
खेती–किसानी गर्ने गोरखा आरुघाटमा रहेको एउटा निम्न मध्यमवर्गीय परिवार । अभाव त सधैंको भइगयो । त्यही परिवारमा एउटी छोरीको जन्म हुन्छ । छोरापछि जन्मिएकी छोरीको आगमनले परिवारमा खुशीको लहर दौडिन्छ । छोरी विस्तारै हुर्किंदै जान्छिन् । स्कूल जाने उमेरमा पुग्छिन् ।
बालखैदेखि असाध्यै मिहिनेती र चञ्चल स्वभावकी छोरी, चुप लागेर बस्नै नसक्ने । जे भए पनि काम गरिरहनुपर्ने, बाआमा र दाइलाई सघाइरहने । घरमा पालेका गाई, भैंसी, बाख्रा, कुखुरा सबैलाई घाँस, पराल, दाना, पानी पनि दिइरहने ।
घरबाट केही परको भीमोदय माध्यमिक विद्यालयमा पढेर घर आएपछि पनि खेतबारीमा गएका बाआमालाई सजिलो होस् भनेर भातभान्साको काम पनि गरिहाल्ने । ‘मिहिनेत गर्नुपर्छ, मिहिनेत गर्यो भने एक न एक दिन सफलता मिल्छ, कहीं न कहीं कसो नपुगिएला ?’ भन्ने चाहिं उनको मनमा बालखैदेखि आउँथ्यो ।
आर्थिक हिसाबले कठिन अवस्थामा परिवार रहेको उनलाई राम्रै थाहा थियो । त्यही भएर ‘मलाई यस्तो चाहियो, मलाई उस्तो चाहियो, राम्रो लुगा चाहियो…’ वा अरू कुनै फुर्माइस बा–आमालाई कहिल्यै पनि भनिनँ । एक जोर नयाँ लुगा लगाउन पाउँथिन्, त्यो पनि दशैंका वेला । हो, त्यही लुगालाई जतनसाथ एक वर्ष पुर्याउँथिन् ।
रहर त उनका पनि अनगिन्ती थिए, तर उनले त्यसलाई बा–आमासामु देखाइनन् । किनकि, उनलाई थाहा थियो पारिवारिक अवस्था । बस्; स्कूल जाने, पढ्ने, घर फर्केर पनि किताब हातमा बोकेर पढ्दै घरको कामधन्दा गर्ने ।
बाआमा शिक्षित नभए पनि छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेत थियो । त्यही भएर दुर्गम गाउँमा जन्मिएर पनि उनले स्कूल जान पाइन् । धेरै पढ्यो भने ठूलो मान्छे बन्न सकिन्छ भन्ने पनि उनको मनमा आउँथ्यो । बा–आमाले पनि त्यही भनेका थिए ।
उनी स्कूल पढिरहँदा एक दिन अचानक उनका बा–आमाले धादिङ गएर कुखुरापालन गर्ने निर्णय गरे । बाआमा धादिङ गए । उनका दाइ मामाघर बसेर पढ्न थाले । उनी हजुरबा र हजुरआमासँग एक्लै घरमा बसिन् । तर, उनी कहिल्यै पनि दुःखी भइनन् । घरमा भात पकाउने, गाईवस्तुलाई घाँस–पराल, दानापानी खुवाउने मात्र नभई घरका सारा काम भ्याएर समयमै स्कूल पनि पुग्थिन् । मिहिनेत साथ पढ्थिन् ।
त्यो बेला उनी ६ कक्षामा पढ्थिन् । उनको मिहिनेत देखेर छरछिमेकी पनि अचम्म मान्थे । खेतबारीमा फलेका धनियाँ, लसुन, साग वा अन्य उत्पादन केही परको बजार लगेर बेच्न पनि भ्याउँथिन् । यस्तो काममा पनि उनले कहिल्यै लाज मानिनन् ।
‘यति सानी फुच्चीले पूरै घर धानेर बसेकी छ, कस्तो आँटिली, कति मिहिनेती…’ यस्तो सुन्दा उनलाई रमाइलो लाग्थ्यो । जब उनले २०६३ सालमा एसएलसी उत्तीर्ण गरिन्, त्यसपछि भने उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आइन् ।
काठमाडौं त आइन्, तर घरबाट पढाइ खर्च बेहोर्न सक्ने स्थिति थिएन । उनलाई परिवारको अवस्था थाहा थियो, र सँगै अभाव कस्तो हुन्छ भन्ने पनि । काठमाडौं खाल्डोमा कसरी बाँच्ने ? यो टड्कारो प्रश्न उनको टाउकोमा ‘तरबार’ बनेर झुन्डिएको थियो ।
तर, जहाँ इच्छा त्यहाँ उपाय । उनले न्युरोडको एउटा कपडा पसलमा सानोतिनो काम पाइन् । दिनभरि पसलमा काम गर्ने, पसलको कामले बजार हिंडिरहनुपर्ने । बिहानको कलेज थियो । काठमाडौंमा बाँच्नका लागि यति संघर्ष त गर्नैपर्यो ।
काम सँगसँगै कलेजको पढाइ पनि अगाडि बढाइरहिन् । तीन वर्षजति यस्तो काम गरेपछि उनी एक्कासि सञ्चारकर्मतिर लागिन् । कलेजमा पनि पत्रकारिता नै पढिरहेकी थिइन् । पत्रकारितामा पनि लेखनभन्दा फोटो पत्रकारितामा उनको रुचि थियो । त्यही रुचिलाई उनले सार्थकतामा बदलिन् । भाग्यले भनौं, एउटा दैनिक पत्रिकामा फोटो पत्रकारको जागिर पनि पाइन् ।
त्यसपछि भने उनको जीवनले एउटा अर्कै लय समात्यो । अभावबीच एउटा सुन्दर सपनाले साकार रूप लिन लागेको आभास उनलाई भयो । दिनरात नभनी मिहिनेत साथ फोटो पत्रकारितालाई अगाडि बढाइरहिन् । र, यो पेशामा आफूलाई ‘अब्बल’ सावित गरिन् ।
यो कथा गोरखा आरुघाटकी तिनै चञ्चल र मिहिनेती छोरीको हो, जसले यसपालि वसन्त ऋतुमा संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथा शिखरमा एउटा विल्कुलै भिन्न विश्व कीर्तिमान कायम गरिन् ।
उनी हुन्– पर्वतारोही पूर्णिमा श्रेष्ठ । जसलाई अभाव के हो भनेर सोधिरहन पर्दैन । अझ, मिहिनेत के हो भनेर त झन् सोध्नै पर्दैन । पूर्णिमा अभाव र मिहिनेतको एउटा ‘फुल प्याकेज’ हुन् ।
३३ वर्षीया पूर्णिमा तिनै हुन्, जसले २०८१ जेठमा सर्वोच्च शिखर सगरमाथामा एउटा नौलो कीर्तिमान कायम गरिन् । उनको कीर्तिमानले विश्वभरिका साहसिक पर्वतारोही, हिमालबारे चासो राख्नेदेखि पर्वतारोहण क्षेत्रमा नयाँ तरंग सिर्जना गरिदियो ।
पूर्णिमाले गएको जेठमा १३ दिनको अन्तरालमा तीन पटक सगरमाथा चुचुरो पुगेर नौलो विश्व कीर्तिमान राखिन् । जुन, यसअघि कहिल्यै सुनिएको थिएन । अनि त उनको कीर्तिमानको चर्चा संसारभरि हुने नै भयो ।
हुनत यो कीर्तिमान अघि पनि पूर्णिमाले सगरमाथा शिखरमा विजयी झन्डा फहराइसकेकी थिइन् । त्यति मात्र होइन, नेपालमा रहेका ८ हजार मिटरभन्दा अग्ला ८ हिमालमध्ये सगरमाथा सहित पाँच वटाको सफल आरोहण गरिसकेकी थिइन् ।
उनले नेपालमा रहेका ८ हिजार मिटर अग्ला सगरमाथा, मनास्लु, कञ्चनजंघा, ल्होत्से, मकालु, धौलागिरि र अन्नपूर्ण प्रथमको सफल आरोहण गरिसकेकी छिन् । तीमध्ये सगरमाथा शिखरमा चार पटक र मनास्लुमा दुई पटक विजयी झन्डा फहराइसकेकी छिन् । अब उनले चोयु मात्र आरोहण गर्न बाँकी छ । भविष्यमा पूर्णिमा चोयु चुचुरोमा पनि पुग्नेछिन् । किनभने, चोयु आरोहण चीनबाट मात्र गर्न पाइने भएकाले उपयुक्त मौका कुरेर बसेकी छिन् ।
सगरमाथापछि संसारकै दोस्रो अग्लो हिमाल पाकिस्तानको ‘केटु’ को पनि उनले सफल आरोहण गरिसकेकी छिन् । सगरमाथा आरोहण गर्ने वा अरू कुनै हिमालको चुचुरोमा पुग्ने सपना, ध्येय वा उद्देश्य स्कुले पढाइ सकिसक्दा पनि उनको मनमा कहिल्यै आएको थिएन ।
त्यसमाथि उनी यस्तो समुदायबाट आएकी थिइन्, जहाँ खेती–किसानी, व्यापार वा अन्य पेशाको बाहुल्य थियो । तर, पर्वतारोहण पनि पेशा हुन सक्छ भनेर कोही लागिपरेको उनलाई थाहा थिएन । तर, ‘लेखेको पाइन्छ, देखेको पाइँदैन’ भने झैं पूर्णिमाले शायद लेखेको नै पाइन्– आफूलाई अब्बल र विश्व कीर्तिमानी पर्वतारोहीका रूपमा चिनाएर ।
अनि, बाटो मोडियो सगरमाथातिर
पूर्णिमा दैनन्दिन फोटो पत्रकारितामा रमाइरहेकी थिइन् । एकदिन अचानक उनलाई एउटा यस्तो अवसरको निम्तो आयो, त्यो सुनेर उनको खुशीले उचाइ छुन पुग्यो । यो सन् २०१७ को कुरा हो ।
काठमाडौं खाल्डोभित्रै फोटो पत्रकारितामा रमाइरहेकी पूर्णिमालाई अचानक सर्वोच्च शिखर सगरमाथा आधारशिविरसम्म गएर फोटो खिच्ने निम्ता आयो । कार्यक्रम थियो– ‘तेन्जिङ–हिलारी एभरेष्ट म्याराथन’ ।
‘सर्वोच्च शिखर सगरमाथाको फेदमा पुग्छु भनेर मैले जीवनमा कहिल्यै कल्पनासम्म पनि गरेकी थिइनँ’ पूर्णिमा सात वर्षअघिको अवसर सम्झिन्छिन्, ‘त्यस्तो सुवर्ण अवसर गुमाउनुहुँदैन भनेर म सीधै सगरमाथा आधारशिविरतिर लागें ।’
काठमाडौंबाट जहाजमा उडेर लुक्ला झरिन् । त्यहाँबाट उनको यात्रा पैदल सगरमाथा आधारशिविरतिर मोडियो । सोचे जस्तो त के हुन्थ्यो र ? बीच बाटोमै उनलाई ज्यानले साथ नदिए जस्तो भयो । अनि, घोडाको व्यवस्था गरेर घोडा चढेरै सगरमाथा आधारशिविर पुगिन् ।
जीवनमा कल्पनासम्म नगरेको एउटा अलौकिक ठाउँ पुग्दा पूर्णिमा भावविह्वल भइन् । आफूमाथि आफैंलाई विश्वास लागिरहेको थिएन । एक पटक आफैंलाई चिमोटिन् । त्यो सपना होइन, विपना नै रहेछ । उनी साँच्चै सर्वोच्च शिखरको फेदमै रहिछन् ।
पूर्णिमा जे कामका लागि गएकी थिइन्, त्यो काम फत्ते गरिन् । तर, आधारशिविरमै रहँदा उनको मनमा अनायास आयो, ‘एकचोटि सगरमाथा शिखरमा पुग्न पाए !’ हो, ठ्याक्कै त्यही समय हो जुनबेला पूर्णिमाको मनमा सगरमाथा आरोहण गर्ने लालसा पलाएको ।
अनि, उनी कम्मर कसेर लागिन् सगरमाथा चढ्न के गर्नुपर्छ, कति पैसा लाग्छ, कस्तो तालिम लिनुपर्छ, आरोहण अनुमति लिन कुन निकाय धाउनुपर्छदेखि सगरमाथा सम्बन्धी जानकारी बटुल्न ।
त्यसपछि पूर्णिमाले एक वर्ष पूरै मन र मस्तिष्कमा सगरमाथा बोकेर हिंडिन् । सगरमाथा आरोहण गर्न लाग्ने लाखौं रुपैयाँ कसरी जोहो गर्नेदेखि वाल क्लाइम्बिङ, रक क्लाइम्बिङ तालिम लिनतिर लागिन् ।
‘आधारशिविरबाट फर्केर काठमाडौं आएपछि साथीहरूलाई म अर्को साल सगरमाथा आरोहण गर्छु भनेकी थिएँ, तर साथीहरूले तैंले सोचे जस्तो सजिलो छैन है, फोटो खिच्ने मान्छेलाई गाह्रो हुन्छ’ भने पूर्णिमा सम्झिन्छिन्, ‘तर, मैले आधारशिविरमै गरेको अठोटलाई जसरी पनि पूरा गर्छु भन्ने दृढता भने त्यागिनँ ।’
सरकारी नियम के छ भने सगरमाथा आरोहण गर्नुअघि ६ हजार मिटरभन्दा अग्लो कुनै पनि एउटा हिमालको शिखरमा पुगेकै हुनुपर्छ । त्यही भएर पूर्णिमाले ६ हजार मिटर होइन, ८ हजार मिटरभन्दा अग्लो मनास्लु हिमाल नै आरोहण गर्ने निर्णय गरिन् ।
‘मनास्लु त चढ्ने, तर खर्च कसरी व्यवस्थापन गर्ने ? महिनाको १५/२० हजार रुपैयाँ तलब खाने पत्रकारले लाखौं रकम कसरी जोहो गर्ने ? म गम्भीर संकटमा परें’ उनी सुनाउँछिन्, ‘त्यसपछि म पैसा जोहो गर्नतिर लागें । प्रायोजकहरू खोज्न थालें । साथीभाइ, नातागोता, सहृदयीहरूसँग ऋण लिएर पैसा जम्मा पारें र मनास्लु आरोहण गरिछाडें ।’
यो सन् २०१७ सेप्टेम्बरको कुरा हो । मनास्लुमा सफल भएपछि नै हो पूर्णिमालाई सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न आँट आएको । अनि, पूर्णिमाले अर्को वर्ष २०१८ मा सगरमाथा शिखर जाने ‘बोल्ड’ निर्णय गरिन् । त्यसका लागि फेरि पैसाको अभाव अगाडि आयो । पैसा त चाहियो, खोज्नै पर्यो ।
सगरमाथा आरोहणमा जाने कुरा घरमा बा–आमालाई फोन गरेर सुनाइन् । बा–आमाले सहमति दिए । उनी पनि ढुक्क भइन् । र, आफ्नो लक्ष्यतिर अगाडि बढिन् ।
आयो त्यो एक दिन
पूर्णिमा ‘ग्रिनलेक ट्रेक्स’ भन्ने एक्सपिडिसन कम्पनीमा जोडिइन् । उनलाई सगरमाथा आरोहणमा जान २५ लाख रुपैयाँ जति व्यवस्था गर्न भनियो । अन्य सामान र खर्च गर्दा थप ७ लाख गरी ३२ लाख जति उनले जोहो गर्नुपर्ने भयो । फेरि, अभाव त यहाँ पनि देखापर्यो ।
‘त्यति पैसा त जुटाउन सक्छु भन्ने आँट ममा थियो, त्यसभन्दा अघि मनास्लु चढ्न जाँदा पनि पैसा जोहो गरेकै थिएँ’ उनी भन्छिन्, ‘अनि खोजखाज, ऋणपान गरेरै भए पनि पैसा जोहो गरें ।’
हिमाल आरोहण गर्न शारीरिक, मानसिक र आर्थिक तीनै पक्ष बलियो हुनैपर्छ । यी तीन चिजमा बलियो भइएन भने सफलता हात पार्न धेरै नै गाह्रो हुने अनुभव पूर्णिमासँग छ ।
२०१८ को वसन्त ऋतुमा जब पूर्णिमा पहिलो पटक सगरमाथा शिखरमा विजयी झन्डा फहर्याउन सफल भइन्, त्यसयता उनले पछाडि फर्केर हेर्नुपरेको छैन । त्यसपछि उनी हिमालमै व्यस्त हुन थालिन् । ८ हजार मिटर अग्ला अन्य हिमाल पनि चढिन् । आरोहण सिलसिलामा विभिन्न देशको भ्रमणमा पनि गइन् ।
दुःखमा खाएको दैनिक पत्रिकाको जागिर भारी मन गरेर छाडिन् । तर, फोटो खिच्ने काम भने अहिले पनि जारी छ । दैनिक पत्रिकाको जागिर छाडेपछि अमेरिकाको न्युयोर्क टाइम्सलाई नेपालबाट पर्वतारोहण सम्बन्धी फोटोहरू पठाइन् ।
उनको साथमा सधैं क्यामरा हुन्छ । हिमाली भेग र हिमालको फोटो खिच्नु उनको सोख हो । विभिन्न स्वदेशी तथा विदेशी संघ–संस्थाले हिमालका फोटो मागे भने उनी उपलब्ध गराउँछिन् । उनको आम्दानीको मुख्य स्रोत भनेकै यही हो । ‘सगरमाथा चढ्दा लागेको ऋण यही आम्दानीबाट चुक्ता गरिसकें’ पूर्णिमा भन्छिन्, ‘यो मेरो प्यासन हो, मनमा लागेको कुरा पूरा गरेरै छाड्ने बानी छ ।’
छोरीहरूलाई हौसला दिंदै
१३ दिनको अन्तरालमा तीन पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नौलो विश्व कीर्तिमान कायम गर्नु पूर्णिमाको ‘क्रेजी आइडिया’ थियो । २०८१ जेठमा उनले यो रकेर्ड राख्दा मनमा भने तीन पटक सगरमाथा आरोहण गर्दा लागेको ऋण कसरी चुक्ता गर्ने भन्ने नै थियो ।
‘तीन पटक सगरमाथा आरोहण गर्दा ७५ लाख रुपैयाँ कम्पनीलाई तिर्नुपर्ने थियो । कम्पनीले आधा छुट दिए पनि ३५ लाख त चाहियो’ उनी भन्छिन्, ‘जानुअघि १०/१२ लाख तिरेर गएकी थिएँ, आएपछि बाँकी पैसा त तिर्नैपर्यो । अहिले पनि ऋण तिरिरहेकी छु ।’
पूर्णिमा छोरीहरूलाई अगाडि बढ्न हौसला दिन्छिन् । छोरी मान्छेलाई सपना देखाउने परिवार कमै मात्र हुने उनको अनुभव छ । त्यही भएर छोरीहरूलाई सबै क्षेत्रमा अब्बल बनाउने पहिलो खुट्किलो शिक्षा रहेको उनी बताउँछिन् ।
पर्वतारोहणमा सहभागी हुन चाहने छोरीहरूलाई उनी आफूले सक्नेसम्म सहयोग गर्न तयार छिन् । सपना, मिहिनेत र लक्ष्यलाई अभावले रोक्न नसकेको पूर्णिमा सुनाउँछिन् ।
‘सगरमाथा नै चढ्छु भन्ने चाहिं मैले कहिल्यै पनि सोचेकी थिइनँ, कर्म गर्दै जाँदा सगरमाथा शिखर पुगें’ पूर्णिमा भन्छिन्, ‘त्यही भएर छोरीहरूले आत्मविश्वास, लगनशीलता, मिहिनेत र सपना देख्न छाड्नुहुँदैन । मिहिनेतले नै मान्छेलाई सफलताको चुलीमा पुर्याउने हो ।’