+
+
Shares

बर्दियाको ४ सय वर्ष पुरानो शिवालय ओझेलमा

मन्दिरभित्रका भित्तामा पालि भाषामा लेखिएका अक्षर छन् । पुरातत्व विभागका अनुसार मन्दिर र परिसरमा रहेको साँढेको प्रतिमा करिब चार सय वर्ष पुरानो छ । यति पुरानो मन्दिर भए पनि संरक्षण गर्न नसक्दा यहाँका पुरातात्विक महत्वका सामग्री हराउँदै छन् । करिब २०–२२ वर्षअघि मन्दिरभित्र रहेको शिव, पार्वती र गणेश भगवान्‌को मूर्ति हराइसकेको छ । साँढेको मूर्ति भने बाँकी नै छ ।

रासस रासस
२०८२ वैशाख १५ गते २१:२६

१५ वैशाख, ठाकुरबाबा । बर्दियाको बढैयाताल गाउँपालिका–७, बोकटिया गाउँमा अवस्थित चार सय वर्ष पुरानो शिवालय मन्दिर ओझेलमा परेको छ । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको मन्दिर संरक्षण र प्रचारप्रसारका लागि पहल नहुँदा ओझेलमा परेको हो ।

मन्दिरभित्रका भित्तामा पालि भाषामा लेखिएका अक्षर छन् । पुरातत्व विभागका अनुसार मन्दिर र परिसरमा रहेको साँढेको प्रतिमा करिब चार सय वर्ष पुरानो छ । यति पुरानो मन्दिर भए पनि संरक्षण गर्न नसक्दा यहाँका पुरातात्विक महत्वका सामग्री हराउँदै छन् । करिब २०–२२ वर्षअघि मन्दिरभित्र रहेको शिव, पार्वती र गणेश भगवान्‌को मूर्ति हराइसकेको छ । साँढेको मूर्ति भने बाँकी नै छ ।

समाजसेवी तथा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य कबिराम थारूको पहलमा विसं २०७९ मा मन्दिर त पुनःनिर्माण गरिएको छ तर त्यसको प्रचार नहुँदा पर्यटकीय गतिविधिमा धेरै सुधार हुनसकेको छैन ।

प्रदेश सरकारको रु एक करोडको लगानीमा यहाँ धार्मिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित पुरानै शैलीमा मन्दिर पुनःनिर्माण गरिएको हो । करिब तीन कट्ठा क्षेत्रफलमा रहेको यो क्षेत्रमा करिब ६१ फिट अग्लो मन्दिर छ ।

पुनःनिर्माणपछि मन्दिरभित्र नयाँ शिवलिङ्गसहित शिव, पार्वती र गणेशका मूर्तिहरू स्थापना गरिएका छन् । मन्दिर अगाडि रहेको ऐतिहासिक साँढे (स्थानीय भाषा मार्बद) को मूर्ति भने जस्ताको तस्तै सुरक्षित गरिएको छ ।

बोकटिया गाउँका ज्येष्ठ नागरिक ८२ वर्षीय शङ्कर थारूका अनुसार करिब सात दशकअघि मन्दिर निकै आकर्षक र धार्मिक आस्थाको केन्द्र थियो । मन्दिरभित्र हातले कुँदिएका विभिन्न प्राचीन मूर्ति थिए । त्यो हेर्न आन्तरिक धार्मिक पर्यटकको लाम लाग्थ्यो ।

उनले भने, ‘२० वर्षअघि मात्र यहाँ शिव, पार्वती, गणेश र साँढेको मूर्ति थिए । शिवरात्रिमा एक हप्ता भजनकिर्तन, पूजापाठ र भण्डारा चल्थ्यो । कुनै समय सन्तान प्राप्तिको कामना गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वाससहित भक्तजनको घुइँचो लाग्थ्यो । हाल त्यस्तो अवस्था छैन।’

ज्येष्ठ नागरिक थारूका अनुसार मन्दिरसँगै इनार थियो, त्यहाँ चार वटा मूलबाट पानी आउँथ्यो र पानी कहिल्यै सुक्दैनथ्यो ।

स्थानीय बड्घर ठग्गु थारूका अनुसार एक सय ६० भन्दा धेरै घरधुरी रहेको थारूबस्तीको मझगाउँमा रहेको मन्दिर परिसरको सो ऐतिहासिक इनार संरक्षणको अभावमा जीर्ण अवस्थामा छ । मन्दिर र इनारको संरक्षण गर्दै धार्मिक कार्यक्रम पुनः सञ्चालन र प्रचारप्रसार गर्न उनको आग्रह छ ।

मन्दिर क्षेत्रको उचित संरक्षण र प्रवर्द्धन गरिएमा यहाँ आन्तरिक तथा बाह्य धार्मिक पर्यटनको विकास भई स्थानीयले प्रत्यक्ष लाभ लिनसक्ने यहाँका अगुवाहरूको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?