+
Home Sports Cricket सना प्रवीन

सना प्रवीन
नेपाल, ब्याट्समेन

Full Name: सना प्रवीन
Nationality: नेपाल
Position: ब्याट्समेन

सना प्रवीण नेपाली यू-१९ क्रिकेट टिमकी ओपनिङ ब्याटर हुन् । १७ वर्षीय दाँयाहाते ब्याटर सनाले ११ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेकी हुन् ।

वीरगञ्जमा जन्मिएकी सनाले दाईले क्रिकेट खेलेको देखेर त्यसबाट सिको गर्दै क्रिकेट खेल्न थालेकी थिइन् । परिवारबाट पनि निकै राम्रो साथ पाएकी सनालाई दाईले क्रिकेट खेल्न सुरूवात गराएपछि उनले जिल्लादेखि प्रदेश हुँदै यू-१९ राष्ट्रिय टिमसम्मै अवसर पाएकी हुन् ।

उनले मधेश प्रदेशको टोलीबाट पीएम कप महिला राष्ट्रिय क्रिकेट र नवौं राष्ट्रिय खेलकुद खेलिसकेकी छन् ।

यसअघि सन् २०२२ मा भएको यू-१९ विश्वकपको छनोटदेखि नेपालको यू-१९ टिममा खेलेकी छन् । सनाले त्यसयता यसपटकको छनोट र यू-१९ एसिया कप हुँदै विश्वकपसम्मको यात्रा तय गरेकी छन् ।

अघिल्लोपटक विश्वकपमा छनोट हुन नसक्दा दु:ख लागेको तर यसपटकको विश्वकपमा छनोट भएर उक्त दु:खलाई सुखमा परिणत गर्न सफल भएको बताउँदै उनले विश्वकपमा एकदम राम्रो प्रदर्शन गर्न तयार रहेको बताएकी छन् । नेपालको जितको लागि महत्वपूर्ण पारी खेल्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन् ।

उनी विराट कोहलीबाट प्रभावित भएको बताउँछिन् ।

दाईको सपना बहिनीले पूरा गर्दै

सनाले आफू क्रिकेटमा लाग्नु र क्रिकेट सुरू गर्नुको सम्पूर्ण श्रेय आफ्नो दाईलाई दिन्छिन् । उनको दाईले पनि सानैदेखि क्रिकेट खेल्ने गर्थे । उनी हाल पनि स्थानीय क्रिकेट प्रतियोगितामा खेल्दै आइरहेका हुन्छन् ।

दाईको सपना थियो एकदिन ठुलो टोलीबाट क्रिकेट खेल्ने भन्ने तर उनको सपना पूरा नभएपनि उनले बहिनीलाई क्रिकेटर बनाउने सोचेर क्रिकेट सिकाउन थाले । सनाले स्थानीय प्रतियोगिताहरूमा भाग लिन थालिन् र त्यहाँबाट मधेश प्रदेशको यू-१९ टोली हुँदै मधेश प्रदेशको सिनियर टिममै खेलिन् ।

उनलाई परिवारको पनि निकै राम्रो साथ मिलेको छ । ‘क्रिकेट खेल्न त सानैदेखि दिनुहुन्थ्यो, चोट लाग्दा विचार गर्नु भन्नुहुन्थ्यो’ उनले भनिन्, ‘दाई भएर म ढुक्क थिएँ, अहिले नेपालबाट खेल्न थालेपछि झन् खुसी हुनुहुन्छ, धेरै सपोर्ट गर्नुहुन्छ।’

पीएम कप र राष्ट्रिय खेलकुद लगायत अन्य प्रतियोगिताहरूमा उनको प्रदर्शन राम्रो भएपछि उनी आईसीसी यू-१९ विश्‍वकप छनोट २०२२ को क्लोज क्याम्पमा परिन् भने त्यसपछि विश्‍वकप छनोट खेल्ने नेपालको टोलीमा १५ वर्षको उमेरमै समावेश भइन् । त्यसबेला नेपालको प्रदर्शन छनोटमा राम्रो हुन नसक्दा बाहिरियो ।

यसपटक पनि सना यू-१९ विश्‍वकपको छनोटका लागि छानिइन् र नेपाल विश्‍वकप पुग्ने यात्रामा उनको ‌ओपनिङ ब्याटिङको पनि योगदान रह्‍यो । त्यसपछि एसिया कप हुँदै उनी विश्‍वकपकै स्टेजसम्म नेपालको टोलीलाई प्रतिनिधित्व गर्दै खेल्न सफल भएकी छन् ।

Read Full