

Manish Dangi
Nepal, Midfielder

मनिष डाँगी त्यस्ता खेलाडी हुन् जसले विदेशमा फुटबल सिकेर नेपालमा खेल्दैछन् । उनी नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य हुन् । २४ वर्षीय मनिष अट्याकिङ मिडफिल्डर हुन् । उनी विंगमा खेल्छन् ।
उनी अट्याकमा जुनसुकै पोजिसनमा समेत खेल्छन् भने बढी जसो विंगरको भूमिकामा खेल्छन् । सन् २०२१ मा इराकविरुद्ध उनले नेपालको राष्ट्रिय टिममा डेब्यु गरेका थिए । उनले एसियन च्याम्पियन बनिसकेको इराकविरुद्ध आफ्नो डेब्यु खेल्दै गोल समेत गरेका थिए ।
मनिषले नेपालको यू-१८ टिम र सिनियर टिमबाट खेलेका छन् । यस्तै उनले नेपालको साथै बहराइनको थाइल्याण्ड दोस्रो डिभिजनको लिग समेत खेलेका छन् ।
दक्षिण कोरियामा फुटबल कला सिकेर नेपाल आएका उनले पछिल्लो समय नेपालसँगै विदेशी लिगमा समेत खेलिरहेका छन् । नेपालमा नियमित घरेलु लिग नहुँदा मनिषले बाहिर गएर खेलेका थिए ।
मनिष राम्रो क्षमता भएका फुटबलर हुन् । तर नेपाली फुटबलको अवस्थाका कारण उनले आफ्नो क्षमता पूर्ण रुपमा देखाउन पाएका छैनन् । मनिषले नेपालका लागि ३० भन्दा बढी खेल खेल्दै ३ गोल समेत गरेका छन् ।
त्यही क्षमताले गर्दा मनिषले फुटबलमा प्रगति गरिरहेका छन् । उनी यही चैतमा हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि बुटवल लुम्बिनी एफसीको मार्की प्लेअर नियुक्त भएका छन् ।
सन् २०२१ मा पहिलो सिजन विराटनगर सिटी एफसीमा हिडन ट्यालेन्टको रुपमा अनुबन्ध भएका मनिषले तेस्रो संस्करणसम्म आइपुग्दा ठूलो फड्को मार्दै मार्की नै बनेका छन् । बुटवल लुम्बिनीले मनिषको आगमनले टिम बलियो हुने समेत जनाएको छ ।
मनिष क्षमतावान खेलाडी रहेको र उनमा गती, रचनात्मकता र उच्च स्तरको अनुभव रहेको क्लबले जनाएको छ ।
सुरुवाती करियर
मनिष नेपालमै जन्मिएपनि उनको बाल्यकालको केही समय दक्षिण कोरियामा बित्यो । उनले फुटबलको कला पनि उतै सिके । उनको परिवार दक्षिण कोरियामा व्यावसाय गर्थे । मनिषका दाई प्लस टु पढेर कोरिया गइसकेका थिए । मनिष पनि एसएलसी दिएपछि जाने तयारीमा थिए । तर कक्षा ९ पछि नै परिवारले उतै बोलाएपछि मनिष कोरिया गए ।
सन् २०१४ देखि मनिषले उतै फुटबल खेल्न थालेका हुन् । उनले त्यहा पढ्दै एकेडेमीमा प्रशिक्षण पनि गर्न थाले । उनका दाईले कोरियामा खेल्न चाहेका थिए तर उमेर बढी भएकोले एकेडेमीले लिएन । मनिषले भने एकेडेमीमै खेल्ने अवसर पाए । दाईकै चिनजानका आधारमा उनले एकेडेमीमा ट्रायलका अवसर पाएका थिए ।
मनिषले सिनहेउङ मिडल स्कुल यू१५ टिममा इलिट एकेडेमी खेलाडीको रुपमा खेल्न थाले । त्यसपछि उनले डोङडुचेउङ सिनहेउङ एफसीमा २०१९ मा खेले ।
२०७५ सालमा उनी नागरिकता बनाउनका लागि नेपाल आएका थिए । त्यही बेला नेपालमा सी डिभिजन लिग चलिरहेको थियो । उर्जन श्रेष्ठको सहयोगमा उनले खालीबारी युथ क्लबबाट सी डिभिजन लिग खेले । अन्तिमतिर खेलेपछि उनकै उत्कृष्ट प्रदर्शनमा खालीबारीले सी डिभिजन लिग जितेको थियो । तर दुर्भाग्य त्यो सिजन रेलिगेसनको व्यवस्था नभएकोले खालीबारी बढुवा हुन पाए ।
उनले नेपाल आएपछि भविष्यमा एकदिन राष्ट्रिय टिमबाट खेल्ने सपना रहेको बताएका थिए । सी डिभिजनमा राम्रो प्रदर्शन गरेपछि मनिषले सन् २०१९ मा नेपालमै भएको साफ यू-१८ टिमबाट खेल्ने अवसर पाएका थिए ।
मनिषले कोरिया फर्केर सन् २०२० मा त्यहाँको चौथो श्रेणीको सेमी प्रोफेसनल लिग क्लब पोचेन सिटिजनको यू१८ टिमबाट पनि खेलेका थिए ।
सन् २०२१ मा उनलाई एनएसएलमा विराटनगर सिटीले ‘हिडल ट्यालेन्ट’को रुपमा अनुबन्ध गरेको थियो । विराटनगरका लागि लिगका सबै ६ खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै खेलेका थिए ।
पहिलो रोजाइमा पर्न नसकेपनि उनले अवसर पाउँदा उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यहीबाट प्रभावित भएर तत्कालिन प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले उनलाई राष्ट्रिय टिममा बोलाए ।
मनिष यस्ता खेलाडी हुन् जसले राष्ट्रिय टिममा डेब्यु गरेपछि अनी ए डिभिजन लिग खेलेका थिए । त्यसबेला मछिन्द्रका प्रशिक्षक रहेका प्रवेश कटुवालले मनिषसँग अरु खेलाडीभन्दा एक्स्ट्रा क्वालिटी रहेको बताएका थिए ।
राष्ट्रिय टिमबाट डेब्युमै गोल
राष्ट्रिय टिममा डेब्यु । अनी डेब्यु खेलमै गोल । अझ त्यो पनि एसियन कप विजेता बनिसकेको इराक विरुद्ध उसैको मैदान । यस्तो उपलब्धी चानचुने पक्कै होइन । तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलले उनलाई इराक जस्तो बलियो टिम विरुद्ध डेब्यु गराए । मनिषले पनि निराश पारेनन् ।
सन् २०२१ मा भएको उक्त खेलमा नेपाल ६-२ ले पराजित भएपनि नेपालले बलियो टिम विरुद्ध पनि गोल गर्न सक्छ भनेर देखाएको थियो । मनिषले हालसम्म नेपालका लागि ३ गोल गरेका छन् ।
उनले सन् २०२१ अक्टोबरमा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा घरेलु टोली माल्दिभ्स विरुद्ध पहिलो खेलमै गोल गरेका थिए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले ८६ औं मिनेटमा निर्णायक गोल गर्दै नेपाललाई १-० ले जिताएका थिए ।
यस्तै दुई वर्षपछि अक्टोबरमै उनले लाओसविरुद्ध व्यक्तिगत तेस्रो गोल गरे । २०२६ को विश्वकपको प्रारम्भिक छनोट अन्तर्गत लाओसविरुद्ध उनकै निर्णायक गोलमा नेपालले दोस्रो लेगमा लाओसलाई १-० ले हराएको थियो र समग्रमा दुई लेगको खेल २-१ ले जित्दै विश्वकप छनोटको दोस्रो चरणमा पुग्न सफल भएको थियो ।
मनिष सन् २०२१ मा डेब्युपछि निरन्तर राष्ट्रिय टिमको हिस्सा बनेका छन् । नेपालले गत वर्ष विश्वकप छनोटमा बहराइन विरुद्ध खेल्न गएको टोलीमा उनी टिममा थिए । तर पहिलो खेल मात्र खेले । कार्ड निलम्बनका कारण उनले बहराइन विरुद्ध दोस्रो खेल खेल्न पाएनन् ।
उमेर समूह र विदेशी क्लबमा मनिष
मनिषले सिनियर टिममा पर्नुअघि नेपालको उमेर समूहको टिमबाट समेत खेलेका थिए । सन् २०१९ मा नेपालमै भएको साफ यू-१८ च्याम्पियनसिपमा उनले पहिलो पटक नेपालको जर्सी लगाएका थिए । त्यसबेला नेपालले गरेको एक मात्र गोल मनिषकै नाममा थियो । उनले माल्दिभ्स विरुद्ध गोल गरेका थिए ।
उक्त खेल १-१ को बराबरीमा सकिएको थियो । दोस्रो खेलमा भुटानसँग पराजित भएपछि उपाधि दाबेदार नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
२०२१ मा साफ च्याम्पियनसिप खेलपछि मनिषले त्यसै वर्ष लगत्तै एएफसी यू-२३ एसियन कप छनोट पनि खेले । ताजिकिस्तानमा भएको छनोट प्रतियोगितामा नेपाल तीनवटै खेलमा पराजित भएको थियो ।
उनले सन् २०२० मा युएईमा भएको एएफसी यू१९ च्याम्पियनसिप छनोट पनि खेलेका थिए । जहाँ नेपालले दुई खेलमा हार बेहोर्दा एक खेल बराबरी गरेको थिए ।
मनिषले नेपालबाहेक दक्षिण कोरिया बहराइन र थाइल्याण्डमा पनि लिग खेलेका छन् । उनले बहराइनको दोस्रो श्रेणीको क्लब एतेहाड अल-रिफ र थाइल्याण्डको दोस्रो श्रेणीको क्लब रायोङ एफसीबाट पनि खेलेका छन् ।
सन् २०२१ मा भएको पहिलो संस्कणको नेपाल सुपर लिग (एनएसएल) मा उनी हिडन ट्यालेन्टको रुपमा विराटनगर सिटी एफसीमा अनुबन्ध भएका थिए ।
त्यसपछि उनी २०२१ मा नेपालबाट डेब्यु गरे अनी मछिन्द्र एफसीमा अनुबन्ध भए । त्यही वर्ष मछिन्द्रले लिग जित्यो ।
अर्को सिजन उनले संकटाबाट ए डिभिजन लिग खेले । त्यसपछि मनिषले मछिन्द्र क्लबमै फर्केर नकआउट प्रतियोगिताहरु खेल्न थाले । यस वर्ष उनी मछिन्द्रबाटै नकआउट प्रतियोगिता खेलिरहेका छन् ।
प्रस्तुती : गोविन्दराज नेपाल
Read Fullसमाचार


प्लेयर्स टु वाच



