
शिक्षा मन्त्रालयले यस वर्षको ‘उत्कृष्ट राष्ट्रिय शिक्षा पुरस्कार २०८०’ बाट पुरस्कृत गर्ने सूचीमा भक्तकुमारी तामाङको पनि नाम छ । कोशी प्रदेशको शिक्षकतर्फ प्राथमिक तह शिक्षक तामाङ भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ३ सिक्तेलटारमा रहेको चन्द्रावती आधारभूत विद्यालय (कक्षा १–८) की प्रधानाध्यापक हुन् ।
पालिका कार्यालयबाट पनि धेरै टाढा रहेको विद्यालयको शैक्षिक गुणस्तर चित्तबुझ्दो रहेको बताउँछन् पालिकाका विद्यालय निरीक्षक मणिराम तामाङ । उनी भन्छन्, ‘यो स्कुल विकट ठाउँमा छ । अहिलेको जस्तो शैक्षिक गुणस्तर हुनु राम्रो हो ।’ भौगोलिक अवस्थितिका हिसाबले यो अवस्थालाई राम्रो मान्न सकिने उनको भनाइ छ ।
लामो समयदेखि विद्यालयको शैक्षिक गुणस्तर उकास्न भक्तकुमारीको नेतृत्वमा भइरहेको मिहिनेतको कारण शिक्षा मन्त्रालयले कोशी प्रदेशको उत्कृष्ट शिक्षकको रूपमा पुरस्कृत गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘प्रदेश सरकारले सिफारिस गरेको आधारमा मन्त्रालयले निर्णय गरेकोले के के आधारमा सिफारिस हुनुभयो त भन्न सकिनँ
तर, उहाँ लामो समयदेखि स्कुलको गुणस्तर बढाउन प्रयास गरिरहनुभएको छ त्यसैले सिफारिसमा पर्नुभयो होला ।’
स्वयं भक्तकुमारीलाई के लाग्छ ? उनी भन्छिन्, ‘मैले विद्यालय सकेसम्म राम्रो बनाऊँ भनेर मिहिनेत गरिरहेकी छु । यसमा कक्षा ८ को नतिजाले पनि थप सहयोग गर्यो होला भन्ने लाग्छ ।’ विद्यालयले नगरस्तरीय हुने कक्षा ८ को परीक्षामा केही वर्षयता शतप्रतिशत नतिजा निकालिरहेको छ ।
यसरी सुध्रियो सिकाइ
भोजपुर नगरपालिका (तल्लो काफ्ले) मा जन्मेकी भक्तकुमारी तामाङले भोजपुरको विद्योदय माविमा विद्यालय तह, भोजपुर क्याम्पसमा बीकम र धनकुटा बहुमुखी क्याम्पसबाट एकवर्षे बीएड अध्ययन पूरा गरेकी छिन् ।
जागिर खाने सिलसिलामा भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर टाढा रहेको तत्कालीन चन्द्रावती प्रावि (कक्षा १–५) करार शिक्षकको रूपमा २०५२ साल जेठमा प्रवेश गरिन् । तत्कालीन प्रधानाध्यापकको सरुवा भएपछि सो पदमा करारमा शिक्षण सेवा गरिरहेकी भक्तकुमारीलाई प्रधानाध्यापकको समेत जिम्मेवारी दिइयो ।
२८ वर्षदेखि शिक्षकको रूपमा र २३ वर्षदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएकी भक्तकुमारीले चन्द्रावतीको गुणस्तर उकास्न सकेजति मिहिनेत गरिरहेकी छिन् । पहाडी जिल्लाको पनि दुर्गम क्षेत्रमा रहेको विद्यालयको नेतृत्व गरिरहँदा उनले विभिन्न उतारचढाव झेलेकी छिन् ।
चन्द्रावती प्राविमा उनले प्रधानाध्यापक पद सम्हाल्दा माओवादी र राज्यबीच युद्ध चलिरहेको थियो । त्यसले चन्द्रावती प्राविलाई प्रभाव नपार्ने कुरै थिएन । मुलुक द्वन्द्वमा गएपछि स्कुलमा त्यसको असर पर्यो । विद्यार्थीको शैक्षिक गुणस्तर धेरै खस्कियो ।
२०६३ सालमा राज्य र माओवादीबीच भएको शान्ति सम्झौतापछि जनजीवन सामान्य अवस्थामा फर्किन थाल्यो । विद्यालयहरू नियमित सञ्चालनमा आए । त्यसपछि विद्यालयको शैक्षिक गुणस्तर उकास्न विद्यालय, व्यवस्थापन समिति, शिक्षक सबै जुट्न थाले ।
विद्यालयको नेतृत्व गरिरहेकी भक्तकुमारी भन्छिन्, ‘शैक्षिक अवस्था सुधार गर्नुपर्छ भन्ने अरूलाई त थियो नै । त्यसमा म प्रधानाध्यापक भएकोले मलाई झन् बढी दबाब थियो ।’
ग्रामीण क्षेत्रको विद्यालय भएकोले सबै बालबालिकाका अभिभावकहरू खेतीकिसानी गर्ने छन् । आफ्ना बालबालिकालाई पढाउनुपर्छ भनेर थाहा पाउने भए पनि कामको व्यस्तताका कारण अभिभावकले बालबालिकाको पढाइमा ध्यान दिन सक्ने अवस्था थिएन । विद्यालयले समय–समयमा अभिभावक भेला गरेर प्रतिक्रिया लिने तथा आफ्ना बालबालिकाको पढाइमा ध्यान दिन सचेत गराउने गर्न थाल्यो ।
भक्तकुमारी भन्छिन्, ‘बालबालिकाको पढाइमा ध्यान दिन भन्छौं तर उहाँहरूमा पनि ध्यान दिनुपर्छ भन्ने सचेतना छ तर कामकै कारण भने जस्तो समय दिन सक्नुहुन्न ।’ विद्यालयले, शिक्षकले पनि अभिभावकको बाध्यता र अवस्थाको कारण बढी दबाब दिन सक्ने अवस्था छैन । त्यसैले अलि बढी शिक्षकहरूले नै मिहिनेत गर्नु परिरहेको छ ।
यसपछि गाउँको परिवेश बुझेका शिक्षकहरू आफैंले मिहिनेत गरिरहे । कक्षा ५ सम्म रहेको विद्यालयलाई २०६६ सालदेखि कक्षा ६, २०६७ सालमा ७ र २०६८ सालमा कक्षा ८ सम्म पुर्याइयो । सबैको पहल र प्रयासले राम्रो हुँदै गइरहेको बेला फेरि कोरोना आइपुग्यो । गाउँमा पनि संक्रमण देखिन थालेपछि लामो समय विद्यालय बन्द भयो ।
पहाडी ग्रामीण क्षेत्रका विद्यालयहरू पनि कोरोना महामारीबाट प्रभावित भए । प्रविधि र इन्टरनेटको पहुँच भन्दा टाढा थिए अधिकांश बालबालिका । अनलाइन कक्षाको कुनै सम्भावना थिएन । गाउँमा संक्रमण नफैलँदै त्रासका कारण विद्यालय बन्द भए । बालबालिका विद्यालय आउन छाडे । रेडियोमा भनिए जस्तो लक्षणहरू गाउँमा देखिन थाल्यो । तर, कसैको जाँच भएन ।
अवस्था गम्भीर नभए पनि एककिसिमको त्रास फैलियो । देखिएको लक्षणले कोही गम्भीर नभएपछि क्रमशः त्रास कम हुँदैगयो । तर, पनि विद्यालय खोलिहाल्न सक्ने स्थिति थिएन । त्यसपछि भक्तकुमारी सहित शिक्षकहरू टोल–टोलमा गएर बालबालिकालाई गृहकार्य दिने, जाँच्ने, केहीपछि विद्यालयमा नै आलोपालो बोलाएर गृहकार्य दिने काम हुँदैगयो ।
करिब डेढ वर्षपछि मात्रै विद्यालय सामान्य रूपमा खुल्यो । त्यसबेलासम्म बालबालिकाको पढाइमा नराम्रो असर परिसकेको थियो । त्यसपछि आफू सहित शिक्षकहरूले धेरै नै मिहिनेत गर्नु परेको बताउँछिन् भक्तकुमारी ।
यसरी विद्यालयलाई सबभन्दा धेरै शिक्षक अनि व्यवस्थापन समिति र अभिभावकले साथ दिएका कारण अहिले शैक्षिक गुणस्तर राम्रो भन्न सकिने अवस्थामा पुर्याउन सकेको उनी बताउँछिन् । भक्तकुमारी भन्छिन्, ‘भने जस्तो नै त भएको छैन तर राम्रो भन्न सकिने तहको काम भएको छ । बाँकी त पालिकाले मूल्यांकन गरिरहेकै होला ।’
षडानन्द नगरपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयहरूलाई विभिन्न लक्ष्य दिएको छ । त्यसमध्ये हरेक वर्ष दुई प्रतिशत बढी शैक्षिक गुणस्तर उकास्नुपर्ने लक्ष्य छ । चन्द्रावती आधारभूत प्राथमिक विद्यालयले धेरै विषयमा पालिकाले दिएको लक्ष्य भन्दा बढी प्रगति गरिरहेको छ र केहीमा भने लक्ष्यसम्म मात्रै पुग्न सकिरहेको अवस्था छ ।
प्रधानाध्यापक भक्तकुमारी भन्छिन्, ‘पालिकाले दिएका लक्ष्यहरू धेरैमा राम्रो प्रगति भइरहे पनि केही विषयहरूमा भने मुश्किलले पुगिरहेका छौं, त्यसमा मिहिनेत गरिरहेका छौं ।’ विद्यालयले पछिल्लो समय अभिभावक भेला र छलफललाई बाक्लो बनाइरहेको छ ।
तर, दुःखको कुरा बसाइँसराइ तथा घट्दो जन्मदरका कारण दुर्गम पहाडी भेगमा हरेक वर्ष विद्यार्थी संख्या घट्दै गइरहेको छ । पहिला बस्ती बाक्लो हुनुको साथै एउटै घरमा तीन जनादेखि पाँच जनासम्म बालबालिका हुन्थे । ती सबै गाउँकै विद्यालयमा पढ्थे । अहिले बसाइँसराइले गाउँ पातलिएको छ । घरमा अहिले एक वा दुई बालबालिका हुन्छन्, तिनलाई पनि सकेसम्म शहर/बजारको अंग्रेजी माध्यमको विद्यालयमा पढाउने अभिभावकको चाहना हुन्छ ।
विद्यार्थी संख्या घट्दै जाँदा भक्तकुमारी र शिक्षकहरूलाई पीर लागिरहन्छ । तर पनि उनीहरू उपाय निकालेर विद्यार्थी आकर्षित गर्न खोजिरहेका छन् । विद्यालयको भौतिक पूर्वाधार बनाउन र बालबालिकाको अरू सुविधा जुटाउन विद्यालयले देउसीभैलो खेल्छ । अरू विभिन्न कार्यक्रम गरेर आर्थिक रकम जुटाउने गरेको छ । यसरी जुटेको रकम कपी, पेन्सिल, झोला किन्न नसक्ने बालबालिकाको लागि खर्च गर्ने गरिन्छ ।
वडामा रहेको अन्य ६ वटा विद्यालयमध्ये यो उत्कृष्ट रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थबहादुर बस्नेत दाबी गर्छन् । वडा सदस्य समेत रहेका बस्नेत भन्छन्, ‘वडाका अन्य विद्यालयको तुलनामा हाम्रो स्कुल उत्कृष्ट नै हो ।’
प्रधानाध्यापक तामाङको निरन्तर प्रयास र जिम्मेवारीप्रतिको लगावले विद्यालयको गुणस्तर बढेको उनको भनाइ छ ।
शिक्षा मन्त्रालयले पुरस्कृत घोषणा गरे पनि पदक तयार हुन नसकेको हुँदा भक्तकुमारीले पदक भने पाउन सकेकी छैनन् । आफूले पुरस्कारको विषयमा चासो राखेर सोधीखोजी नगरेको उनले बताइन् । प्रदेशले केको आधारमा सिफारिस गर्यो भन्ने जानकारी नपाए पनि आफुले गरिरहेको मिहिनेत र स्थानीय नगर स्तरीय कक्षा ८ को नतिजाको कारण होला भन्ने अनुमान गरेको उनको भनाइ छ ।
शिक्षकहरूले प्रत्येक विद्यार्थीलाई आवश्यक समय दिन सकिरहेकोले नतिजा राम्रो आइरहेको उनको भनाइ छ ।
भक्तकुमारीले विद्यालयलाई पारदर्शी तथा चुस्तदुरुस्त रूपमा सञ्चालन गरिरहेकोले अहिलेसम्म अर्को प्रधानाध्यापक बनाउने विषयमा सवाल नै नउठेको पालिकाको भनाइ छ ।
प्रधानाध्यापक भक्तकुमारी आफ्नो विद्यालयलाई सुविधासम्पन्न शहरको विद्यालय सरह बनाउन नसके पनि गाउँका अभिभावक तथा बालबालिकाको पहिलो रोजाइ बनाउन लागिपरेकी छिन् । भन्छिन्, ‘यहाँका अभिभावक तथा बालबालिकाको पहिलो रोजाइ हाम्रो विद्यालय बनोस् भन्ने लाग्छ, त्यस्तो बनाउने प्रयास जारी छ ।’
- नुनुता राई