
भविष्य खोज्दै क्यानडा पुगेका नरेश बुढाएर
नेपाल, ब्याट्समेन

नेपालले सन् २०१४ मा पहिलो पटक आईसीसी टी२० विश्वकप खेल्दाका एक सदस्य हुन् नरेश बुढाएर । टप अर्डर र लोअर अर्डरमा ब्याटिङ गर्न सक्ने उनले नेपालका लागि आधा दशकभन्दा बढी समय खेले ।
नेपालले टी२० विश्वकपमा डेब्यु गर्दा टोलीमा रहेका खेलाडी मध्ये केही मात्र अझै सक्रिय रूपमा खेलिरहेका छन् । त्यसमा नरेश पनि एक हुन् ।
तर पछिल्लो समय उनी क्यानडालाई कर्मथलो बनाएर क्रिकेटसँग जोडिएका छन् । सन् २०१६ मा क्यानडा गएका उनी त्यतै खेल्ने र काम गर्ने गर्छन् । सुरुमा उनले बुल्मफिल्ड क्रिकेट एकेडेमीमा खेल्न थाले । पछि त्यही क्लबमा प्रशिक्षणको काम पनि गरे ।
नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक क्यानडाकै पुबुद दासानायकेको सहयोगमा नरेश क्यानडा पुगेका हुन् ।
यही मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नरेश नेपाल आएका छन् । कञ्चनपुरका नरेश आफ्नै क्षेत्रको टिम सुदूरपश्चिम रोएल्समा अनुबन्ध छन् र त्यही टिमबाट एनपीएल खेल्नेछन् ।
सन् २०१४ मा टी२० विश्वकप खेलेका मध्ये नरेश सहित पाँच खेलाडी अहिले पनि एनपीएलका लागि टिममा छन् । जसमा सुदूरपश्चिममै नरेशसँगै विनोद भण्डारी छन् ।
यस्तै सोमपाल कामी कर्णाली याक्सको मार्की प्लेअर छन् भने भेट्रान शरद भेषावकर चितवन राइनजोजमा अनुबन्ध छन् । योर्कर किङको रुपमा परिचित जितेन्द्र मुखिया एनपीएलका लागि विराटनगर किंग्समा अनुबन्ध छन् ।
विश्वकप खेल्ने टिमका कप्तान पारस खड्का नेपाल क्रिकेट संघ क्यानका सचिव बनिसके भने उपकप्तान ज्ञानेन्द्र मल्ल कर्णाली टिमको मुख्य प्रशिक्षकमा छन् ।
नरेश हाल टोरोन्टोस्थित बुल्मफिल्ड क्रिकेट एकेडेमीमा खेलाडी/प्रशिक्षकको भूमिकामा छन् ।
उनले सन् २०२२ मा नेपाली टोद्यी अमेरिका जाँदा नेपाल विरुद्ध नै खेलेका थिए । त्यसबेला नरेशले मापल लिफ क्रिकेट क्लब ११ को कप्तानी नै गरेका थिए । दु२ खेल खेल्दा उनले २८ र ४१ रन बनाएका थिए ।
नरेशको क्रिकेट यात्रा
नरेशले सन् २००९ मा एसीसी टी२० कप मार्फत नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।
उनी सन् २०१० मा चीनको ग्वाङ्झाउमा भएको एसियन गेम्समा नेपाली टिममा थिए । तर उनले कुनै खेल खेलेनन् ।
रोए डायसको बहिर्गमनपछि पुबुदु कोच बनेर आउँदा नरेश केही वर्ष नेपाली टिममा परेनन् । तर सन् २०१४ को टी२० विश्वकपमा उनले पुनरागमन गरे ।
त्यसअघि नरेशले सन् २०११ मा एसीसी यू-१९ इलाइट कप र २०२१ मा आईसीसी यू-१९ विश्वकप खेले ।
सन् २०१३ मा भएको एसपीए कपमा नरेश प्लेअर अफ दि सिरिज बनेका थिए ।
पछि राजेश पुलामीसँगै नरेशले इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लबमा युथ प्रोग्राम अन्तर्गत प्रशिक्षण गर्न पाएका थिए ।
नरेशले सन् २०१४ मा नेपालक लागि एसीसी प्रिमियर लिग खेले । सोही वर्ष भएको आईसीसी डिभिजन थ्री मा पनि उनी नेपाली टिममा थिए ।
विशेषगरी टिकेर खेल्ने र आफ्नो विकेट चाँडै नफाल्ने खेलाडीको रूपमा नरेशलाई चिनिन्थ्यो ।
सन् २०१४ मा भएको टी२० विश्वकपमा नरेशले समूह चरणमा तीनवटै खेल खेले । तर उनको प्रदर्शन भने राम्रो रहेन । पहिलो खेलमा हङकङ विरुद्ध शुन्यमा आउट भएका उनले दोस्रो खेलमा बंगलादेश विरुद्ध ब्याटिङ गरेनन् । तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई हराउँदै उनी २ रनमा अविजित थिए ।
त्यसपछि २०१४ नोभेम्बरमा हङकङविरुद्ध नै पहिलो टी२०आई सिरिज खेलेको थियो । जसमा एक खेलमात्र सम्भव हुँदा त्यसमा नरेशले जम्मा ५ रन बनाएर आउट भए ।
प्लेयर्स टु वाच



