
नेपाली क्रिकेटका भविष्य अर्जुन कुमाल
नेपाल, ब्याट्समेन

युवा उमेरमै आफूलाई परिपक्व ब्याटरको भूमिका देखाएका खेलाडी हुन्, अर्जुन कुमाल ।
१३ वर्षको युवा हुँदा नै उनले नेपालको उमेर समूहको टिमबाट खेल्न थालेका थिए । पाँच वर्षको अन्तरालमा अर्जुन कुमाल निकै परिपक्क बनिसकेका छन् । ओपनिङ वा टप अर्डरमा ब्याटिङ गर्ने अर्जुनको ब्याटिङ कला गज्जबको छ ।
उनले नेपालको यू-१६ टिम यू-१९ टिमबाट खेलिसकेका छन् भने गत वर्ष दषिण अफ्रिकामा भएको आईसीसी यू-१९ विश्वकप समेत खेले ।
युवा अवस्थामै परिपक्क प्रदर्शन अनी धैर्यता उनको विशेषता हो । त्यसमा अर्जुन क्लासको ब्याटिङ गर्छन् । अर्जुन विपक्षी बलरलाई सहजै विकेट दिँदैनन् ।
अर्जुन हाल एसीसी यू-१९ एसिया कप खेल्ने युएई गएको नेपाली टिमको उपकप्तान समेत हुन् ।
यस्तै मंसिर १५ देखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) मा अर्जुन सुदूरशप्चिम रोएल्समा अनुबन्ध भएका छन् ।
नेपाली क्रिकेटमा राम्रो सम्भावना देखाएका अर्जुन कुमाललाई नेपाली क्रिकेटको भविष्यको रुपमा समेत हेरिएको छ । विशेषगरी नेपालको ओपनिङ ब्याटिङमा अर्जुन उपयुक्त विकल्प बन्ने क्रिकेट पण्डितहरुको दावी छ ।
सानैदेखि क्रिकेटमा लागेका अर्जुन
अर्जुनको खास घर गुल्मी भएपनि उनी भारतमै जन्मिए र बाल्यकाल आफ्नो बुबाआमासँग नयाँ दिल्लीमा बिताए । उनका बुबा भातरतका सचिन तेन्दुकरको फ्यान । अनी त्यहीबाट प्रभावित भएर छोरा अर्जुनलाई पनि क्रिकेटर बनाउने चाहना थियो ।
बुबाले पठाएको सचिनको भिडियो हेर्दा अर्जुनले पनि क्रिकेट सिक्न थाले । यसमा रुची बढ्यो ।
बाबु मेघबहादुर र आमा विष्णु कुमालका एकमात्र सन्तान अर्जुन सानैदेखि दिल्लीको क्रिकेट माहोलबाट प्रभावित भए ।
६-७ वर्षको हुँदा अर्जुनलाई बुबाले बिहानै पार्कमा लैजाने बाबु छोरा मिलेर ब्याटिङ बलिङ गर्ने गर्थे । त्यसपछि अर्जुन पनि विस्तारै सचिवनबाट प्रभावित हुन थाले । अर्जनु ८ वर्ष भएपछि बुबाले एकेडेमीमै भर्ना गरिदिए । हाल उनी नयाँदिल्लीको क्रिकेट कोचिङ उपाध्याय एकेडेमीमा प्रशिक्षण गरिरहेका छन् ।
नेपालमा हुने स्थानिय प्रतियोगिता देखि उमेर समूहको राष्ट्रिय टिमको खेलका लागि आउँछन् र खेल सकिएपछि उनी भारतमै फर्कन्छन् । बुबा आमासँगै उतै बस्छन् भने क्रिकेट प्रशिक्षणमा केन्द्रित हुन्छन् ।
उनलाई क्रिकेट कोचिङ उपाध्याय एकेडेमीका प्रशिक्षक राहुल शर्माले प्रशिक्षण दिन्छन् । प्रशिक्षक राहुल शर्माको सुझाव अनुसार अर्जुन पहिलो पटक १३ वर्षको हुँदा नेपालमा यू–१६ क्रिकेटको लागि गण्डकी प्रदेशको छनोट खेल खेलेका थिए ।
२०७५ सालमा त्रिवि मैदान कीर्तिपुरमा भएको यू–१६ क्रिकेट लिगमा गण्डकी प्रदेशबाट खेलेका अर्जुनले ३ खेलमा १४२ रन बनाएका थिए । साथै उनी उत्कृष्ट ब्याटर समेत घोषित भए ।
अर्जुनको क्रिकेट यात्रा
यू१६ राष्ट्रिय क्रिकेट खेलेपछि अर्जुन यू-१६ राष्ट्रिय टिममा समावेश भए । उनले नेपालको जर्सी लगाएर पहिलो पटक सन् सन् २०१९ अप्रिलमा थाइल्यान्डमा भएको एसिसी इस्टर्न जोन यू–१६ प्रतियोगिता खेलेका थिए । त्यसबेला उनी १३ वर्षका मात्र थिए ।
अर्जुनले किशोरावस्थामै डेब्यु प्रतियोगितामा नेपालको लागि खेल्दै च्याम्पियन बन्ने मौका पाए ।
उक्त प्रतियोगितामा अर्जुनले म्यानमारविरुद्ध १५ बलमा ४ चौकासहित अविजित २६ रन बनाए । जसले गर्दा उनले सबैको ध्यान तान्न सफल भए ।
एसीसी यू–१६ इस्ट जोन कपमा राम्रो प्रदर्शन गरेका अर्जुनले यू–१९ राष्ट्रिय टिममा समावेश भए र त्यहाँ पनि उनले उत्कृष्ट प्रदर्शन गरे ।
उमेर समूहमा गरेको प्रदर्शनकै आधारमा सन् २०२१ मा विश्वकप विजेता प्रशिक्षक डेभ वाटमोर नेपालको सिनियर टिमको प्रशिक्षक हुँदा अर्जुन पहिलो पटक सिनियर टिमको बन्द प्रशिक्षणमा समेत परेका थिए ।
पाँच वर्षअघि यू-१६ बाट नेपाली क्रिकेट यात्रा अगाडि बढाएका अर्जुनले घरेलु र अन्तर्राष्ट्रिय दुवै क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् ।
कीर्तिमानी अर्जुन
सानो उमेरमै अर्जुनले नेपालबाट कीर्तिमानी खेलाडीको छवी बनाइसकेका छन् । उनी नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय (फर्म्याट-उमेर समूह) क्रिकेटमा एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।
सन् २०२३ अक्टोबरमा भएको एसिसी यू-१९ प्रिमियर कपमा अर्जुनले साउदी अरेवियाविरुद्ध १४३ रन बनाएका थिए । उनले कुशल मल्लले नेपाली राष्ट्रिय टिमबाट २०२३ सेप्टेम्बरमा चीनमा भएकव १९औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध बनाएको १३७ रनको कीर्तिमान तोडेका हुन् ।
यस्तै अर्जुन यू-१९ अन्तर्राष्ट्रिय क्रिकेटको दुई शतक हान्ने पहिलो र एक मात्र खेलाडी हुन् । अर्जुनले यसअघि २०७९ फागुनमा आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १०८ रन पनि बनाएका थिए ।
अर्जुन २०८० माघमा दक्षिण अफ्रिकामा भएको यू१९ विश्वकप खेले । जहाँ उनी विश्वकपमा पनि शतक हान्ने पहिलो नेपाली खेलाडी बन्नबाट भने थोरैले चुके ।
उनले यू-१९ न्युजिल्याण्ड विरुद्ध ९० रन बनाएका थिए । नेपालले कुनै पनि विश्वकपमा शतक बनाउन सकेको छैन । यू-१९ विश्वकपमा नेपालबाट सन् २०१२ मा प्रदीप ऐरीले नामिबियाविरुद्ध ९८ रन बनाएका थिए । त्यो नै नेपाली खेलाडीको उच्च स्कोर हो ।
अर्जुनलाई नेपाली क्रिकेटमा ब्याटिङको भविष्यको रुपमा हेरिएको छ । अर्जुनको अबको लक्ष्य नेपालको सिनियर टिमबाट खेल्ने छ । साथै नेपालले भविष्यमा टेस्ट मान्यता पाउने र विश्वकप नै जित्ने अर्जुनको आशा छ । साथै उनले नेपालबाट विश्वकप, टेस्ट र इंग्ल्यान्डको घरेलु क्रिकेट काउन्टी खेल्ने सपना रहेको बताएका छन् ।
गोविन्दराज नेपाल
Read Fullप्लेयर्स टु वाच



