+
Home Sports Football Gillespye Jung Karki

Gillespye Jung Karki
Nepal, Forward

Full Name: Gillespye Jung Karki
Nationality: Nepal
Position: Forward

अग्ला फरवार्ड जिलेस्पीजंग

नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड जिलेस्पीजंग कार्की पछिल्लो समय नेपालको लागि गोल गर्ने खेलाडीको रूपमा देखिएका छन् । सिंगापुरविरुद्ध शुक्रबार भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जिलेस्पीकै निर्णायक गोलमा नेपालले १-० को जित हात पार्‍यो ।

नेपालले ३६ वर्षपछि सिंगापुर विरुद्ध पहिलो पटक खेलेको हो र सिंगापुरलाई हराएको पनि पहिलो पटक हो । त्यो पनि सिंगापुरकै भूमिमा हराउँदै यसअघिका तीन हारको बदला लिन सफल भयो ।

सिंगापुर नेसनल स्टेडियममा भएको खेलमा जिलेस्पीले खेलको १२औं मिनेटमै गोल गरेका थिए र त्यसपछि नेपालले सिंगापुरको आक्रमण रोक्दै जित हात पार्न सफल भयो ।

विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबाट घरेलु फुटबल खेल्दै आएका २६ वर्षीय जिलेस्पी पछिल्लो समय राष्ट्रिय टिमको रेगुलर सदस्यको रुपमा छन् ।

जिलेस्पी सेन्टर फरवार्ड र विंगर दुवै भूमिकामा खेल्न सक्छन् । यही चैत १६ गतेदेखि सुरु हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनमा उनी काठमाडौं रेजर्समा अनुबन्ध भएका छन् ।

जिलेस्पीले सन् २०२३ सेप्टेम्बरमा म्यानमार विरुद्धको मैत्रीपूर्ण खेलमार्फत नेपालको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनले हालसम्म नेपालका लागि १२ खेल खेल्दै ३ गोल गरिसकेका छन् ।

पछिल्लो समय नेपालका लागि गोल गर्ने भूमिकामा उनै जिलेस्पी देखिएका छन् । उनले नेपालको पछिल्लो चार खेलमध्ये तीन खेलमा गोल गरेका छन् । उनले गोल गरेको तीनै खेलमा नेपाल अपराजित रह्यो । त्यसमा दुई खेलमा नेपाल विजयी रह्यो ।

उनले नेपालका लागि लगातार दोस्रो अन्तर्राष्ट्रिय खेलमा गोल गरेका हुन् । यसअघि उनले नोभेम्बरमा ताजिकिस्तानमा भएको अफगानिस्तान विरुद्ध २-० को जितमा पनि गोल गरेका थिए ।

त्यही बेला ताजिकस्तान विरुद्ध भने नेपाल पराजित हुँदा नेपालले गोल गर्न सकेन । यस्तै त्यसअघि फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटमा नेपालले यमनसँग २-२ को बराबरी खेल्दा पनि जिलेस्पीले गोल गरेका थिए ।

घरेलु फुटबलमा भने उनले त्रिभुवन आर्मी क्लबबाट शहीद स्मारक ए डिभिजन लिग खेलेका छन् । त्यसअघि उनले टुसाल युथ क्लबबाट शहीद स्मारक बी डिभिजन लिग खेलेका थिए ।

६ फिट १ इन्च अग्ला जिलेस्पी सुरुमा विंगबाट खेल्थे । पछि आर्मीमा सेन्टर फरवार्ड नहुँद उनले फरवार्डमा खेले । राष्ट्रिय टिममा पनि त्यही भुमिकामा खेले । उनले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजन बुटवल लुम्बिनी एफसीबाट खेलेका थिए । जहाँ उनले विंगबाटै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सुरुवाती करियर

२०५५ साल मंसिर ३ मा धुलिखेल नगरपालिका-१२ मा जन्मेका जिलेस्पीले सानोदेखि नै फुटबल खेल्ने । स्थानीय विद्यालय डिभाइन लाइटमा हुँदा उनले फुटबल खेलेका थिए ।

उनी घरमा दाई जर्ज प्रिन्स कार्कीसँग रमाइलोका लागि फुटबल खेल्थे । तर त्यो फुटबल यात्रा भविष्यमा राष्ट्रिय टिमसम्म पुग्ला भन्ने उनलाई थाहा थिएन ।

जिलेस्पीले नेपालका लागि कुनै उमेर समूहमा खेलेका थिएनन् । तर रमाइलोका लागि फुटबल खेलेका जिलेस्पीले सिधै सिनियर टिममा खेल्ने अवसर पाएका हुन् ।

कुनै समय मोटो भएकोले उनलाई साधीभाईले जिस्काउँथे । तर उनले हिम्मत नहारी इख लिए अनि नेपालको राष्ट्रिय टिमबाट खेलेर जिस्काउनेहरुलाई गतिलो जवाफ दिए ।

आफ्नै दाई नै आदर्श मान्ने उनले दाजुबाट नै धेरै कुरा सिके । दाजुलाई फलो गर्दै त्रिभुवन आर्मीदेखि राष्ट्रिय टिमसम्म पुगे । २०६९ मा एसएलसी दिएपछि जिलस्पीले हात्तीवनस्थित लिटिल एन्जल्स कलेजमा पढाई सुरु गरे । त्यसपछि उनले सेकेण्ड लेफ्टिनेन्टको तयारी गरे । तर १७ वर्षको भएकोले आवेदन दिन पाएनन् ।

त्यसपछि उनी भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयमा पढन सुरु गरे । कोटा नपुगेपछि एकैवर्ष दोस्रो पटक आवेदन खुल्दा उनी १८ वर्षका पुगेका थिए र आवेदन दिए । अनी सेनामा भर्ना भए ।

त्यसपछि उनी त्रिभुवन आर्मी क्लबमा आए । आर्मी क्लब पुगेको धेरै भएको छैन । २०७८ मा आर्मी क्लबमा पुगेका उनले आर्मीको रिजर्भ टिमबाट करियर सुरु गरेका थिए । चोटले पनि सताउँदा उनी ए टिममा छनोट हुन सकेनन् ।

त्यसपछि उनले टुसाल युथ क्लबबाट सन् २०२२ को सिजन बी डिभिजन लिग खेलेका थिए । जहाँ उनले ११ खेलमा ४ गोल गरेका थिए ।

त्यसपछि उनी फेरि आर्मीको टिममा फर्किए । अनी २०७९ मा उनले आर्मीबाट शहीद स्मारक ए डिभिजन लिग खेल्ने अवसर पाए । जहाँ उनले आर्मीका लागि २२ खेलमा ६ गोल गरेका थिए ।

जिलेस्पीले आर्मीको टिमबाट लिग उपाधि जित्न बाँकी नै छ । तर उनले आफ्नै कप्तानीमा टिमलाई नकआउट प्रतियोगिताको च्याम्पियन बनाइसकेका छन् ।

आर्मीको पहिलो टोली काठमाडौंमा केपी ओली कप खेलिरहँदा जिलेस्पीसहितको टोली भद्रपुर झापा गोल्डकप खेल्न गएको थियो । जहाँ उनकै कप्तानीमा आर्मीले मछिन्द्र एफसीलाई हराएर उपाधि जित्यो ।

उता काठमाडौंमा भने आर्मीको टोली सेमिफाइनलमा सातदोबाटो युथ क्लबसँग टाइब्रेकरमा पराजित भएको थियो । जिलेस्पीले आर्मीबाट आहा–रारा गोल्डकप,बागमती गोल्डकप लगायत प्रतियोगिता पनि खेलेका थिए ।

राष्ट्रिय टोलीमा डेब्यु र प्रदर्शन

अघिल्लो वर्ष असारमा भारतमा भएको साफ च्याम्पियनसिपका लागि जिलेस्पी प्रारम्भिक टोलीमा परेपनि अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । तर म्यानमारविरुद्ध सेप्टेम्बरमा भएको मैत्रीपूर्ण खेलमा भने उनले डेब्यु गर्ने अवसर पाए । जिलेस्पीले ७ नम्बर जर्सी लगाएर डेब्यु गरे ।

उनका दाजु जर्ज प्रिन्स कार्कीले पनि ७ नम्बर जर्सीमै नेपालका लागि डेब्यु गरेका थिए । पाँच वर्षले कान्छा जिलेस्पीले आफ्नो आइडल मान्ने दाईले लगाएकै जर्सी लगाएर डेब्यु गर्ने अवसर पाए । अन्तर्राष्ट्रिय फुटबलमा पनि ७ नम्बर विशेष मानिन्छ ।

उनले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाउँदा नै डेब्यु गर्ने अवसर पाएका हुन् । त्यो पनि पहिलो रोजाइमै खेलेका थिए । त्यसैले पनि उनका लागि म्यानमार टुर खास बनेको थियो ।

म्यानमार विरुद्ध सेप्टेम्बर ८ मा याङ्गुनमा भएको पहिलो मैत्रीपूर्ण खेलमा उनी जर्सी नम्बर ७ लगाएर पहिलो रोजाइमै मैदान उत्रिएका थिसए । जुन उनका लागि विशेक्ष क्षण रह्यो । राष्ट्रका लागि खेल्ने गर्वको क्षण थियो । सेप्टेम्बर ११ मा म्यानमार विरुद्धको दोस्रो खेलमा पनि उनी पहिलो रोजाईँ खेलेका थिए । दुवै खेलमा उनलाई आर्मी नवयुग श्रेष्ठले रिप्लेस गरेका थिए ।

म्यानमार टुरपछि जिलेस्पी निरन्तर राष्ट्रिय टिममा छन् । उनले २०२३ अक्टोबरमा भएको विश्वकपको प्रारम्भिक चरणको छनोट अन्तर्गत लाओस विरुद्धको होम एण्ड अवे दुवै खेल खेलेका थिए ।

यस्तै विश्वकप छनोटको दोस्रो चरणमा नेपालले खेलेको ६ मध्ये जिलेस्पीले ५ खेल खेलेका थिए । उनले युएई विरुद्ध अवे, यमन विरुद्ध होम र बहराइन विरुद्ध अवे मैदानमा खेलेका थिए । बहराइनमै खेलिएको बहराइन विरुद्धको होम म्याचमा भने जिलेस्पीले खेल्ने अवसर पाएनन् ।

त्यसपछि उनले विश्वकप छनोट अन्तर्गत नै दोस्रो चरणको अन्तिम दुई खेलमा युएई र यमन विरुद्ध गोल हाने । यमनविरुद्ध जिलेस्पी र सन्जिव विष्टले नेपालका लागि गोल गरे । तर अन्तिम सममया गोल खाँदा खेल २-२ को बराबरीमा सकिएको थियो ।

ढिलै भएपनि राष्ट्रिय टिममा प्रवेश पाएका जिलेस्पीको यात्रा सुरु भएको छ । अग्लो कदका जिलेस्पीमा फरवार्डमा हुनुपर्ने गुढ छ । आवश्यकता अनुसार स्ट्राइकर र विंगमा खेल्न सक्ने उनले नेपालका लागि पछिल्ला खेलहरुमा गोल गर्दे प्रमाणित पनि गरिसकेका छन् ।

उनीबाट नेपाली फुटबलले ठुलो आशा राखेको र अझै राम्रो प्रदर्शन आउन बाँकी छ ।

प्रस्तुती  :गोविन्दराज नेपाल

Read Full