इन्डोनेसियामा जमिरहेका रोहित चन्द
रोहित चन्द नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य हुन् । टोलीका अनुभवी खेलाडीमध्ये एक रोहित आवश्यकता अनुसार डिफेन्स र मिडफिल्ड दुवै पोजिसनमा खेल्छन् ।
राष्ट्रिय टिमबाट डिफेन्समा खेल्ने उनी इन्डोनेसियाको लिगमा भने मिडफिल्डमा खेल्दै आएका छन् । सानोमा रोहितले गोलकिपरदेखि डिफेन्स, फरवार्ड सबै पोजिसनमा खेलेकोले पनि उनी फरक भुमिकामा आफूलाई ढाल्न सक्छन् ।
नेपाली टोलीका कप्तान किरण कुमार लिम्बु र भरत खवाससँगै उनी सन् २००० को दशकमा नेपालका लागि डेब्यू गर्ने खेलाडी हुन् । हाल किरणपछि नेपालका लागि सर्वाधिक खेल खेल्नेमा रोहित दोस्रो स्थानमा छन् । उनले नेपालका लागि ८८ खेल खेलेका छन् ।
३२ वर्षीय रोहित हाल इन्डोनेसियाको शीर्ष श्रेणीको लिग ‘लिग वान’ खेलिरहेका छन् । उनी पर्सिक केडिरीबाट त्यहाँको लिग खेलिरहेका छन् ।
एन्फा एकेडेमीका उत्पादन रोहितले मच्छिन्द्र क्लबबाट घरेलु फुटबल करियर सुरू गरेका थिए । त्यसपछि भारतीय क्लब हिन्दुस्थान एरोनाउटिक्स लिमिटेड (एचएएल) बाट विदेशी लिग खेल्न थालेका उनी सबैभन्दा लामो समय विदेशी लिगमा खेल्ने नेपाली खेलाडी हुन् । हाल नेपालबाट रोहित र कप्तान किरण मात्रै विदेशी लिग खेलिरहेका छन् ।
रोहित अहिले नेपालमा भन्दा इन्डोनेसियामा चर्चित छन् । कुनै समय टोटनहम र आर्सनल जस्ता क्लबसँग रोहितको नाम जोडिँदा निकै चर्चा पाएका थिए । इटालियन लेजेण्ड्री डिफेण्डर पाउलो माल्दिनीलाई रोहित आफ्नो आइडल मान्छन् ।
सुरूवाती करियर
सुर्खेतका रोहित सानोमा स्थानीय स्तरमा मौसम अनुसार फुटबल, क्रिकेट सबै खेल्थे । उनले ८ वर्षको हुँदादेखि दाई रविन चन्द ठकुरीसँगै फुटबल खेल्न थालेका हुन् ।
बुबा इन्डियन लाहुरे भएकोले रोहितलाई अन्य खेलाडीको जस्तो जुत्ता र बल जुटाउन गाह्रो भएन । फुटबल खेल्दा खेल्दै उनी १३ वर्षको उमेरमा एन्फा एकेडेमीमा छनोट भए ।
दुई पटक एन्फा एकेडेमीका लागि भिडेका उनी पहिलो पटक यू१० मा छनोट भएका थिएनन् । दोस्रो पटक यू१२ मा मात्र उनी छनोट भएका हुन् । त्यसपछि उनको यात्रा काठमाडौंतर्फ अघि बढ्यो । सुरूमा स्ट्राइकरबाटै एकेडेमीमा छनोट भएका उनी विस्तारै पछाडी खेल्न थाले र पछि डिफेन्डरसम्म बने ।
एन्फामा सुरूमा उनलाई गाह्रो भएपनि विस्तारै सहकर्मीहरूसँग घुलमिल हुँदै गएपछि सहज भयो । १४ वर्ष भएपछि उनले उमेर समूहको खेलहरूसमेत खेल्न थाले ।
सन् २००८ मा उनी नेपाल यू१६ टिमबाट इरान टुरमा गएका थिए । त्यो नै उनको करियरको टर्निङ प्वाइन्ट भयो । किनभने त्यसलगत्तै उनले १६ वर्षको उमेरमै राष्ट्रिय टिममा डेब्यू गर्ने अवसर पाए जतिबेला उनले कुनै क्लब वा यू१९ टिमबाट समेत खेलेका थिएनन् ।
रोहितले सन् २००९ मा मच्छिन्द्रबाट क्लब फुटबल यात्रा सुरू गरेका थिए । त्यसबेला एन्फाले एकेडेमीका खेलाडीहरू क्लबमा बाँड्थ्यो । उनका ब्याचका खेलाडीलाई पनि मनाङ मर्स्याङ्दी, संकटा र मच्छिन्द्रमा बाँडिएको थियो ।
रोहितसँगै विशाल राई, रुपेश केसीलगायत ८ खेलाडी मच्छिन्द्रमा परे । एकेडेमीका सेट खेलाडी हुँदा खेल्न पनि सहज भएको थियो । पहिलो सिजन नै उनी शहीद स्मारक ए डिभिजन लिग २०६६-६७ मा उयत्कृष्ट डिफेन्डर घोषित भएका थिए । उनले उमेर समूहमा यू-१४, यू-१६, यू-१८, यू-१९, यू-२३ सबैमा खेले ।
१६ वर्षमै राष्ट्रिय टिममा डेब्यू
रोहितले १६ वर्षको उमेरमै नेपालको सिनियर टिमबाट डेब्यू गरेका हुन् । उनी अन्तर्राष्ट्रिय प्रतियोगितामै डेब्यू गर्नेमा नेपालको कान्छो खेलाडी हुन् । नेपालका लागि सबैभन्दा कम उमेरमा डेब्यू गर्ने खेलाडी भने विमल घर्ती मगर हुन् ।
विमलले १५ वर्ष केही महिना हुँदा सन् २०१३ पाकिस्तानविरूद्ध कम उमेरमा डेब्यु गरेका थिए ।
रोहितले सन् २००९ मार्च २६ (२०६५ चैत १३) मा घरेलु मैदानमै भएको एएफसी च्यालेन्ज कप छनोटमा प्यालेस्टाइनविरूद्ध डेब्यू गरेका थिए । जहाँ उनले लेफ्ट डिफेन्समा खेलेका थिए । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।
रोहितले सिनियर टिममा डेब्यू गरेपछि यू-१९ र यू-२३ टिमबाट पनि खेले । राष्ट्रिय टिममा डेब्यू गरेपछि उनी निरन्तर नेपाली टिमको सदस्य बने । भर्साटाइल खेलाडी भएकोले पनि उनी निरन्तर नेपाली टिममा छन् । आवश्कता अनुसार उनी पछिल्लो समय सेन्टर ब्याक वा डिफेन्सिभ मिडफिल्डरको भूमिका देखिँदै आएका छन् ।
रोहितले करिब डेढ दशक नेपालका लागि खेल्दा पहिलो गोल भने पछिल्लोपटक नेपालले अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दा गरेका थिए । १२ वर्षअघि अफगानिस्तानसँगै दुई पेनाल्टीमा चुकेका रोहितले अफगानिस्तानसँगै २०२४ को नोभेम्बरमा भएको मैत्रीपूर्ण खेलमा गोल गरेका थिए । यो उनको पहिलो र एकमात्र अन्तर्राष्ट्रिय गोल हो ।
रोहितले नेपालका लागि साफ च्याम्पियनसिप ७ पटक खेलिसकेका छन् । उनले सन् २००९ मा पहिलो पटक साफ खेलेका थिए । त्यसयता सन् २०११, २०१३, २०१५, २०१८, २०२१ र २०२३ मा साफ च्याम्पियनससिप खेलेका थिए ।
इन्डोनेसियन लिगका स्टार
रोहित हाल इन्डोनेसियाको शीर्ष डिभिजनको लिग खेलिरहेका छन् । उनले विदेशी लिग खेल्न थालेको झण्डै डेढ दशक हुन लागिसक्यो । राष्ट्रिय टिमका लागि उपलब्ध हुने उनी बाँकी समय इन्डोनेसियाकै लिगमा व्यस्त हुन्छन् ।
अर्को भाषामा भन्दा रोहित इन्डनेसियन लिगकै स्टार हुन् । रोहितले सन् २०१८ मा पर्सिजा जाकार्तालाई इन्डोनेसियन लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यो सिजन उनको करियरकै उत्कृष्ट थियो । जहाँ उनले लिगसहित मोस्ट भ्यालुएबल प्लेअरको अवार्ड समेत जितेका थिए । यस्तै वर्षको उत्कृष्ट खेलाडीको अवार्ड पनि जिते ।
नेपालबाहिर गएर नेपाली फुटबललाई चिनाए । मोस्ट भ्यालुएबल प्लेयरको अवार्ड लिने बेला उनले नेपालको झण्डा ओढिरहेका थिए । उनका दाई रविन पनि सँगै थिए जसलाई रोहित आफ्नो जीवनकै उत्कृष्ट क्षण मान्छन् ।
रोहितले त्यसअघि पनि पर्सिजबाट खेलिसकेका थिए । उनले दोस्रोपटक पर्सिजबाट खेल्दा लिग जितेका हुन् । यस्तै २०१८ मा इन्डोनेसिया प्रेसिडेन्ट कप र २०२१ मा मेनपोरा कप पनि जितेका थिए ।
उनले सबैभन्दा लामो समय २०१७ देखि २०२२ सम्म पर्सिजाका लागि खेले । जहाँ जाकार्ताको गल्ली गल्लीमा रोहितलाई सबैले चिन्थे । २०२२ मा उनी पर्सिजा छाडेर पेर्सिक केडिरीमा अनुबन्ध भएर खेलिरहेका छन् ।
मच्छिन्द्र क्लबका नविन चित्रकारको सहयोगमा रोहित सुरूमा इन्डनेसिया गएका थिए । जहाँ उनले सन् २०१२ मा इन्डोनेसियाकै एरेमा क्लबमा ट्रायल दिएका थिए राम्रो प्रदर्शन गरेपनि त्यसमा उनी छानिएनन् । तर पछि २०१३ मा पीएसपीएस पेकनबारुले उनलाई अनुबन्ध गरेको थियो ।
२०१३ को डिसेम्बरमा रोहितले डेनिस क्लब एफसी भेस्टयालान्डमा करिब डेढ महिना ट्रेनिङ गरेका थिए । उनलाई पछि रिजर्भ टिममा प्रस्ताव गरेपनि अस्वीकार गरेका थिए ।
रोहितले सन् २०१६ मा मलेसियन क्लब टी-टिम एफसीबाट समेत खेलेका थिए । तर चोटका कारण उनले मलेसियन क्लबमा धेरै समय खेलेनन् । नेपाल, भारत हुँदै इन्डोनेसियन लिगमा पुगेका रोहितको व्यावसायिक करियर भने इन्डोनेसियन लिगमै फस्टायो ।
रोहितको उपलब्धि
थ्री नेसन्स कप २०२१ विजेता
साफ च्याम्पियनसिप २०२१ उपविजेता
इन्डोनेसियन लिग वान २०१८ विजेता
इन्डोनेसियन प्रेसिडेन्ट्स कप २०१८ विजेता
मेनपोरा कप २०२१ विजेता
व्यक्तिगत उपलब्धि
ए डिभिजन लिग बेस्ट डिफेण्डर २०१० मच्छिन्द्र क्लब
लिग वान बेस्ट प्लेअर २०१८ पर्सिजा जाकार्ता
लिग वान बेस्ट ११ : २०१८ पर्सिजा जाकार्ता
मेनपोरा कप बेस्ट ११ : २०२१ पर्सिजा जाकार्ता
थ्री नेसन्स कप : २०२१ बेस्ट प्लेअर
स्पेशल अवार्ड : पल्सर एनएसजेएफ स्पोर्ट्स अवार्ड २०१९
प्रस्तुती : गोविन्दराज नेपाल
Read Fullसमाचार


प्लेयर्स टु वाच



