+
+

यसकारण बनायौं ५० प्रभावशाली महिलाको सूची

त्यसो त हामी ८ मार्चका बेला मात्रै महिलाको कुरा गर्दैनौं । किनभने हाम्रो व्यक्तिगत, पारिवारिक, सामाजिक र राष्ट्रको जीवनमा लैंगिक समानता, सहभागिताले सर्वत्र काम गरेको छ ।

यति हुँदाहुँदै पनि महिला आफैंमा एउटा वर्ग बन्न पुगेको छ । प्रकृतिले पुरुष वा अन्य लिंग जस्तै समान रूपले जैविक उत्पादन गरेको हो । तर सामाजिक संरचना र सांस्कृतिक व्यवहारले धनी–गरिब, शहर–गाउँ, शिक्षित–अशिक्षित सबै खाले महिलालाई कुनै न कुनै प्रकारको विभेदमै राख्यो ।

११५ वर्षअघि अमेरिकाका कपडा कामदार महिलाले समान ज्याला लगायत सुविधा माग्दै थालेको आन्दोलन विस्तारित हुँदै महिलाका राजनीतिक अधिकारहरूको प्राप्तिमा केन्द्रित भएको थियो । अधिकांश देशहरूमा महिलाहरू चुन्ने र चुनिने अर्थात् निर्वाचनको अधिकार समेत प्रयोग गर्न पाउँदैनथे ।

अचेल यो विभिन्न चरणका संघर्ष तथा अन्तरक्रियाबाट गुज्रिंदै इन्टरसेक्सनालिटी अर्थात् विभिन्न यौनिकतासँग समेत जोडिएको मुद्दा बन्न पुगेको छ ।

अनि उपल्लो वर्गको कोठे बहस मात्रै नभई सीमान्तकृत वर्ग, समुदाय समेतका महिलाका लागि अधिकार, संघर्ष, महिला हुनुको अस्तित्व उत्सव मनाउने विषय पनि भएको छ ।

यस अर्थमा महिला हुनुको भाव समानताको संघर्षमा मात्रै अब सीमित रहेन, बरु यो नेपालको संविधानले प्रत्याभूत गरेको अधिकार समेत भइसक्यो । लैंगिक हकलाई सहअस्तित्व र समाजका हरेक क्षेत्रमा महिलाको अनिवार्य उपस्थिति र वैचारिक सहकार्य सहित सुनिश्चित गरिएको छ ।

यसर्थ अनलाइनखबरले थालेको यो प्रयत्न महिलाहरूको संघर्ष, सशक्तीकरण, साधना, प्रतिभाको महोत्सव पनि हो । नेपाली राजनीति, समाज, संस्कृति, खेलकुद, ज्ञानविज्ञान आदि क्षेत्रका महिलाको अर्थपूर्ण उपस्थितिलाई सार्वजनिक मञ्चमै गणना हुने विषय बन्न सकोस् भनी हामीले १५० बढीको प्रारम्भिक सूची तयार पार्‍यौं ।

त्यो प्रारम्भिक सूची बनाउन हाम्रो समाचार कक्षका सहकर्मी, विभिन्न सरोकारवाला तथा स्रोतहरूले भूमिका निर्वाह गरेका छन् । प्रदेश, जिल्ला, पालिका तथा प्रवाससम्मका सहकर्मी र शुभेच्छुकहरूसँग हामीले सुझाव लिएका छौं ।

उपलब्ध प्रारम्भिक सूचीलाई हामीले निर्णायक अर्थात् छनोट समितिसमक्ष पेश गर्‍यौं । उहाँहरूको छनोट तथा सिफारिसमा आधारित भएर ५० प्रभावशाली महिलाहरूको यो सूची सार्वजनिक गरेका छौं ।

प्रभावशाली भनेपछि कतिपयको मनमा शक्तिको प्रयोगका कारण चम्केका महिला भन्ने आउन सक्छ । खासमा आफ्नो मेधा, प्रतिभा अनि निरन्तरको संघर्ष र समर्पण साथै नयाँ उपलब्धिको खोजीका लागि अवरोधहरू चिर्दै डट्ने सामथ्र्य भएका व्यक्तिमध्ये ५० महिलाको अन्तिम सूची तयार भएको हो ।

र, यो कुनै सीमित समूह वा वर्गभित्र लक्षित छैन । हामीले नेपाली समाजको प्रत्येक इकाईभित्र पसेर अध्ययन गर्ने कोसिस गरेका छौं, जसमध्येबाट छानिएका ५० नामहरूलाई हामी हाम्रा आदरणीय पाठकबीच सगर्व सार्वजनिक गर्न चाहन्छौं ।

हामी सँगसँगै यो सन्देश पनि प्रवाह गर्न चाहन्छाैं, देशमा कतिपय नकारात्मक परिसूचकहरुका बीच पनि आशाका किरणहरु छन् । समाजमा सुस्तरी परिवर्तन आइरहेको छ । र त्यो सुधार र परिवर्तनको अगुवा पात्रमा थुप्रै महिलाहरु छन् । भावी नेपाललाई देश देशावरबाट तिनले उज्यालो बाटो देखाउँदै जानेछन् । यस्ता पात्रहरु अरु थुप्रै आउनेवाला छन् जसले नेपालमा केही भएको छैन, केही हुनेवाला छैन भन्ने भाष्यलाई चुनाैती दिँदै समाजमा केही भइरहेको छ र आ-आफ्नो क्षेत्रबाट योगदान दिइरहेका छन् । यो सूची त्यसैको एक प्रतिविम्ब हो ।

यो हाम्रो पहिलो प्रयास हो, जहाँ कतिपय प्रयासका बीच महत्वपूर्ण योगदानकर्ता महिलाहरू छुट्न पुग्नुभएको छ । कतिपय व्यक्तिसमक्ष हामी समयमै पुग्ने कोसिस गर्दा पनि उहाँहरूको अनुपलब्धता आदिका कारण पुग्न सकेनौं ।

संरचनागत लाभांशमा छुटेका थुप्रै महिला, जो आफ्नो योगदान र संघर्षका बीच पनि यस सूचीमा अटाउन सकेनन्; उनीहरूका योगदानहरू यसपल्टको सूचीमा समेट्न नसकिए पनि तिनको महत्व अवश्य कम छैन ।

हामी प्रत्येक संघर्षशील महिलाले खेलेको भूमिकाको कदर पनि गर्न चाहन्छौं । हाम्रा समाचार सामग्री, वैचारिक आलेख, अन्तर्वार्ता इत्यादिमा त्यस्ता नामहरू आगामी दिनमा पनि समेटिंदै जानेछन् । हामी यसमा रचनात्मक सुझाव, प्रतिक्रिया, आलोचनाहरूलाई खुला स्वागत गर्नेछौं ।

अनलाइनखबरको ५० प्रभावशाली महिलाको खोजी सूची आगामी वर्षहरूमा पनि जारी रहनेछ । समानता र सहअस्तित्वको यात्रामा सँगै अघि बढौं, ताकि हाम्रा हरेक दिनहरू ८ मार्च बन्न सकुन् ।