+

यसकारण बनायौं चालीस मुनिका चालीस- २०८१ को सूची

मानिसहरू भन्छन्– उमेर आफैंमा अंक मात्रै हो । यदि त्यो अंक मात्रै हो भने पनि ४० वर्षभन्दा मुनि हुनु भनेको मान्छेको जैविक, मानसिक र शारीरिक विकासको खास चरण नै हो । अपवाद बाहेक धेरै मानिस उमेरको खास चरणसँगै ऊर्जाशील र सन्तुलित बन्छन्, थाक्छन् पनि ।

धेरैजसोको जीवनमा पढाइ, करिअर, परिवार इत्यादिको व्यवस्थापन यही उमेरसम्म भइसक्छ । यही उमेर समूह नै समाजमा क्रान्ति, परिवर्तन होस् या स–साना नदेखिने थुप्रै परिवर्तनको अगुवा बनेर रहेको हुन्छ । भर्खरै बंगलादेशमा हेर्‍यौं भने त्यसको अग्रभागमा युवा भेटिन्छन् । नेपालका प्रत्येक परिवर्तनको अगुवा ४० वर्षभन्दा मुनिको युवा हो, भलै त्यसपछिको उपलब्धिलाई नेतृत्व गर्न प्रौढ पुस्ता अघि सरेको किन नहोस् !

२०७८ को जनगणना अनुसार नेपालमा यति बेला कुल जनसंख्याको ४२.५६ प्रतिशत युवा जनसंख्या छ । सरकारी युवा नीतिले औंल्याएको १६ देखि ४० वर्षको उमेर समूहभित्रका युवामध्ये नेपालमा १ करोड २४ लाख १२ हजार १७३ त युवा नै छन् ।

यस्तो उर्वर समयमा युवाहरूको स्वर कतिसम्म सुनिनुपर्ला ? युवालाई कति धेरै सहभागिता र प्रतिनिधित्व गराउनुपर्ला ? तीन तहका सरकार सञ्चालनमा होस् या समाजका प्रत्येक क्षेत्रमा युवाहरूलाई कुन हदसम्म अग्रसर गराउन सकिएको छ ? अनि देखिने, चिनिने युवा त छँदैछन्, नदेखिएका, नसुनिएका युवा कति होलान्, जसलाई सुन्न, बुझ्नु जरूरी छ ?

अनलाइनखबरले युवाहरूलाई सुन्ने क्रममा व्यवसाय–उद्यम, राजनीति, समाज, खेलकुद, साहित्य, सिनेमा, संगीत, महिला, अल्पसंख्यक, गाउँशहर जस्ता क्षेत्रका ४० युवाको विधागत खोजी ग¥यो, जसलाई नेपालको अग्रगतिका संवाहकका रूपमा सबैसामु पेश गर्न सकियोस् । ज्ञान–विज्ञान, डायस्पोरा, सेवा, वकालत, पहिचान लगायत क्षेत्र पनि यसमा समेटिएका छन् ।

हाम्रो न्यूजरुमका साथी, प्रदेशका संवाददाता, अरू परामर्श दिने व्यक्तिहरूबाट हामीले लङलिस्ट तयार गर्‍यौं । त्यो लिस्ट हामीले निर्णायक मण्डललाई थमायौं । निर्णायक मण्डलले त्यो सूचीलाई अन्तिम रूप दिएको छ । यो अन्तिम सूची त्यसैको नतिजा हो ।

हामीले जुन अभ्यास गर्‍यौं, यस्तो अभ्यास अन्यत्र पनि छ । व्यवसाय क्षेत्रका परिवर्तनकर्ताहरू, सफल अभ्यासको नेतृत्वकर्ता, कुनै पनि क्षेत्रको दूरदर्शी नेतृत्व, चुपचाप प्रगति गरिरहेकाहरू, रूपान्तरणकारी योजनामा कार्यरत, हाम्रो देशको भविष्यलाई आकार दिन मद्दत गरिरहेका प्रेरणादायी युवाहरू यो छनोटमा परेका छन् ।

हाम्रो यो प्रयासले व्यक्तिगत प्रतिबद्धता र व्यावसायिक सफलतालाई मात्रै उजागर गर्ने होइन, उनीहरूका परोपकारी काम र त्यसले समाजलाई दिइरहेको सन्देश समेत बाहिर आउन पाओस् भन्ने चाहना राखेका छौं ।

हामी आगामी वर्षहरूमा पनि यस्ता युवाहरूको खोजी गर्दै रहनेछौं । तपाईंको सुझाव यसमा अपेक्षित छ ।

१२ अगस्ट अर्थात् अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना ! हामी जुनसुकै उमेर समूहका हौं, यी र यस्ता अनेकौं ‘चेन्जमेकर’ युवाहरूलाई स्याबासी दिऔं, उनीहरूबाट ऊर्जा र प्रेरणा लिऔं । ४० भित्र नपरे पनि समाजलाई निरन्तर मार्गदर्शन गरिरहने युवाहरूलाई निरन्तर हौसला प्रदान गरौं ।