+

दासता विरुद्ध ‘कम्लरी’ को पैरवी

पूरा सूची
Shares
पाँच वर्षको उमेरमा जमिनदारले आफ्नी छोरीसँगै दाइजो दिइएकी उर्मिला चौधरीले धेरैपछि आफू कम्लरी भएको थाहा पाइन् । अनगिन्ती अन्याय र अत्याचार व्यहोरेकी उनी समाज र सत्तालाई प्रश्न गर्ने कानूनवेत्ता बन्ने अन्तिम तयारीमा छिन् ।
उर्मिला चौधरी

२०५२ सालको हिउँद महिना, दाङ गढवा गाउँपालिकाको मानपुर गाउँभन्दा उत्तरतिरबाट बग्ने रापती नदी शान्त भए पनि किनारामा घर भएकी करीब साढे पाँच वर्षकी उर्मिलाको बालो मन चञ्चल थियो । उनका खुट्टाले नयाँ चप्पल पाएका थिए, अनि शरीरले नयाँ कपडा ।

दाजुले हात समाउँदै नदी तार्न खोजे । उर्मिलाको नयाँ फ्रक भिज्यो । उनलाई पीर पर्‍यो । रुँदै घरतिर फर्किन खोजिन् । दाजुले गाडी चढाउँछु भनेर फकाए । भिजेको फ्रक निचोरिदिए । काँधमा बोके । उनी फुरुङ्ग भइन् ।

दाजुले रापती नदी तारेर लमही बजारसम्म पुर्‍याए अनि त्यहाँबाट गाडी चढाएर घोराही बजार ।

घोराहीमा एक जमिनदारको घरमा बिहे भोज थियो । त्यही घरमा उर्मिलाकी जेठी दिदी कम्लरी थिइन् । त्यहाँ जन्ती थिए, अनि बिहेका थुप्रै निम्तालु पनि ।

उर्मिलाले त्यहाँ चिन्ने अनुहार भनेका आफ्नै दाजु र दिदी मात्रै थिए । दिदी काममा व्यस्त थिइन् । उनलाई बोल्ने फुर्सद थिएन । सबै खानपिनमा व्यस्त थिए । उर्मिलाका दाजु–बहिनीले पनि धेरथोर खाए । खानेबेला उर्मिलाको नयाँ फ्रकमा खानेकुरा पोखियो । फेरि उनी रोइन् । दाजुले फेरि फकाए ।

बेहुली अन्माउने बेला भयो । बसमा जन्तीसँगै दाइजोपात लोड भए । अनि बेहुली पनि । बेहुलीसँगै उर्मिलालाई पनि बस चढाइयो । दाजुसँग छुट्टिन उर्मिलाको मन मानेन । बेस्सरी रोइन् । यसपटक भने दाजुले बहिनीलाई फकाउन सकेनन् । दाजु आफ्नै आँसु पुछ्दै बसबाट ओर्लिएर मानपुर घरतर्फ लागे । उर्मिला भने बेहुलीसँगै काठमाडौंतिर ।

‘त्यतिबेला मेरा दूधे दाँत झरेका थिएनन् । मलाई थाहा थिएन म कहाँ जाँदै थिएँ’ भक्तपुर दधिकोटको एक क्याफेमा फागुन पहिलो साता अनलाइनखबरसँग उर्मिलाले विगत साटिन्, ‘धेरैपछि पो थाहा पाएँ मलाई त दाइजोको रूपमा कम्लरी बनाएर पठाइएको रहेछ ।’

त्यतिबेला पश्चिम नेपालका जिल्लाका जमिनदारहरूले घर भित्र र बाहिरको काम गराउनका लागि बँधुवा मजदूर राख्ने चलन थियो । बँधुवा मजदूरका रूपमा राखिएका महिलालाई ‘कम्लरी’ र पुरुषलाई ‘कमैया’ भनिन्थ्यो । कम्लरी र कमैया राख्ने कथित ठूलाबडा आफूलाई प्रतिष्ठित ठान्थे ।

कमैया–कम्लरीको मोलमोलाइ माघ महिनामा हुन्थ्यो । यो मोलमोलाइमा सधैं जमिनदारको हात माथि हुन्थ्यो । उर्मिलाका बुवा पनि दाङकै एक जमिनदारको घरमा कमैया थिए । बुवा बुढो हुँदै गएपछि दाजुले त्यो काम सम्हाले । उर्मिलाका दुई दिदीहरू पनि कम्लरी थिए । अब पालो थियो उर्मिलाको । त्यसैले उनका अभिभावकले ‘पढाइदिने’ शर्तमा मुटुको टुक्रा काठमाडौं पठाए ।

काठमाडौंको सामाखुसी र ललितपुरको जावलाखेल गरी दुई घरमा उनले झण्डै १२ वर्ष कम्लरी जीवन बिताएर मुक्त भइन् । उनले १२ वर्षसम्म गरेको संघर्ष र त्यसपछि पाएको सफलता यतिबेला विश्वभर चर्चामा छ । उनलाई मुख्य पात्र बनाएर डकुमेन्ट्री बने, किताब लेखिए अनि अमेरिका र नेदरल्याण्ड सरकारले सम्मान समेत गरे ।

उर्मिला हराएको सूचना

उनी नेपालका लागि मात्रै नभई विश्वकै प्रेरणादायी महिला बन्नुका पछाडि सानोतिनो संघर्ष छैन । बेहुलीको दाइजोको रूपमा काठमाडौं जाने क्रममा उर्मिलाका लागि नयाँ चप्पल, कपडा किनिएको थियो । अनि बसको यात्रा र सुकिलामुकिला मानिससँगको यात्रा नयाँ अनुभव थियो ।

मानपुर गाउँको ऐलानी जग्गामा बनेको झुप्रोबाट काठमाडौं सामाखुसीस्थित भव्य महलको स्पर्श नौलो हुने नै भयो । अग्ला–अग्ला महल, गाडीका ताँती र झिलीमिली बत्ती पहिलो पटक देखेर रमाएकी थिइन् उनी । तर उनलाई के थाहा बन्दीसरह घरभित्रै थुनिएर दिन–रात काममा जोतिनुपर्छ भन्ने !

उनी घरपरिवारका सदस्यसँग पूर्ण रूपमा सम्पर्कविहीन भइन् । अभिभावकलाई लाग्यो उर्मिला काठमाडौंमा बेपत्ता भइन् । अनि उर्मिला हराएको सूचना एफएमबाट प्रसारण गरियो ।

दिनहरू बित्दै गए । नवदुलहीको घरमा कामको बोझ बढ्दै गयो । घरमा ११ जनाको परिवार बस्थ्यो । परिवारका सदस्यहरूको व्यवहार पनि कठोर बन्दै गयो । ‘एक दिन मलाई दूध लिन भनेर पसलमा पठाउनुभयो । म त दूधको पोका एक ठाउँमा राखेर बाटोमा गुड्ने गाडी हेर्न थालेछु । कुकुरले दूधको पोका च्यातिदिएछ’ उर्मिलाले भनिन्, ‘त्यतिबेला थरूनी (स्त्री थारू) भन्दै गाली गर्नुभयो ।’

‘बिहान चार बजे नै उठेर घरधन्दा गर्नुपर्थ्यो’ उर्मिलाले दुःखका दिन सम्झिइन्, ‘कामले गर्दा एकछिन आराम गर्न पाइन्नथ्यो, टाउको दुख्दा कसैले कस्तो छ भनेर सोधिदिए हुन्थ्यो, औषधि–पानी खाउ भनिदिए हुन्थ्यो भन्ने लाग्थ्यो । बिरामी छु भन्ने छुट पनि थिएन ।’

बिहान उठेदेखि बगैंचामा पानी हाल्ने, घरमा पोछा लगाउने, कपडा धुने, खानेकुरा पकाउने, भाँडा माझ्ने, गाडी धुने, तेल मालिस गरिदिने, ओछ्यान मिलाइदिने जस्ता काम गर्नुपर्थ्यो । ‘म यति सानी थिएँ कि ग्याँस चुल्हो राखेको र भाँडा माझ्ने ठाउँ पनि मभन्दा अग्लो हुन्थ्यो । म पिर्कामा चढेर काम गर्थें’, उर्मिला भन्छिन् ।

पढाइदिने शर्तमा काठमाडौं ल्याइए पनि उनी स्कूल जान पाइनन् । घरका बालबच्चाका झोला बोकेर स्कूलसम्म पुर्‍याउन जाने र कहिलेकाहीं उनीहरूले गृहकार्य गरेको हेर्न चाहिं पाउँथिन् । पढाइमा उत्सुक भएकाले दुई–चार अक्षर चिन्न सक्ने भने भएकी थिइन् । उनले त्यो घरमा करीब ७ वर्ष बिताइन् । त्यसपछि उनलाई बेहुलीकी फुपूको घर जावलाखेल पठाइयो । त्यहाँ ५ वर्ष बिताइन् ।

यो १२ वर्षको अवधिमा उनी घरपरिवारका सदस्यसँग पूर्ण रूपमा सम्पर्कविहीन भइन् । अभिभावकलाई लाग्यो उर्मिला काठमाडौंमा बेपत्ता भइन् । अनि उर्मिला हराएको सूचना एफएमबाट प्रसारण गरियो ।

‘सामाखुसीमा मलाई खोज्दा उहाँहरूले फुपूदिदीको घरमा छे भनेर फोन नम्बर दिनुभएछ । त्यसमा फोन गरेर सोध्दा यहाँ काम गर्ने मान्छे छैन भन्नुहुँदोरहेछ’ उर्मिलाले भनिन्, ‘द्वन्द्वकालको समय भएकाले धेरै सोधीखोजी गर्दै हिंडडुल गर्न गाह्रो थियो । अनि छोरी हराई भनेर स्थानीय एफएमबाट सूचना समेत बजाउनुभएको रहेछ ।’

जावलाखेलको घरमा फुपू मात्र बस्थिन् । परिवारका अरू सदस्यहरू सबै विदेश थिए । फुपू कामविशेषले घरबाहिर जानुपर्दा उर्मिलालाई घरभित्रै थुनेर राख्थिन् । यो अवधिमा उर्मिला आफ्ना अभिभावकको मायाममताबाट मात्र टाढिइनन् मातृभाषा, संस्कार संस्कृति, बाल्यकालका उछलकुद केही पनि अनुभूति गर्न पाइनन् ।

‘राजासाब’, ‘रानीसाब’ सम्बोधन गर्थिन् । ‘आइस्यो’, ‘खाइस्यो’ भन्दाभन्दै उनले आफ्नै थारू भाषा बिर्सिसकेकी थिइन् । ‘मैले भोग्नु परेका दुःख म शब्दमा व्यक्त गर्न सक्दिनँ’ उर्मिला भन्छिन्, ‘मलाई आफ्नै थारू भाषा पनि थाहा भएन । समाज, चाडबाड, संस्कार संस्कृति केही पनि थाहा भएन । यो कुराले मलाई पीडा दिन्छ ।’

टिभीमा दाजुलाई देखेपछि…

बालखैमा काठमाडौं भित्रिएकी उर्मिला अब शारीरिक र मानसिक रूपमा पनि परिपक्व हुँदै गएकी थिइन्, उनी भित्र विद्रोहको भावना पलाइसकेको थियो । त्यसलाई व्यक्त गर्न सकिरहेकी थिइनन् ।

एकदिन साँझपख फुपूले टिभी हेरिरहेकी थिइन् । उर्मिला उनको शरीरमा तेल लगाइदिएर मालिस गरिरहेकी थिइन् । कमैया प्रथा विरुद्ध कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ लगायत जिल्लाका थारूहरू काठमाडौंको तिनकुनेमा आएर प्रदर्शन गरेको समाचार टिभीमा आयो । त्यही समाचारमा उनले आफ्नो दाजुलाई देखिन् ।

‘दाजु काठमाडौं आएको थाहा पाएपछि कसरी भेट्ने भनेर उकुसमुकुस भयो, मनमा एक खालको द्वन्द्व हुन थाल्यो’, उर्मिलाले भनिन् । तर उनले तत्कालै केही प्रतिक्रिया जनाइनन् । अर्को दिन दाजुलाई भेटाइदिन भनेर जिद्दी गरिन् । तर उनीप्रति फुपूको व्यवहार झन् रुखो हुन थाल्यो ।

उर्मिला पनि के कम ! पहिले जस्तो काममा जाँगर लगाइनन् । दाजुलाई भेटाइदिन जिद्दी गरिरहिन् । एक दिन निजी गाडीमा राखेर ड्राइभरले तिनकुने पुर्‍याइदिए । वर्षौंपछि दाजु–बहिनीको भेट भयो तर बढीमा पाँच मिनेटसम्म मात्र । दुवै भावुक भए । शुरूमा वाक्य फुटेन ।

‘मैले मेरा सुन्निएका, फुटेका हात लुकाउँदै दाजुलाई ढोगें’ उर्मिला दाजुसँगको त्यो भेट सम्झिन्छिन्, ‘कस्तो छ भनेर सोध्नुभयो । मैले राम्रो छ भनें । तपार्इंंको फोन नम्बर दिनुस् भनेर मागें । उहाँले गढवा गाविसको फोन नम्बर कागजको चिर्कटोमा लेखेर दिनुभो । त्यत्ति हो बोलेको ।’

उर्मिलालाई फेरि ड्राइभरले गाडीमा राखेर जावलाखेल फर्काए । उनले दाजुले दिएको फोन नम्बर लेखेको कागजको टुक्रा कुर्ताको एक छेउमा बाँधेर राखिन् । अनि घर पुगिसकेपछि अरूको आँखा हत्तपत्त नपर्ने भित्ताको एक छेउमा सिमी रगडेर त्यो फोन नम्बर उतारिन् ।

त्यसपछि घर फर्किने होड मनमा झन् मच्चिन थाल्यो । अनि उनले हिम्मत जुटाएर दाङ फर्किने कुरा गरिन् । ‘म ठूली पनि भइसकेकी थिएँ । २०६२/६३ को जनआन्दोलन पनि झ्यालबाट हेरेकी थिएँ’ उनले भनिन्, ‘अन्याय, अत्याचार, शोषण, दमन के हो बुझ्ने भइसकेकाले एक दिन आँट गरेर मलाई घर जान दिनुस् भनें ।’

फर्केर फेरि आउने कि नआउने भनेर सोध्दा उनले आउने कुरा गरिन् । किनकि त्यो घरबाट उनलाई जसरी पनि फुत्किनु थियो । ‘मलाई तीन–तीन वटा ढोका पार गर्नुपर्ने त्यो घरबाट जसरी पनि निस्किनुथियो, त्यही भएर फर्केर आउँछु भनें’, उर्मिला भन्छिन् ।

अन्ततः उनले तत्कालीन गढवा गाविस कार्यालयमा फोन गर्ने अनुमति पाइन् । उनले आफ्नो दाजुलाई बोलाइदिन त्यहाँका कर्मचारीलाई भनिन् । बहिनीले फोन गरेको जानकारी उनको दाजुले एक हप्तापछि मात्रै पाए । त्यसको तीन दिनपछि दाजु गढवा आएर उर्मिला बसेको घरमा फोन गरे । उर्मिलाले दाजुलाई लिन आउन भनेर बोलाइन् ।

‘मैले एकान्तकुनाको पेट्रोलपम्प हुँदै जावलाखेलतिर आउनुपर्छ भनेर घरको लोकेसन दिएकी थिएँ । दाइ सोध्दैसोध्दै म बसेको घरसम्म आउनुभयो’ उर्मिलाले भनिन्, ‘माघ महिनामा नाइटबस चढेर दाइ बिहान ५ बजे आइपुगेर फोन गर्नुभएको रहेछ । तर त्यो कुरा मलाई म बसेको घरको मेडमले थाहा दिनुभएन । बिहान १० बजेपछि बल्ल तेरो दाइ बाहिर सडकमा छ, लिन जा भन्नुभयो ।’

कम्लरी मुक्ति आन्दोलनको अग्रमोर्चामा उर्मिला चौधरी (हरियो पोते लगाएकी)।

उर्मिलाले दाजुलाई बोलाएर घरभित्र लगिन् । बरण्डामा बसाइन् । त्योभन्दा माथि लैजाने अनुमति थिएन । खाना खाईवरी दाजु–बहिनी त्यसैदिन नाइटबस चढेर दाङ फर्किए । उर्मिला झन्डै १२ वर्षपछि अर्थात् १ माघ २०६३ मा बँधुवा जीवनबाट मुक्त भइन् ।

काठमाडौंबाट घर जाँदा कम्लरी मुक्ति आन्दोलन चलिरहेको थियो । बाटोमा पर्ने स्कूलमा भेला थियो । त्यो भीडमा उनी पनि गइन् । गोरो अनुहार, अग्लो कद अनि टीसर्ट, पाइन्ट र ज्याकेट लगाएकी उर्मिला गाउँलेका लागि नौलो भइन् ।

उनले आफू पनि कम्हलरी बसेर फर्केकाले र्‍यालीमा सहभागी हुने अनुमति मागिन् । शुरूमा गाउँलेले पत्याएनन् । ‘मैले मेरा फुटेका र सुन्निएका हात प्रमाणको रूपमा देखाएपछि बल्ल र्‍यालीमा सहभागी गराए’ उर्मिला भन्छिन् ।

उर्मिला सहितको टोली कम्लरी मुक्तिका नारा लगाउँदै गढवा र लमही बजारसम्म पुगे । र्‍यालीमा सहभागीहरूले बोकेका ब्यानर र पम्प्लेटका अक्षर पढ्न उनलाई आउँदैनथ्यो । तर अरूले भनेको सुनेर उनी याद गर्थिन् अनि चर्को आवाजमा नारा लगाउँथिन् । उर्मिला अब अरू कम्लरीलाई पनि स्वतन्त्र पार्ने अभियानमा सक्रिय भइन् ।

अब घरघर पुगेर उद्धार गर्ने काम शुरू भयो । ‘शायद मेरो वाक्पटुताले सबैको ध्यान खिच्यो । हरेक आन्दोलनमा मेरो माग हुन थाल्यो । अनि म कम्लरी विरुद्ध जागरण अभियानमा सक्रिय हुँदै गएँ’, उनी भन्छिन् । पश्चिम नेपालमा कम्लरी मुक्ति आन्दोलन चर्किंदै गएपछि १९ जेठ २०७० मा सरकारसँग १० बुँदे सहमति भयो । सरकारले १३ असार २०७० मा देशलाई कम्लरी मुक्त घोषणा गर्‍यो ।

मुक्त कम्लरीका लागि स्वान भन्ने संस्थाले पढ्ने प्रबन्ध मिलायो । उर्मिला कक्षामा सहभागी हुन थालिन् । ‘घोराहीमा ६–७ महिना ब्रिजकोर्स पढेपछि मैले सामान्य लेखपढ गर्न जानें । अनि मलाई सरहरूले गढवाको जनता मावि (हाल उच्च मावि) मा एकैपटक पाँच कक्षामा भर्ना गरिदिनुभयो’ उर्मिलाले स्कूले जीवन स्मरण गरिन्, ‘त्यतिबेला म १६ वर्षकी थिएँ । कक्षामा जाँदा शुरू–शुरूमा त मिस आउनुभयो भनेर विद्यार्थी झुक्किन्थे ।’

उर्मिलामाथि बनेका कथाले मात्रै होइन, स्वयं उर्मिलाले पनि विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारहरू पाएकी छन् । उनी यसै वर्ष अमेरिकी सरकारबाट ‘ग्लोबल एन्टी रेसिजम च्याम्पियनसिप अवार्ड’बाट सम्मानित भइन् ।

पाँच कक्षामा तेस्रो भएर उनी ६ कक्षामा पुगिन् । विद्यालयका हरेक अतिरिक्त क्रियाकलापमा सहभागी हुन्थिन् । घोराहीमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा उनी पहिलो भइन् । विद्यालयको प्रार्थना समयमा अगाडि उभ्याएर सरले उनको प्रशंसा गरे । त्यसपछि पढाइमा उनको मनोबल झन् बढ्यो । सात कक्षामा त पहिलो नै भइन् ।

मुक्त कम्लरी भएकाले उनले छात्रवृत्तिमा पढ्न पाएकी थिइन् । तर मुक्त कम्लरी सम्बन्धी विभिन्न कार्यक्रममा जानुपर्ने भएकाले उनको पढाइ प्रभावित हुन थाल्यो । त्यही क्रममा विद्यालयहरू पनि फेरिए । उनले तुलसीपुरको रक्षाचौर माविबाट एसएलसी पास गरिन् ।

घोराहीको विद्यानीलकण्ठ स्कूलबाट ११/१२ पास भएर उनी अहिले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत भक्तपुरस्थित काठमाडौं स्कूल अफ ल मा स्नातक पढिरहेकी छिन् ।

उर्मिलाले कानून पढ्नुको कारण सुनाइन्, ‘अझै पनि धेरै मुक्त कम्लरीको पुनस्र्थापन हुनसकेको छैन । त्यसैले उनीहरूको शिक्षादीक्षा र कानुनी सहायताका लागि काम गर्छु भनेर नै कानून विषय रोजें ।’

बन्यो डकुमेन्ट्री, पाइन् अन्तर्राष्ट्रिय अवार्ड

उनी कम्लरी मुक्त भएपछि गाउँकै एक इँटाभट्टामा काम गरिरहेको फोटो सहित नर्वेको एक पत्रिकामा प्रोफाइल छापिएको थियो । त्यसपछि उनीप्रति धेरै विदेशीको चासो बढ्यो । उनका अनुसार, विदेशीहरू घरमै आएर भेट्न थाले । अनि जर्मनीकी सुसन ग्लुथले उर्मिलालाई मुख्य पात्र बनाएर ‘माई मेमोरी इज माई पावर’ नामको डकुमेन्ट्री बनाइन् ।

कलेजमा उर्मिला चौधरी (दायाँ) । साथमा काठमाडौं स्कुल अफ लका संस्थापक निर्देशक डा. युवराज संग्रौला र सहपाठीहरु ।

यसले सन् २०१७ मा काठमाडौंमा आयोजित किम्फ फिल्म फेस्टिभलमा पहिलो पुरस्कार जित्यो । नेपाल–अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभलमा पनि उत्कृष्ट डकुमेन्ट्रीको पुरस्कार पायो । लन्डन, जर्मनी र पोल्याण्डमा पनि यसले विभिन्न पुरस्कार प्राप्त गरेको छ ।

उर्मिलामाथि बनेका कथाले मात्रै होइन, स्वयं उर्मिलाले पनि विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारहरू पाएकी छन् । उनी यसै वर्ष अमेरिकी सरकारबाट ‘ग्लोबल एन्टी रेसिजम च्याम्पियनसिप अवार्ड’बाट सम्मानित भइन् । उनलाई अमेरिकामा आयोजित विशेष समारोहमा अमेरिकाका तत्कालीन विदेशमन्त्री एन्टोनी ब्लिंकनले अवार्ड हस्तान्तरण गरेका थिए ।

यसैगरी उनले जर्मन सरकारबाट ‘हेकर थ्रेटर’ पुरस्कार र नेदरल्यान्ड सरकारबाट ‘लउरियट फ्रिडम फ्रम फियर २०१८’ पुरस्कार पनि पाइन् । ‘फ्रिडम फ्रम फियर’ पुरस्कार पाउने उर्मिला पहिलो नेपाली हुन् । यसअघि यो पुरस्कार म्यानमारकी नेतृ आङ सान सुकी, पाकिस्तानकी मलाला युसुफजाई लगायतले पाएका थिए ।

उर्मिलालाई अमेरिकी सरकारको ‘ग्लोबल एन्टी रेसिजम च्याम्पियनसिप अवार्ड’बाट सम्मानित गर्दै तत्कालीन विदेशमन्त्री एन्टोनी ब्लिंकन । फोटो : नेपालस्थित अमेरिकी दूतावासको एक्स ह्याण्डल

यसैगरी उर्मिलाले संयुक्त राष्ट्रसंघको ‘युथ करेज अवार्ड’ पनि पाएकी छन् । यस्ता अवार्ड र पुरस्कारबाट पाउने आर्थिक सहयोगको निश्चित रकम मुक्त कम्लरीको क्षेत्रमा नै सहयोग गर्दै आएको उनी बताउँछिन् ।

अंग्रेजी बोल्न समेत सिकिसकेकी उर्मिला यी सबै अवार्ड र पुरस्कारबाट आफूलाई विपन्न, सीमान्तकृत र पछाडि पारिएका व्यक्ति तथा समुदायका बालबालिकाको सशक्तीकरणका लागि काम गर्न थप हौसला मिलेको बताउँछिन् । कानून विषय पढिसकेर अधिवक्ता बन्ने र विपन्न समुदायका बालबालिकाकै लागि काम गर्ने उनको धोको छ ।

कुराकानीको बिट मार्दै उर्मिलाले भनिन्, ‘म त नजानेर, नबुझेर शोषण, दमन र उत्पीडनमा परें । शब्दमा बयान गर्न नसक्ने दुःख भोगें । अब मैले जस्तो दुःख अरूले भोग्नु नपरोस् भनेर क्रियाशील रहनेछु ।’

फोटोः विकास श्रेष्ठ/अनलाइनखबर

लेखक
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।