
स्नेहा श्रेष्ठ कुनै समय ट्राभल व्यवसाय गर्थिन् । त्यसबाट हुने आर्जनले जिन्दगी सुखमय नै चलिरहेको थियो । ‘सफल महिला उद्यमी’ बन्ने लक्ष्य उकालो ग्राफमा थियो । सबै कुरा ठिकठाक चलिरहेको थियो ।
एक दिन कार्यालयबाट घर फर्कंदा गेटमा जारा देखिएन । जारा अर्थात् घरमा पालेको कुकुर जो हरेक दिन गेटमा स्नेहालाई कुरिबसेको हुन्थ्यो ।
हतार–हतार यताउता खोज्न थालिन् । ऊ त घरभित्र छट्पटाइरहेको भेटियो, मुखभरी रगत बोकेर । जाराको जीवन र मृत्युको दर्दनाक संघर्षले स्नेहाको मन नमज्जाले दर्फर्यायो । अन्ततः आफ्नै काखमा उनले जारालाई गुमाइन् ।
राको मृत्युको कारण रहेछ– कसैले दिएको विष सहितको खाना ।
जारासँग वियोगको त्यही दिन, जसले स्नेहाको जीवनलाई १८० डिग्रीमा बदलिदियो । प्रतिष्ठित उद्यमी बनेर शानदार दिनहरू बिताउने दौडमा छलाङ मारिरहेकी उनी एकाएक धुस्रोफुस्रो सडकमा ओर्लिइन् । त्यही सेरोफेरोमा खाइखेली हिंड्ने कुकुरहरूसँग हेलमेल गर्न थालिन् ।
जाराको मृत्यु शोकले स्नेहाको मनमा थप स्नेहाङ्कुर भयो, जसले गर्भदेखि नै भोक र रोगसँग जुधिरहेका सडक कुकुरहरूसम्म उनलाई पुर्यायो । सडकका पशुप्राणीहरूको भोक र पीडाको साक्षी बन्न थालिन् । तिनीहरूले झेल्ने कष्ट, अपहेलना र अभावले उनमा सहानुभूति झाँगिन थाल्यो । आखिर तिनै अबोध र आवाजविहीनहरूको लागि आफूलाई सम्पूर्ण रूपमा समर्पित गर्ने प्रण गरिन् ।
नाम जस्तै काम
अब स्नेहाको नामसँग काम पनि मिल्न थाल्यो । सडक कुकुरको पीडाबोधले उनलाई त्यहीं पुर्यायो, जहाँ बेवारिसे गाईवस्तु छन् । यसरी उनी पशुप्राणीको दुनियाँमा पुगिन्, जो मृत्युभन्दा कठिन जीवन बाँचिरहेका छन् ।
तिनीहरूलाई खुवाउने, स्याहारसुसार गर्ने उपक्रममा स्नेहाले थाहा पाइन् कि धर्तीमा हामीसँगै बाँचिरहेका यी प्राणीहरू ज्यादै हेपिएका छन् । आफूलाई सर्वश्रेष्ठ प्राणीको स्वघोषणा गरेका मान्छेहरूले असहाय प्राणीमाथि गर्नसम्म थिचोमिचो र ज्यादती गरिरहेका छन् ।
मान्छेलाई थाहा छ– पशुप्राणीले पनि मान्छेले जस्तै पीडा महसुस गर्छन् । मान्छेलाई यो पनि थाहा छ कि पशुलाई यातना दिनु मानवीयताकै अपमान हो । तर, व्यवहार फिटिक्कै त्यस्तो छैन ।
आखिर पशुप्राणी पनि त हाम्रो संसारको महत्वपूर्ण हिस्सा हुन् । पशुप्राणी विरुद्ध ज्यादतीको शृङ्खला कायम राखिरहेको मान्छेले प्रेम र करुणाको अर्थ बुझेको छ ? महात्मा गान्धीले भने जस्तै पशुप्राणीसँगको व्यवहारको आधारमा होइन र कुनै पनि राष्ट्रको महानता अनि नैतिक प्रगतिको उचाइ नाप्ने ?
यिनै प्रश्नहरूले स्नेहाको जीवन बदल्यो र उनले पशुप्राणी विरुद्ध गरिने क्रूरता कुनै पनि अन्यायभन्दा कम घृणित हुँदैनन् भन्दै तिनै पशुप्राणीको कित्तामा आफूलाई उभ्याइन् । र, एउटा नयाँ लडाइँ सुरु गरिन्, जसको विपक्षमा कठोर समाज ठिङ्ग उभिएको थियो ।
अनि जन्मियो ‘स्नेहा केयर’
त्यो यस्तो समाज, जसले अबोध पशुप्राणीलाई केवल ‘उपभोग्य वस्तु’ ठान्छ । तिनीहरूलाई आफ्नो कब्जामा राखेर जतिसक्दो दोहन गर्छ । थेग्नै नसक्ने भारी बोकाउँछ, चलमल गर्नै नसक्ने गरी खोरमा थुन्छ, सहनै नसक्ने गरी दुःख दिन्छ, भरपेट खान नदिई जीवनभर बन्धक बनाउँछ ।
यसरी नारकीय जीवन बाँच्न बाध्य पशुप्राणीको उद्धार र स्याहारसुसारसँगै तिनीहरूको हकहितको लागि लड्ने काम सजिलो थिएन । त्यही असजिलो र अपजसे काममा डटेर लागिरहिन् स्नेहा ।
सन् २०१५ मा उनले स्नेहा केयर नामक संस्था खोलिन्, जहाँ असह्य र अपाङ्ग कुकुरलाई न्यानो आश्रय दिन पाइयोस् । सडकमा यस्ता अनगिन्ती कुकुर भेटिन्थे, जो खप्नै नसक्ने पीडा बोकेर बाँचिरहेका छन् ।
कतै गाडीले कुल्चेर अंगभंग बनाएका, कतै अलकत्रा वा तातोपानी खन्याइएका, कतै आँखा फुटाइएका, कतै धारिलो हतियारले काटेका । आफैं बोल्न र लड्न नसक्ने यी अबोध सडक कुकुरलाई उठाउँदै ल्याउने, उपचार गरिदिने र आवश्यक परे त्यहीं आश्रय दिने काममा उनी अनवरत लागिरहिन् ।
निकै फराकिलो छ पशुप्राणीमाथि ज्यादतीको आयतन । एक्लो ज्यानले तिनको उद्धार र स्याहार गर्न सक्ने कुरै थिएन । त्यसैले पशु चिकित्सक र सहयोगीहरू खोजेर स्नेहा केयरमा पूर्णकालीन रोजगार दिइन् ।
घाइते, अपाङ्ग कुकुरहरूलाई सहज हुने गरी कटेराहरू निर्माणको नेतृत्व गरिरहिन् । उनीहरूलाई बिहान–बेलुकी खुवाउने, खेलाउने गर्न थालिन् । तर, यी काम मात्र काफी थिएन । शहरका ठाउँ–ठाउँबाट उनलाई खबर आउँथ्यो, ‘फलानो ठाउँमा कुकुरको बिजोग भो, मर्नै लागेको छ ।’
सम्भव भएसम्म घटनास्थलमै पुगेर उपचार र उद्धार गर्ने काम हुन्थ्यो । भएभरका सडक कुकुरलाई हेर्न, उपचार गर्न, आश्रय दिन सम्भव हुने कुरै भएन । अर्कोतिर कुकुरकै निहुँमा स्थानीय समुदायसँग दिनदिनैजसो जुध्नुपर्ने त छँदैथियो ।
मान्छेले कुकुरमाथि दुर्व्यवहार गरेका छन्, काटेका छन्, कुटेका छन्, विष दिएका छन्, ढुंगा बजारेका छन् । अनि, तिनैको स्याहारसुसार र हेरचाह गर्ने मान्छेको बारेमा पनि मानिसहरू के के भनेर कुरा काट्थे । त्यस्ता मान्छेसँग दिनदिनैको लडाइँ अर्कोतिर छँदैछ । तर, कहिलेसम्म ? यो एक अन्त्यहीन झमेला थियो ।
स्नेहाले सिरानीमाथि टाँसेकी छिन् जाराको फोटो । जब उनी उसको फोटो हेर्छिन्, उत्प्रेरित हुन्छिन् र फेरि निस्किन्छिन् आफ्नो काममा ।
कानूनका लागि संघर्ष
पशुप्राणीलाई सही र सग्लो राख्न उनीहरूलाई स्वच्छन्द बाँच्न दिनुपर्छ । यसका लागि व्यापक बनाउनुपर्छ यसबारे जनचेतना । तर बुझीबुझी, जानीजानी हिंसा गर्नेहरूलाई के गर्ने ? हिंसा र अत्याचार रोक्न चाहिन्छ कानून । किनकि सर्वश्रेष्ठ प्राणी भनिने अधिकांश मानिसले बुझेर पनि पशुप्राणीमैत्री व्यवहार गरेनन् ।
अन्ततः स्नेहालाई के बोध भयो भने, यी अबोध पशुहरूलाई औषधि उपचार वा स्याहारसुसार गरेर मात्र पुग्दैन । बरु त्यसको उचित व्यवस्थापन र संरक्षणको लागि उनीहरूको खातिर कानून पनि बन्नुपर्छ । यसैका लागि उनले पशु कल्याण संघ नेपाल स्थापना गरिन् । यसै मार्फत पशुमाथि हुने जति पनि हिंसा एवं क्रूरता छ, त्यसलाई रोक्न दिनरात नभनी लागिपरिन् ।
रोगी, घाइते, असहाय पशुप्राणीको उद्धार र उपचारसँगै उनीहरूको हकहितको लागि कानून बनाउने प्रक्रियामा उत्तिकै डटेर लागिपरेकी छिन् स्नेहा । जंगली हात्तीको हत्या भयो, उनी दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्न सडकमा पुग्छिन् ।
साथसाथै विद्यालय र समुदायमा गएर पशुप्राणीको अस्तित्वलाई स्वीकार्न र उनीहरूलाई प्रेमपूर्वक बाँच्न दिन विभिन्न चेतनामूलक कार्यक्रमहरू पनि गर्दै आएकी छिन् ।
पशुप्राणीकी धाईआमा
कोभिड महाव्याधिताका मान्छेहरू घरमा थुनिए । सडकका पशुदेखि पक्षीसम्म भोकै पर्न थाले । जोखिम व्यहोरेर पनि स्नेहा सडकमा आइन् र पशुपक्षीलाई खुवाउन थालिन् ।
सरकारले त्यतिबेला मान्छेका बारेमा मात्रै सोच्यो । पशुपक्षीको हितमा काम गर्न खोज्दा स्नेहाहरूलाई सरकारले पास दिन पनि आनाकानी गर्यो । तर, उनी रोकिइनन् । आफ्नो टीम सहित सडकमा झरिन् र पशुपक्षीलाई आहाराको जोहो गरिरहिन् ।
स्नेहाको यस्तो क्षण हुँदैन, जहाँ पशुप्राणीको खातिर काम नगरिएको होस्— सेल्टरमा पुगेर हरेक पशुप्राणीलाई मायाले स्पर्श गर्नु, रेखदेख गर्नु, औषधि उपचारको मेलोमेसो मिलाउनु ।
सेल्टरमा डेढ सय बढी कुकुर मात्र छैनन्, राँगा–भैंसी, बाख्रा, बोका, सुँगुर, गाई सबै छन् । यिनीहरू सबैको आ–आफ्नै दुःखको महाभारत छ । कोही काट्नै लाग्दा वधशालाबाट भागेका, कोही मन्दिरमा बलि चढाउन लैजाँदै गर्दा उम्किएका, कोही मान्छेले लखेटेका, कोही विष खुवाइएका ।
समाजले केवल ‘मासु’ वा ‘वस्तु’ मात्र देखेका यी पशुप्राणीहरू स्नेहाको आश्रयस्थलमा भने कुनै परिचित झैं लाग्छन् । सबै उस्तै मायालु, उस्तै आज्ञाकारी । कति टोलबाट स्नेहाले यस्तो कुकुर उठाएर ल्याएकी छिन्, जसलाई ‘हिंस्रक’ भनी लखेटी–लखेटी मार्न खोजिएका थिए । तर, स्नेह केयरमा ती कुकुरहरू मायालु र बफादार लाग्छन् ।
स्नेहा भन्छिन्, ‘वास्तवमा कुनै पनि पशुप्राणी आफैंमा हिंस्रक हुँदैनन् । मान्छेको दुर्व्यवहारबाट बच्न उनीहरू रक्षात्मक भएका मात्रै हुन् ।’ बेवारिसे कुकुरको हेरचाह गरिरहँदा स्नेहाको नयाँ परिचय बन्यो— ‘कुकुरकी धाईआमा ।’ मान्छेहरूले जेसुकै भनुन्, उनलाई कुनै पर्वाह छैन । जब स्नेहा केयर पुग्दा पशुप्राणीले आमालाई जस्तै पछ्याउँछन्, झुम्मिन्छन्, उनलाई स्वर्णिम आनन्द लाग्छ ।
पशुको हृदयलाई राम्ररी छामेकी स्नेहालाई के लाग्छ भने यो धर्ती मान्छेको मात्रै होइन, पशुप्राणी सबैको साझा घर हो । तर, यहाँ मान्छेहरू एक्लै हालीमुहाली र पशुमाथि हिंसा गर्छन् ।
प्रकृति एवं पर्यावरणीय चक्रमा मान्छेसँगै यी तमाम पशुप्राणी समाहित छन् । त्यसैले धर्तीलाई सही–सलामत राख्न यी पशुप्राणीको अस्तित्वलाई खतरामा पर्न दिनुहुन्न । ‘उनीहरूलाई हामीले सहज रूपमा बाँच्न दिनुपर्छ’ स्नेहा भन्छिन्, ‘तर यो सामान्य ज्ञान हामीकहाँ पढेलेखेका विद्वान्हरूमा पनि छैन ।’
त्यसैले जतिसक्दो चाँडो पशु कल्याण ऐन ल्याउन अधिकारकर्मी र नीति–निर्मातासँग औपचारिक, अनौपचारिक छलफलमा जुट्छिन् । उनी चर्को आवाजमा प्रश्न गर्छिन्, ‘पशुमाथि हुने क्रूरता अन्त्य गर्न समावेशी र व्यापक पशु कल्याण ऐन चाहियो ।’
स्नेहासँग कहिल्यै नसकिने सास्ती छ । कहिल्यै समेटेर नसकिने काम छ । कहिले घाइते कुकुरको उपचार, कहिले पीडाको सागरमा डुबिरहेका, तड्पिइरहेका गाईवस्तुको उद्धार, कहिले पशु अधिकारको लागि लडाइँ । यस्तो लाग्छ, पशुप्राणीभन्दा बाहिर उनको अर्को कुनै दुनियाँ नै छैन ।
अक्सर उनी पशुप्राणीसँग घेरिएर बस्छिन् । कुकुर, गाई, गोरु, राँगा, भैंसी, बाख्रा, सुँगुरको औषधि उपचार र स्याहारसुसारमा उनका दिनहरू बित्छन् । काटिएर, कुटिएर, लखेटिएर, यातना दिइएर, तड्पाइएर सडकमा बेवारिसे भएका यी सम्पूर्ण पशुप्राणीलाई उनले न्यानो आश्रय दिएकी छिन्, स्नेहा केयरमा ।
ललितपुरमा अवस्थित यो ठाउँ नै उनको कर्म र धर्म हो । त्यहाँ विभिन्न कारणले तड्पाइएका पशुप्राणीलाई ल्याएर उपचार गरिन्छ, आरामपूर्वक राखिन्छ, भरपेट खान दिइन्छ र मायाले स्पर्श गरिन्छ अनि सम्मानजनक बाँच्न दिइन्छ ।