+

भान्सेले फैलाएको रेस्टुरेन्ट साम्राज्य

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
नेपाली रेस्टुरेन्टमा काम गर्ने एउटा भान्सेले ‘नेपालमै केही गर्न’ खोज्दा हत्तपत्त ऋण नपत्याउने समाजमा उसले दुःखजिलो गरेर खोलेको ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ यसरी फैलियो कि आज त्यसका १५२ वटा त ‘आउटलेट’ नै छन् ।
बसन्त लामा

न्यून मध्यम वर्गको एउटा युवा एसएलसी सकेर दोलखाबाट पढ्न काठमाडौं छिर्‍यो । अध्ययन गर्दै शहरमा बाँच्न केही काम गर्नै पथ्र्यो । काम खोज्दै जाँदा उसले कुकको काम पायो । तर, ‘काम गर्दै पढ्दै’ भन्न मात्रै सजिलो । उसले बीचमै पढाइ छाड्यो ।

अनि सुरु भयो वसन्त लामा (३६) को होटल रेस्टुराँमा काम । ७/८ वर्ष कुकको काम गरिसकेपछि उनलाई लाग्यो– सीप निखार्नुपर्छ । कडा मिहिनेतपछि उनी दक्ष कुक त बने तर आम्दानी न्यून नै थियो ।

आशा र सपनाबाट डोेहोरिंदै अरू धेरै युवा जस्तै वसन्त पनि वैदेशिक रोजगारीका लागि दुबई हान्निए । ७/८ वर्ष कुक बनेर भान्साको चौघेराभित्र अडिन सकेका उनी विदेशमा ८/९ महिना पनि अडिन सकेनन् । नेपाल फर्किए । तर नेपाल फर्कंदा उनी थप दक्ष र अन्तर्राष्ट्रिय स्तरको ‘फुड कल्चर’ सँग परिचित कुक थिए ।

व्यावसायिक ढाँचाहरूका बारेमा पनि धेरथोर परिचित भएकोले नेपालमै ‘केही गर्ने’ सोच बनाए । तर के गर्नु देशमै ‘केही गर्छु’ भन्दा कत्तै सहजै ऋण नपाइने तर विदेश जान्छु भन्दा सबैले पत्याउने अवस्था थियो ।

‘विदेश जानु नराम्रो होइन, धेरै कुरा सिकिन्छ, केही कमाइन्छ पनि’ उनी भन्छन्, ‘तर सीप, अनुभव र पूँजी बोकेर देशमै केही गर्नुपर्छ । यही सोचेर म पनि फर्किएको थिएँ ।’

अनि जन्मियो बर्गर र चिकेनको स्टेसन

भुइँचालो र भारतको नाकाबन्दीले २०७२ साल व्यावसायिक हिसाबले अनुकूल रहेन । सर्वसाधारणको जनजीवन अस्तव्यस्त थियो नै, काठमाडौंमा स्थापित धेरै पसल तथा रेस्टुरेन्ट बन्द भएका थिए । तर, वसन्तले त्यही प्रतिकूलतामा अनुकूलता खोजे ।

यो अप्ठ्यारोलाई कसरी अवसरमा बदल्ने ? यही प्रश्नको उत्तर खोज्दा भर्खरै अढाइ दशक टेकेको युवाले ३० चैत २०७२ मा काठमाडौंको शंखमूलमा खोले– ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन ।’

दोलखाको मोलुङ गाउँपालिका–३ मा जन्मेका लामाले त्यसअघि पाटनको मंगलबजारमा बर्गर र स्टिक फुड सहितको क्याफे सञ्चालनमा ल्याएका थिए, तर राम्ररी चलेको थिएन । नयाँ रेस्टुरेन्ट खोलिसकेपछि पनि वसन्तसँग द्विविधा बाँकी नै थियो कि कतै नयाँ उद्यम पनि नाफामा नजाने पो हो कि ?

बौद्धमा बसोबास, पाटनमा रेस्टुराँ ! वसन्त शंखमूलको बाटो भएर पाटन पुग्थे । शंखमूलमा धेरै रेस्टुरेन्ट भए पनि सबै राम्ररी चलेको देखे । उनका लागि चुनौती थियो, त्यहाँ भएका भन्दा फरक गर्ने ।

यही पृष्ठभूमिमा खुलेको थियो वसन्तको नयाँ रेस्टुरेन्ट । नयाँ रेस्टुराँका लागि ठाउँ छनोट गर्न र त्यसमा नयाँ विशेषताहरू थप्न उनले सक्दो मिहिनेत गरे । काठमाडौंका गल्ली–गल्लीमा मःम (मोमो), चाउमिन जस्ता परिकार खुवाउने रेस्टुरेन्ट त प्रशस्तै भेटिन्थे तर, बर्गर तथा क्रन्ची चिकेन खुवाउने रेस्टुरेन्ट निकै कम । उनलाई लाग्यो, ‘उचित मूल्यमा क्रन्ची फ्राइड चिकेन र बर्गर खुवाउने रेस्टुराँले राम्रो व्यापार गर्न सक्छ ।’

अनि लागे यो व्यवसायमा । अनुभव बटुलिसकेका कारण उनलाई रेस्टुरेन्टको पूर्वाधार बनाउन र डेकोरेसन गर्न असजिलो भएन । लगानी धेरै परिसकेको थियो, नचले त बर्बाद हुन्छ भन्ने भय भने मनमा थियो नै । केही साथीहरूसँग मिलेर उनले ४० लाख रुपैयाँ जुटाए । बैंकबाट ३० लाख ऋण लिएर ७० लाख रुपैयाँ लगानीमा रेस्टुरेन्ट सुरु भयो ।

यसका लागि फर्निचर, सरसामान आफैंले जुटाए । थोरै कर्मचारी राखे । व्यवसाय थालेको ६ महिनासम्म खासै चलेन । ‘सुरुमा ग्राहकहरू बर्गर र चिकेन परिकार मात्रै पाइने रै’छ भनेर गेटबाटै फर्किने गरेका पनि थिए’ उनले भने ‘तर हामीले बोलाएर देखाउने र परिकार चखाउने रणनीति अवलम्बन गर्‍यौं ।’

फ्रेञ्चाइजको सफलता

खाना चखाउनुका साथै उनले लाइभ म्युजिकको पनि व्यवस्था गरे । थप ग्राहक आकर्षित हुनथाले । विस्तारै केही नाफा हुनथाल्यो । त्यसपछि अर्को वर्ष त नाफा उत्साहजनक नै देखियो । उनले नाफा बचत गरेर राख्नेभन्दा थप लगानी गर्ने रणनीति बनाए ।

आफ्नो ब्रान्डलाई देशभरि फैलाउने लक्ष्यका साथ नयाँ आउटलेट सञ्चालनमा ल्याए । शंखमूलपछि मध्यबानेश्वरमा अर्को आउटलेट खुल्यो । त्यसपछि क्रमशः डिल्लीबजार, ठमेल, कोटेश्वरमा । पहिलो रेस्टुरेन्ट खोलेको दुई वर्षमा १० वटा आउटलेट सञ्चालनमा आए ।

क्रन्ची चिकेन र बर्गरको स्वाद नेपालीहरूले मन पराए । विस्तारै ग्राहकहरू क्रन्ची चिकेनका आउटलेटहरूमा थपिंदै जान थाले । त्यसले उनलाई उत्साह थप्यो । ‘सर्वसाधारणले हाम्रो परिकारलाई माया गर्न थालेपछि स्वाद र गुणस्तर परिष्कृत गर्दै त्यसलाई निरन्तरता दिन ध्यान केन्द्रित गर्न थाल्यौं’ वसन्त विगतको मिहिनेत सम्झँदै भन्छन् ।

खानाको परिकार, रेस्टुरेन्टका अन्य सेवा–सुविधा, परिकार शुल्क, लोकेसन जस्ता पक्षले व्यापारलाई ठूलो प्रभाव पार्ने उनको बुझाइ छ । ‘खानाको परिकार स्वादिलो हुनुपर्‍यो, औसत जागिर गर्नेले सहज रूपमा खान सक्ने शुल्क हुनुपर्‍यो, सर्वसाधारणको भीडभाड हुने क्षेत्र पनि हुनुपर्‍यो’, उनले भने ।

हाल देशभर बर्गर एण्ड क्रन्ची चिकेनका १५२ आउटलेट छन् । सम्भवतः यो नेपालको सबैभन्दा ठूलो फास्टफुड चेन हो । तर, ती सबै आउटलेट उनी आफैंले लगानी गरेका भने होइनन् ।

वसन्तले फ्रेञ्चाइज मोडलमा काम गरिरहेका छन् । अर्थात् यही ब्रान्डमा अन्य लगानीकर्ताले लगानी गरेर नयाँ रेस्टुराँ खोल्न सक्छ । ‘देशभर मेरो आफ्नै लगानीका १० वटा जति रेस्टुराँ छन्, बाँकी अन्यले लगानी गरेका हुन्’ उनले भने, ‘यसका माध्यमबाट सयौं नेपाली उद्यमी बनेका छन् ।’

एउटा आउटलेटमा सामान्यतया २/४ जना लगानीकर्ता हुन्छन् र त्यहाँ २०/२२ जना कर्मचारीले रोजगारी पाउँछन् । यसरी हेर्दा उनले उद्यमशीलता र रोजगारी सृजनामा पनि ठूलो योगदान गरिरहेका छन् । ‘हाम्रो रेस्टुरेन्टमा लगानी गर्नेले विदेश जानै पर्दैन, त्यहाँ गर्ने कमाइ यहीं हुन्छ’, उनी भन्छन् ।

देशकै ठूलो फास्टफूड चेनले अहिले ३ हजार बढीलाई रोजगारी दिइएको वसन्तले बताए । फ्रेञ्चाइज दिंदा रेस्टुराँ क्षेत्रमा अनुभव र सीप भएकोलाई दिइन्छ । सञ्चालनमा आएका धेरै आउटलेट नाफामै छन् ।
‘गुणस्तरका लागि कतिपय सामान काठमाडौंबाटै विभिन्न आउटलेटमा पठाउने गरेका छौं’ उनले बताए, ‘कतिपय सामान भने अनलाइन मार्फत भारतबाट मगाउने गरेका छौं ।’

वसन्तको रेस्टुराँमा काम गरेका थुप्रै युवा जनशक्ति सीप सिकेपछि विदेश उडेका छन् । ‘यहाँ कुक तथा वेटरको काम सिकेर विदेश गएका साथीहरूले राम्रो गरेका छन् भन्ने सुन्दा खुसी लाग्छ’, उनले भने ।

देशभरका चेनमा एउटै गुणस्तर कायम गर्न वसन्त हरेक साता बौद्धस्थित प्रधान कार्यालयमा तालिम राख्छन् । बेलाबेलामा रेस्टुराँहरूमै गएर तालिम सञ्चालन पनि गर्छन् । ‘खानाको गुणस्तरमा पनि एकरूपता कायम होस् र नघटोस् भनेर विशेष ध्यान दिने गरेका छौं’, उनी भन्छन् ।

यतिबेला उनी व्यावसायिक रूपमा सफल छन् । अहिले अरू विभिन्न नामका बर्गर तथा क्रन्ची चिकेन रेस्टुरेन्ट पनि सञ्चालनमा छन् । तर अरूमा भन्दा आफ्नो रेस्टुरेन्टका परिकारको स्वाद भिन्न रहेको वसन्तको दाबी छ ।

‘हामीले उपत्यका बाहिरका आउटलेटका कर्मचारीलाई पनि परिकार बनाउने सीप सिकाएर, दक्ष बनाएर पठाउँछौं’ उनले भने । बर्गर तथा क्रन्ची हाउसमा विभिन्न भेराइटीका कफी, बर्गर, पिज्जा तथा चिकेनका २०० परिकार उपलब्ध हुने वसन्तको भनाइ छ ।

व्यवसायसँगै राजनीति

रेस्टुरेन्ट तथा अन्य खुद्रा व्यवसाय फस्टाउन तीन पक्षमा सुधार हुनुपर्ने वसन्तको निष्कर्ष छ । ‘घरजग्गाको व्यापार, शेयर बजार र सहकारी क्षेत्रमा सुधार हुँदा हाम्रा रेस्टुरेन्ट पनि धेरै चल्छन्’ उनले भने, ‘व्यक्तिको आम्दानी बढे न रेस्टुरेन्टमा हुने खर्च पनि बढ्छ !’

वसन्त भन्छन्, ‘आफूले जानेको र भोगेको क्षेत्रमा मात्रै हात हाल्नुपर्छ, अन्यथा लगानी गर्दैमा सबै बिजनेस सफल हुँदैनन् ।’ वसन्तको रेस्टुराँमा काम गरेका थुप्रै युवा जनशक्ति सीप सिकेपछि विदेश उडेका छन् । ‘यहाँ कुक तथा वेटरको काम सिकेर विदेश गएका साथीहरूले राम्रो गरेका छन् भन्ने सुन्दा खुसी लाग्छ’, उनले भने ।

नाकाबन्दी र कोरोना महाव्याधिको असरले व्यवसाय धेरै असहज बनेको अनुभव वसन्तले भुलेका छैनन् । ‘कोरोनाका बेला पसल बन्द गरेर पनि भाडा र कर्मचारीलाई तलब तथा सुविधा दिनुपर्दा आर्थिक रूपमा धेरै नै असर पर्‍यो’ उनले भने ।

वसन्त व्यवसायसँगै राजनीतिमा पनि क्रियाशील छन् । उनी दोलखाको मेलुङ गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पनि हुन् । काठमाडौंको व्यवसाय र दोलखाको राजनीतिलाई एकसाथ कसरी अगाडि बढाइरहेका छन् ? उनी भन्छन्, ‘जनताको सेवा गर्न पाउनु मेरो भाग्य हो । त्यसैले जिल्ला जाने–आउने गरिरहन्छु ।’

वसन्तलाई चालीस वर्षभन्दा मुनिका चालीस युवाको सूचीभित्र  समेट्दा मुख्य योगदान भने राजनीति नभई उनको व्यावसायिक जिम्मेवारी र त्यसले दिएको परिणाम नै मुख्य कारक बन्न गएको छ ।

कमल नेपाल