
पछिल्लो समय ललितपुर महांकाल गाउँपालिकाकी डोल्मामाया गोलेलाई भ्याई–नभ्याई छ । उनको गाउँपालिकालाई ललितपुर जिल्लाको दुर्गम क्षेत्रमा पर्छ । संघीय राजधानीसँग जोडिएको जिल्ला भए पनि महाङ्काल गाउँपालिका साँच्चै दूरदराजमै छ । यही गाउँपालिकाकी उपाध्यक्ष हुन्, डोल्मामाया ।
कहिले प्रहरी चौकी, कहिले वडा कार्यालय, कहिले सडक अनुगमन, कहिले कृषि बजार, कहिले कता कहिले कता । गाउँपालिका उपाध्यक्ष भएपछि पालिकाभित्रको न्यायिक समिति, अनुगमन समिति, राजस्व परामर्श समिति जस्ता महत्वपूर्ण समिति उनकै नेतृत्वमा छ । २०५५ सालमा १४ वर्षको उमेरमा ‘समाज परिवर्तन गर्छु’ भनेर हतियार उठाएकी डोल्मामाया अहिले नेतृत्व तहमा छिन् ।
नेकपा माओवादीले शुरू गरेको सशस्त्र द्वन्द्वमा राजधानीमा ललितपुरबाट पहिलो महिला छापामार भएर पार्टीको भूमिगत काममा लागेकी थिइन् उनी । तर, छापामार भएको ४२ दिनमै उनी ललितपुर ठूलादुर्लुङमा प्रहरी नियन्त्रणमा परिन् ।
३१ असार २०५५ मा उनीसँगै हिंडेका तीन जना साथीको गोली लागेर मृत्यु भयो भने उनीहरू चार जना पक्राउ परे । काठमाडौं उपत्यकामा पहिलो पटक प्रहरीले ललितपुर ठूलादुर्लुङमा हतियार सहित चार जना माओवादी गिरफ्तार गरेको थियो ।
पक्राउ परेपछि भएको त्यो हिंसा
पार्टी निर्माणका क्रममा उनको कार्यक्षेत्र काभे्रका खानीखोला, बेथानचोक तथा दक्षिणी ललितपुरका महाङ्काल, कोन्ज्योसोम र बागमती गाउँपालिका थिए । २०५५ असार मसान्तको अघिल्लो दिन । बिहानैदेखि बादल मडारिइरहेको थियो । लगत्तै मुसलधारे पानी पर्न थाल्यो । काभ्रे खानीखोलाबाट पार्टीको काममा हिंडेका डोल्मामाया लगायत साथीहरू अविरल वर्षा नरोकिएपछि गुमराङको एउटा घरमा पुगेर बास बसेका थिए ।
‘असार ३१ गते मध्याह्न १२ बजेको समयमा हामी खाना खाइरहेका थियौं, एक्कासि नेपाल प्रहरीले घेरा हालेर हामी बसेको घरमा आक्रमण गर्यो’ डोल्मामाया त्यो कहालीलाग्दो दिन सम्झिन्छिन्, ‘त्यो बेला मसँगै रहेका दुई जना सहयोद्धा प्रहरीको गोली लागेर मेरै आँखा अगाडि शहीद हुनपुगे । प्रहरीले हामी सबैलाई घरभित्र राखेर जलाउने भनेपछि हामी बाहिर निस्कियौं ।’
‘गिरफ्तारीसँगै प्रहरीले गोली चलाउन रोकेर भौतिक आक्रमण गर्न शुरू गर्यो । सबैलाई बन्दुकको कुन्दा र पुलिसको बुट बर्साउन थाल्यो’ त्यो दिन सम्झिंदा अहिले पनि उनी झस्किन्छिन्, ‘प्रहरीमा आत्मसमर्पण गरेपछि हामी अचेत हुँदा पनि कुटपिट रोकिएन । हामीलाई धेरै यातना दिइयो ।’
डोल्मामाया त्यो घटना सम्झेर अहिले पनि भावुक हुन्छिन्, ‘प्रहरीले पटक–पटक हाम्रा संवेदनशील अंगमा हात, खुट्टा र बन्दुकको कुन्दाले रातभरि यौनजन्य हिंसा गरेको थियो ।’ त्यो कहालीलाग्दो घटनाको भोलिपल्ट बिहानै प्रहरीले डोल्मामायाको टोलीलाई अर्को कपडा लगाउन लगाएर घटनास्थल ठूलादुर्लुङ गुमराङबाट गोटीखेल प्रहरी चौकी लग्यो ।
तत्काल यो घटना बाहिर आएपछि विभिन्न राजनीतिक दल, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र मानवअधिकार टोलीले घटनास्थल अनुगमन गर्दा च्यातिएका कपडाका टुक्रा र घटनास्थलको वातावरणको अवस्था देख्दा तत्कालीन माओवादीको समूहमाथि गम्भीर मानवअधिकार उल्लंघन गरेको निष्कर्ष सहित सरकारको ध्यानाकर्षण गराएका थिए ।
यसरी डोल्मामायालाई १४ वर्षको उमेरमा गैरन्यायिक रूपले एक महिना प्रहरी हिरासतमा राखेपछि जिल्ला अदालत ललितपुरले राज्य विरुद्धको अपराध मुद्दामा पुर्पक्षका लागि जेल चलान गर्यो । अदालतको फैसलापछि जेल चलान भएकी डोल्मामायालाई डिल्लीबजारस्थित भद्र बन्दीगृह लगियो । त्यहाँको महिला सुधार गृह पुग्दा अवस्था भद्रगोल थियो ।
‘त्यसलाई व्यवस्थित गर्न पटक–पटक ज्ञापनपत्र बुझाउने, आन्दोलन र आमरण अनशन बसेर त्यहाँभित्रको भान्सा, पानी, शौचालय, ढल, बिजुली, आवासगृहको पुनर्निर्माण, खाना, स्वास्थ्य, शिक्षा र स्वरोजगारको पक्षलाई लिएर सरकारलाई निरन्तर दबाबपछि महिला सुधार गृह व्यवस्थित गर्ने काम गरेका थियौं’, उनी सम्झिन्छिन् ।
डिल्लीबजार जेल चलान भएको ६० दिनपछि महिला बन्दीगृहमा सारेपछि राजबन्दीहरूलाई छुट्टै कोठा व्यवस्थापन गर्न डोल्मामाया नौ दिनसम्म मूलगेटमा आमरण अनशन बसेपछि बन्दीगृह व्यवस्थापन पक्षले छुट्टै कोठाको व्यवस्था गरिदियो ।
बन्दीगृहमा न्यूनतम मानवीय व्यवहार समेत नभएको अवस्था थियो । बन्दीगृहको नालीभरि फोहोरमैला भरिएको, शौचालयमा पानीको व्यवस्था नभएको, खाना समेत राम्रो नहुने, आवास कक्ष, स्वास्थ्य उपचार सम्बन्धी उचित व्यवस्था नभएको, रोजगारीका लागि तालिमको व्यवस्था नभएको, खानेपानी अभाव, शिक्षा लगायत बन्दीगृहमा हुनुपर्ने न्यूनतम अधिकार पनि थिएन ।
‘हामीले बन्दीगृहका बन्दीका लागि दैनिक पाउने रासन बापत दैनिक ७०० ग्राम चामल र १० रुपैयाँ पाउने गरेका थियौं । हामीले पटक–पटक आन्दोलन र १७ दिनसम्म आमरण अनशन नै बस्नुपर्ने अवस्था आयो’, डोल्मामाया भन्छिन् ।
त्यसपछि भएका परिवर्तनले बन्दीगृहभित्रै जनभावना स्कूल स्थापना भयो । त्यति मात्र होइन, दैनिक पाउने भत्ता वृद्धि, दैनिक फोहोर सरसफाइको काम, आवास गृह मर्मतसुधार, पानीको व्यवस्था, स्वास्थ्य सेवामा पहुँच, शौचालय व्यवस्थापन, सीपमूलक काम व्यवस्थापन, पुस्तकालय स्थापना, भेटघाट कक्ष स्थापना लगायत काम थालनी भएको थियो ।
२०६२/६३ मा भएको जनआन्दोलन र देशमा आएको परिवर्तनसँगै तत्कालीन माओवादी नेता–कार्यकर्ताहरू छुटे पनि राज्य विरुद्धको अपराध मुद्दामा जेल बस्नेहरू छुट्न सकेका थिएनन् । त्यसपछि सर्वोच्च अदालतमा भएको सुनवाइमा राज्य विरुद्धको अपराध मुद्दाका सबै बन्दीसँगै दुई वर्षपछि ८ असार २०६३ मा डोल्मामाया पनि जेलमुक्त भइन् ।
डोल्मामाया १५ पुस २०६४ देखि ११ असोज २०७१ सम्म नेकपा माओवादीको नेवा राज्य कमिटी सदस्य तथा कार्यालय सचिव थिइन् । त्यस्तै योङ कम्युनिष्ट लिग (वाईसीएल) केन्द्रीय सदस्य (२०६४–२०७१), नेकपा माओवादी ललितपुर जिल्ला सदस्य (२०६४), नेकपा माओवादी ललितपुर जिल्ला सदस्य (२०६४), नेकपा माओवादी केन्द्रीय सदस्य (२०७०), नेकपा माओवादी प्रदेश कमिटी सदस्य (२०७४), योङ कम्युनिस्ट लिग (वाईसीएल) सचिवालय सदस्य एवं सचिव (२०६४–२०७०) र हालसम्म नेकपा माओवादी प्रदेश कमिटी सदस्य छिन् । डोल्मामाया २०७४ सालमा प्रदेश चुनावमा नेकपा माओवादी केन्द्रका तर्फबाट जनजाति कोटाबाट प्रदेश सदस्यमा छनोट भइन् भने २०७९ मा स्थानीय तहको निर्वाचनमा महाङ्काल गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
महिला आय र कृषिमा केन्द्रित
डोल्मामाया २०७९ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका उपाध्यक्ष बनिन् । त्यसपछि कृषि क्षेत्र र महिलालाई आम्दानी हुने क्षेत्रमा उनले विशेष काम गरिरहेकी छिन् । ‘म निर्वाचित भएर आएपछि पहिलो निर्णय गर्भवतीलाई स्वास्थ्य संस्थामा लैजान निःशुल्क एम्बुलेन्स सेवा, महिलाका लागि स्वास्थ्य जाँच र पाठेघर सम्बन्धी ‘हेल्थ क्याम्प’ गरिरहेकी छ’, उनी भन्छिन् ।
यस्तै गृहिणी महिलाका लागि सीपमूलक काम (अचार, बेकरी, कुक साइलेज घाँस भण्डारण) जस्ता तालिम सिकाइरहेकी छिन् । उनी भन्छिन्, ‘आर्थिक रूपमा विपन्न महिलाका लागि अनुदानमा बाख्रा र भैंसी वितरण, प्राविधिक विद्यालय स्थापना, छात्रावास निर्माण, सबै वडाका बस्तीसम्म सडक पहुँचका लागि हामी काम गरिरहेका छौं ।’
डोल्मामायाका भनाइमा, त्यसबाहेक अस्पताल तथा कृषक बैंक स्थापना, दूध अनुदान वृद्धि, युवा लक्षित स्वरोजगारका काम, ज्येष्ठ नागरिक र विपन्नहरूको स्वास्थ्य बीमा लगायत काम भइरहेका छन् । उनी भन्छिन्, ‘महिलाहरूलाई सक्षम र सशक्त बनाउन गाउँपालिकाले मद्दत गरिरहेको छु ।’
२०८१ असोज दोस्रो साता आएको बाढीपहिरोले क्षति पुर्याएको महाङ्कालको गोटीखेल बजार सहितका ठाउँमा राहत र पुनर्स्थापनाको काम डोल्मामायाकै सक्रियतामा भएको थियो । बाढीपछिको पुनर्निर्माण र अस्थायी आवास गृह बनाउन अनुदान दिलाउने काममा पनि उनी उत्तिकै सक्रिय थिइन् ।
यसबाहेक उनले गाउँपालिकामा महिलाको नेतृत्व तथा व्यक्तित्व विकासका लागि विभिन्न संघ–संस्थासँग मिलेर कार्यक्रम गर्दै आएकी छिन् । ‘गाउँपालिका उपाध्यक्ष भएपछि मैले महिलालाई केन्द्रमा राखेर उनीहरूलाई आत्मनिर्भर बनाउन सीप सिकाउन आवश्यक छ भनेर काम गरिरहेकी छु’, डोल्मामाया थप्छिन् ।
न्यायिक समिति संयोजक समेत रहेकी डोल्मामाया गाउँपालिकामा हुने विवाद सकेसम्म पालिकामा नै मिलाउन सक्रिय छिन् । ‘सीधै अदालत जानू भन्नुभन्दा मिलेसम्म यहीं मिलाउने हाम्रो प्रयास हुन्छ । स–साना घरझगडा, सँधियारका कुरा बाहिर जान नदिन प्रयास गरिरहेका छौं’, उनी भन्छिन् ।