
अन्नु चौधरी, (२६) घरेलु संगीतमा ‘डिमान्डेड’ गायिका हुन् । स्टेज र पार्श्वगायनकी व्यस्त संगीतकर्मी । डेढदशक लामो करिअरमा उनको सफलता लोभलाग्दो छ । सुदूरपश्चिम कैलालीको लम्कीचुहामा जन्मिएर काठमाडौंसम्म जसरी उनले सांगीतिक उडान भरेकी छन्, धेरैका लागि यो प्रेरक छ ।
१७ वर्षको उमेरदेखि गाउन सुरू गरेकी अन्नु थारू संस्कृति र सभ्यतालाई ‘मूलधार’ सँग जोड्ने तन्नेरी पुस्ताकी सेतु हुन् । कुनै सांगीतिक पृष्ठभूमि नभएको परिवार, त्यसमा पनि विपन्न र पिंधको समुदायबाट आफूलाई जसरी मुलुकको सांगीतिक केन्द्रमा स्थापित गरिन्, यसबाट नयाँ पुस्ताले सिक्ने धेरै कुरा छन् ।
आदिवासी थारू समुदायको संस्कार, संस्कृति र जीवनलाई संगीत मार्फत चिनाउने कार्यमा उनको विशिष्ट योगदान छ । थारू संस्कृतिलाई संगीत मार्फत अन्य भाषिक समुदायसँग जोड्ने कार्य पनि उनले गरेकी छन् । यतिबेला अन्नुको प्रसिद्धि थारू समुदाय मात्र होइन, नेपाल सहित मुलुकभित्र बोलिने धेरै भाषासँग जोडिएको छ । देशभित्र बोलिने अन्य भाषामा पनि गीत गाएर उनले श्रोताको मन जितेकी छन् ।
बाल्यकालमा उनको रहर गायिका बन्नु थिएन । यद्यपि, उनले गीत गाएर अरूलाई मन्त्रमुग्ध पार्थिन् । सांगीतिक पृष्ठभूमि नभएकी लम्कीचुहाकी युवतीले कसैको प्रेरणा विनै मुलुकको सफल संगीतकर्मी बन्ने सपना देख्नु चानचुने थिएन । बाल्यकालमा उनलाई पुराना नेपाली र हिन्दी भाषाका बलिउड गीतले गायनतर्फ प्रेरित गरे । बलिउडका गीत दुरुस्तै गाउँथिन् । अन्जु पन्तका नेपाली गीतमा भाका हाल्थिन् ।
‘मैले गीत मात्र गाइरहेको हो । मैले गीत गाउँछु भनेर मेरै साथीभाइलाई थाहा थिएन । रहर पनि थिएन । तर, मैले गाउँथें । टिभी, रेडियोमा गीत सुन्दै हेर्दै हुर्किएकी हुँ’— फागुन पहिलो साताको एक अपराह्न अन्नु अनलाइनखबरसँग ‘नोस्टाल्जिक’ सुनिइन् । उनको सपना चाहिं शिक्षिका बनेर बालबालिकालाई पढाउनु हो । घरबाट ‘ल्याब’ पढ्न दबाब थियो तर, उनको मन संगीतले तान्यो ।
१० कक्षा पास गरेपछि उनी धनगढी लागिन् । त्यहाँबाटै हो, उनले सांगीतिक उडान भरेको । चिनेका दाजुभाइको मद्दतमा उनले एउटा थारू गीत रेकर्ड गराइन् । स्कूल, कलेजमा गाउन थालिन् । त्यो पहिलो गीत पश्चिम तराईको थारू समुदायभित्र यति हिट भयो कि, संगीतप्रति उनको हुटहुटी झनै जाग्यो । ‘यो गीत राम्रो भयो, गाउँदागाउँदै झनै गाउन मन लाग्यो’, अन्नु भन्छिन् ।
पाँच वर्षअघि धनगढीदेखि शुरू भएको उनको सांगीतिक करिअर अहिले संघीय राजधानीमा अघि बढिरहेको छ । काठमाडौंको रेकर्डिङ स्टुडियोमा उनको स्वर भर्न चाहने संगीतकर्मीको लाइन एकातिर छ भने अर्कोतिर, उनको स्वर सुन्न चाहने दर्शकीय जमात पनि बढ्दो छ । यसले नै पुष्टि गर्छ– उनी अब नेपाली संगीत क्षेत्रकी स्थापित गायिका हुन् ।
योसँगै अन्नुले संगीतमार्फत थारू पहिचान, भाषा र आञ्चलिकतालाई फैलाउने कार्य गरेकी छन् । ‘मेरो काम संगीतबाट थारू भाषा र संस्कृति चिनाउने हो । सधैंभरि यो गरिरहन्छु । मेरो तन, मन, धन यसैमा केन्द्रित छ’, हल्का थारू लवजमा उनले भनिन् । हुनत, बोलीचालीमा उनको आवाजमा थारू लवजको मिठास छ । तर, जब रेकर्डिङको कुरा आउँछ, उनी सामान्य लवजमै गीत प्रस्तुत गर्छिन् ।
उनी भन्छिन्, ‘मलाई यस्तै टोन प्राप्त भैरहोस् । मैले नेपालमा बोलिने लगभग सबै टाइपको गीत गाएकी छु । नर्मल मान्छेले मेरो बोली सुनेर थाहा पाउँछ कि यो केटी सुदूरपश्चिमको थरूनी हो भनेर । किनभने यो मेरो लवज हो नि त ! मलाई यो मदर टोन मनपर्छ ।’ उनी आफ्नो लवजमा पहिचान पाएको बताउँछिन् ।
अन्नुको आवाज नै यस्तो छ कि जुनसुकै लय, भाका र भाषामा फिट हुन्छ । थारू भाषाको गीत गाएर यात्रा थालेकी उनको पहिलो नेपाली हिट गीत चाहिं उर्गेन दोङसँग गाएको ‘लजालु मायालु’ हो । युट्युबमा ७ करोडभन्दा धेरै पटक हेरिएको यो गीतमा उनले थारू भाषाकै अंश पनि गाएकी छन्, जसलाई अत्यन्तै रुचाइयो । उनले अहिलेसम्म नेपाली र थारूका साथै मैथिली, भोजपुरी, तामाङ, नेवारी लगायत भाषामा गीत गाइसकेकी छन् ।
केही समयअघि उनले टंक बुढाथोकीसँग सात वटा भाषामा गीत गाइन् । ‘उर्गेनजीसँगको लजालु मायालु पनि नेपाली, थारू र तामाङ भाषामा छ । शुरूमा पूर्वको थारू भाषा थियो, मैले बुझिनँ र पश्चिमको भाषामा अनुवाद गरें, पछि राम्रो भयो । सबैले रुचाइदिनुभयो’, अन्नु भन्छिन् ।
सुगम संगीत जनराका गीत गाउने उनले लोकदोहोरीमा पनि आवाज दिएकी छन् । ‘लजालु मायालु’ बाट सुरू भएको उनका लोकप्रिय गीतको श्रृंखला ‘ए हो र माया’, ‘तिमीलाई हेर्ने बानी’, सैया, मैं झुटो, चार तोलाको बाला, हलका हलका, आहा कति राम्रीसम्म आइपुगेको छ ।
हुनसक्छ, यही कारण उनलाई अन्य जातजाति र भाषाका समुदायले आयोजना गर्ने इभेन्टमा समेत प्रस्तुतिका लागि प्रस्ताव आउँछ । यो सांस्कृतिक अन्तरघुलनले अन्नुलाई थारू संस्कृतिसँग जोड्ने काम गरिरहेको छ ।
‘अहिले थारू समुदाय मात्रै होइन कि इभेन्टमा अर्को समुदायले पनि बोलाएको बोलायै छ मलाई । मैले आफ्नो समुदायबाट योगदान दिएकी छु । खुसी लाग्छ यो कुराले’, उनी भन्छिन् ।
पछिल्लो समय थारू संगीत उद्योग फराकिलो भइरहेको उनको भनाइ छ । ‘जति थारूको संस्कृति बारेका कुरा बाहिर आउनुपर्ने हो त्यति आएको छैन जस्तो लाग्छ । चितवनको थारूको संस्कृति भिन्न छ । पुर्वदेखि-पश्चिमको हाम्रो थारू भाषा, ड्रेसअप, कल्चर भिन्न छ, तर हामी एक छौं,’ उनी भन्छिन्, ‘तर, थारू पहिचानलाई झल्काउने कुरामा हामी अझै पछाडि छौं ।’
संगीतमार्फत थारू समुदायबीच एकताबद्ध गराउने कार्य आफूले गरिरहेको उनी बताउँछिन् । ‘थारू संगीतमा अहिले धेरै गायक–गायिका छन् । गीत–संगीतको मामिलामा जे गाएँ, पहिले थिएन । मैले नेपालको पूर्वदेखि पश्चिमसम्मको थारू चिनें’ उनी भन्छिन्, ‘थारू गीत–संगीत पनि हुने रहेछ । शब्द यस्तो हुने रहेछ भन्ने थाहा पाएँ । अहिले म आफैं भन्छु– इन्डष्ट्रीमा योगदान चाहिं दिएकी छु ।’
आफ्ना गीतले थारू भाषा, रहनसहन नेपालका अन्य समुदायका मान्छेलाई समेत चिनाउन सफल भएको अन्नुको कथन छ । अन्नुले यसबीच टीकापुर साहित्य समाज र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाबाट सुदूरपश्चिम समाजको तर्फबाट पुरस्कार प्राप्त गरेकी छन् । संगीत मार्फत थारू समुदायको पहिचान प्रवद्र्धनमा योगदान दिएको भन्दै उनलाई अन्य धेरै संघ–संस्थाले पनि सम्मान दिएका छन् ।
तर, अन्नुलाई आफू अझै सफल भइनसके जस्तो लाग्छ । सफलताबारे उनको आफ्नै खाले बुझाइ छ । ‘म आफूलाई सक्सेस मान्दिनँ । अहिलेसम्म स्ट्रगल पिरियडमा छु । सक्सेस भन्ने कुरै हुँदैन’ उनी भन्छिन्, ‘आजभन्दा पाँच वर्षअघि पनि मैले यही सोचेकी थिएँ । अहिले पनि काम गरिराख्या छु । अहिले पहिलेभन्दा धेरै काम गरिराख्या छु ।’
अहिलेको प्रसिद्धिप्रति आफू सन्तुष्ट नभएको उनी बताउँछिन् । ‘नेमफेममा क्षणिक सन्तुष्टि हुन्छ । पाँच वर्षअघि पनि मैले गीत–संगीतमा संघर्ष गरेकी थिएँ । अहिले पनि गरिराख्या छु’ उनी भन्छिन्, ‘अझै पनि राम्रो गीत पाऊँ, मूभीतिरको गीत पाऊँ, अझै पनि मान्छेले मलाई चिनोस्, प्रोफेसनल गायिकाको हिसाबले भन्ने लाग्छ । सक्सेस भन्ने कुरै हुँदैन जस्तो लाग्छ ।’
अन्नुको संघर्षको ग्राफबाट अरूले पनि धेरै कुरा सिक्न सक्छन् । विशेषगरी, संगीतमै भविष्य बनाउन चाहनेका लागि अन्नु एक पाठशाला हुन् । हुनसक्छ, यही कारण उनी अहिलेको भाइरल बन्ने प्रवृत्तिप्रति असन्तुष्ट छिन् ।
उनी भन्छिन्, ‘अहिले पनि मेरा प्रशंसक र दर्शकको नजरमा व्यावसायिक र राम्रो गायिकाको रूपमा चिनिन सकूँ भन्ने लाग्छ । आफ्नो इमेज राखेर काम गर्ने मन छ । हाउडे पारामा होइन ।’ भाइरल बन्ने प्रवृत्ति त्यागेर संगीतमा आउन उनको सुझाव छ ।
‘अहिले भाइरल भएर कतिपय आएका छन् । त्यो फेरि काम छैन । आउने एक–दुई महिना पनि नटिक्ने जाने राम्रो हुँदैन’ आफूलाई पनि भाइरल गायिका ठान्ने कतिपयको सोचबारे उनको जवाफ छ, ‘मेरो एउटा नेपाली गीत चलेपछि धेरैले यस्तो सोचे होलान् । तर अन्नु चौधरी त्यो गीतबाट मात्रै आएको होइन । ऊ थारू समुदायबाट यहाँसम्म आएको हो ।’
हुन पनि, अन्नुले पाँच वर्षअघि थारू भाषाको गीत मात्र गाउँथिन् । मूलधारको संगीतमा उनी आएको धेरै भएको छैन । नेपालीमा कोरस गीत मात्र गाउँथिन् । ‘आजको जमानामा एउटा मात्र गीतले सक्सेस बनाइदिन्छ । अनि फेरि एउटा मात्र गीतले भाइरल भएपछि त्यसकै पछि लाग्छन्’ भाइरल बन्ने प्रवृत्तिप्रति उनको कटाक्ष छ ।
राम्रो प्रतिभा पछिल्लो समय भाइरल हुने संगीतकर्मीको छायाँमा परेको उनको गुनासो छ । ‘राम्रो प्रतिभाले जति राम्रो गाओस्, ऊ जति राम्रो प्रतिभा होओस्, जबसम्म क्लिक हुँदैन, त्यो मान्छेलाई कसैले हेर्दैन’ पछिल्लो समय नेपाली संगीतवृत्तको चुनौतीबारे उनले भनिन्, ‘एउटा गीत भाइरल भयो भने मान्छे उसैको पछाडि जान्छ । यो ट्रेन्ड मलाई राम्रो लाग्दैन । किनकि मैले २०–३० वर्ष संघर्ष गरेको मान्छे पनि देखेकी छु ।’
संगीतमा भविष्य बनाउन चाहने नयाँ पुस्तालाई उनको सुझाव छ– ‘बुझेर आउनु, भाइरल भएर होइन ।’ आफूले जीवनलाई संघर्षको दौरान धेरै नजिकबाट बुझेको उनको ठम्याइ छ । ‘जसरी म एक–एक बुझेर, बयलगाडा जस्तै गरेर आएकी छु । अहिले पनि मेरो संघर्ष चल्दैछ । लाइफमा मैले पाएको त्यही हो । जर्नीमा सिक्दै आएकी हुँ । गुमाएँ हुँला । मैले पाएको त्यही हो’, अन्नु भन्छिन् ।
उनले संगीतमा निरन्तरता नै महत्वपूर्ण रहेको बताइन् । ‘मेरो पेशा नै यही हो । तन, मन, धन यहीं लगाएकी छु । ग्याप गरेकी छैन । कन्टिन्यूटी दिइराखेको छु’ निरन्तरता महत्वपूर्ण रहेको बारे उनले भनिन् । नयाँ पुस्ताका लागि ‘द भ्वाइस अफ नेपाल’ जस्ता टिभी प्लाटफर्मको योगदान पनि महत्वपूर्ण रहेको उनी बताउँछिन् ।
अबको सपना के छ ? जवाफमा उनी भन्छिन्, ‘अझै राम्रा-राम्रा गीतमा मेरो आवाज र मेरो नाम होस् । श्रोताले दिइरहनुभएको माया सँगालेर राखिरहन र संगीतमा कुनै न कुनै रूपमा टिकिरहन पाऊँ ।’