१६ वैशाख, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
विराटनगरको बैजनाथपुर क्रिकेट मैदानआम सम्पन्न समुह ‘बी’ अन्तर्गतको पहिलो खेलमा कोशीले पुलिसलाई स्तब्ध पार्ने क्रममा ३७ रनको जित दर्ता गर्यो। मात्र ९४ रनको लक्ष्य पछ्याएको पुलिसले २४.५ ओभरमा ५६ रनमा सबै विकेट गुमायो।
नेपाल पुलिस क्लबको ब्याटिङमा कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। माथिल्लो क्रममा ब्याटिङ गरेका रोहन बिकले ६, अविनाश कर्णले ९, शंकर रानाले ५, दिपक डुम्रेले १, अमित श्रेष्ठले ९ तथा अरुण ऐरी खाता नखोली आउट भए। ३४ रनमा ६ विकेट गुमाएपछि कोशीले पुलिसलाई खेलमा फर्कन दिएन।
कोशीको बलिङ्गमा डेब्यु गरेका देब्रे हाते स्पिनर प्रेम कामत एक्लैले ५ विकेट लिए। ९ ओभर बलिङ गर्दै ३ मेडन गरेर १५ रन मात्र खर्चिएका कामत प्लेयर अफ द म्याच घोषित भए। अर्का देब्रे हाते स्पिनर प्रकाश कार्कीले ३ विकेट लिए । भुपाल लुइँटेलले १ विकेट लिँदा पुलिसले एक विकेट रन आउट मार्फत गुमायो।
यसअघि टस हारेर ब्याटिङ गरेको कोशी प्रदेशले २९.३ ओभरमा ९३ रनमा सबै विकेट गुमायो । ओपनर रुपक बरालले सर्वाधिक २१ रन बनाए। मिनाश थापा र सुमन गहतराजले समान १५ रन बनाए।
नेपाल पुलिस क्लबको बलिङमा पेसर सुनिल दौल्यालले ५ विकेट लिए जुन क्रममा उनले ८ ओभरमा २५ रन खर्चिए। बिपिन खत्री र चित्र विष्टले समान २ विकेट लिए।
प्रतियोगिता अन्तर्गत समुह ‘बी’को दोस्रो खेलमा भोलि बुधबार कोशी प्रदेशले भारतको आसाम क्रिकेट टिमसँग प्रतिस्पर्धा गर्नेछ। भोलि कोशीले आसामलाई पराजित गरे फाइनल प्रवेश गर्नेछ।
आसामले कोशीलाई पराजित गरेको खण्डमा बिहिबार हुने आसाम र नेपाल पुलिस क्लब विरुद्धको खेलले फाइनल पुग्ने टिमको निर्धारण गर्नेछ। समुह ‘ए’ को विजेताको रुपमा त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरिसकेको छ।
प्रतिक्रिया 4