+

पालिकाको पाइन देखाइरहेका मेयर

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
बालेन शाहको प्रशंसा हुनुको मुख्य कारण संघीयतामा आफ्नो शक्ति चिनेर अभ्यास गर्नु हो । स्थानीय तहमा गएको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाकै अधिकारको अभ्यास मार्फत गरेको विकास प्रयास उनको विशिष्ट पहिचानको कारण बनेको छ ।
बालेन शाह

चल्तीको राजनीतिक ‘टेम्प्लेट’ मा फिट हुँदैनन् बालेन शाह । यसै पनि यी ३३ वर्षीय युवा कुनै विद्यार्थी ‘आन्दोलन’ को भट्टीबाट खारिएर आएनन् । भ्रातृ संस्था बेगर, परम्परागत भोटबैंकको विरासत बेगर, मान्छेले मान्दै आएको ‘योगदान’ को सीभी ट्र्याक रेकर्ड बेगर २०७९ को काठमाडौं मेयर चुनावमा उनले एकाएक मनोनयन दाखिला गराए ।

प्रत्येक चुनावमा दुई–चार उम्मेदवार यस्सै फुटेज खाइदिनलाई उठ्ने गर्छन् । कतिपयले ठाने होलान्– बालेन पनि त्यसकै एक नमूना हुन् ।

आयुर्वेदिक डाक्टर पितासँग आफू सानो छँदै बालेन सिंहदरबार पसेर मन्त्रालय–मन्त्रालय चहार्दा रहेछन् । नीतिगत विषयहरूमा बीचैमा छिरेर प्वाक्क बोलिहाल्ने उनको बानीले कहिलेकाहीं अप्ठेरो पार्नेरहेछ । ‘तर मैले उठाउने कुरा गलत नहुने कारणले गर्दा काट्न पनि सक्नुहुन्नथ्यो’, बालेनले एक कुराकानीमा सुनाएका थिए ।

जिज्ञासु बालेनले दश कक्षा पास गरुन्जेल लगभग दशैपल्ट स्कुल बदले । छुकछुके थिए । भारत गएर केही समय पढे ।

इन्जिनियरिङको अध्ययन, र्‍याप संगीतको चिनारी हुँदै राजनीतिमा आउनुअघि बालेन छिटफुट सामाजिक अभियानहरूमा थिए । भूकम्प, नाकाबन्दी इत्यादिमा उनको नागरिककेन्द्रित स्वयंसेवा जारी थियो । उनी ‘अगुवा कार्यकर्ता प्रशिक्षण’ वा ‘सम्पर्क मञ्च’तिर सहभागी थिएनन्, बरु लो प्रोफाइलबाट राजनीति र समाज नियाल्दै थिए ।

त्यसैले काठमाडौंको मेयर लड्ने घोषणा गर्दा धेरैको ध्यान उनीमाथि थिएन । विगतको भोट विरासतका आधारमा मानिसहरू कांग्रेस र एमालेका उम्मेदवार सिर्जना सिंह र केशव स्थापितमध्ये को बलियो होला भनी गणित हेर्दै थिए ।

बिल्कुलै नयाँ शैलीको गेटअप र लुक्समा बालेन लौरो चिह्नमा उठ्दै गर्दा न उनको भाउ थियो, न चिह्नको । राजधानी शहरको चुनावी अभियानलाई केन्द्रका नेताहरूले प्रत्यक्ष चासो दिंदै गर्दा बालेन भने स्वस्फूर्त अनौपचारिक अभियानहरू चलाउँदै थिए ।

आकर्षक वाचाहरू गर, जनतासँग कुरा गर्दा कालो चश्मा नलगाऊ– ‘पब्लिक स्पिकिङ’ र पीआर म्यानेजरहरूले मान्दै आएको मान्यता पनि बालेनले तोडिदिए । उनको चुनावी अवतारलाई कालो रंगको लुगाफाटो, चश्मा, दाह्री–कपालले विन्यास गरियो । उनका विचारहरूलाई थोरै मूलधारे मिडिया, धेरै अनौपचारिक प्लाटफर्महरूले फैलाए ।

बस्, बालेनले चुनाव जिते । कुरा यति मात्रै होइन । एमाले र कांग्रेस जस्ता शक्तिशाली इतिहास अनि भोटबैंकका राजनीतिक ‘म्यानेजर’ हरूलाई बालेनले मात खुवाइदिए । सोसल मिडियामा बलिया कुमार बने अनि केही साथीहरूको दिलोज्यान खटाई, अनि बौद्धिक वर्गदेखि आम मानिसको समेत समर्थन पाएर बालेनले ठूलो मतान्तरको विजय रच्नु पक्कै असामान्य थियो ।

कतिपयले भने, यो आक्रोशको जनमत हो । तर धेरैले उनको विजयलाई देशका ७५३ मध्ये एक पालिका प्रमुखको उदय मात्रै मान्न तयार छैनन् । बालेनलाई नेपाली समाजमा आशा भर्न आएको नयाँ पुस्ताको नायक मान्ने धेरै छन् ।

अहिले बालेनका तिनै वाचाहरूको परीक्षण भइरहेको छ । उनी निर्णय लिने बेलामा जति चुस्त र स्पष्ट देखिन्छन्, त्यसलाई वडाध्यक्ष र सरोकारवालाको विश्वासमा अघि बढाउन भने उदासीन ।

यो छवि निर्माणमा सुरुमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, युट्युब, अझ त्यस बेला टिकटक जति प्रयोग भयो, मूलतः अहिलेसम्म पनि त्यो ‘सोसल मिडिया बबल’ कायम नै छ । थोरै उतारचढावका बीच बालेनको फेस भ्यालु चढ्दो क्रममा नै छ ।

नायकको खोजीमा भौंतारिइरहेको अधैर्य नेपाली समाजलाई बालेनको उपस्थिति त्यस्तै एउटा बिम्ब बन्न गएको छ, जसले उनका कतिपय लहडी चालामाला समेत हाललाई आँखा चिम्लेर अनुमोदन गर्ने पक्षमा गएको छ ।

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिंदा बालेनले नयाँ पुस्ताको चिन्ता गरेर पुरानै पुस्तालाई भोट गर्नु उचित नहुने बताएका थिए । चुनावी घोषणापत्र सार्वजनिक गर्दै उनले भनेका थिए– ‘राजनीतिक दल र नेताहरूलाई गाली गर्नुको कारण देख्छु, नयाँ पुस्ताको चिन्ता । अहिलेको पुस्ताले परिवर्तन ल्यायो, जनताको छोरो शासन सत्तामा पुग्ने भयो । अब छोराछोरीको भविष्यको चिन्ता छ । शिक्षा र स्वास्थ्यमा परिवर्तन चाहिएको छ ।’

नेपालको विकास मोडलमा समस्या देखेको भन्दै युवा पुस्ता र पुराना पुस्तालाई रिझाउने गरी उनले आफ्नो भाषण गरेका थिए । मैले इन्जिनियरिङ पढें । बुझ्दा हामीले गरिरहेको विकास गलत रहेछ । २०७२ को भूकम्पमा सय वर्ष पुरानो माटाका घर नभत्किने, आधुनिक घर भत्किने यो किन भयो ?’ शाह थप्छन्, ‘एउटा मात्रै मापदण्ड भनेर वा फलाम बढी हाल्दैमा विकास दिगो हुन्छ भन्ने मानसिकता गलत छ ।’

काठमाडौंको विकास भए पनि व्यवस्थित नभएको भन्दै मेयर जितेर व्यवस्थित शहर बनाउने बालेनले बताएका थिए । अव्यवस्थित शहरको चिनारी पाएको काठमाडौंलाई ट्राफिक जाम र प्रदूषण नियन्त्रण गरेर व्यवस्थापन गर्ने, रैथाने सामग्रीहरू नै प्रयोग गरेर उत्कृष्ट शहर बनाउने उनको वाचा थियो ।

अहिले बालेनका तिनै वाचाहरूको परीक्षण भइरहेको छ । उनी निर्णय लिने बेलामा जति चुस्त र स्पष्ट देखिन्छन्, त्यसलाई वडाध्यक्ष र सरोकारवालाको विश्वासमा अघि बढाउन भने उदासीन ।

चुनाव जित्ने बित्तिकै बालेन बञ्चरेडाँडा पुगेर प्रभावितहरूलाई सहानुभूति दिनेदेखि प्रधानसेनापति प्रभुराम शर्मालाई भेट्ने कामसम्म गर्दै थिए । उनले फरक छवि निर्माणको संकेत गर्न थालिसकेका थिए । उनले पहिलो नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरे ।

बालेनले काठमाडौंमा वर्षौंदेखि अनधिकृत रूपमा रहेको भनिएको सार्वजनिक जग्गा फिर्ता ल्याउन डोजर चलाए । नक्सामा पार्किङ उल्लेख भएको तर व्यावहारिक रूपमा अन्य प्रयोजन भइरहेको वेसमेन्टहरूमा पार्किङ खुलाए । कतिपय ठाउँमा पार्किङ खुलाउन डोजर नै प्रयोग गरे । एक्साभेटर एउटा निर्जीव यन्त्र हो, जबकि बालेनको डोजरका रूपमा केही समयसम्म पर्याय नै बन्न गयो ।

बालेन नेतृत्वको महानगरले अल्फाबिटा बानेश्वरको वेसमेन्टमा पार्किङ हटाउन भन्यो तर अटेर गरेपछि बालेन आफैं उपस्थित भए । उनले नक्सा माग्दा अल्फाविटाका प्रतिनिधिले नक्सा छैन भन्ने जवाफ दिएका थिए । त्यसपछि उनले आफैं नक्सा ल्याएर डोजर चलाए । बालेनको उक्त कदमको चर्चा देश–विदेश सबैतिर भयो ।

महानगरका मेयर भए पनि बालेनले छिमेकी भारत र चीनसँग जोडिएका मुद्दामा राष्ट्रियताका नारा मुखर गर्न अघि सरे । उनले केही हिन्दी चलचित्रको विरोध गर्दै काठमाडौंको हलमा लगाउन नदिने निर्णय गरे ।

चीनले सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको लिपुलेक, लिम्पियाधुराको नक्सा नराखेको भन्दै उनले चीन भ्रमण रद्द गरे । भारतीय संसदमा अखण्ड भारतको सांस्कृतिक मुरल राखिएपछि त्यसको प्रतिवादमा बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखे, जसलाई कतिपयले अतिराष्ट्रवादको बाटोमा हिंड्न खोजेको अर्थमा लिए ।

बालेनको शैली स्वच्छन्द देखिए पनि त्यसका पछाडि भविष्यमा उनी मूलधारको केन्द्रीय राजनीतिमा छिर्न सक्ने योजनाबद्ध सनकका रूपमा उनलाई चिन्ने–जान्नेहरू व्याख्या गर्छन् । ‘बालेनले चुनावमा देखाएको शक्तिले देशमा जनतामा भएको निराशाले विद्रोह खोजिरहेको छ भन्ने देखायो, त्यही आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता दलहरू आएका हुन्’ राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेता भन्छन्, ‘काठमाडौंको विद्रोहले राजनीतिक दलहरूलाई तर्साएको पनि सत्य हो ।’

‘किनभने बालेन नयाँ हुन्, नेक्स्ट जेनेरेशन लिडरका रूपमा नेपाली समाजको पुस्तान्तरण गराउन उनले सक्छन्’ ढकालले भने, ‘हामीले उनी जस्तो युवा नेतासँग नै काम गर्ने हो ।’

बालेन इफेक्ट दलहरूमा कतिसम्म पर्न गयो भने चुनाव, उपचुनावमा उम्मेदवार उठाउँदा होस् या अरू राजनीतिक नियुक्ति र अवसरहरूमा ठूला दलहरूले युवाहरूलाई परोक्ष प्राथमिकतामा राख्न थालेका छन् । विगतमा एकआपसमा लडिरहेका कांग्रेस, एमाले, माओवादी लगायतले अब नयाँ सम्भावित प्रतिस्पर्धी उदाउने हो कि भनेर ध्यान दिन थालेको देखिन्छ ।

रास्वपाबाट निलम्बित महामन्त्री मुकुल ढकाल बालेनको उदय नेपाली राजनीतिमा नयाँ पुस्ता र नयाँ सोचको ‘लिप’ अर्थात् छलाङ भएको बताउँछन् । मुकुलले रास्वपाभित्र अब कांग्रेस, एमाले या माओवादीबाट आएका थकित र परीक्षित पात्रसँग होइन, बालेन र उनी जस्तै हुटहुटी, समर्पण भएका युवासँग हातेमालो गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

‘किनभने बालेन नयाँ हुन्, नेक्स्ट जेनेरेशन लिडरका रूपमा नेपाली समाजको पुस्तान्तरण गराउन उनले सक्छन्’ ढकालले भने, ‘हामीले उनी जस्तो युवा नेतासँग नै काम गर्ने हो ।’

यसअघिका नेताहरूबाट मतदाताहरू वाक्क भएकाले अब अर्को चुनावसम्म पुग्दा वैकल्पिक नेतृत्वको खोजी नयाँ चरणमा पुग्ने विश्लेषकहरू ठान्छन् । बालेन आफूलाई सकभर आम नागरिकबाट टाढै राख्छन् । प्रेससँग खुल्दैनन् । सोसल मिडिया नै उनको शक्ति भएको छ । फेसबुकमा उनका २० लाख बढी फलोअर्स छन् ।

बालेनको प्रशंसा हुनुको मुख्य कारण चाहिं संघीयतामा आफ्नो शक्ति चिनेर त्यसको अभ्यास गर्नु हो । नेपाल संघीयतामा गइसकेपछि स्थानीय निकायहरू स्थानीय सरकार भए । संविधानमा स्थानीय सरकारलाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाकै अधिकार रहेको छ । संघीयतामा गइसकेपछि दोस्रो चोटिको स्थानीय सरकारको चुनाव हुँदा बालेन काठमाडौंका मेयर बनेका हुन् ।

भनिन्छ– हनुमान आफू उड्न सक्छु भन्ने बिर्सन्थे, अरूले सम्झाउनुपथ्र्यो । संघीयतासँगै स्थानीय तहमा गएको अधिकार बारे सबैजसो पालिका प्रमुख अनभिज्ञ जस्तो देखिन्थे । साथै, दलको मातहत रहेर काम गर्दा उनीहरू संवैधानिक अधिकारको प्रयोग गर्न पनि डराउँथे । स्वतन्त्र रूपमा काठमाडौंको मेयरमा विजयी भएपछि बालेनले पालिका प्रमुखको अधिकार के हो भनेर सन्देश दिनसके ।

यसअघिका मेयर विद्यासुन्दर शाक्य, अनि अन्यत्रका पालिका प्रमुखले पर्याप्त मात्रामा आफ्नो अख्तियारी अनुसार भूमिका नखेलेको चर्चाबीच बालेनले देखाएको अधिकार क्षेत्रको प्रयोग नै उनलाई सबैका सामु चिनाउने विषय बन्न गएको छ । किनभने अधिकांश स्थानीय सरकारहरू संघीय र प्रदेश सरकारहरूको निकाय जस्तै भए भनेर गुनासो बढ्दै गर्दा काठमाडौं महानगरको नेतृत्व बालेनले गरेपछि स्वायत्त भएर काम गर्न खोजेको देखियो ।

‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ’ बालेनले चर्को भाषामा सिंहदरबारलाई काउन्टर दिएका थिए । गैरीगाउँमा सुकुम्बासी बस्ती हटाउन संघीय सरकार (गृह मन्त्रालय)ले असहयोग गरेको भन्दै आक्रोशित मेयरले काठमाडौं महानगरपालिकामा सडक मिचेर राखिएका प्रहरी बिट हटाउन लगाए ।

संघीय सरकार र काठमाडौं महानगरपालिकाको गतिविधि हेर्ने हो भने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछि निरन्तर टकराव चलिरहेको छ । काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्ती खाली गर्न जाँदा भएको तनाव पछि मेयर बालेनले गृह मन्त्रालय अन्तर्गतका प्रहरी, प्रशासनले असहयोग गरेको आरोप लगाउँदै आएका छन् ।

त्यतिबेला नगर प्रहरी माथि सुकुम्बासी बस्तीका स्थानीयले आक्रमण गर्दा सुरक्षा निकाय टुलुटुलु हेरेको भन्दै बालेनले गृह मन्त्रालयले असहयोग गरेको बताएका थिए ।

इन्जिनियर र्‍यापरले गरेको स्वतन्त्र विद्रोहले नेपालका राजनीतिक दलहरूलाई ‘खतरा’को घण्टी मात्रै बजाएको छैन, हजारौं युवाहरू नेपालको राजनीतिप्रति जिज्ञासु बनेका छन् ।

गृह मन्त्रालयसँग असन्तुष्ट बालेनले आफ्नै सुरक्षा माथि खतरा भएको भन्दै रवि लामिछाने पहिलो चोटि गृहमन्त्री हुँदा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा एक निवदेन दिंदै उनले पिएसओ मागेका थिए । तर जिल्ला सुरक्षा समिति र गृह मन्त्रालयले नगर प्रहरीले सुरक्षा दिइरहेको भन्दै व्यक्तिगत सुरक्षाको लागि जनशक्ति दिएको थिएन ।

स्थानीय सरकारको रूपमा सञ्चालन हुन थालेपछि काठमाडौं महानगरपालिकाले व्यक्तिगत तवरमा घर बहालमा लगाउने बाहेक संस्थागत तथा कर्पोरेट करदातासँग पनि उठाउन खोज्यो तर सकेको छैन । महानगरका मेयर बालेन निर्वाचित भएर आएपछि महानगरले कर्पोरेट र संस्थागत घरधनीसँग कुल बहाल आयको १० प्रतिशत कर तिर्नु भन्दै ताकेता गरे पनि सकेको छैन ।

उनले संघीय सरकारले असहयोग गरेको भन्दै बारम्बार लेख्ने गरेका छन् । स्थानीय तहभित्र रहेको सडकमा पनि संघीय सरकारले हस्तक्षेप गरिरहेको बालेनको बुझाइ रहेको छ ।

निकट साथीहरूका अनुसार बालेन अहिले देशको अवस्थादेखि दिक्दार भए पनि हार मान्ने पक्षमा भने छैनन् । ‘नेपालका अहिले भइरहेका अधिकांश नेताहरूले आफ्नो खुबी देखाउन सक्दैनन् भन्नेमा बालेन प्रष्ट छन् । उनले अन्यत्र नसके पनि महानगरमा अहिले काम देखाउन भनेर लागिपरेका छन् तर संघीय सरकारको कानुनी अड्चनले दिक्दार बनाउने स्थिति रहेछ’, उनका एक साथीले भन्छन् ।

इन्जिनियर र्‍यापरले गरेको स्वतन्त्र विद्रोहले नेपालका राजनीतिक दलहरूलाई ‘खतरा’को घण्टी मात्रै बजाएको छैन, हजारौं युवाहरू नेपालको राजनीतिप्रति जिज्ञासु बनेका छन् । बालेनलाई चालीस वर्षभन्दा मुनिका चालीस युवाको सूचीभित्र समेट्ने यो महत्वपूर्ण कारण बन्न गएको छ ।

अमृत चिमरिया