
१६ वैशाख, काठमाडौं । चिकित्सा क्षेत्र सुधारका लागि पटकपटक अनसन बसेका अभियन्ता प्रा. डा. गोविन्द केसीले एमबीबीएस, बीडीएसको सिट संख्या बढाउने प्रक्रिया अगाडि बढाएकोमा असन्तुष्टि जनाएका छन् ।
आफूले उठाउँदै आएका माग तत्काल पूरा गर्न सरकार तयार नभए सत्याग्रहमा बस्ने उनले चेतावनी दिएका छ ।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले सरकारले एमबीबीएसको सिट एक सयबाट बढाउने प्रक्रिया अघि बढाउनु गलत भएको बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘एमबीबीएस सिट हालको संख्या भन्दा बढाउन मिल्दैन । निजी मेडिकल कलेजबाट श्रम शोषणमा परेका पीडित रेजिडेन्ट डाक्टरको माग सम्बोधन साथै विगतमा भएका सम्झौता तुरुन्त कार्यान्वयन होस् ।’
हाल एमबीबीएस पढाउन मेडिकल कलेजले एक सय सिट पाउँदै आएका छन् । आयोगको १८ औं बैठकमा शुल्क र सिट परिमार्जनका लागि शिक्षासचिव डा. दीपक काफ्लेको संयोजकत्व ११ सदस्यीय कार्यदल गठन भएको थियो ।
सिटका विषयमा भने शिक्षासचिव डा. काफ्लेको संयोजकको कार्यदलले हाल कायम रहेको एक सय सिटको सिलिङ हटाउँदै थप गर्न सकिने सुझाव दिएको छ । कार्यदलले दिएको सुझावका आधारमा अब एमबीबीएस र बीडीएसको सिट संख्या बढ्ने बाटो पनि खुला भएको छ ।
डा. केसी म्यानमारका भूकम्पपीडितहरूको सेवा गरेर नेपाल फकिँदैछन् ।
पटकपटकको दबाबमा चिकित्सा शिक्षा ऐन लागू भएसँगै चिकित्सा शिक्षा आयोग गठन भएको उनले बताएका छन् ।
प्रधानमन्त्री, मन्त्रीहरू, सांसद, अन्य नेता/नेत्री, कार्यकर्ता, न्यायाधीश, माफियाहरू लगायत विभिन्न स्वार्थपरक समूहको बारम्बार गैरकानुनी हस्तक्षेपका बाबजुद आयोगका पदाधिकारीहरूले सन्तोषजनक काम भइरहेको उनको भनाइ छ ।
तर, आयोगमा पदाधिकारीको नेतृत्व परिवर्तनसँगै गलत तत्वहरूको बेलगाम र निर्लज्ज हस्तक्षेपका कारण चिकित्सा शिक्षा ऐनको अस्तित्व नै गुम्ने अवस्थामा पुगेको डा. केसीको भनाइ छ ।
‘ठग, फटाहा र खुराफातको लहैलहैमा लागेर नागरिकको ठूलो तप्कालाई आफ्नो घुँडामा बन्चरो हानेको थाहा छैन,’ डा. केसीले भनेका छन् । पहिलेदेखिकै मागहरू तत्काल पूरा गर्न सरकार तयार नभए सत्याग्रहमा बस्ने उनले चेतावनी दिएका छन् ।
प्रतिक्रिया 4