
लगातार १७ दिनको उपचारपछि उनको होश खुल्यो । अस्पतालको शय्यामा कहाँबाट आइपुगेछु भनेर आफैंलाई प्रश्न गरिन् । छेउमै भएकी आमाले छोरी भनेर बोलाउँदा उनी भक्कानो फुटाएर रुन थालिन् । सम्हालिएर सोध्छिन्, ‘आमा तपाईं किन आउनुुभएको यहाँ ?’ आमाले पनि रुँदै भन्छिन्, ‘तिमीलाई बचाउन ।’
यो कुुनै फिल्म वा टेलिशृङ्खलाको अभिनयको अंश होइन । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी शारदा चन्दले जीवनमा भोगेको घटना हो । ४९ वर्षमा हिंडिरहेकी चन्द त्यो घटनामा नबाँचेको भए अहिले सामाजिक रूपमा हजारौं मानिसको प्रेरणाको स्रोत हुने थिइनन् ।
अधिकारकर्मी र सामाजिक अभियन्ताको छवि बनाएकी चन्दले प्रेम र अन्तरजातीय विवाह गरेकै कारण जीवनको धेरै समय घरेलु हिंसामा बिताउनुपर्यो । १ मंसिर २०३२ मा डोटीको बान्डुंग्रिसैनमा जन्मिएकी चन्दले १५ वर्षको उमेरमा अन्तरजातीय प्रेम विवाह गरेकी थिइन् ।
अहिले समेत विभेदको दलदलमा बाँचिरहेको समाजमा बोहरा परिवारमा जन्मिएकी छोरीले चन्द परिवारको बुहारी बन्नु चुनौतीको विषय थियो । २०४७ सालमा प्रेमविवाह गरेकी शारदालाई परिवारले स्वीकार गरेन । विवाह गरेर घर भित्रिंदादेखि उनी घरेलु हिंसाको शिकार भइन् ।
हिंसा सहन नसकेपछि श्रीमान्/श्रीमती भागेर भारत गए । केही समय भारत बसेका उनीहरू परिवारकै आग्रह अनुसार फेरि भीमदत्त नगरपालिका–१५ खैरभट्टीस्थित घरमा फर्किए । घर फर्किएको तीन दिनपछि श्रीमान्लाई अलग गरेर शहर पठाइयो । उनी घरमा एक्लै भइन् ।
श्रीमान् नभएपछि सासू–ससुराले हिंसा गर्न बल पाउने नै भए । उनीहरूले ‘बोहराको छोरी, सानो जातकोले चन्दको घरमा बस्नुहुँदैन’ भन्दै शारदामाथि हिंसा गर्न थाले । यतिसम्म कि पुस महिनाको कठ्याङ्ग्रिंदो चिसोमा उनले भैंसीको गोठमा सुतेर बिताउनु परेको थियो । भर्खरै प्रेमविवाह गरेको श्रीमान् आफूसँग नहुँदाको पीडा माथि सासू–ससुरा सहित परिवारका अन्य सदस्यले गर्ने हिंसाले उनी विक्षिप्त थिइन् ।
जंगलबाट ल्याएर दाउरा बिक्री गर्ने, गाउँमा अरूको गाईवस्तुको गोबर (मल) डोकोमा बोकेर जीविका चलाउन दिनभरि काम गर्थिन् उनी । अनि त्यसरी थाकेको जीउको बास राति फेरि गाईगोठमा हुन्थ्यो । दिनभरि थकित शरीर लिएर घर फर्किंदा परिवारबाट कुटपिट हुने भयले उनी कति दिन त नजिकैको खोलामा रात बिताइन् ।
एक दिन सासू–ससुरा आएर घर लगे । घर जान पाइने भो भनेर उनी पनि खुसी भइन् । तर घर पुगेपछि ढोका थुनेर उनलाई कुटे । ‘मेरो अवस्था रक्ताम्मे भइसकेपछि कताबाट झ्यालको चुकुल हातमा परेछ । झ्याल खोलेर मलाई मार्यो भनेर हल्ला गरेपछि छिमेकीले थाहा पाए’ त्यो दिन सम्झँदै उनले भनिन्, ‘सुब्बाको छोरीलाई मार्यो भनेर हल्ला भएपछि अनि पिट्न छाडे ।’
चन्द भन्छिन्, ‘यसरी नीलडाम भएको शरीर लिएर एक्लै बेसहारा भएर बाँच्नुपर्दाको पीडा अहिले शब्दमा व्यक्त गर्न सक्दिनँ । मरौं कि बाँचौं भन्ने पीडाको दोसाँधमा दिनभर गाउँमा अरूको काम गर्ने र साँझ परेपछि नजिकैको खोला, जंगलमा गएर बस्ने बानी परिसकेको थियो ।’
एकदिन फेरि परिवारका मान्छेहरू उनलाई भेट्न उनी बसेको खैरभट्टी खोलामा आइपुुग्छन् । अब उप्रान्त कुनै खालको हिंसा नगर्ने बाचा गरेर घर जान आग्रह गर्छन् । शारदा पनि परिवारमाथि विश्वास गरेर उनीहरूसँगै पुनः घर जान्छिन् । तर दुुर्भाग्य उनलाई जबरजस्ती विषादी खुवाएर खोलामा लगेर बगाइदिन्छन् ।
‘दोस्रोपटक दुःख दिंदैनौं भनेर घर लगेर मलाई जबरजस्ती विषादी खुवाएर खैरभट्टी खोलामा बगाइएको थियो’ उनले भनिन्, ‘म खोलामा बगिरहेको देखेपछि स्थानीय बसन्ती चन्द र खरे लुहारले उद्धार गरेर लुगा धुने सोडा–पानी खुवाएछन् । तर होश खुलेनछ । त्यसपछि उनीहरूले नै महाकाली अस्पताल पुर्याएका रहेछन् ।’
चन्दका अनुसार १७ दिनको उपचारपछि उनको होश आएको थियो । गाउँलेहरूले माइती पक्षलाई खबर गरेकाले शारदालाई जन्म दिने आमा जयमतीदेवी बोहरा कुरुवा भएर बसेकी थिइन् । होश खुल्दा आमालाई आफ्नो अगाडि देखेपछि उनी एकछिन अचम्मित पनि भइन् । दुवै आमाछोरी भावविह्वल नै बनेका थिए ।
उपचार पछि आमा जयमतीदेवीले उनलाई आफूसँगै लिएर गइन् । धेरै समय उनी माइतीघरमै बसिन् । तर समाजले कुरा काट्न थालेपछि माइती पक्षकाले समेत आफूमाथि नराम्रो व्यवहार गर्न थालेको अनुभूति उनलाई हुन थाल्यो । फेरि घर फर्किनुको विकल्प थिएन ।
०००
तर त्यतिबेलासम्म शारदाले विवाह गरेको १० वर्ष बितिसकेको थियो । अब उनीमा व्यक्तिगत रूपमा परिवारसँग लड्ने साहस पनि उच्च भइसकेको थियो । यस पटक चाहिं संघर्ष गरेर बाँच्ने अठोटका साथ उनी घर फर्किएकी थिइन् ।
उमेरले पनि जवान भइसकेकै कारण हुनुपर्छ शारदाले अन्यायसँग लड्ने साहस गरिन् । गाउँ फर्किएपछि आफू जस्तै थिचोमिचोमा परेका महिलाहरूको पक्षमा वकालत गर्न थालिसकेकी थिइन् । गाउँमा महिलामाथि कुटपिट भए उनी त्यसका विरुद्ध बोल्न थालिन् ।
यही क्रममा २६ वर्षको उमेरमा पहिलोपल्ट उनी नारी उत्थान नामक संस्थामा आवद्ध भइन् । महिला अधिकारका निम्ति काम गर्ने संस्थामा अभियन्ताका रूपमा काम गर्न थालेपछि समाजमा उनको सक्रियता बढ्न थाल्यो ।
घरेलु हिंसाका कारण कहिले गाईगोठ त कहिले खोलामा बसेर रात कटाएकी शारदा अब भने खुला आकाशमा छाउन थालिन् । अभियन्ताका रूपमा गाउँ, टोल डुल्ने, शहर बजारमा पनि हिंडडुल गर्न थालेपछि उनले आफू जस्तै पीडित महिलाका पीडा नजिकबाट नियाल्ने अवसर पाइन् ।
अब भने शारदामा अन्यायमा परेका महिला, बालबालिका, ज्येष्ठ नागरिकको न्यायका लागि लड्नुपर्ने साहस निकै बढिसकेको थियो । २०६३ सालतिर भीमदत्त नगरपालिका–८ बस्ने ८५ वर्षीया पार्वती जोशी आफ्नै श्रीमान् लगायतबाट हिंसामा परेको खबर उनीसम्म पुग्यो ।
पार्वतीलाई तत्काल उद्धार गरेर शारदाले केही समय आफैंसँग राखिन् । त्यसपछि भने उनले हिंसा पीडित महिला, वृद्धवृद्धा र बेसहारा बालबालिकाका लागि छुट्टै आश्रम खोल्नुुपर्ने निष्कर्ष निकालिन् ।
‘पार्वती आमाले भोग्नुपरेको दुःख देखेर मैले आफूलाई सम्हाल्न सकिनँ । त्यो उमेरमा एउटा वृद्धा आमाले श्रीमान्बाट खेप्नुुपरेको हिंसा कहालीलाग्दो थियो’ चन्दले भनिन्, ‘त्यो घटनाले मलाई वृद्धाश्रम स्थापना गर्ने हुटहुुटी जगायो ।’
८५ वर्षको उमेरमा पार्वती जस्ता अरूले घरमा हिंसा भोग्नु नपरोस् भन्ने हेतुले चन्दले २०६३ सालमा भीमदत्त नगरपालिका–६ को ऐठपुुरमा महिला तथा वृद्ध सेवा केन्द्र नाम दिएर हिंसा पीडित महिलाका लागि आश्रय स्थल स्थापना गरिन् । मुठी दानबाट सञ्चालन गरिएको यो आश्रम आज पनि बेसहाराका लागि आश्रय स्थल बनेको छ ।
महिला तथा वृद्ध सेवा केन्द्र स्थापना गरेपछि भने उनी घरेलु हिंसामा परेका महिलाको न्यायका लागि लड्ने मात्र होइन आश्रय दिने सहारा नै बनिन् । घरेलु हिंसामा परेका महिला शारदालाई खोज्दै न्यायका लागि उनको दैलो चहार्ने क्रम एकाएक बढ्दै गयो । उसो त चन्द स्वयं कुुनै महिला तथा बालबालिका हिंसामा परेको खबर सुन्ने बित्तिकै तत्कालै घरैमा पुग्ने गर्थिन् ।
महिलामाथि हुने घरेलु हिंसा मात्र होइन जातीय विभेद, बलात्कार जस्ता जघन्य अपराधका घटनामा समेत चन्दले न्यायका लागि संघर्ष गर्न थालिन् । कञ्चनपुुमा घरेलु हिंसाकै जगमा भएका रामदुलारी र लक्ष्मी हत्याकाण्ड, भागरथी लुहारलाई जिउँदै जलाएको घटनामा पीडितलाई न्यायका निम्ति अग्रमोर्चामा रहेर संघर्ष गर्ने मध्येमा पर्छिन् चन्द ।
सुनिता शाही र विमल आउजीले अन्तरजातीय विवाह गरेकै कारण भोग्नुपरेको सामाजिक विभेद, हिंसा र अन्यायमा चन्दले अग्र मोर्चामै रहेर न्यायको लडाइँ लडेकी थिइन् । रामदुलारी हत्याकाण्डमा त काठमाडौंको माइतीघरमा चन्दकै नेतृत्वमा आन्दोलन भएको थियो ।
अन्तरजातीय विवाह गरेको निहुँमा प्रहरीले नियन्त्रणमा लिएका विमल आउजीलाई मरणासन्न हुनेगरी शाही परिवारले कुटपिट गरेर लालझाडीको जंगलमा फालेको अवस्थामा उद्धार गर्ने व्यक्ति पनि शारदा नै थिइन् ।
‘२६ वर्षको उमेरदेखि सामाजिक विभेद, महिला हिंसा, जातीय विभेदका विरुद्ध लड्दै आएकी छु । यो लडाइँ बाँचुञ्जेल लडिराख्ने प्रण गरेकी छु । रामदुलारी राना र लक्ष्मी बहिनीको हत्या, भागरथी लुहारलाई जिउँदै आगो लगाएका दर्दनाक घटनामा न्यायका लागि लड्नुु सजिलो थिएन’ चन्द भन्छिन्, ‘त्यो बेलाको संघर्ष शब्दमा वर्णन गर्न सकिंदैन ।’
‘निर्मला प्रकरणले घोचिरहन्छ’
सामाजिक अभियन्ताले गर्ने संघर्षको कुनै रेकर्ड नहुुने बताउने शारदा, जीवनको ४९ वर्षसम्म अन्याय र अत्याचारमा परेका तमाम महिलालाई न्याय दिलाउने भूमिकामा छिन् । अहिलेसम्म आफूले हात हालेका सबैजसो मुद्दामा सफलता प्राप्त गरेको बताउने उनी निर्मला पन्तको हत्या प्रकरणले भने सधैं घोचिरहने बताउँछिन् ।
‘म आफूलाई फर्केर हेर्दा हिंसामा परेका महिला दिदीबहिनीको उद्धार गरेर संरक्षण गर्ने र उनीहरूको न्यायका लागि लड्ने काममा सफल भएको ठान्छु, तर निर्मला नानीको हत्या घटनामा भने सफलता पाइएन’ चन्दले भनिन्, ‘यो प्रकरणले मलाई सदा घोचिरहन्छ । राज्य नै निरीह भएपछि कसैको केही लाग्दो रहेनछ ।’
प्रहरी प्रशासनको चरम लापरबाही र प्रमाण नष्ट गर्न राज्य नै लागेका कारण निर्मला हत्या प्रकरण गिजोलिएको उनको मत छ ।
५ हजार ३३६ को पुनर्स्थापना, ११९ जनाको दाहसंस्कार
चन्दले मुठी दानबाट महिला तथा वृद्ध सेवा केन्द्र स्थापना गरेको १८ वर्ष भइसकेको छ । यो अवधिमा घरेलु हिंसामा परेका महिला, बालबालिका तथा वृद्ध अवस्थामा आश्रय नदिएर अलपत्र छाडिएका पाँच हजार बढीको सेवा गरिसकेकी छन् ।
महिला तथा वृद्ध सेवा केन्द्रको तर्फबाट वृद्धवृद्धा, हिंसापीडित महिला, बालबालिका र बेवारिसे मानिसहरूको सेवाको माध्यमबाट चन्दले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । चन्दले सञ्चालन गरेको आश्रमले अहिलेसम्म ५ हजार ३३६ जनालाई सेवा दिएर समाजमै पुनर्स्थापना गरिसकेको छ भने ११९ जना सेवाका क्रममा वितेका छन् ।
विभिन्न हिंसामा परेका ३३६ जना पुरुषलाई आश्रय दिएर अहिले समाज र परिवारमा पुनस्र्थापना गरिएको महिला तथा वृद्ध सेवा केन्द्रको तथ्यांकले देखाउँछ । हिंसापीडित महिला, वृद्धवृद्धा र बालबालिका गरेर हाल आश्रममा ७० जना आश्रित छन् ।
आश्रमका आश्रितहरूको पालनपोषण, सरसफाइ मात्र होइन उनीहरूको मृत्युपछि समेत स्वयं चन्दले नै दाहसंस्कार गर्ने गरेकी छन् । अहिलेसम्म मृत्युुवरण गरेका ११९ जनालाई चन्द आफैंले दाहसंस्कार गरेकी हुन् । कतिसम्म भने उनी आश्रममा आश्रित हिंसा पीडित महिलाको सहयोगमा शवलाई घाटसम्म आफैं काँधमा राखेर लैजाने गर्छिन् ।
‘आफैंले लालनपालन गरेका आमाबुवा, छोराछोरी र दिदीबहिनीको अन्तिम दाहसंस्कार गर्न निकै पीडादायी हुँदोरहेछ तैपनि गर्नैपर्ने हुन्छ’ चन्दले भनिन्, ‘समाजसेवा मात्रै होइन परिवर्तन र सचेतना अभिवृद्धि गर्ने उद्देश्य पनि हो ।’
सुरुआतमा आफैं मलामी जान फरक खालको अनुभूति हुने गरेकोमा अहिले भने उनलाई कुनै असहज महसुस हुँदैन । हिंसापीडित महिला मात्रै होइन समाजमा विभिन्न किसिमले अन्यायमा परेका पुरुषको न्यायका निम्ति समेत महिला तथा वृद्ध सेवा आश्रम लड्ने गरेको छ । चन्दले सडकमा अलपत्र पारिएको अवस्थामा उद्धार गरेर पालनपोषण गरेका ८ जनालाई राष्ट्रसेवक नै बनाइसकेकी छन् ।
दुई युवती नेपाल प्रहरीमा, चार युवती नेपाली सेनामा र दुई युवक सशस्त्र प्रहरीमा भर्ना भएका छन् । आश्रममा आश्रय लिएर हुर्किएका अन्य धेरै पनि राम्रो शिक्षादीक्षा प्राप्त गरेर आत्मनिर्भर बनाउन सकेकोमा उनी खुशी व्यक्त गर्छिन् ।
प्रेम सम्बन्धपछि अन्तरजातीय विवाह गरेकी चन्दले आफूले भोग्नुपरेको हिंसा अरूले भोग्न नपरोस् र कोही पनि वृद्धवृद्धा भोकै बस्नु नपरोस् भन्ने हेतुले थालेको अभियानको प्रमुख उद्देश्य हिंसा मुक्त समाज निर्माण थियो ।
कोही पनि महिलालाई अन्तरजातीय विवाह गरेकै कारण विषादी खुवाएर खोलामा नबगाइयोस्, गरिबीकै कारण कसैले पनि भोकै मर्न नपरोस् भन्ने चाहनालाई केही हदसम्म साकार पार्न सकेकोमा चन्द खुशी देखिन्छिन् ।
‘मलाई विषादी खुवाएर खोलामा फालेपछि बसन्ती चन्द र खरे लुहारले उद्धार गरेर अस्पताल नपुर्याएको भए म आज यो स्थानसम्म आइपुग्ने थिइनँ होला’ चन्दले भनिन्, ‘समाजलाई हिंसामुक्त बनाउन सके हुन्थ्यो भन्ने मेरो मनमा गडेको थियो । फर्केर हेर्दा केही हदसम्म राम्रो काम भएको अनुभूति भएको छ । तर गर्न अझै धेरै बाँकी छ जस्तो लाग्छ ।’