
१६ वैशाख, काठमाडौै । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अगामी आर्थिक वर्षदेखि सातवटै प्रदेशमा क्यान्सर, मुटु तथा जलन उपचार सेवा बिस्तार गर्नेगरी सरकार अघि बढिरहेको बताएका छन् ।
अगामी आर्थिक वर्षको बजेटबारे सोमबार प्रदेश सरकारहरूसँगको छलफलमा मन्त्री पौडेलले क्यान्सर उपचार सेवा हाल सबै प्रदेशमा पुग्न नसकेको उल्लेख गरे । ‘आगामी वर्षभित्र सातवटै प्रदेशमा बिस्तार गर्ने सरकारको लक्ष्य छ,’ उनले भने ।
मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै तहको सरकारले संयुक्त रूपमा लगानी गर्नुपर्ने बताए।
‘अब हामीले नीतिगत र सुशासनको क्षेत्रमा सहकार्य कसरी गर्न सकिन्छ भन्नेबारे काम गरौं । जुनसुकै तहको अस्पताल जहाँ छ त्यसमा तीनवटै तहको सरकार मिलेर लगानी गरौं,’ उनले भने, ‘सीमित स्रोत साधनकाबीच प्रभावकारी सेवा बिस्तार गर्न सहयोग पुग्छ कि ? हामी यस्तो मोडालिटीको विकास गर्न खोजिरहेका छौं ।’
मन्त्री पौडेलले मुटु र जलन उपचार सेवाको पूर्वाधार निर्माणका लागि पनि काम अघि बढिसकेको जानकारी दिए । हालसम्म ६० वटा आधारभूत अस्पताल भवन निर्माण भइसकेको उल्लेख गर्दै उनले जनशक्ति र आवश्यक उपकरणको अभावका कारण सेवा सञ्चालनमा चुनौती रहेको बताए ।
‘अहिले हामीसँग भएका स्वास्थ्य उपचारको समेत प्रयोग गर्ने समय सिद्धिन लागेको स्थिति छ । प्रदेश अस्पतालहरूको हकमा समेत त्यही खालको स्थिति रहेको छ,’ उनले भने ।
संघीय अस्पतालहरूमा समेत पर्याप्त पूर्वाधार बन्न नसकेको उनले स्वीकारे । ‘अब ६० वटा आधारभुत अस्पतालका भवनहरु बनेका छन् । तर त्यसमा जनशक्ति पनि छैन, उपकरण पनि छैन,’ उनले भने ।
निर्माणाधीन आधारभूत अस्पताललाई पूर्णता दिन ३० अर्ब बजेट आवश्यक पर्ने उल्लेख गर्दै उनले तीन तहको सरकारबीच सहकार्य हुन जरुरी रहेको बताए ।
प्रतिक्रिया 4