
नेपाल विरुद्ध कीर्तिपुरमै टी२० आईमा छिटो शतक हान्ने लफ्टी इटन
नामिबिया, ब्याट्समेन

जान निकोल लफ्टी-इटन । नामिबियाका यी क्रिकेटरको नाम कसले बिर्सेलान् ।
बिर्सुन् पनि कसरी । लफ्टी इटन तीनै खेलाडी हुन् जसले नेपाल विरुद्ध कीर्तिपुरस्थित टीयू मैदानमै शतक प्रहार गरे ।
त्यो पनि चानचुने शतक मात्र होइन । नेपालका कुशल मल्लको नाममा रहेको टी२०आईमै सबैभन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमान पनि तोडे । (अहिले टी२०आई मा सबैभन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमान इस्टोनियाका साहिल चौहानको नाममा छ । उनले २७ बलमै साइप्रस विरुद्ध टी२० आईमा शतक प्रहार गरेका थिए ।)
नेपालमा भएको घरेलु टोली नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी२० त्रिकवणात्मक शृखंलामा खेलमा लफ्टी इटनले सो उपलब्धी हात पार गरेका हुन् ।
लेग स्पिनर लोफ्टीको त्यसअघि टी२० आईमा उच्च प्रदर्शन २०२२ मा जिम्बावेविरुद्ध बनाएको २८ रन नै थियो । त्यस शतकअघि उनले टी२०आईमा अर्धशतक समेत बनाएका थिएनन् । तर ११ औं ओभरको चौथो बलमा नामिबियाको तेस्रो विकेट गुमेपछि क्रिजमा पुगेका उनले एक अविश्वसनीय ब्याटिङ गरे । १९औं ओभरको पहिलो बलमा दीपेन्द्र सिंह ऐरीलाई छक्का हानेपछि उनले ३१ बलमा ९६ रन पुर्याएका थिए । अर्को बल दीपेन्द्रले डट राखेपछि तेस्रो बलमा चौका प्रहार गर्दै लफ्टी इटनले ३३ बलमा शतक पूरा गरेका थिए ।
लफ्टी इटनले हजारौँ नेपाली दर्शकअघि टीयू मैदानमा ३३ बल खेल्द ११ चौका र ८ छक्का मद्तमा शतक पूरा गरेका थिए । त्यस खेलमा उनले ३६ बल खेलेर १०१ रन बनाउँदै आउट भए ।
२७ फेब्रुअरी २०२३ मा टीयू मैदानमा घरेलु टोली नेपाल विरुद्ध लफ्टी इटनले ३३ बलमै शतक प्रहार गर्दै कुशल मल्लको कीर्तिमान तोडेका थिए । कुशल मल्लले गत वर्ष चीनको हान्झाउमा भएको १९औं एसियाडमा मंगोलिया विरुद्ध ३४ बलमै शतक प्रहार गरेर कीर्तिमान बनाएका थिए ।
कुशल मल्लले भारतका रोहित शर्मा र दक्षिण अफ्रिकाका डेविड मिलरले ३५ बलमा बनाएको छिटो शतकको कीर्तिमान तोडेका थिए । तर ५ महिनापछि नै कुशलकै आँखा अगाडि नै लफ्टीले तोडेका छन् ।
कुशलले गत सेप्टेम्बरमा मंगोलियाविरुद्ध ६ चौका र ९ छक्का हानेर ३४ बलमा शतक पूरा गरेका थिए । त्यो खेलमा कुशलले ५० बलमा ८ चौका र १२ छक्कासहित १३७ रनको इनिङ खेलेका थिए ।
संयोग कस्तो भने यीनै दुई आक्रमक ब्याटर अब नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइजमा एकै टिमबाट सँगै खेल्ने भएका छन् ।
यही मंसिर १५ गतेदेखि सुरु हुने एनपीएलमा लफ्टी इटनलाई चितवन राइनोजले अनुबन्ध गरेको छ ।
चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोजले कुशलकै कीर्तिमान तोडेकै खेलाडीलाई टिममा अनुबन्ध गरेको हो । संयोग कस्तो भने कुशल मल्ल नै चितवन राइनोजको मार्की प्लेअर हुन् ।
टीयू मैदानसँग लफ्टी इटनको सम्झनलायक क्षण छ । त्यसैले पनि फेरि चितवन राइनोजबाट टीयू मैदानमा एनपीएल खेल्न उनी निकै उत्सहित छन् ।
चितवन राइनोजमा अनुबन्ध हुन पाउँदा लोफ्टी–इटनले खुसी व्यक्त गरेका छन् । ‘त्रिवि क्रिकेट मैदानको सम्झना मेरो हृदयमा कोरिएको छ । यो मैदानले मलाई टी–२० क्रिकेटको सबैभन्दा अविस्मरणीय इनिङ्स खेल्ने अवसर दिएको छ,’ चितवनमा अनुबन्ध भएपछि लफ्टी इटनले भनेका थिए, ‘अब नेपाली क्रिकेट समर्थकका अगाडि चितवन राइनोजबाट त्यस्तै प्रदर्शन गर्ने समय आएको छ ।’ उनले भने ।
चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानेले लोफ्टी इटन र मल्ल एकै टोलीमा भएको कारण एनपिएल थप रोमाञ्चक हुने विश्वास व्यक्त गरे । ‘नेपाली क्रिकेट समर्थकहरूले उनलाई गत सिजन त्रिवि मैदानमा कुशलको कीर्तिमान तोडेको देखेका थिए । अब दुवै धुरन्धर खेलाडी एउटै टोलीबाट खेल्नेछन् । आफ्नो सिट बेल्ट बाँध्नुहोस्’ उनले भने ।
लफ्टी इटनको प्रदर्शन
२३ वर्षीय बायाँ हाते ब्याटिङ अलराउण्डर लफ्टी इटन अहिले टी२०आईमा सबैभन्दा छिटो शतक बनाउने सूचीमा उनी दोस्रो स्थानमा छन् भने कुशल मल्ल चौथो स्थानमा छ ।
गत महिना जिम्बाव्वेका सिकन्दर राजाले पनि ३३ बलमै टी२०आईमा शतक प्रहार गरेका थिए । यस्तै टी२०आईमा सबैभन्दा छिटो शतक २७ बलमै बनेको छ ।
अहिलेसम्म नामिबियाका लागि ३९ टी२०आई खेल खेलेका उनले ४१४ रन बनाएका छन् । जसमा एक शतक समावेश छ । सबैखाले टी२० मा ५१ खेलमा उनले ६०७ रन बनाएका छन् ।
लफ्टी इटनले नामिबयाको यू१९ टिमबाट खेल्दै क्रिकेट करियर सुरु गरेका थिए । उनले नामिबियाको सिनियर टिमबाट ४० ओडिआई र ३९ टी२०आई खेल खेलिसकेका छन् ।
लफ्टी इटनले नामिबियाका लागि ४० ओडिआई खेलमा ७ अर्धशतक प्रहार गर्दै ९२३ रन बनाएका छन् । उनको उच्च स्कोर ७३ रहेको छ ।
उनले एक फस्ट क्लास म्याच पनि खेलेका छन् । यस्तै उनले ओडिआईमा २१ विकेट लिएका छन् भने टी२० मा १२ विकेट लिएका छन् ।
- गोविन्दराज नेपाल
प्लेयर्स टु वाच



