+

चार्टर्ड एकाउन्टेन्टकी नेता

पूरा सूची
Shares
चार्टर्ड एकाउन्टेन्टहरूको संस्था एक्यानको पहिलो महासचिव सञ्जिता नेपालका आँखा अब अध्यक्ष पदमा छन् । उनी भन्छिन्, ‘सीएहरूको हकहित संरक्षण, एकाउन्टिङका लागि राज्यलाई सहयोग अनि महिला सीए माथि हिंसा भए बलियो प्रतिवाद पनि गर्छौं ।’
सञ्जिता नेपाल

बालखैदेखि पढाइमा अब्बल । कक्षा १ देखि नै प्रथम हुँदै आएकी उनले अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन । मिहिनेतले उनलाई सफलताको शिखरमा पुर्‍याएको छ । अहिले उनी चार्टर्ड एकाउन्टेन्ट (सीए) हरूको संगठन एक्यानको नेतृत्वदायी महासचिव भूमिकामा छिन् । यो पदमा पुग्ने उनी पहिलो महिला हुन् । अब उनलाई पहिलो महिला अध्यक्ष बन्ने हुटहुटी छ ।

घरकी माहिली छोरी सञ्जितालाई आर्थिक वा पारिवारिक सहयोगमा कहिल्यै कुनै अभाव भएन । काठमाडौं पेप्सीकोलामा जन्मी–हुर्केकी उनी जब कक्षा ८ मा पुगिन्, त्यसपछि आफन्त तथा छरछिमेकले ‘ठूली भएपछि के बन्छेस् ?’ भनेर प्रश्न गर्न थाले । तर, उनी अनुत्तरित हुन्थिन् ।

पढाइमा अब्बल भए पनि उनले के बन्ने भन्ने निर्णय गर्न सकिरहेकी थिइनन् । उनका साथीहरू भने डाक्टर, इन्जिनियर, नर्स, एअरहोस्टेस, वकिल यस्तै–यस्तै बन्छु भन्थे । यी कुनै पेशाले उनको मन तान्न सकेन । तर मनमा लागिरहन्थ्यो– पछि के पढ्ने, के बन्ने ? के पढ्दा समाजले सम्मान दिन्छ ?

साथीसंगीले अन्य पेशाबारे भन्दै जाँदा सुनेको ‘सीए’ शब्द आफैंमा नयाँ लाग्यो उनलाई । अरू सबै जागिरेको कामको प्रकृति बुझे पनि नबुझेको सीएबारे कौतूहल बढ्दै गयो ।

‘सीएको पढाइ कस्तो हो ?, यो पढेपछि के बनिन्छ ?’ जिज्ञासा बढ्यो सञ्जितालाई ।

‘यो त धेरै अप्ठेरो विषय हो, कसैले पनि पास गर्न सक्दैन’ भन्ने जवाफ उनी पाउँथिन् । ‘फेल हुने विषय’ का रूपमा सीएलाई सबैले व्याख्या गर्न थालेपछि उनलाई मनमा लाग्यो, ‘कस्तो विषय होला, म यही पढेर, पास गरेर देखाउँछु !’

त्यतिबेला सीए पढ्न दुःख हुने, पास नहुने भन्ने मान्यता समाजमा व्याप्त रहेको उनी सुनाउँछिन् । सीए पढाइबारे इन्टरनेटमा सर्च गर्ने, बुझ्ने गर्न थालिन् । यहीबीच रिलायन्स इन्टरनेशनल कलेजबाट १२ कक्षा उत्तीर्ण गरिन् । त्यसपछि पनि उनी सीए नै पढ्ने निर्णयमा पुगिन् । अरूले फेल हुने विषय भनेर निरुत्साहन गर्दा आफू पास भएर देखाउने उनको दृढता थियो ।

‘समाजका शिक्षित वर्गले नै सीए पढ्न सकिंदैन, गाह्रो छ भनेपछि झन् त्यही कोर्स पढ्ने र पास भएरै देखाउने आत्मबल बढ्यो’ सञ्जिता भन्छिन्, ‘समाजको नकारात्मक सोच परिवर्तन गराउन पनि सीए पढ्न जरूरी ठानें ।’

सन् २०११, नेपालकै ‘इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल’ (आइक्यान) मा पढ्ने उनको चाहना थियो । तर, समयमै उचित गाइडलाइन नपाउँदा भर्ना हुने म्याद गुज्रियो । अब ६ महिनापछि मात्रै भर्ना खुल्ने भनेपछि उनलाई त्यो समय नोक्सान गर्न मन लागेन ।

इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया (आईसीएआई) मा भने भर्नाको समय चलिरहेकै थियो । त्यसपछि उनले आईसीएआईमै सीए पढ्ने सोचिन् । तर, छोरीलाई एक्लै अर्को देश पढ्न पठाउन परिवारले नमान्ने ठानिन् । यद्यपि, सानैदेखि उनको पढाइप्रति परिवारमा विश्वास थियो, पढ्नलाई परिवारबाट कुनै अवरोध भएन ।

शुरूमा ६ महिनाको पहिलो लेभल फाउन्डेसन कोर्स उनले नेपालमै पढिन् र दोस्रो लेभल ‘आईपीसीसी’ (इन्टरग्रेटेड प्रोफेसनल कम्पिटेन्स कोर्स) अध्ययन गर्न सन् २०११ मा नयाँदिल्ली पुगिन् । ‘बुबाले नै दिल्ली (लक्ष्मीनगर) पढ्न लैजानुभयो, त्यहाँ चाँजोपाँजो मिलाउनुभयो’, उनी सम्झिन्छिन् ।

उनको ब्याचमा सीए पढ्ने कोही थिएनन् । तर, ४/५ महिनापछि दोस्रो लेभलको पढाइका क्रममा दिल्लीस्थित लक्ष्मीनगरमा प्रशस्त नेपाली विद्यार्थी भेटिए । उनलाई त्यहाँको वातावरणमा घुलमिल हुन असहज भएन । उनी जस्तै सीए पढ्ने केटीहरूको संख्या प्रशस्त थियो ।

आर्थिक रूपमा मध्यमस्तर तर पढाइमा मिहिनेत गर्नेले सीए अध्ययन गर्न सक्ने उनको भनाइ छ । ४/५ लाख रुपैयाँमै सीए पढ्न सकिने उनी बताउँछिन् ।

आईपीसीसीका लागि विषय अनुसारका शिक्षकसँग पढ्न जरूरी थियो । नौ महिनाको दोस्रो लेभलमा पनि उनी पास भइन् । तेस्रो लेभलको पढाइ ‘आर्टिकलसिप’ मा भने पहिलो परीक्षामा उनी सहित सबै साथी फेल भए ।

आफू ८/९ कक्षामा पढ्दाखेरि सुन्ने गरेको सीए पढ्दा धेरै फेल हुन्छन् भन्ने बुझाइ महसुस गरिन्, तर हिम्मत हारिनन् ।

एक्यानको महासचिव पद महिलाले सम्हालेको यो नै पहिलो पटक हो । एक्यानले सीएहरूको हकहित संरक्षण गर्ने, एकाउन्टिङका लागि राज्यलाई सघाउने, उपयुक्त नीति–निर्माणका लागि पहल गर्ने लगायतको काम गर्दै आएको छ

तीन वर्षको आर्टिकलसिपको अर्को परीक्षा दिइन्, २०१७ मा उनले सीए पास गरिन् । नेपाल आएपछि फेरि उनले ल (कानून) र ट्याक्स (कर) को परीक्षा पास गरिन् । भारतको कानून र यहाँको कर प्रणाली नमिल्ने भएकाले भारतमा सीए पास गरेका सबैले यहाँ सीएको मान्यता पाउन यी दुई विषय उत्तीर्ण हुनुपर्ने व्यवस्था छ । त्यसपछि यहाँ आइक्यानको सदस्यता पाइन्छ ।

जहिले पनि नेतृत्व तहमा पुगेर संघ–संस्थालाई अघि बढाउने हुटहुटी राख्ने सञ्जिताले सन् २०२० मा चार्टर्ड एकाउन्टेन्टहरूको संगठन एक्यानको सदस्यमा चुनाव जितिन् । उनी २०२१ देखि आफ्नै फर्म सञ्चालन गर्दै आएकी छिन् । २०२४ को चुनावमा एक्यानको महासचिव चुनिइन् ।

एक्यानको महासचिव पद महिलाले सम्हालेको यो नै पहिलो पटक हो । एक्यानले सीएहरूको हकहित संरक्षण गर्ने, एकाउन्टिङका लागि राज्यलाई सघाउने, उपयुक्त नीति–निर्माणका लागि पहल गर्ने लगायतको काम गर्दै आएको छ ।

विभिन्न समयमा हुने करका दर हेरफेर, संशोधित आर्थिक तथा वित्तीय ऐन, कानूनका विषयमा संघमा छलफल तथा बहस हुने गरेको छ । साथै, यी विषय सीए अध्ययनरत विद्यार्थीमाझ पनि लगेर बुझाउने, सिकाउने कार्य गर्ने गरिएको उनी बताउँछिन् ।

उनी एक्यान टोस्टमास्टर्स क्लबकी अध्यक्ष पनि हुन् । यो बोल्ने शैली विकास गर्ने एक गैरनाफामुखी संस्था हो । एक्यान टोस्टमास्टर्स क्लब भएकाले सीए मात्रै यो संस्थामा आबद्ध हुन सक्छन् । निजी क्षेत्रका विभिन्न संघ, व्यापारिक घराना तथा उद्योगी–व्यवसायीले पनि करका विषयमा एक्यानसँग सरसल्लाह लिन सक्छन् । सातै प्रदेशमा एक्यानका कार्यालयहरू राखिएका छन् ।

व्यवसाय पनि सँगसँगै

केही न केही काम गरिरहनुपर्ने स्वभाव भएकी सञ्जिता सीए मात्र होइनन्, व्यवसायी पनि हुन् । उनले नेपालको उत्पादनलाई बिचौलिया विना नै भान्सासम्म पुर्‍याउने गरी एकल स्वामित्वको ‘किसान टु किचेन’ कम्पनी सञ्चालन गरेकी छन् । कुनै ठाउँमा प्रशस्त उत्पादन भएर खेर जाने तर अर्को ठाउँमा महँगोमा ग्राहकले किन्नुपर्ने बाध्यता हटाउने उद्देश्य उनको कम्पनीको छ ।

नेपालमा उपयुक्त भण्डारण गृह अभाव, कमजोर सडक पूर्वाधारका कारण यसमा ठूलो चुनौतीको पाठ सिकेको उनी सुनाउँछिन् । ‘शुरूमा नुवाकोटका किसानबाट स्ट्रबेरी खरीद गरेर काठमाडौंमा ल्याएर केही उपभोक्तालाई बेच्यौं, केही फलफूल पसलमा बेच्यौं तर स्टोर अभावका कारण केही खेर पनि गयो’, उनले अनुभव बाँडिन् ।

त्यस्तै नेपाली उत्पादनभन्दा विदेशी उत्पादन आकर्षक देखिने हुँदा पनि बजारीकरणमा असहज रहेको उनी बताउँछिन् । सरकारको अनुदान सही किसानमा जानुपर्ने, ठाउँ–ठाउँमा स्टोर सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । अब थप अध्ययन र टीम ठूलो बनाएर मात्रै यो कम्पनीलाई अघि बढाउने तयारी गरिएको उनले बताइन् ।

महिलामाथि हुने जस्तासुकै खराब व्यवहारप्रति डटेर लड्ने स्वभाव छ उनको । करिब पाँच महिनाअघि कुनै कार्यालयमा एक विद्यार्थी सीएमाथि दुर्व्यवहार भएको जानकारी पाएपछि उनकै पहलमा महिला सीएहरूले ‘पेनडाउन’ गरी विरोध जनाएका थिए । उनीहरूले दोषीमाथि छानबिन गरी कारबाही गर्न दबाब दिएका थिए ।

‘यस्ता घटना अझै पनि निजी तथा सरकारी कार्यालयमा समेत हुन सक्छन्’ उनी भन्छिन्, ‘दुर्व्यवहार विरुद्ध सबै महिलाले विरोध गर्ने क्षमता बढाउनुपर्छ, हरेक कार्यालय महिला कर्मचारीका लागि सहज हुनुपर्छ ।’

सञ्जिताका श्रीमान् समेत सीए भएकै कारण घरपरिवारबाट पर्याप्त सहयोग पाएकी छिन् । कतिपयले विवाहपछि करिअर नै छाड्नु परिरहेका बेला उनी भने विवाहपछि पनि सक्रिय भएर काम गर्न पाएको अनुभव सुनाउँछिन् ।

लेखक
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।