+
+
Shares

बालबालिकालाई कस्तो शिक्षा ?

बच्चा घरमा पूर्णतः अभिभावक र विद्यालयमा शिक्षकको सहयोग र नियन्त्रणमा रहन्छन्। हामीले बालबालिकालाई आत्मनिर्भर नबनाई परनिर्भरतामा बाँच्ने वातावरण सिर्जना गरेका छौं।अधिकांश बच्चामा व्यावहारिक र व्यावसायिक ज्ञानको कमी रहेको आजको यथार्थ हो।

श्री प्रसाद देवकोटा बाबुराम श्रेष्ठ श्री प्रसाद देवकोटा, बाबुराम श्रेष्ठ
२०८२ वैशाख १६ गते ११:२८

आफ्ना छोराछोरी असल र राम्रा बनून् भन्ने चाहना सबैको हुन्छ । यद्यपि, बाल्यावस्थाको चाहना, आवश्यकता, दिनुपर्ने समय र संस्कारप्रति भने अभिभावकलाई पर्याप्त ज्ञान नहुन सक्छ। परिवारको माया, समय र संरक्षणको अभावमा बालबालिका कुलतमा फस्नुका साथै विभिन्न अपराधमा संलग्न भएका घटना बढ्दै गएका छन् ।

बाल्यकाल अत्यन्त संवेदनशील अवस्था हो । सही र गलत छुट्याउन नसक्ने यो उमेरमा अभिभावक र परिवारबाट समय, माया, साथ र संस्कार नपाउँदा बालबालिकामा नकारात्मक मनोविज्ञान हावी हुन्छ र आपराधिक गतिविधि वा कुलतको बाटोतर्फ उन्मुख गराउँछ। विभिन्न अध्ययनले अभिभावकबाट कम समय पाएका तथा पारिवारिक विखण्डन र प्रविधिको विकासक्रमले एक्लै रमाउने स्वभावमा हुर्किरहेका बालबालिका अपराध र कुलतमा फसेको देखाएका छन्।

यसर्थ, परिवारको माया, साथ, समय र संस्कारले बालबालिकाको भविष्य निर्धारण गर्छ ।आफू हुर्किएको संस्कारले समेत बालबालिका आपराधिक गतिविधमा संलग्‍न हुने कुरा निर्धारण गर्छ।

प्रविधिले गाँजिरहेको विद्यमान अवस्था र एक्लोपनमा हुर्किरहेका बालबालिकाका लागि अभिभावक र परिवारले के-कस्ता शिक्षा र वातावरण प्रदान गरी आफ्नो उत्तरदायित्व वा जिम्मेवारी निभाउन सक्छन् भन्ने विषयमा यस लेखमा विश्लेषण गर्ने जमर्को गरिएको छ।

१.   सहनशिलता सम्बन्धी ज्ञानः एकल सन्तानको रूपमा बच्चाको भरणपोषण हुँदा उसलाई अभिभावकले  अत्यधिक ध्यान र महत्व दिएका हुन्छन्। स्वाभाविक रूपमा यसबाट बच्चामा आत्मरतिक प्रवृत्तिको विकास हुनसक्ने अत्यधिक सम्भावना रहन्छ ।

अविभावकले कहिल्यै पनि गाली नगर्ने र उसले जे भन्यो त्यही पूरा गर्ने कारणले उसमा सहनशिलता कमी हुँदै जान्छ। सधैंभरि आमाबाबुले बच्चालाई साथमा त राख्न सक्दैन। जब बच्चा आराम क्षेत्र (कम्फर्ट जोन) बाट बाहिर जानुपर्ने हुन्छ, उसले भने जस्तो वातावरण उपलब्ध हुन सक्दैन, त्यहाँ उसलाई अवश्य दुःख हुन्छ । अरुको गाली खानुपर्ने हुन्छ । यस्तो अवस्था उसले कदापि सहन गर्न सक्दैन र अप्रिय कदम चाल्छ ।

प्रचलित उक्ति नै छ- आमाबाबुको गाली/थप्पड नपरेको सन्तान, गुरुको गाली/थप्पड नपरेको शिष्य र घनको चोट नपरेको सुन गहना बन्दैन।

तसर्थ, भविष्यमा जस्तोसुकै असहज परिस्थितिको सामना सहन गर्नसक्ने योग्य व्यक्ति बनाउन बालबालिकालाई सानैदेखि सहनशील बनाउन जरुरी छ।

२.   आदर र मायाः अभिभावक र परिवारको अत्यधिक माया प्रदर्शनको कारणले गर्दा कलिला बच्चाको बाल मस्तिष्कमा म नै सबैथोक हुँ भन्ने मनोविज्ञान हावी भएको देखिन्छ।यसबाट थाहा नपाउने किसिमले कलिला बच्चामा एकलकाटे स्वभाव र अरुलाई उपेक्षा गर्ने प्रवृत्ति विकाश हुँदै जान्छ।

बालबालिकामा ठूलाबडालाई आदर गर्ने तथा सानालाई माया गर्ने मानवीय गुणमा ह्रास हुँदै गएको पाइन्छ । अविभावक र परिवारका सदस्यहरूलाई हेला गर्ने, वास्ता नगर्ने, आफ्ना आमाबाबुलाई वृद्धाश्रममा राख्ने, विदेश जाने अनि उतै बस्ने र आमाबाबुको मृत्यु पर्यन्त मात्र काजकिरियाको लागि आउने जस्ता अनगिन्ती दृष्टान्त यसका प्रतिफल हुन्। यसर्थ, आफूभन्दा ठूलालाई आदर गर्ने र सानालाई माया गर्न सिकाउने गुणको व्यावहारिक सिकाइ सिकाइ हुनु आवश्यक छ ।

३.   धैर्यता र एकाग्रता हुन सिकाउनेः बालबालिकामा तत्काल परिणाम चाहिने प्रवृत्ति हावी हुँदै गएको पाइन्छ । केही पाउनको लागि अवश्य पनि केही समय त कुर्नुपर्छ। तर प्रविधि एवं पारिवारिक वातावरणले कलिला बालबालिका एकाग्र हुन सकेका छैनन्।

कुनै चिज पाउन केही समय धैर्यता गर्नुपर्ने अवस्था आएमा अहिलेका बच्चाहरू बेचैन हुने र उग्र रूप देखाउने गरेको पाइन्छ। यसैकारण परिवारभित्र नै जघन्य अपराधका घटनासमेत हुनसक्छ । अविभावकले यस विषयमा संवेदनशील भएर शिक्षा दिनुपर्ने देखिन्छ ।

४.   अग्रज पुस्तासँग समय बिताउन दिनेः आमाबाबुले पर्याप्त समय दिन नसके पनि चाहेको खण्डमा अग्रज पुस्ता (हजुरबुवा-हजुरआमा)ले समय दिनसक्ने अवस्था हुन्छ । अग्रज पुस्ताबाट बालबालिकाले इतिहास, सामाजिक सद्भाव, कला, भाषा, संस्कृति, नैतिक शिक्षा, धर्म इत्यादि कुरा सिक्न सक्छन्।

संस्कार र सस्कृति पुस्तान्तरण पनि अग्रज पुस्ताबाटै हुने हो। तसर्थ, बालबालिकालाई अग्रजसँग समय बिताउन दिनु प्रभावकारी हुनेछ।

५.   व्यावहारिक तथा व्यावसायिक विषयको ज्ञान दिनेः    अधिकांश अविभावकले आफ्ना बच्चालाई किताबी ज्ञान दिनेमा मात्र जोड गरेको देखिन्छ। घरमा गर्नुपर्ने साधारण काम जस्तैः खाना पकाउने, भाँडा माझ्ने, सरसफाइ गर्ने तथा लुगा धुने जस्ता घरायसी कामसमेत सिकाउने गरेको पाइँदैन।

बच्चा घरमा पूर्णतः अभिभावक र विद्यालयमा शिक्षकको सहयोग र नियन्त्रणमा रहन्छन्। हामीले बालबालिकालाई आत्मनिर्भर नबनाई परनिर्भरतामा बाँच्ने वातावरण सिर्जना गरेका छौं।अधिकांश बच्चामा व्यावहारिक र व्यावसायिक ज्ञानको कमी रहेको आजको यथार्थ हो।

६.   समूहमा काम गर्ने बानीको विकास: जापानी नागरिक अन्य मुलुकका नागरिकभन्दा व्यक्तिगत क्षमतामा तुलनात्मक रूपमा कम रहेको तर समूहगत कार्यमा अत्यधिक क्षमतावान र प्रभावशाली भएको विभिन्न अनुसन्धानले पुष्टि गरेका छन् ।

तर, हाम्रा बालबालिका परिवारको एक्लो सन्तान र एकलकाटे प्रवृत्तिले फरक वातावरण र पात्र/समूहसँग घुलमिल हुने, खेल्न र काम गर्नसक्ने स्वभाव र गुणको कमी रहेको पाइन्छ । यसको लागि घर-परिवार तथा विद्यालय दुवैमा सामूहिक रूपमा कार्य गर्ने गुणको विकास गर्ने क्रियाकलाप सञ्चालन गर्न अति आवश्यक छ।

 ७.   अङ्ग्रेजीसँगै नेपाली भाषाको समेत ज्ञान दिनेः अहिलेको समयमा अङ्ग्रेजी विषय अत्यधिक माग भएको र आवश्यक विषय हो। ज्ञान, सिप र दक्षता देखाउन अङ्ग्रेजी शिक्षाको विकल्प छैन।यद्यपि, नेपाली शिक्षा भनेको हाम्रो सान एवं पहिचान हो। तर अभिभावक, परिवार र समाजले नेपाली विषयलाई प्राथमिकतामा राखेको पाइँदैन।

बालबालिकालाई घरपरिवार र विद्यालयमा जबरजस्ती अंग्रेजी माध्यममा मात्र बोल्न/लेख्न लगाइन्छ। यसबाट बालबालिकाले नेपाली वाक्यहरू राम्ररी उच्चारण समेत गर्न नसक्ने अवस्था सिर्जना भएको छ। परीक्षाको नतिजा हेर्ने हो भने पनि आजका बालबालिका अरु विषयमा भन्दा नेपाली विषयमा कमजोर देखिन्छ।

घरमा रहँदा एक कप चियाका लागि परिवारका सदस्यको भर पर्ने युवा जमात विदेश गएर जस्तो काम पनि गर्न तयार हुन्छन्

अङ्ग्रेजी शिक्षामा मात्र पठनपाठन र बोल्न/लेख्न बाध्य गराउँदा हामीले विदेशको लागि जनशक्ति उत्पादन गर्न भूमिका खेलिरहेका छौं। परिवार, विद्यालय र समाजले तयार गरेको वातावरणले नै प्लस टू अर्थात् उच्च माध्यमिक शिक्षापश्चात् अधिकांश विद्यार्थी विदेश गएर पढ्ने र स्थायी रूपमा उतै बस्ने वातावरण सिर्जना गरेको छ। यसबाट दक्ष युवा जनशक्तिको उत्पादन एवं आर्थिक र सामाजिक पक्षमा नेपाललाई अपूरणीय क्षति पुगेको छ । नेपालकै लागि दक्ष जनशक्ति उत्पादन गर्ने हो भने र नेपालको पहिचानलाई कायम राखिरहने हो भने बालबालिकालाई नेपाली शिक्षाको ज्ञान दिनु जरुरी छ।

८.   समयको महत्व सिकाउनेः सुरक्षा फौजमा बाहेक अधिकांश राजनीतिक, पारिवारिक, सामाजिक तथा संघ-संस्थाका कार्यक्रमहरु कहिल्यै पनि समयमा सुरु हुँदैनन्। विभिन्न बहानामा समय धकेलेर कार्यक्रम गरिन्छ।अरुको समयभन्दा पनि आफ्नो बाध्यतालाई ठूलो देखाउने प्रचलन हावी छ। यसले कार्य सम्पादन र समयलाई महत्व दिएको देखिँदैन

यस किसिमको प्रवृत्ति बालबालिकामा पुस्तान्तरण हुँदा भोलिको अवस्था कस्तो होला ? अहिलेका बालबालिका भविष्यका कर्णधार हुन्। त्यसैले उनीहरूमा समयको महत्व अहिले नै बुझाउन जरुरी छ।

९.   ट्राफिकसम्बन्धी ज्ञानः  प्रविधिको विकास, आवश्यकता र जनताको क्रयशक्तिमा भएको बढोत्तरीले गर्दा यातायातका साधनको प्रयोग दिनानुदिन बढ्दै गएको छ। ट्राफिक ज्ञानको अभावमा पैदलयात्री तथा सवारी चालकको लापरबाहीले दिनहुँ जिउधनको क्षति बढ्दो छ। स्कुले बालबालिकाले पनि सडक दुर्घटनामा ज्यान गुमाइराखेका छन् ।

जिउधनको क्षतिको कारण परिवार र राज्य दुवैले आर्थिक, सामाजिक, जनशक्ति उत्पादन जस्ता क्षेत्रमा क्षति बेहोर्नु परेको छ। यसर्थ, असल र सचेत नागरिक निर्माण गर्नको लागि ट्राफिक शिक्षाको ज्ञान दिनु जरुरी छ।

१०.  मानवता, सेवाभावसम्बन्धी ज्ञानः समाजमा मानवता हराउँदै गएको छ।दीनदुःखी, घाइते तथा अपाङ्ग नागरिकप्रति सहानुभूतिको भाव कमी छ। सडक दुर्घटना या प्राकृतिक प्रकोपका दुर्घटनाका घाइतेको उपचारमा तत्परताभन्दा पनि सामाजिक सञ्जालमा लाइभ गर्ने होडबाजीले मानवताको खिल्ली उडाउँदैछ

तत्काल सहयोगको आवश्यकता परेको दुःख/पीडामा रहेका मानिसलाई सहयोगको साटो सामाजिक सञ्जालमा भाइरल हुने आत्मरतिमा रहने हामीले कस्तो समाजको निर्माण गर्दैछौं ? हामीले हरेक कुरा स्वार्थ र पैसामा तुलना गर्न थालेका छौं। घर तथा विद्यालयबाट बालबालिकाको कलिलो मस्तिष्कमा मानवता र सेवाभाव जस्ता गुणको विकास गर्न नसकिएमा समाज कल्पनाभन्दा बाहिरको हुनेछ।

११.  कला, संस्कृतिसम्बन्धी ज्ञानः नेपाल विविधतामा एकता भएको मुलुक हो। परापूर्वकालदेखि नै सहिष्णु समाजको रूपमा नेपाल परिचित छ। नेपाल विविध भेषभूषा, भाषा, धर्म, कला, संस्कृतिको संगम हो । यद्यपि, अहिलेको विश्वव्यापीकरण, धर्म परिवर्तन, अङ्ग्रेजी शिक्षाको बिगबिगी र युवा पुस्तामा देखिएको विचलनले देशको गहना र पहिचानको रूपमा रहेको कला, संस्कृतिको प्रवर्धन र सम्वर्धनमा ह्रास आइरहेको छ। तसर्थ, नेपालको नरम शक्ति (सफ्ट पावर) को रूपमा रहेका यी विषयहरूको ज्ञान बालबालिकालाई दिन सकिएमा नेपालको मान, सान र पहिचान कालान्तरसम्म कायम रहिरहने छ।

१२.  शारीरिक र खेलकुद शिक्षाः शारीरिक रूपमा तन्दुरुस्त भएमा मात्र कुनै पनि व्यक्ति मानसिक रूपमा पूर्ण तन्दुरुस्त हुनसक्छ । स्वस्थ जीवनको लागि आवश्यक पर्ने शारीरिक शिक्षाको जग खेलकुद हो । खेलकुदले व्यक्तिविशेषको मात्र पहिचान होइन, देशको समेत प्रतिष्ठा बढाउँछ ।

अहिलेका बालबालिकामा खेलकुदप्रति रुचि देखिँदैन । शारीरिक परिश्रम नपर्ने पढाइ युवा पुस्ताको प्राथमिकतामा पर्छ । सानै उमेरका बालबालिका मोटोपन, मधुमेह तथा रक्तचापका बिरामी बनेका उदाहरण प्रशस्त देख्न पाइन्छन् । यस विषयमा शिक्षक तथा अविभावकले विशेष ध्यान दिनु जरुरी छ।

१३.  राष्ट्रिय एकता र राष्ट्रप्रेमसम्बन्धी ज्ञानः अहिलेका युवा पुस्तामा राष्ट्रप्रेम र मुलुकप्रतिको चाह घट्दो छ। मुलुकको राजनितिक अस्थिरता, आर्थिक मन्दी, बढ्दो भष्ट्राचार र तस्करीको राजनीतिक संरक्षण यसका प्रमुख कारण हुन् । यसैकारण युवा पुस्ता विदेश पलायन भई उतै आफ्नो भविष्य सुनिश्चित गर्न चाहन्छन्। आफ्नो देशको नागरिकता त्याग्नु युवाहरूको लागि सामान्य भइसकेको छ।

घरमा रहँदा एक कप चियाका लागि परिवारका सदस्यको भर पर्ने युवा जमात विदेश गएर जस्तो काम पनि गर्न तयार हुन्छन् । तर आफ्नो क्षमता अभिवृद्धि गरी मुलुकमा नै दुःख गर्न युवाहरू उत्साहित छैनन्। तसर्थ अहिलेका बालबालिकामा देशप्रेम एवं राष्ट्रिय एकताका बारेमा ज्ञान दिन सकिएमा भविष्यमा अवश्य पनि देशले योग्य, दक्ष र राष्ट्रप्रति आफ्नो दायित्व सम्झने राष्ट्रप्रेमी नागरिक पाउनेछ।

अन्त्यमा

बालबालिकाले अभिभावक पाए तर समय पाएनन्। सूचना र प्रविधिको अवसर पाए तर सामाजिक हुन पाएनन् । पारिवारिक मूल्य र मान्यता सिक्न पाएनन्। पारिवारिक माया र संरक्षण पाए तर बालापनमा बाँच्न पाएनन्। यसैले  परनिर्भरता र एक्लोपनमा बाल्यअवस्था हुर्किंदैछ।

परनिर्भरता र एक्लोपनमा हुर्किएको बालापन भोलिको सामाजिक र पारिवारिक व्यक्ति कदापि बन्न सक्दैन। अभिभावकले कुसंस्कारी सन्तानलाई अर्बौं जगेडा गर्दिए पनि निमेषमै स्वाहा बनाउँछ । तर संस्कारी सन्तानलाई परिवारले कुनै धन सम्पत्ति जगेडा गरिदिनुपर्दैन । यसर्थ, परिवारको  माया, समय र  सामाजिकीरण बाल्यअवस्थाको आवश्यकता हो।

( देवकोटा त्रिभुवन विश्वविद्यालयमा द्वन्द्व, शान्ति र विकास अध्ययनका पीएचडी स्कलर हुन् भने श्रेष्ठ समाजशास्त्र, राष्ट्रिय सुरक्षा, प्रतिरक्षा तथा रणनिति विषयका विद्यार्थी हुन् ।)

लेखक
श्री प्रसाद देवकोटा

देवकोटा त्रिभुवन विश्वविद्यालयमा द्वन्द्व, शान्ति र विकास अध्ययनका पीएचडी स्कलर हुन् ।

बाबुराम श्रेष्ठ

श्रेष्ठ समाजशास्त्र, राष्ट्रिय सुरक्षा, प्रतिरक्षा तथा रणनिति विषयका विद्यार्थी हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?