+

जरासँग जोडिएकी संस्कृति चिन्तक

पूरा सूची
Shares
विश्वविद्यालयको अध्यापक, निबन्धकार र समालोचक अनि महिलावादी अभियन्ता । कुमारी लामाको परिचय अरू पनि छ– भुइँपात्रका दुःख, सुस्केरा, विभेद र उत्पीडनप्रति औधी संवेदनशील महिला । त्यसमा धेरथोर उनकै जीवनगाथा पनि जोडिएको छ ।
कुमारी लामा

झन्डै चार दशक पुरानो पत्रिकाको नयाँ अवतार हो, ‘अस्मिता हाम्रो’ । नामी लेखक पारिजातले न्वारान गरिदिएको यो प्रतिष्ठित पत्रिका थालनीदेखि नै महिला मुद्दामुखी थियो र छ । नेपालमा महिलामुक्ति, गर्भपतन र आमाको नामबाट नागरिकताको बहस उठाउने त्यो ऐतिहासिक पत्रिकाको प्रवेशांक आएको थियो, २०४५ वैशाखमा ।

त्यसयता ‘अस्मिता’ मा तीन घुम्ती स्पष्ट देखिइसकेका छन् । २०५५ सम्म संस्थापक सम्पादक सुसन मास्के र अञ्जु क्षेत्री, बीचमा गैरसरकारी स्रोत संस्था अनि कुमारी लामा नेतृत्वको नयाँ सम्पादक मण्डल ।

महिला स्वतन्त्रता र सहअस्तित्वको सचेतनतालाई मूलमन्त्र बनाएर यसले हरेक अंकमा भुइँ तहका महिलाको विषयमा विज्ञहरूलाई लेखाएर पठनीय सामग्री पस्किरहेको छ । पितृसत्ता र भुइँमान्छे, सचेतनताका लागि समावेशिता, समावेशिताका लागि सचेतनता र महिला संघर्षको सौन्दर्यपछि ‘महिला र माटो’ विशेषांक आउँदैछ ।

लोग्ने र छोराहरू वैदेशिक रोजगारतिर लागेपछि जमीनलाई धानेर आज कोही बसेको छ भने त्यो महिला नै हो । कानूनले दिएको कर छुटका कारण कतिपय घरजग्गा महिलाको नाममा हुनु एउटा कुरा हो । तर त्यो जमीनमा खनीखोस्री खाने महिलाको साँच्चिकै स्वामित्व छ त ? के उनीहरूले स्वेच्छाले जमीनको भोगचलन वा बेचबिखन गर्न पाउँछन् ?

पत्रिकाको तेस्रो घुम्तीमा डा. महेश मास्के र सुकन्या वाइबा मार्फत जोडिएकी कुमारी भन्छिन्, ‘पर्यावरणीय विनाशले मुहान सुक्दै गएर ग्रामीण महिलालाई पानी भर्न समेत मुस्किल हुँदैछ । खेतबारीमा विषादी आतंकका कारण थुप्रै महिला दीर्घरोगी बनिरहेका छन् । हो, हामी यस्ता विषय क्रमशः उठाउँदैछौं ।’

कुमारी लामालाई ‘थ्री बी’को शक्तिमान साथ छ– बोल्ड, ब्युटिफुल र ब्रेन । त्यसले नै उनलाई सार्वजनिक वृत्तमा साठीको दशकदेखि बौद्धिक सुन्दरीका रूपमा चिनाएको छ । विश्वविद्यालयको अध्यापक, निबन्धकार र समालोचक अनि महिलावादी अभियन्ताका रूपमा समेत चिनिएकी कुमारी भुइँपात्र अनि तिनका दुःख, दर्द, सुस्केरा, उकुसमुकुस, विभेद र उत्पीडनप्रति औधी संवेदनशील लाग्छिन् । त्यसमा धेरथोर उनकै जीवनगाथा पनि जोडिएको छ ।

धरान–धनकुटा राजमार्ग बन्दै गर्दा लेउती खोलाको छेउछाउ ठेकेदारी गर्थे, उनका बुबा रामबहादुर । त्यतै भेट भएकी भोजपुरे मीनासँग उनले घरजम गरे । पहिलो सन्तानका रूपमा कुमारी जन्मिइन्, धनकुटा अस्पतालमा । आम भाषामा कुल्ली भनिने श्रमार्थीहरूको सामीप्य उनले पाइन् ।


सबैलाई टाटा गरेर हाँस्दै दौडन लाग्दा आमाले समाउन खोज्दाखोज्दै निर्माणाधीन पुलबाट खोलामा खसिन् । धन्न मीनाको बेस्सरी कहालिएको आवाज ग्याबिन लगाइरहेका कामदारहरूले सुने र कसैले हात त कसैले खुट्टा समाउन भ्याए र बचाए । तैपनि वर्ष दिन पनि नपुगेकी कुमारीको टाउकोले भुइँ छोइहाल्यो । उनी अहिले पनि टाउकोको मध्यविन्दुमा त्यसको निशानी बोकेर हिंडिरहेकी हुन्छिन् ।

तिनताका रामबहादुर पत्नी, दुई छोरी र एक छोरालाई धरानमा राखेर पूर्वाञ्चल क्षेत्रमा ठेक्कापट्टाका काम सम्हाल्थे । जिरो प्वाइन्टको छेउमा रहेको सुनगाभा बोर्डिङमा कक्षा १ सम्म पढेर कुमारी सपरिवार पुर्ख्यौली थलो धादिङको भिरालो गाउँ छत्रेदेउराली आइन् । त्यसै वर्ष काष्ठशिल्पी बाजेको व्यक्तित्वको छापका कारण उनका बुबा छत्रेदेउराली गाउँ पञ्चायतको प्रधानपञ्च चुनिए ।

स्थानीय रातमाटे स्कूलमा ५ कक्षासम्म पढेपछि कुमारीलाई बुबाले रातारात काठमाडौंको कुलेश्वर ल्याएर आफ्नै तलसिङको घरमा राखे । दुई चुल्ठी, छन्–छन् चुरा, रातो टीका अनि फर्र जामा लगाएकी कुमारीलाई पुस्तौंदेखि खनीखोस्री खाएको जमीन आफ्नो परिवारको नाममा नभएको त्यहीं थाहा भयो ।

एमबीएको डिग्री कहींकतै उपयोग भयो ? कुमारी शान्त मुद्रामा सुनाउँछिन्, ‘सोझै नभए पनि परोक्ष रूपमा पक्कै भयो । अहिले पनि महिला या सीमान्तकृतको मुद्दामा काम लागिरहेको छ । अस्मिता हाम्रोको सम्पादकका रूपमा पनि त्यसले केही न केही आडभरोसा दिएकै छ ।’

‘बहुदलीय व्यवस्था आएपछि हाम्रो परिवार काठमाडौं विस्थापित भयो । एक हिसाबले हामी आफ्नै थातथलोबाट लखेटिएका थियौं’ उनी सम्झिन्छन्, ‘भीमढुंगा–भञ्ज्याङ पोखरी सडक, खानेपानी, शिक्षा क्षेत्रमा धेरै जनप्रिय काम गरे पनि पूर्वपञ्च भनेर धम्काइएकाले बुबा घरमा बस्न सक्नुभएन ।’

काठमाडौं आउनासाथ कुमारी लेबोरोटरी स्कूल, कीर्तिपुरमा भर्ना भएकी थिइन् । तर बुबाले शुल्क तिर्न नसकेकाले वार्षिक परीक्षा नै दिन पाइनन् । त्यसपछि उनको परिवार चाबहिल, चारुमती विहारभित्रको एक माटेघरको चिसो र अँध्यारो कोठामा सर्‍यो । गाउँ फर्कन पनि नसक्ने, शहरमा गुजारा चलाउन पनि धौ–धौको स्थिति रह्यो ।

कसो–कसो कुमारीकी आमाले दुःखजिलो गरेर परिवारलाई हातमुख जोर्ने व्यवस्था मिलाइन् । तर एक–दुई वर्ष कुमारीको अध्ययनले निरन्तरता पाउन सकेन । पछि उनी पशुपति मित्र माविमा कक्षा ७ मा भर्ना भइन् । सरकारी विद्यालय भए पनि शुल्क तिर्नैपर्थ्यो । विद्यार्थीको भीडभाडमा उनी अब्बल विद्यार्थीमा दरिइन् । हरेक वर्ष छात्रवृत्ति पाइरहन्थिन् । स्कूल पढ्ने बेलामै उनको बैंक खातामा आठ–दश हजार जम्मा भइसकेको थियो ।

एसएलसीमा त झन् स्कूल र वडाकै ‘टपर’ भइन् । ७२ प्रतिशत अंक ल्याएकाले वडाले सम्मान पनि गरेको थियो । त्रिचन्द्र बहुमुखी कलेजमा आईएस्सी त पढिन् तर घरबाट परीक्षा दिन भनेर हिंडे पनि परीक्षा हलमा पस्ने आँट गरिनन् । अंग्रेजी माध्यममा पढाइने भएकाले उनले वर्षदिनसम्म मट्ठै बुझिनन् ।

स्कूल टपरको त्यो बेहाल यसो हेर्दा कुमारीको जिन्दगीको चित्र विचित्रै लाग्छ । कहिले शुल्क बुझाउन नसक्दा परीक्षा दिन पाइनन्, कहिले पढ्नै नसकेर परीक्षा दिइनन् ।

विज्ञानको बाटो बाई–बाई गरेर उनी मानविकीतिर लागिन् । पशुपति कलेजबाट आईए र आरआर कलेजबाट बीए पढिन् । केन्द्रीय क्याम्पस कीर्तिपुरबाट अंग्रेजी साहित्यमा एमएदेखि एमफिलसम्मको डिग्री लिइन् । यति मात्र होइन, उनले बेलायतको युनिभर्सिटी अफ वेल्स ट्रिनिटी सेन्ट डेभिडबाट ह्युमन रिसोर्स म्यानेजमेन्टमा एमबीए गरेर देश फिरिन् ।

यसपछि लिटिल एन्जेल्स स्कुलमा आधा दशकभन्दा बढी शिक्षण गरेपछि त्रिभुवन विश्वविद्यालय सेवा आयोग लडेर उप–प्राध्यापकको नियुक्ति लिइन् । त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाहुँदै अहिले पद्मकन्या बहुमुखी क्याम्पस, काठमाडौंमा प्राध्यापनरत छिन् ।

एमबीएको अन्तिम शोधप्रबन्ध अन्तर्गत कुमारीले कुनै संस्थामा कर्मचारी बढुवामा लिंगको भूमिका हुन्छ कि हुँदैन भनेर अध्ययन गरेकी थिइन् । त्यसमा उनले चुनेकी थिइन्, स्टारबक्स कफी । तर त्यहाँ महिलालाई तालिम र बढुवामा समान अवसर दिएको पाइयो । स्टारबक्समा कुनै बेला उनले पनि काम गरेकी थिइन् ।

एमबीएको डिग्री कहींकतै उपयोग भयो ? कुमारी शान्त मुद्रामा सुनाउँछिन्, ‘सोझै नभए पनि परोक्ष रूपमा पक्कै भयो । अहिले पनि महिला या सीमान्तकृतको मुद्दामा काम लागिरहेको छ । अस्मिता हाम्रोको सम्पादकका रूपमा पनि त्यसले केही न केही आडभरोसा दिएकै छ ।’

स्कूले जीवनमै कुनै पनि विषयमा आफ्ना धारणा लेख्न र बोल्न सक्ने खुबी थियो कुमारीमा ।

वक्तृत्वकला, निबन्ध आदि प्रतियोगितामा पुरस्कृत भइरहन्थिन् । नेपाल टेलिभिजनको विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा त प्रथम नै भएकी थिइन् ।

स्नातकोपाधि पछि अंग्रेजी साहित्यका पुस्तक खोजीखोजी पढ्न थालिन्; खासगरी मञ्जुश्री थापा, सम्राट उपाध्यायका । मिहिन अध्ययनले उनमा विश्लेषण क्षमता बढ्यो । साहित्यमा प्रारम्भिक पाइला पहिल्याउने पृष्ठभूमि तयार भयो ।

एमएको शोधप्रबन्ध नबुझाउँदै ब्रिटिश गोर्खा कलेजमा पढाउन थालेकी थिइन् कुमारीले । त्यहाँ कवि गीता त्रिपाठी भेटिइन् जसले उनलाई साहित्यमा अगाडि बढ्न मार्गदर्शन गरिन् । उनीहरूबीच हुने पुस्तक परिचर्चाले कुनै न कुनै उत्प्रेरणा मिल्थ्यो । त्यसमा साहित्यकार प्रकाश सायमी, कृष्ण धरावासी, अग्रज साहित्यकार चेतन कार्कीले ऊर्जा थपे ।

२०६४ सालतिर ‘राधा’ उपन्यासबारे उनको समीक्षा छापियो, ‘समष्टि’ पत्रिकामा । त्यसपछि नेपाली र अंग्रेजी भाषाका पत्रपत्रिकामा निरन्तर पुस्तक समीक्षा लेख्दै गइन् ।

कुनै बिहान कलेजतिर लाग्दै गर्दा साइकलमा पाउरोटी बोकेर हिंडेको मजदुरलाई सडकको कुकुरले बेस्सरी झम्टेर लखेटेको देखेपछि उनको संवेदनशील हृदयलाई बेस्सरी हल्लायो । उनी यसैगरी अरूले झिना, मसिना र मामुली ठानेका घटनावलीलाई नियाल्न थालिन् ।

चियापसलमा चिया पिउन बस्दा पनि छेउछाउमा के कसो भइरहेको छ भनेर चनाखो हुन थालिन् । तात्कालिक घटना वा अनुभूतिलाई समातेर आफ्नो स्वतन्त्र धारणा दिन सहज हुँदै गयो । यसै क्रममा २०६५ सालतिर ‘मधुपर्क’ र ‘मिर्मिरे’मा उनका निबन्ध छापिए ।

सन् २००९ देखि २०१२ सम्म कुमारी बेलायतमा थिइन् । त्यहाँको जीवनधारा, विचारधारा, पर्यावरण, कार्यशैली, कफी–मदिरा–पठन संस्कृति अनि चहलपहलले उनी अभिभूत भइन् । क्याफे संस्कृति कस्तो भने लेखकहरू प्रायः क्याफेमै भेटघाट र विमर्श गर्थे ।

शेक्सपियर, जेन अस्टिन आदि महान् साहित्यकारहरूको ऐतिहासिक जन्मथलो र कला संग्रहालय धाइन् । नेपाल र बेलायतको साम्य र वैषम्य अनि सम्झनाको शृंखला जोडेर धमाधम लेख्न थालिन् ।

कुमारीले अनुभूति, यात्रा र स्मृतिलाई केन्द्रमा राखेर पहिलो निबन्ध संग्रह ल्याइन्– ‘उज्यालो अन्धकार’ (२०७१) । यात्राका लय, संस्मरणका कुइनेटा, कथात्मकताको मिठास अनि आत्ममन्थनको गहिराइले छोइएका पाठकले त्यसको स्वागत गरिहाले । त्यसैको प्रभावस्वरूप आज पनि निबन्ध साहित्यको आशालाग्दो किरणका रूपमा कुमारीको नाम पहिलो पंक्तिमै आउँछ ।

दश वर्षको अन्तरालमा कुमारीको नयाँ निबन्धकृति आएको छ, ‘दर्ज्यु संलाप’ (२०८१) । यसमा उनले महिला, दलित र सीमान्तकृत समुदायलाई प्राथमिकता दिएकी छन् । साथै आफूलाई जरान्मुख संस्कृति चिन्तकको रूपमा चिनाएकी छन् । कहीं कतै तामाङ गाउँकी भएर पनि आफैं तामाङ भाषा सिक्नुपर्ने अवस्था निम्तिएकोमा क्षुब्ध देखिन्छिन् । समुदायको सीमान्तीकरण शक्तिकेन्द्रबाटै हुन्छ भन्ने उनको प्रतिरोधी संकथन छ ।

कुमारी विश्वविद्यालयमा अंग्रेजी विश्वसाहित्य पढाउँछिन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्राज्ञिक लेख लेख्छिन् । विभिन्न सभा, सेमिनारमा सहभागी हुन्छिन् ।

भाषा, संस्कृति, जीवनपद्धति र मौलिक ज्ञान प्रणाली समुदायको अस्तित्वसँग सीधै जोडिएका हुन्छन् । त्यसबाट विमुख भएर म के हुँ भनेर दाबी गर्न नसकिने एक झिल्को ज्ञान र चेतनाले उनी डोहोरिएकी छन् । त्यसैले समाजविमर्श रुचाउने पाठकको सम्झनामा उनी कहीं न कहीं छिन्, रहनेछिन् ।

‘पहिलो पुस्तक रहर वा अनजानमै स्वतस्फूर्त रूपमा लेखिएको हो । त्यसमा ज्यादा कोमलता र भावुकता छ’ उनको स्वीकारोक्ति छ, ‘यसपटक भूमि, पर्यावरण, रैथाने संस्कृतिका पेचिला विषयमा साहित्यिक मूल्य, मान्यता र सौन्दर्य सहित लेख्ने सचेत प्रयत्न गरेकी छु ।’

कुनै समय साहित्यिक मेला, महोत्सव, विमोचन र विमर्शमा प्रायः पुरुष अनुहारकै हालीमुहाली हुन्थ्यो । महिलाले आक्कलझुक्कल मात्र मञ्चिने अवसर पाउँथे । महिला लेखनको विषयमा खुलेर छलफल हुँदैनथ्यो । त्यस्तो अवस्था बुझेर अर्चना थापा, उमा सुवेदी र कुमारीले महिला केन्द्रित लेखनको विषयमा विमर्श गराउने अभियान चलाए, ‘आह्वान समूह’ । २०७१ मा सुरुआत भएको आह्वानलाई हालसम्म पनि उमा र उनले पछ्याइरहेका छन् ।

‘आह्वान मार्फत बलात्कारपीडित महिलाको न्याय, जनजाति महिला, पारिजातका खुलेका र नखुलेका पाटा आदि विविध विषयमा विमर्श भयो । मञ्चमा महिला अनुहार अनिवार्य छ भनेर सञ्जाल तात्यो । त्यसमा धेरै महिलाको ऐक्यबद्धता रह्यो’ उनको आत्मसमीक्षा छ, ‘त्यसकै उपलब्धिस्वरूप अहिले महिला वक्ता नभएको कुनै सेसन देखिंदैन । प्लेटफर्म धेरै उपलब्ध छन् । महिलाहरू सामाजिक सञ्जालमा त्यसरी नै बोलिरहेका छन् । भूमिका थोरै परिवर्तन भयो तर हामी काम गरिरहेकै छौं ।’

कुमारी आफैं हिजोआजका साहित्यिक मेला, महोत्सव, विमोचन र विमर्शमा प्रायः नछुट्ने अनुहार हुन् । तर निर्भीकतापूर्वक लेख्नु वा बोल्नुको जोखिम पनि अनुभव गरिरहेकी छन् । थोरैले मुख फोरेरै अनुरोध गर्छन् भने अप्रत्यक्ष अनुरोध प्रशस्त आउँछन् । तर सबैको अपेक्षा पूरा गरिदिनु सम्भव हुन्न । कतिपय त लेखिदिने अनुरोध मात्र गर्दैनन्, कस्तो लेखिदिने समेत आफैं तय गर्छन् ।

‘एउटा समीक्षकले हप्ता दिन छुट्याएर पुस्तक पढ्छ, मञ्चमा गएर बोलिदिन्छ, पत्रपत्रिकामा लेखिदिन्छ । तर झिनो आलोचना गर्‍यो भने नकारात्मक टिप्पणी गरिहाल्छन्, त्यसले के जानेको (की) छ र !

कतिपयले त बोल्नै समेत छाडिदिन्छन्’ उनी अनुभव साट्छिन्, ‘म पनि लेखक हुँ । आफ्ना पुस्तकमाथि कसैले भद्र आलोचना गरे हार्दिकतापूर्वक स्वीकार्छु । तर नेपाली साहित्यवृत्तमा त्यो उदारताको ज्यादै कमी छ ।’ समीक्षाका नाममा प्रशंसा र वाह्वाही मात्र खोज्नु विरोधाभासपूर्ण रहेको उनको तर्क छ ।

सिर्जनादेखि सिद्धान्तसम्म फैलिएकी कुमारीका पाइला समालोचनामा पनि बढ्दै छन् । त्यसको एउटा दृष्टान्त हो, ‘समकालीन कथामा तेस्रोलिंगी चेतना’ (२०७०) । नेपाली आख्यानमा लैंगिक तथा यौनिक अल्पसंख्यक सम्बन्धी उनको प्राज्ञिक अध्ययनलाई नेपाल प्रज्ञा–प्रतिष्ठानले पुस्तकाकार रूप दिएको हो ।

कुमारी विश्वविद्यालयमा अंग्रेजी विश्वसाहित्य पढाउँछिन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्राज्ञिक लेख लेख्छिन् । विभिन्न सभा, सेमिनारमा सहभागी हुन्छिन् । ‘विश्वविद्यालयमा पढाउने भएकाले प्राज्ञिककर्म गर्नु मेरो आवश्यकता र जिम्मेवारी दुवै हो’ उनी भन्छिन्, ‘तर मैले समालोचक नै हुन्छु भनेर त्यो काम गरेकी होइन । रेफरेन्स सहित काम गर्दाखेरि त्यसको अर्कै प्राज्ञिक महत्त्व हुने रहेछ ।’

कुनै समय बेवास्ता गरिएका कुरा कुमारीका लागि अहिले अत्यन्त महत्त्वपूर्ण भएका छन् । भान्सामा काम गर्दै आमाले तामाङ भाषामा ट्वाक्कटुक्क जोड्ने गीतका हरेक हरफमा अर्थ अनि मौखिक इतिहास भेट्न थालेकी छन् । फुर्सदमा त्यसलाई बटुलेर दस्तावेजीकरण गर्न पाए हुन्थ्यो भन्ने लोभ लागिरहन्छ । पदयात्रा त उनको सोख भइहाल्यो ।

लेखक एवं शिक्षासेवी सुकन्या वाइबा कुमारी लामामा किन किन पारिजातको प्रतिच्छायाँ देख्छिन् । ‘कुमारी सामाजिक विषयप्रति सचेत छ । उसले दिदी पारिजातको बाटो पक्रेको पाउँछु । वैशाख ५ गते दिदीको अनन्त यात्राको दिन, ६ गते कुमारीको जन्मदिन’ सुकन्याले लेखेकी छन्, ‘ऊ मलाई भेट्न आउँछ । लाग्छ, दिदी पारिजात फर्केर आइन् ।’

लेखक
राजकुमार बानियाँ

बानियाँ लेखक तथा पत्रकार हुन् ।