक्षा समेत प्रभावित भएको छ ।
यस्तै भर्ना अभियान समेत प्रभावित बनेको छ ।
प्रतिक्रिया 4