+

जूनतारा नियाल्ने खगोल फोटोग्राफर

पूरा सूची
Shares
नेपाल एस्ट्रोनोमिकल सोसाइटीको निर्देशक, राष्ट्रिय खगोल शिक्षा संयोजक मनिषा द्वा जून–तारा नियाल्दै आकाशको अध्ययन गर्न यतिविघ्न रुचि राख्छिन् कि– थोरै समय पाउनासाथ क्यामरा बोकेर पोखरा वरिपरिका डाँडा उक्लिन्छिन् ।
मनिषा द्वा

‘ममी तारा हिंड्यो’ दुई वर्षकी हुँदा मनिसा द्वाले ममीलाई भनेकी थिइन् । पोखरा वरिपरि टहल्दा एकदिन फेरि मनिसाले भनेकी थिइन्, ‘ममी मून पनि हिंड्यो ।’ ‘तारा र चन्द्रमा हिंडेको होइन, बादल उड्दा तारा र चन्द्रमा पनि सँगै हिंडेको जस्तो देखिएको हो’, मनिसाले ममीबाट जवाफ पाएकी थिइन् ।

ममी शिक्षिका भएकाले नजानेको कुरा सहजै सिक्न पाउँथिन् । आकाश र ब्रह्माण्डबारे उनी सानैदेखि चासो दिन्थिन् । कास्की पोखरा भद्रकालीकी ३७ वर्षीया उनै मनिसा अहिले खगोल तथा भौतिक विज्ञान एवं अन्तरिक्ष विज्ञानको क्षेत्रमा सक्रिय छिन् ।

सानैदेखि पढाइमा तेज थिइन् उनी । ‘मिना मिस र केशवको छोरी भनेपछि ज्ञानी हुनुपथ्र्यो । पढाइमा राम्रो थियो । बुबा–ममीले अब्बल हुनुपर्छ भन्नुहुन्थ्यो । बहिनी र मलाई पढ्ने स्वतन्त्रता थियो’, पढाइको सफलताको श्रेय बुबा–ममीलाई दिन्छिन् मनिसा ।

   

उनको डाक्टर बन्ने सपना थियो । तर एमबीबीएसमा भर्ना हुन पाइनन् । त्यसपछि मनिसाले जीव विज्ञान पढ्न चाहिन् । र, पृथ्वीनारायण (पीएन) क्याम्पसमा पुगिन् । तर साथीहरूका कारण भौतिक विज्ञानको कक्षामा उनको प्रवेश भयो ।

‘फिजिक्स कक्षामा केटैकेटा थिए । हल्ला धेरै हुन्थ्यो । दुई–चार जना केटी अगाडि थिए’ क्याम्पसको त्यो दिन सम्झिंदै उनी भन्छिन्, ‘एउटा विषय बायोलोजीको कक्षामा पढ्न जानुपथ्र्यो । त्यो कोठामा चाहिं केटी नै केटी थिए ।’

‘भौतिक विज्ञानको कक्षामा केटा र जीव विज्ञानमा केटी धेरै किन ?’ मनिसाले साथीहरूलाई प्रश्न गरिन् । क्याम्पसमा केटीहरूले भौतिक विज्ञान पढ्न सक्दैनन् भन्ने गलत भाष्य रहेछ । यो थाहा पाएपछि मनिसाले जीवविज्ञानको सट्टा भौतिक विज्ञान पढ्ने निर्णय लिइन् । ‘एस्ट्रो फिजिक्स सके पनि नसके पनि पढ्छु भनेर अगाडि बढेकी हुँ । अहिले एस्ट्रोमै पीएचडी गरिरहेकी छु’, उनी भन्छिन् ।

मनिसाले आफू पढ्दै र स्कूलमा पनि पढाउन थालिन् । एक दिन उनले पोखरामा विज्ञानको विषयमा नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले तालिम दिन लागेको थाहा पाइन् । तालिममा सहभागी हुने सोच बनाइन् ।

‘तालिम निःशुल्क थियो । त्यही तालिममा एस्ट्रोनोमीका विद्वान् ऋषि शाहसँग भेट भयो’, उनी भन्छिन् । सोही तालिममा उनको चिनजान नासोका अध्यक्ष सुरेश भट्टराईसँग भयो । यो भेट उनको करिअरमा ‘टर्निङ पोइन्ट’ बन्यो । ‘उहाँहरूले काठमाडौं आएर काम गर्न भन्नुभयो । घरसल्लाह गरेर काठमाडौं आएँ’, उनी भन्छिन् ।

अहिले उनी नेपाल एस्ट्रोनोमिकल सोसाइटीको सञ्चालक समितिको निर्देशक तथा कार्यालयका परियोजना संयोजक, इन्टरनेशनल एस्ट्रोनोमिकल युनियनको तर्फबाट नेपालका लागि नेशनल आउटरिच को–अर्डिनेटर, राष्ट्रिय खगोल शिक्षा संयोजक, वर्ड स्पेस विकका लागि नेपाल संयोजकका रूपमा काम गरिरहेकी छिन् ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सञ्चालन गरिरहेको नेपालस्थित आईएयू अफिस अफ एस्ट्रोनोमी फर एजुकेशनको क्षेत्रीय कार्यालयको सह–प्रबन्धक पनि छिन् मनिसा । सोही क्षेत्रबाट उनले विद्यार्थीलाई विज्ञान, प्रविधि र गणितबारे सिकाउँदै आएकी छिन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ओलम्पियाड प्रतियोगितामा पनि उनले काम गरिरहेकी छिन् ।

‘सन् २००७ देखि नै ओलम्पियाड प्रतियोगिता गर्र्दै आएका छौं । २०२४ को अक्टोबरमा नेपालमा अन्तर्राष्ट्रिय एस्ट्रो फिजिक्स जुनियर भर्सन गरेका थियौं’ उनी भन्छिन्, ‘स्कूल स्कूलमा पनि कार्यक्रम हुन्छ । ५ हजार विद्यार्थीले लाभ लिइरहेका छन् ।’

ओलम्पियाडमा प्रदेश–प्रदेशबाट छनोट गरेर राष्ट्रिय स्तरको र त्यसपछि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुने गरेको बताउँछिन् मनिसा । ‘उच्च स्तरको एकेडेमिक प्रतियोगिता हो । सातै प्रदेशबाट छनोट भएर आएपछि दोस्रो चरणमा जाने हुन्छ’, उनी भन्छिन् । दोस्रो चरणमा गएको बच्चाले टेलिस्कोप बनाउँछ । एस्ट्रोसँग सम्बन्धित रिपोर्ट लेख्न सिकाउँछौं ।’

दोस्रो चरणमा पुगेका बच्चालाई क्लोज क्याम्पमा राखेर पनि मनिसाले सिकाउँछिन् । ‘क्लोज क्याम्पमा संसारभरको ओलम्पियाड बारे पढाउँछौं । ७ दिनको कोर्स हुन्छ । फाइनलमा ओलम्पियाडको परीक्षा हुन्छ’ उनी भन्छिन् । ओलम्पियाडमा विद्यार्थीले खगोल, गणितको परीक्षा दिनुपर्छ ।

परीक्षाबाट मेरिटको आधारमा विद्यार्थीको सूची निकालेपछि ती विद्यार्थी अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि योग्य हुन्छन् । ‘अभिभावक र विद्यार्थीको सल्लाह बमोजिम मेरिटको आधारमा अन्तर्राष्ट्रिय प्रतियोगितामा लैजान्छौं’, मनिसा भन्छिन् ।

दोस्रो चरणमा पुगेका विद्यार्थीले विद्यालय र समाजमा फर्किएर अरूलाई सिकाउने गरेका छन् । ‘जे पढेको हो त्यो सिक्ने र सिकाउने हो । आफूले जानेको कुरा विद्यार्थीले स्कूलमा गएर सिकाउन सक्छन्’ मनिसा भन्छिन्, ‘ग्रहण लाग्दा खान–सुत्न नहुने भन्ने गलत कुरा छ । त्यसमा समेत विद्यार्थीले सचेतना फैलाउँछन् ।’

विद्यार्थीलाई एस्ट्रोसँग सम्बन्धित सामग्री पनि मनिसाले दिने गरेकी छिन् । ‘टेलिस्कोप, सोलार फिल्टर, सौर्य घडी जस्ता विषयमा विद्यार्थीले सिकेको हुन्छ । यो सम्बन्धी सामग्री पनि विद्यार्थीलाई दिने गरेका छौं’, उनी भन्छिन् । यसले विद्यार्थीको सिकाइमा महत्वपूर्ण योगदान पुर्‍याएको अनभुव सुनाउँछिन् उनी ।

विद्यार्थीको लागि मात्र होइन शिक्षकलाई तालिम समेत उनको नेतृत्वमा हुने गरेको छ । ‘८ वटा देशका शिक्षकको वर्कशप नेपालमा भएको थियो । पाठ्यक्रम परिमार्जनमा पनि सहयोग गरेका छौं । किताबमा एस्ट्रोनोमीको विषय थोरै छन् । पाठ्यक्रम परिष्कृत गर्न सहजीकरण गरेकी छु’, उनी भन्छिन् ।

उनलाई विदेश जाने अवसर पनि थियो । तर उनले विदेश भन्दा पनि नेपाल नै रोजिन् । ‘हाम्रो समयमा अमेरिका जाने चलन थियो । तर मलाई विदेश जाने सोच आएन । बुबा–ममीलाई पनि हेर्नुपर्ने थियो । त्योसँगै नेपाली विद्यार्थीलाई हाम्रो खाँचो थियो ।

यसरी मनिसाले नेपाल भित्र र बाहिर कक्षा १२ सम्मका विद्यार्थी तथा शिक्षकहरूको सहजीकरणसँगै खगोललाई समावेशी तथा समतामूलक बनाउन नेपालको तर्फबाट उल्लेखनीय योगदान गरिरहेकी छिन् । ‘विद्यालयहरूमा खगोल क्लबहरू स्थापना गरी युवा तथा बालबालिकामा खगोलको पहुँच बढाउने काम गरिरहेकी छु’, उनी भन्छिन् ।

एस्ट्रो–फोटोग्राफर

नेपालको महिला एस्ट्रो फोटोग्राफरको नाममा उनी परिचित छिन् । आकाशमा देखिने नौलो कुरा उनी क्यामेरामा कैद गरिहाल्छिन् । सूर्य र चन्द्र ग्रहण लाग्दा उनी घन्टौं लगाएर फोटो खिच्छिन् । रातिको समयमा पनि उनी फोटो खिच्न पोखराको डाँडा–डाँडामा पुग्छिन् ।

‘फोटो खिच्न डाँडा–डाँडामा पुग्छु । आकाशमा देखिने दृश्यहरूको फोटो खिच्न मन पर्छ’ आफूले खिचेका ग्रहणका तस्वीर देखाउँदै उनी भन्छिन्, ‘खिचेका तस्वीर अध्ययन अनुसन्धानमा प्रयोग गर्ने गरेका छौं ।’ फोटो खिच्न उनले साथीसँग उपहार समेत क्यामेरा मागेकी थिइन् ।

मनिसा भन्छिन्, ‘एउटा साथीको सिंगापुरे लाहुरेसँग विवाह भयो । सिंगापुर गएपछि केही पठाउनुपर्दैन, क्यामेरा दिनु है भनेकी थिएँ । साथीको श्रीमान्ले उहाँसँगै भएको क्यामेरा दिनुभयो ।’ उनले सन् २०१३ देखि नेपालका डाँडा–काँडा पुगेर नेपाली आकाशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवरंद्धन गर्ने काम गरिरहेकी छिन् ।

उनले ‘एस्ट्रो टुरिजम’को क्षेत्रमा पनि काम गरिरहेकी छिन् । ‘एस्ट्रो टुरिजमको आवाज उठाएको धेरै भयो । कोशी प्रदेशमा अघिल्लो वर्ष वर्कशप पनि गरेका थियौं । संसारलाई रातिको नेपाल चिनाउन सकिन्छ’, उनी भन्छिन् ।

मनिसाले इन्टरनेशनल एस्ट्रोनटिक फेडरेसन इमर्जिङ लिडर अवार्ड, नास्टबाट प्रविधि प्रवर्द्धन पुरस्कार, इन्द्रकला स्कलरसिप लगायत पुरस्कारहरू पाएकी छिन् । संयुक्त राष्ट्रसंघको अन्तरिक्ष मामिला हेर्ने कार्यालयले उच्चस्तरीय फोरमहरूमा समेत उनलाई बोलाउने गरेको छ । इन्टरनेशनल एस्ट्रोनोमिकल युनियनले पनि सभाहरूमा मनिसालाई निम्त्याउने गरेको छ ।

उनलाई विदेश जाने अवसर पनि थियो । तर उनले विदेश भन्दा पनि नेपाल नै रोजिन् । ‘हाम्रो समयमा अमेरिका जाने चलन थियो । तर मलाई विदेश जाने सोच आएन । बुबा–ममीलाई पनि हेर्नुपर्ने थियो । त्योसँगै नेपाली विद्यार्थीलाई हाम्रो खाँचो थियो ।

त्यसैले बाहिर नगई बसेको हो’, उनी भन्छिन् । धेरैको नजरमा नासा पर्ने गरेको छ । अब नेपाली विद्यार्थीलाई सिकाएर नासामा पुर्‍याउने योजना छ । ‘चन्द्रमामा पुग्ने नेपाली विद्यार्थी उत्पादन गर्नुपर्नेछ । अब हामी होइन, हामीपछिको पुस्तालाई पुर्‍याउन सहयोग गर्ने हो’, मनिसा भन्छिन् ।

एस्ट्रोनोमी पढेर अवसर छैन भनेर धेरैले भन्ने गरेका थिए । तर यसलाई चिर्दै उनी अगाडि बढिरहिन् । ‘समाजका मानिसले यो ठीक छैन भन्नुहुन्थ्यो । बुबा–ममी पनि बीचमा अलि खुशी हुनुभएन । तर बहिनीले तँ नाम कमा म बुबा–ममी हेर्छु भनिन् । बहिनीको सहयोगमा आज यहाँ आइपुगेकी हुँ’ उनी भन्छिन्, ‘अहिले बुबा–ममी पनि खुशी हुनुहुन्छ ।’

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।