
बसिर अहमद
नेपाल, अलराउण्डर

‘ह्यान्डी अलराउण्डर’
काठमाडौं । बसिर अहमद अलराउण्डर हुन् । उनी ब्याटिङ र बलिङ दुवैमा उत्तिकै इन्जोय गर्छन् ।
बायाँ हाते स्पिन अलराउन्डर बसिर आवश्यक परेका बेला वान डाउनदेखि हरेक पोजिसनमा ब्याटिङ गर्न सक्छन् भने स्पीन बलिङ पनि गर्छन् ।
यू-१९ राष्ट्रिय प्रतियोगिता खेलेपछि आफ्नो क्रिकेट कला देखाउन पाएका उनी यू-१९ राष्ट्रिय टिम हुँदै राष्ट्रिय टिमसम्म पुगेका खेलाडी हुन् ।
उनले सन् २०२२ मा नेपालको राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । तर राष्ट्रिय टिममा निरन्तर स्थान पाउन भने सकेका छैन । तैपनि उनी अवसर पाउँदा आफ्नो ब्याट र बलबाट कला भने देखाइहाल्छन् । उनै बसिर अहमदले नेपाल सुपर लिग (एनपीएल)मा विराटनगर किंग्सबाट खेलेका थिए । पछिल्लो समय नेपालको राष्ट्रिय टिममा पर्न प्रतिस्पर्धा छ । टी२० टिममा पुनरागमन गर्नका लागि बसिरका लागि एनपीएल राम्रो अवसर बन्न सक्छ ।
बसिरको क्रिकेट यात्रा
रुपन्देही मायादेवी गाउँपालिका-४ का बसिरले १३ वर्षको उमेरदेखि नै क्रिकेट खेल्न थालेका थिए । उनी क्रिकेट खेल्न लुम्बिनी सांस्कृतिक नगरपालिका ३ स्थित लुम्बिनी नवयुवा क्लबमा जान्थे ।
जसका लागि उनले दैनिक २० किलोमिटरको यात्रा गर्नुपर्थ्यो । क्लबमा टेनिस खेल्दै गरेको बेला लुम्बिनीका प्रशिक्षक वसन्त शाही ठकुरीको नजरमा परे उनी । त्यसपछि बसिरको वास्तविक क्रिकेट करिअर सुरु भयो, उनले भैरहवास्थित तिरुपति क्लबमा क्रिकेट सिक्न थाले । रमाइलोका लागि टेनिस खेलेका बसिरले क्रिकेटलाई करियरको रुपमा छाने ।
सानै उमेरमा क्रिकेटमा लागेका उनले अलराउन्डरको भूमिकामा खेल्न थाले । उनलाई ब्याटिङ र बलिङ दुवै मन पर्ने ।
कस्तो भने बलिङ गर्दा थाकेमा उनी ब्याटिङको अभ्यास गर्थे । उनको इच्छा अनुरुप नै प्रशिक्षक शाहीले बसिरलाई बलिङ र ब्याटिङ दुवैमा पोख्त बनाएका हुन् । त्यसैले बसिरले उमेर समूह हुँदै राष्ट्रिय टिमसम्म पुग्नका लागि धेरै कुर्नु परेन ।
उनले सुरुमा यू१९ राष्ट्रिय प्रतियोगिता लुम्बिनीबाट खेले । त्यसपछि सन् २०२१ मा भएको एसीसी यू-१९ एसिया कप खेले । जहाँ नेपाल तीनवटै खेलमा पराजित भयो । तर बसिरले कुवेत विरुद्ध समूहको अन्तिम खेलमा ब्याटिङमा ५६ रन बनाएका थिए ।
राष्ट्रिय टिममा डेब्यु
सन् २०२२ मा भैरहवामा भएको प्रो क्लब च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेपछि उनको क्रिकेट यात्रा थप अघि बढ्यो । प्रो क्लब च्याम्पियनसिपमा उनले सर्वाधिक १० विकेट लिएपछि उनी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परे ।
२०२१ को यू–१९ राष्ट्रिय प्रतियोगिता, यू–१९ एसिया कप र प्रो क्लब च्याम्पियनसिप २०२२ मा अलराउन्ड प्रदर्शन गरेपछि नेपालले २०२२ जुनमा बसिर पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् ।
बन्द प्रशिक्षणमा पनि राम्रो गरेपछि उनी राष्ट्रिय टिममा परे ।
सुरुमा उनले जिम्बाव्वे ए विरुद्ध नेपालका लागि खेले । डेब्यु खेलमै उनले उत्कृष्ट प्रदर्शन गरे । जहाँ उनले डेब्यु खेलमा नै ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । उनले खेलेको पहिलो खेलमा नेपालले जिम्बावे ए लाई पराजित गरेको थियो ।
पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाएर खेल्दा उनले आफ्नो सपना पूरा भएको अनुभव गरे । किनकी सानोमा क्रिकेट खेल्नकै लागि २० किलोमिटर यात्रा तय गरेका उनले अहिले त्यो मिहिनेतले सार्थकता पाएको अनुभव गरेका थिए । त्यसबेला उनलाई परिवारको पनि राम्रो साथ थियो । आमाबुवाले गरेको सहयोगले नै आफू यहाँसम्म आइपुगेको बसिरले बताए । १८ वर्षीय बसिर एक्लो सन्तान हुन् ।
सानै देखि राष्ट्रिय टिममा खेल्ने सपना देखेका बसिरले त्यो सपना पूरा गर्दा उनको परिवार पनि खुशी भए ।
बसिरले राष्ट्रिय टिममा डेब्यु भने सन् २०२२ जुलाईमा नामिबियाविरुद्ध क्रिकेट विश्वकप लिग टु को खेलबाट गरेका थिए । जहाँ उनले तीन खेल खेल्ने अवसर पाए । नामिबिया विरुद्ध डेब्यु गरेका उनले स्कटल्याण्ड र फेरि नामिबियाविरुद्ध खेले ।
ओडीआईमा उनले ३ खेलमा ७ विकेट लिएका छन् । यस्तै २०२२ मै अगष्टमा केन्या भ्रमणका क्रममा टी२०आईमा डेब्यु गरेका उनले नेपालक लागि २ टी२०आई खेलेका छन् ।
बसिरले लिस्ट ए मा नेपालका लागि ६ खेल खेलेका छन् । जसमा उनले पछिल्लो पटक नेपाल ए टिमबाट आयरल्याण्ड एविरुद्ध २०२४ अप्रिलमा टीयू मैदानमा खेलेका थिए । राष्ट्रिय टिममा पुनरागमन गर्द नेपालको प्रतिनिधित्व गर्ने पर्खाइमा रहेका बसिरका लागि एनपीएल राम्रो मौका हुन सक्छ ।
-गोविन्दराज नेपाल
Read Fullप्लेयर्स टु वाच



