+
Home Sports Cricket आकाश चन्द

आकाश चन्द
नेपाल, बलर

Full Name: आकाश चन्द
Nationality: नेपाल
Date of Bith: 2004-12-18 (19 yrs)
Team: Nepal
Position: बलर

धेरै अरू खेलाडीको जस्तै छ आकाश चन्दको कथा पनि । महेन्द्रनगरको वनगाउँमा जन्मिएका चन्दले सानोमा टेनिस बलबाट क्रिकेट खेल्न सुरु गरे । सुरुमा विकेट किपर थिए । क्रिकेट खेल्नुको लोभ थियो– घुम्न जान पाउने । घरको आर्थिक अवस्था राम्रो थिएन । बुबा रोजगारीका लागि भारत गएका थिए । खेतमा खेल्दाखेल्दै कञ्चनपुर क्रिकेट एकेडेमीमा के भर्ना भए, विस्तारै क्रिकेट बुझेर सिकेर खेल्न थाले । क्रिकेटमा झन् मन बस्यो ।

तर पढाइ भने छुट्न थाल्यो । आमाले दुई विकल्प दिएकी थिइन्, विदेश जाने अथवा पुलिसमा भर्ना हुने । एक प्रकारले आकाश द्विविधामा फसे । क्रिकेट छाड्ने निर्णयमा पुगे । यसबीच उनले दुई सल्लाह पाए, जसको प्रभाव उनको खेल जीवनमा निर्णायक रह्यो । पहिलो सुझाव विनोद भण्डारीको थियो । आकाशको उचाइ राम्रो थियो । त्यसैले बलर बन्न सुझाव दिए । त्यसपछि ब्याटिङ छाडेर बलिङमै बढी ध्यान दिए । अन्ततः फास्ट बलर बने ।

र, वर्ष २०७६ को असोज महिनाको अन्त्यतिर हुनुपर्छ, आकाशलाई भीम सार्कीको फोन आएको थियो । भीमले यू–१९ विश्वकप छनोटको तयारीका लागि नेट अभ्यासमा संलग्न हुन आकाशलाई सुझाएका थिए । भीम आफैं आकाशको बलिङबाट प्रभावित थिए । आकाशलाई लाग्यो, अन्तिम पटक प्रयास गर्नेछु । आमालाई फकाएर पाँच हजार रुपैयाँ लिएर काठमाडौं लागे । त्यसपछि के भयो, त्यो भने अब लगभग सबै क्रिकेटप्रेमीलाई थाहा छ ।

ट्यालेन्ट हन्टबाट बनेको अवसर

आकाश काठमाडौं त आए, तर क्याम्प केही ढिला सुरु भयो । त्यसैले प्रशिक्षक रहेका विनोद दासले निर्णय गरे, अब नेट प्राक्टिस गर्ने होइन, सीधै खेल खेलाउने । त्यो समय नेपाल क्रिकेट संघ अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को प्रतिबन्धबाट गुज्रिइरहेको थियो । ट्यालेन्ट हन्टबाटै खेलाडी छनोट गर्नुपर्ने बाध्यता थियो । विनोद दासले निरज चन्दलाई भनेपछि आकाशलाई खेल्ने अवसर थियो । आफ्नो पहिलो खेलमै उनले गज्जब गरे, यू–१९ का मुख्य मुख्य खेलाडी रहेका आसिफ सेख, पवन सर्राफ र रित गौतमलाई आउट गरे ।

अझ दोस्रो खेलमा दुई र तेस्रो खेलमा तीन विकेट लिए । सबैको ध्यान आफूमा खिच्न सफल रहे । एउटा खेलमा ब्याटिङको अवसर पनि पाए । उनी स्ट्राइकमा पुग्दा बलर थिए, सन्दीप लामिछाने । उनी ह्याट्रिक गर्ने क्रममा थिए । तर आकाशले सन्दीपको बलमा एक छक्का र चौका प्रहार गरे । त्यसपछि त उनी नेपालको यू–१९ टिममा परे र भारतमा च्यालेन्जर्स कप खेल्न गए । सन् २०१९ मा मेरिलेबोन क्रिकेट क्लब नेपाल आएको थियो, त्यसका विरुद्ध नेपाल ‘ए’ बाट खेलेर एक विकेट पनि लिए ।

आकाशले सन् २०१९ मा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग पोखरा पल्टन, सन् २०२१ मा एभरेष्ट प्रिमियर लिग काठमाडौं किग्स–११ र पछिल्लो वर्ष नेपाल टी–२० लिगमा लुम्बिनी टाइगर्सको टिममा थिए । तर खेल्नै पाएनन् । बेञ्चमै सीमित भए । नेपाली घरेलु क्रिकेटमा उनले सुरुमा सुदूरपश्चिमबाट खेले । सन् २०२१ देखि भने आर्मीबाट खेल्दै आएका छन् । आर्मीमा यसअघि नै सोमपाल कामी, जितेन्द्र मुखिया र विक्रम सोब जस्ता खेलाडी थिए, तर त्यसैले पहिलो रोजाइमा पर्न संघर्षरत रहे ।

नेपाली टिममा प्रवेश

सन् २०२२ को डिसेम्बरमा सुदूरपश्चिमले यू–१९ राष्ट्रिय जितेको थियो र त्यसमा आकाशको प्रदर्शन निर्णायक रह्यो । उनले प्रतियोगितामा १५ विकेट लिएका थिए । त्यसपछि नेपाली राष्ट्रिय टिमका लागि उनी नेट बलर बने । सन् २०२३ को सुरुमा आईसीसी यू–१९ विश्वकप एशिया क्षेत्र छनोट खेल्ने बेला टिममा आकाश परेनन् । तर अर्का फास्ट बलर राजेश यादव घाइते भएपछि आकाशले अन्तिम १८ मा मौका पाए ।

गुल्सन झा सिनियर टिमबाट खेल्ने भएपछि आकाशले प्रतियोगिता खेल्न यूएई जाने अवसर पाए । त्यहाँ पहिलो खेलमा उनले अवसर पाएनन् । हेमन्त धामी र दुर्गेश गुप्तालाई मौका दिइयो । दोस्रो खेल कुवेत विरुद्ध थियो र त्यसमा भने दुर्गेशको स्थानमा आकाशलाई टिममा राखियो । त्यो खेलमा नेपालले ३४४ रनको लक्ष्य तयार पारेको थियो, देव खनालको १२५ र अर्जुन कुमालको १०८ रनको मद्दतले । जवाफमा कुवेत १०० रनमा अलआउट भयो ।

आकाशले ९.५ ओभर बलिङ गर्दै ४३ रनमा ६ विकेट लिए । त्यसपछि त प्रशिक्षक जगत टमाटाले उनलाई लगातार अवसर दिए । आकाशले आफूलाई प्रमाणित पनि गरे । हङकङसँग दुई र मलेसियासँग तीन विकेट लिए । यू–१९ विश्वकप छनोट, यू–१९ प्रिमियर कप, यू–१९ एशिया कपमा मात्र नभएर दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकपमा पनि आकाशले राम्रो गरे । त्यस विश्वकपमा सुपर सिक्समा पुग्नका लागि नेपालले अफगानिस्तानलाई हराउनु परेको थियो ।

त्यसमै आकाशले पाँच विकेट लिए । त्यसमा अफगानिस्तान १४५ रनमा अलआउट भएको थियो । त्यसपछि पाकिस्तान विरुद्धको खेलमा पनि तीन विकेट हात पारे । त्यसपछि त उनी मोन्टी देसाईको नजरमा परे । क्यानडा विरुद्धको तीन वान डेको सिरिजमा उनी पहिलो पटक राष्ट्रिय टिममा परे । फेब्रुअरी १० मा भएको दोस्रो खेलमा उनले डेब्युको अवसर पाए । शरद भेषवाकरले उनलाई क्याप दिएका थिए । त्यसलगत्तै हङकङ विरुद्ध खेलेको ट्वान्टी ट्वान्टीमा टिममा परे र मार्च ९ को खेलमा डेब्यु पनि गरे ।

Read Full