एन्जाइटी तनावपूर्ण जीवनयापन गर्ने युवालाई मात्र हुँदैन । बच्चालाई पनि हुनसक्छ । कसैमा बाल्यकालको सुरुवातबाटै यसको लक्षण देखिन सक्छ । जसले पछि गएर जीवनको गुणस्तरमै प्रभाव पार्न सक्छ ।
कहिलेकाहीँ एन्जाइटीका लक्षण स्पष्ट हुन्छन् । जो अरुले पनि सहजै पहिचान गर्न सक्छन् । कतिपय लक्षण सूक्ष्म वा आश्चर्यजनक तरिकामा देखिन सक्छन् । जसले लक्षणलाई सहजै पहिचान गर्न मुस्किल बनाउँछ । फलस्वरुपः एन्जाइटीलाई लामो समयसम्म बच्चा भोग्न बाध्य हुन्छन् ।
यस्तोमा अभिभावकले बच्चामा एन्जाइटी भएको नभएको भेउ पाउन मुस्किल हुनसक्छ ।
एन्जाइटी यस्तो अवस्था हो, जो मस्तिष्कमा तनाव हुँदा हाम्रो स्नायु प्रणालीले (फ्लाइट अर फाइट रेस्पोन्स) प्रतिक्रिया दिन्छ । लड्ने वा भाग्ने अवस्थामा रहेको बच्चाको मस्तिष्क ठ्याक्कै एउटा अटेरी बच्चा जस्तो देखिन्छ, जसले परिस्थिति अनुसार प्रतिक्रिया जनाउँदैन।
जब हाम्रो मस्तिष्कले हामी खतरामा छौँ भन्ने अनुभव गर्छ, हाम्रो शरीरले तत्कालै प्रतिक्रिया जनाउँछ, जतिखेर हामी साँच्चिकै खतरामा भएको बेला गर्छौं ।
पहिला बुझौं, एन्जाइटी हुँदा शरीरमा के हुन्छ ?
मस्तिष्कमा भावनात्मक केन्द्र हुन्छ, जसलाई ‘एमिग्डाला’ भन्ने गरिन्छ । यसले परिस्थितिसँग सामना गर्न मद्दत गर्छ । तर, जब वंशाणुगत, वातावरण, शारीरिक स्वास्थ्य अवस्था र स्वभाव जस्ता सम्भावित चरणरूले एमिग्डालालाई अति सक्रिय बनाउने अवस्था सिर्जना गर्छ । तब हाम्रो मस्तिष्कले वास्तविक खतरा र काल्पनिक खतरालाई छुट्याउन कठिनाइ अनुभव गर्छ ।
जब हाम्रो एमिग्डाला अति कडा मेहनत गर्छ र हाम्रो स्नायु प्रणालीलाई बारम्बार तनाव प्रतिक्रियामा धकेल्छ, यस्तो अवस्थालाई एन्जाइटी भएको बुझिन्छ ।
१० लक्षण, जुन अधिकांश बच्चाले एन्जाइटीको अनुभव भएको बेला देखाउँछन्
१. रिस/आक्रमक स्वभाव
बच्चा स-साना कुरामा रिसाउने र सामान्य अवस्थामा पनि आक्रमक स्वभाव देखाउँछन् भने अभिभावकलाई सबैभन्दा बढी अलमलमा पार्न सक्छ ।यद्यपि, यो लक्षण बुझ्न कठिन हुँदैन । एकपटक सोच्नुहोस् न तपाईं पहिले देखि नै चिन्तामा हुनहुन्छ । झन् बढी चिन्ता थपियो भने तपाईं कस्तो प्रतिक्रिया देखाउनुहुन्छ ?्
सम्भवत: भावनात्मक रूपमा बढी प्रतिक्रियाशील हुन्छ । बच्चामा पनि यही कुरा लागू हुन्छ ।
चिन्तामा मस्तिष्क भएको बेलामा त्यहा हुने भावनात्मक केन्द्र अति सक्रिय हुन्छ । जसले बच्चा चिडचिड गर्ने र प्रतिक्रियाशील हुन्छन् । किनभने सबै भावनाहरू त्यो बेला अति तीव्रतामा काम गर्छन् । जसले उनीहरू सामान्य कुरामा पनि आक्रमक वा रिसालु हुनसक्छन् ।
२. पटक-पटक प्रश्न गर्ने बानी
कुनै ठाउँ जाँदै गर्दा ‘हामी त्यहाँ कति मिनेटमा पुग्छौँ ? कति बेर लाग्छ ?’ हरेक बच्चाले यस्ता प्रश्नहरू सोध्नु स्वभाविक हो । तर हरेक बच्चाले एक घण्टामा २५ पटक भन्दा बढी सोच्छ भने त्यो पनि एन्जाइटीको लक्षण हुनसक्छ ।
गन्तब्यमा पुगेर के हुन्छ ? भन्ने पहिला नै कुनै हेक्का नहुँदा वा केही हुनसक्ने अनेकौँ कल्पनाले उनीहरूलाई असहज बनाउँछ । जसले गर्दा अत्याधिक जानकारी मागेर यो असहजतालाई सामना गर्छन्।
३. आश्वासन खोज्ने
‘तपाईंलाई म कस्तो लाग्छ ? के तपाईं अझै मलाई राम्रो बच्चा ठान्नुहुन्छ ? म असल छु ? यस्ता प्रश्न पटक-पटक बच्चाले सोध्छन् भने पनि यो अर्को लक्षण हुनसक्छ। चिन्ताले हामीलाई केही गलत छ भन्ने सोच्न र महसुस गर्न बाध्य बनाउँछ।
अत्याधिक आश्वासन खोज्नु सामान्य चिन्ता र विशेष रूपमा ‘अ,,रब्सेसिभ कम्पल्सिभ डिसअर्डर’ को सामान्य लक्षण हो । जुन बच्चाको दिमागमा बारम्बार आउने चिन्तित विचारहरू हुन् । र, ती विचारलाई प्रकट गरी प्रश्न सोध्ने जस्ता व्यवहारले राहत खोज्ने उद्देश्य राख्छ ।
४. शारीरिक लक्षण
जब मस्तिष्कले लड्ने वा भाग्ने प्रतिक्रिया ट्रिगर गर्छ, शरीरमा धेरै शारीरिक परिवर्तनहरू हुन्छन्।यस्तोमा बच्चालाई कुनै कुरा दिमागमा खेल्दा पेट दुखेको जस्तो अनुभव हुन्छ । कता दुखेको पत्तो पनि पाउन सक्दैनन् ।
यो हुनुको कारण हो, बच्चामा चिन्ताले कोर्टिसोल हर्मोनको प्रवाह बढी हुनु । कोर्टिसोल बढी हुँदा पाचन प्रणालीले ऊर्जा बचाउन र मस्तिष्कमा बढी रक्तसञ्चार पठाउन लागि अस्थायी रूपमा ढिलो हुन् । यही कारणले धेरै बच्चाहरूले चिन्तित हुँदा पेट दुखेको गुनासो गर्छन्।
५. टार्ने बानी
के तपाईंले कहिल्यै बिल तिर्न वा आफ्नो कोही नातेदारसँग कुराकानी गर्न दिन वा हप्तौँसम्म टार्नुभएको छ ? हो यसैगरी चिन्ता भएका बच्चाहरूले टार्ने रणनीतिलाई सामना गर्ने तरिकाको रूपमा प्रयोग गर्छन्, तर हेर्दा, यो अटेरी वा विरोधी व्यवहार जस्तो देखिन्छ । जुन वास्तवमा एन्जाइटीको लक्षण हुनसक्छ ।
उनीहरूले कुनै कुरा टार्ने वा भनेको नमान्ने धेरैपटक गर्न सक्छन् । उनीहरू भन्न सक्छन्, ‘म त्यो गर्दिन । कुनै पनि हालतमा गर्दै गर्दिन ।’
यस्तो गर्दै गर्दिन भन्ने भाव आउनु भनेको पनि मस्तिष्कमा एन्जाइटीले डेरा जमाउनुको उपज हुनसक्छ । यस्तोमा जे अह्राइएको हो उनीहरूलाई त्यो सुन्दा पनि असहज लाग्न सक्छ ।
६. निदाउन नसक्नु
हाम्रो शान्त भएको दिमागलाई विचलित पार्न चिन्तित विचारहरू माहिर हुन्छन । यी विचारहरूले शारीरिक र मानसिक रूपमा आराम गर्न गाह्रो बनाउँछ, जसले स्वस्थ निद्राको प्रतिक्रियालाई बाधा गर्छ । त्यसकारण रातमा सुत्ने प्रयास गर्दा पनि निद्रा लाग्दैन ।
जब हाम्रो मस्तिष्क चिन्ताको अवस्थामा हुन्छ । दिमाग उत्तेजित हुन्छ । जसले गर्दा निद्रा परे पनि रातमा ब्यूँझने क्रम बढ्छ ।
डर लाग्दो सपना देख्ने, रातको अध्यारोसँग डराउने, राति आउने आवाजप्रति सतर्क भइ अनेकौं सोच्ने समस्या हुन्छ।
७.ध्यान दिन नसक्नु
उच्च तनावको अवस्थामा रहिरहँदा बच्चाको मस्तिष्कको भावनात्मक केन्द्र अति सक्रिय हुन्छ । जब बच्चाको अमिग्डालाले अति तीव्र गतिमा काम गर्छ, तिनीहरूको मस्तिष्कको फ्रन्टल लोबमा अवस्थित ‘सोच्ने स्नायुमा अवरोध आएर केन्द्रित हुने क्षमता स्वतः कम हुन्छ ।
यही कारणले चिन्ताले दैनिक कार्यकारी कार्यहरूमा असर गरिरहेको हुन्छ । जस्तै, कुनै कुरामा ध्यान कायम राख्ने, आवेग नियन्त्रण गर्ने र संगठित रहने जस्ता कुराहरूलाई अत्याधिक कठिन बनाउँछ ।
८. उच्चतम भावना
तपाईंको बच्चा रातको दिनचर्या वा बिहान स्कूलका लागि ब्याग तयार गर्दै गर्दा अचानक बिना कारण आँसु बगाउछ भने सोच्नै पर्छ ।
भावनात्मक रूपमा अति सक्रिय मस्तिष्कलाई दु:ख, खुसी लगायत सबै भावनाहरूका लागि स्राव गर्ने माध्यम चाहिन्छ । यो स्राव प्रायः तब हुन्छ जब बच्चा सामान्य वातावरणीय चुनौतीहरूले ट्रिगर हुन्छ ।
जस्तो कि, चाहेको कुरा नपाउनु, दाजुभाइ÷साथीसँग सानो असहमति, वा एक गतिविधिबाट अर्को गतिविधिमा गाली सर्नुपर्ने अवस्था, स्कुल जानमा समस्या । यस्तो परिस्थितिमा उनीहरू रुने र कराउने गर्न सक्छन् ।
९. भाग्ने-लुक्ने
‘मेरो बच्चाले कुरा सुन्दैन। सुत्ने समयमा ऊ घरमा ओछ्यानमुनि भाग्छ । र, स्कूलमा पनि यदि उसलाई कुनै कुरा मन पर्दैन भने टेबलमुनि लुक्न थाल्छ’ यस्तो गुनासो पटक पटक अभिभावक गर्छन् भने यो पनि एन्जाइटीको लक्षण हुनसक्छ ।
भाग्नु भनेको भाग्ने कि लड्ने (फ्लाइट ओर फाइट रेस्पोन्स) प्रतिक्रियाको ‘भाग्ने’ भाग हो। जब तपाईंको बच्चा अति असहज महसुस गर्छ, उसको मस्तिष्कले त्यस अवस्थाबाट उम्किनको शारीरिक रूपमा भाग्ने ट्रिगर गर्छ । त्यस्तै, यसबाट उम्किन त्यस कुराबाट लुक्न पनि सक्छन् ।
१०. नजिक रहने
‘म तपाईंसँग बस्न चाहन्छु, स्कूल जान चाहन्न ।’ उनीहरू आमासँगै घरमै बस्न चाहन्छन् । स्कुल जाने समय आउन लागेपछि बाबु आमासँगै टासिँने गरिरहने गर्न सक्छन् । यसले उनीहरूमा अस्थायी राहत प्रदान गर्छ ।
स्कूलमा ‘एक्लै’ हुने डरले बच्चालाई असहज बनाउँछ । तार्किक मस्तिष्क प्रयोग गर्ने क्षमता कम हुँदा तिनीहरू प्रायः ठ्याक्कै स्कुल किन जान्न चाहँदैनन् ? भनेर पत्ता लगाउन वा कसैले प्रश्न गर्दा जवाफ दिन पनि असक्षम हुन्छन् । उनीहरू बिनाकारण नै टाढा वा स्कुल जान मन गर्दैनन् ।
प्रतिक्रिया 4