+
+
Shares

क्यानडाको लिबरल पार्टीले चुनाव जित्यो, ट्रम्पबारे मार्क कार्नीले के भने?

जितपछि कार्नीले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि निसाना साँधेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते १३:१७

१६ वैशाख, काठमाडौं । क्यानडाको आम चुनावमा मार्क कार्नी नेतृत्वको लिबरल पार्टीले जित हासिल गरेको छ।

जितपछि कार्नीले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि निसाना साँधेका छन् ।

प्रधानमन्त्री कार्नीले भने, ‘क्यानडामाथि प्रभुत्व जमाउन सकियोस् भन्दै राष्ट्रपति ट्रम्पले हामीलाई टुक्र्याउने प्रयास गरिरहेका छन् जुन कहिल्यै सम्भव हुँदैन ।’

उनले थपे, ‘अमेरिकासँगको हाम्रो पुरानो सम्बन्ध अब समाप्त भइसकेको छ। हामी अमेरिकी विश्वासघातको आघातबाट उठिसकेका छौं, अब हामीले एकअर्काको हेरचाह गर्नुपर्छ ।’

ट्रम्पले क्यानडालाई बारम्बार व्यापार युद्धको धम्की दिँदै आएका छन् । ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने कुरा पनि गर्दै आएका छन् ।

लिबरलहरूले क्यानाडाको अर्को सरकार बनाउने अनुमान गरिएपनि उनीहरूले संसद्मा बहुमत प्राप्त गर्ने भने अझै स्पष्ट भएको छैन ।

ताजा मत परिणामले कन्जर्भेटिभ नेता पियरे पोइलिभ्रेलाई प्रधानमन्त्री बन्न असफल देखिएका छन् । तर उनको पार्टी बलियो विपक्षी शक्ति बन्ने देखिएको छ ।

पहिले कहिल्यै निर्वाचित पदमा नरहेका र गत महिना मात्र जस्टिन ट्रुडोलाई प्रधानमन्त्रीका रूपमा प्रतिस्थापन गरेका कार्नीले पहिले क्यानाडा र बेलायतमा केन्द्रीय बैंकको गभर्नरका रूपमा सेवा गरेका थिए ।

ट्रम्पको व्यापार युद्ध र विलयको धम्कीले क्यानाडालीहरूलाई आक्रोशित बनायो र संयुक्त राज्य अमेरिकासँगको व्यवहारलाई अभियानको शीर्ष मुद्दा बनायो ।

‘म यस अर्थमा खुसी छु कि हामीले श्री ट्रम्पसँग उहाँको स्तरमा कुरा गर्न सक्ने कोही पाएका छौँ’, ७२ वर्षीया डोरोथी गोबल्टले निर्वाचनको परिणामतर्फ संकेत गर्दै भने, ‘ट्रम्प एक व्यापारी व्यक्ति हुनुहुन्छ, श्री कार्नी एक व्यापारी व्यक्ति हुनुहुन्छ र मलाई लाग्छ उहाँहरू दुवै सम्बन्धित हुन सक्नुहुन्छ ।’

ट्रुडोले राजीनामा दिनुअघि ट्रम्पले उनको उपहास गरेका थिए । प्रधानमन्त्रीलाई ‘गभर्नर’ भन्दै क्यानाडालाई ५१औँ अमेरिकी राज्य बन्न आग्रह गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?