
१६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीदका सपना र शहीद परिवारका पीडा नभुलेको बताएका छन् ।
जनतासँग माओवादी, तराई-मधेश जागरण अभियानअन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका–१८ स्थित फूलबारी डिपोबजारमा शहीद परिवारजनहरूसँगको भेटमा प्रचण्डले यस्तो बताएका हुन् ।
राजनीतिक परिवर्तनमा जनयुद्धका शहीदको सबैभन्दा ठूलो बलिदान रहेको बताएका प्रचण्डले उनीहरूले देखेका सपना पूरा गर्न प्रयास गरिरहने बताए ।
‘जनयुद्धमा समर्पित परिवारको योगदानको मलाई सधैं स्मरण हुने गर्छ । तपाईंहरूका पीडा बिर्सेका छैनौं, बिर्सने पनि छैनौं,’ ‘बीचमा हामी केही बिग्रियौं कि भन्ने आत्मसमीक्षा पनि त्यसको प्रमाण हो,’ उनले भने ।
त्यसक्रममा शहीद परिवारको तर्फबाट प्रचण्डलाई ज्ञापनपत्र बुझाइएको थियो । त्यसलाई आफूले गम्भीरतापूर्वक लिएको भन्दै प्रचण्डले भने, ‘समस्या जहाँ समाधान गर्न सकिन्छ, त्यहीँ गर्नेछौं, नसके केन्द्रमा पुर्याएर अगाडि बढाउनेछौं ।’
केन्द्रीय समितिको पछिल्लो पूर्ण बैठकको निर्णयअनुसार देशभर शहीद तथा बेपत्ता परिवारहरूसँग पार्टीले संवाद गरिरहेको भन्दै उनले आफू प्रधानमन्त्री भएका बेला शहीद र शहीद परिवारको पक्षमा काम गरेको चर्चा पनि गरे ।
‘प्रधानमन्त्री हुँदा जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गरिएको थियो, जुन शहीद, बेपत्ता र योगदान दिने सबैको सम्मानको विषय हो,’ उनले भने, ‘अदालतको आदेशका कारण त्यो प्रक्रिया रोकिए पनि पार्टीले त्यसलाई राष्ट्रिय दिवसकै रूपमा मनाउने गरेको छ ।’
प्रचण्डले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको, सिफारिस समिति बनेको र त्यसको आधारमा आयोग बन्ने प्रक्रियाले गति लिएको जानकारी दिए ।
‘आयोग बनेपछि राज्यले शहीद तथा बेपत्ताका नाममा प्रमाणिक मान्यता दिने, स्मृति पार्क निर्माण गर्ने, प्रमाणपत्र वितरण गर्ने व्यवस्था गरिनेछ । साथै, परिवारका कम्तीमा एक जना सदस्यलाई रोजगारी दिने, सार्वजनिक यातायातमा छुट दिने र परिपूरण सुनिश्चित गर्ने कानुनी व्यवस्था विधेयकमै रहेको छ,’ उनले भने ।
प्रतिक्रिया 4