+
Home Sports Cricket अनिल साह

अनिल साह
नेपाल, विकेट किपर

Full Name: अनिल साह
Nationality: नेपाल
Date of Bith: 1998-11-17 (25 yrs)
Team: Nepal
Position: विकेट किपर

क्रिकेटमा पुनरागमन कति धेरै गाह्रो हुन्छ, त्यसको व्यथा अनिलकुमार साहलाई भन्दा अरूलाई के थाहा हुन्छ र ! नेपाली क्रिकेटको पछिल्लो इतिहासमा कुनै खेलाडीले पुनरागमनका लागि साँच्चै धेरै संघर्ष गरेका छन् भने ती हुन्– यिनै अनिल । उनले कहिल्यै हरेस खाएनन् । उनले एकपल्ट फेरि के मौका पाए, त्यसलाई उत्तिकै न्याय पनि गरेका छन् । यो सबैका लागि उनी श्रेय दिन चाहन्छन् आफ्नो परिवारलाई । त्यसैले सबैको मन जित्ने गरेर उनले भनेका छन्, ‘मैले मात्र होइन, मेरो परिवारले नै क्रिकेट खेलिरहेको छ ।’

बाराको कलैयामा जन्मेका हुन्, अनिल । उनको परिवार नै क्रिकेटमय थियो । अझ उनमा तराईको क्रिकेट संस्कारको बाक्लो प्रभाव छ भन्दा हुन्छ । सानै उमेरदेखि उनले क्रिकेट खेल्न सुरु गरे । सुरुमा उनलाई नेपाली क्रिकेटको भविष्य मानिएको थियो, विशेषतः विकेटकिपरका रूपमा । उनी जुनसुकै क्रममा पनि ब्याटिङ गर्न सक्ने खुबी राख्थे । उनको खेल जीवनको एउटा ठूलो विशेषता हो, अनिल नेदरल्यान्ड्स विरुद्ध पहिलो वान डे खेलेको टिमका एक सदस्य थिए ।

घरेलु क्रिकेटमा प्रवेश

सन् २०१६ मा उनी पहिलो पटक नेपालको यू–१९ टिममा परे । त्यससँगै उनी श्रीलंका भ्रमणमा निस्के र मलेसिया विरुद्धको खेलमा ३२ रन बनाए । सन् २०१७ को यू–१९ एशिया कपमा नेपाल अफगानिस्तान विरुद्ध १०३ रनमै अलआउट भएको थियो । यो कमजोर स्कोरमा पनि अनिलको योगदान थियो, ५० रनको । सन् २०१७ को ईपीएलमा विराटनगर वारियर्सलाई च्याम्पियन बनाउन उनले महत्वपूर्ण भूमिका खेले । फाइनलमा उनले तीन विकेट लिए ।

अनिलले सन् २०१८ मा प्रधानमन्त्री कप वान डे क्रिकेटमा एपीएफका लागि खेले । तर त्यसको अर्को वर्ष नै पुलिस टिममा गए र सन् २०२१ सम्म त्यहीं रहे । त्यसपछि उनले मधेश प्रदेशबाट खेल्ने निर्णय गरे । यो निर्णयले उनको खेल जीवनमा ठूलो प्रभाव पर्‍यो । सन् २०२१ को सप्तरी प्रिमियर लिगमा उनले लगातार दुई शतक प्रहार गरे । सन् २०२४ को प्रधानमन्त्री कपमा उनले मधेश प्रदेशबाट खेल्दै सर्वाधिक ३८६ रन बनाए ।

त्यस प्रतियोगिताको तयारीका लागि उनले दशैं र तिहार पनि भनेनन् । भारतमै रहेर अभ्यास गरेका थिए । त्यसै कारण उनले गण्डकी विरुद्ध १२८ रनको शतकीय इनिङ्स खेले । त्यति मात्र होइन, उनले कोशी विरुद्ध ८८, सुदूरपश्चिम विरुद्ध ६९ र कर्णाली विरुद्ध ४४ रन बनाए । यो उनको खेल जीवनको सबैभन्दा राम्रो प्रदर्शन रहेको छ । यसैले उनले पुनरागमनका लागि गरेको मिहिनेत प्रष्ट पार्छ ।

नेपालका लागि डेब्यु

उमेर समूह र फ्रान्चाइज क्रिकेटमा राम्रो प्रभाव छाडेपछि उनी आईसीसी क्रिकेट लिग डिभिजन–टु खेलेको टिममा परे । उनले सन् २०१८ मा केन्या विरुद्ध खेलेर नेपालका लागि डेब्यु गरे । त्यसपछि उनी विश्वकप छनोट खेल्न जिम्बाब्वे गए । नेदरल्यान्ड्स विरुद्धको पहिलो वान डेमा उनले ३२ बलमा तीन चौका सहित २१ रन बनाए । लगत्तै अर्को खेलमा चार रनको मात्र योगदान दिए । नेपाली टिमका लागि उनको प्रदर्शन मध्यम खालको मात्र रह्यो ।

नेदरल्यान्ड्स विरुद्ध नै सन् २०१८ मै नेपालका लागि ट्वान्टी ट्वान्टी क्रिकेट पनि खेले । नेदरल्यान्ड्स भ्रमणपछि उनी नेपाली टिमबाट बाहिर रहे । त्यसपछि टिममा फर्कन उनले साँच्चै धेरै संघर्ष गर्नु परेको थियो । घरेलु क्रिकेटमा मधेशका लागि राम्रो प्रदर्शन गरेपछि उनी पपुवा न्युगिनी विरुद्धको दुई वान डेमा खेल्ने अवसर पाए । त्यसमा उनले ६ र एक रन मात्र बनाउन सके । उनले फेरि नेपाली टिममा निरन्तरता पाउन सकेनन् । सन् २०२४ को प्रधानमन्त्री कपमा राम्रो खेलेपछि उनी प्रशिक्षक मोन्टी देसाईको नजरमा परे ।

उनी क्यानडा विरुद्धको तीन वान डे सिरिज खेलको टिममा समेटिए । अनिलले दोस्रो खेलमा २० बलको सामना गरेर ५० रनको आक्रामक इनिङ्स खेले । उनले सात चौका र तीन छक्का प्रहार गरे । तेस्रो खेलमा उनले ११२ रनको शानदार शतकीय इनिङ्स खेले । त्यसमा उनले १२४ बलको सामना गरे, अनि १२ चौका र २ छक्का प्रहार गरे । त्यस शतकपछि उनले नेपाली टिममा निरन्तरता पाए । त्यसपछि उनी ट्वान्टी ट्वान्टी टिममा पनि परे, तर एसीसी प्रिमियर कपमा खेल्न पाएनन् ।

Read Full