१६ वैशाख, काठमाडौं । नेपाल सुपर लिग एनएसएल २०२५ को उपविजेता टोली पोखरा थन्डर्स एफसीले भारतको प्रतिष्ठित इन्डियन सुपर लिग (आईएसएल) का दुई टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
पोखराले मंगलबार एक विज्ञप्तिमार्फत आईएसएलका दुई टोलीसँग पोखरा रंगशालामा नै खेल हुने जनाएको हो । पोखराले टोलीको नाम र खेल हुने मितिबारे चाँडै जानकारी दिने जनाएको छ ।
यसैबीच पोखरा महानगरपालिकाले एनएसएलमा उपविजेता बनेको पोखरा थण्डर्स टोलीलाई विशेष कार्यक्रममार्फत सम्मान गरेको छ। महानगर प्रमुख धनराज आचार्यले टोलीको उच्च प्रदर्शनको प्रशंसा गर्दै खेलाडीहरूलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरे ।
कार्यक्रममा नगर प्रमुख आचार्यले पोखरा थण्डर्सको आगामी सिजनको तयारीलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाउँदै टोलीले पोखरा रंगशालामै प्रशिक्षण गर्न पाउने व्यवस्था महानगरले मिलाउने बताए।
पोखराले ललितपुर एफसीसँगको प्रतिस्पर्धात्मक फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता स्थान हासिल गरेको थियो।
प्रतिक्रिया 4