+

भारतमा मःम बेच्ने अर्बपति

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
काभ्रे पात्लेखेतका विनोदकुमार हुमागाईंले एकजना साथीसँग मिलेर शुरू गरेको कम्पनी ‘वाउ मोमो’ को मूल्यांकन अहिले ३० अर्ब भारु अर्थात् ४८ अर्ब नेपाली रुपैयाँ पुगेको छ । उनको यो सत्कर्मले भारतमा नेपालीहरूको परम्परागत पहिचान नै बदल्दै लगेको छ ।
विनोदकुमार हुमागाईं

लामो समयसम्म भारतमा काम गरिरहेका नेपालीहरूको आम छवि बहादुर, कुल्ली र दरबान थियो । तर, पछिल्लो समय त्यो पहिचानबाट माथि उठेर भारतमा अर्बपति बनेका नेपाली मध्ये हुन्– विनोदकुमार हुमागाईं (३९) । अझै रोचक के भने नेपाली रैथाने खाना मःम बिक्री गरेर उनी अर्बपति बनेका हुन् ।

उनले एकजना साथीसँग शुरू गरेको कम्पनी ‘वाउ मोमो’ को मूल्यांकन अहिले ३० अर्ब भारु अर्थात् ४८ अर्ब नेपाली रुपैयाँ पुगेको छ । काभ्रेपलाञ्चोक जिल्लाको पात्लेखेतका नारायणप्रसाद हुमागाईं पढाइको सिलसिलामा भारतको कोलकाता गएका थिए ।

समयक्रममा उनी त्यहीं बसोबास गरे । आफ्नो भन्दा पनि सन्तानको भविष्यको चिन्ता थियो । बालबच्चाको पढाइमा कुनै कमी नहोस् भनेर कोलकातामै काम गर्न थाले । डेभलपमेन्ट कन्सल्ट्यान्ट्स प्रालिमा लामो समय सेवा गरे । त्यहीं जन्मेका हुन्, जेठा छोरा विनोदकुमार हुमागाईं ।

६ महिनाको हुँदादेखि ७ वर्षसम्म उनले आफ्नो बाल्यकाल काभ्रेको पात्लेखेतमै बिताए । तर पढाइ सुरु गर्ने बेलामा उनी कोलकाता फर्किए । कोलकाताको सेन्ट जेभियर्स कलेजमा बिकम गर्ने धेरै साथीहरू ठूलाठूला कर्पोरेटहरूमा कसरी जागिर गर्ने भनेर सल्लाह गर्थे । तर, विनोद भने नोकरी होइन, स्टार्टअप सुरु गर्ने सोचमा थिए ।

‘हामी मध्यमवर्गीय नेपाली परिवारका मानिसमा व्यवसायको सोच आउँदैन, मारवाडी समुदाय व्यवसायकेन्द्रित हुन्छन्’ उनी सम्झन्छन्, ‘तर, व्यवसायमा सफल भइयो भने नोकरीले नदिने धेरै अवसर यसले दिन्छ, सबैभन्दा ठूलो कुरा समृद्ध बनाउँछ ।’

त्यही भएर उनी कुनै पनि हालतमा व्यवसाय गर्ने सोचमा थिए । ‘व्यवसायमा असफल नै भइयो भने पनि गुमाउनु केही थिएन, नोकरी गर्न त पछि पनि सकिन्थ्यो’, उनी भन्छन् । विनोद जस्तै सोचका अर्का सहपाठी थिए, सागर दर्यानी । उनीहरूले मिलेर व्यवसाय सुरु गर्ने सल्लाह गरे ।

तर, के गर्ने ? ‘नेपाली, मोमोको स्वाद मेरो जिब्रोमा बसेको थियो । भारतमा पनि दार्जीलिङ लगायत ठाउँमा यो परिकार लोकप्रिय थियो । यसलाई भारतभर स्थापित गर्न सकिन्छ भन्ने मलाई लाग्यो । मोमो व्यापार गरौं भनेर मैले सागरलाई प्रस्ताव गरें’, विनोद सम्झन्छन् ।

अहिले चारवटा ब्रान्डमा क्वीएसआरको चेन विस्तार गरिरहेका छन् उनीहरूले– वाउ मोमो, वाउ चाइना, वाउ चिकेन र वाउ कुल्फी । कुल्फी उनीहरूको सबैभन्दा नयाँ ब्रान्ड हो ।

मोमोको स्वाद सागरलाई पनि मन परेको रहेछ, उनीहरूबीच सहमति भयो– मोमो पसल सुरु गर्ने । बिकम तेस्रो वर्षको नतिजा पनि नआएका २०–२१ वर्षका दुई युवाले बल्लतल्ल ३० हजार भारु जम्मा गरे र मलमा एउटा सानो ‘मोबाइल कियोस्क’ बाट व्यवसाय सुरु गरे । सन् २००८ मा उनीहरूले सुरु गरेको मोमो पसलको नाम राखे– ‘वाउ मोमो !’

पसल सानो थियो, तर उनीहरूले सपना निकै ठूलो देखेका थिए । उनीहरू वाउ मोमोलाई म्याकडोनाल्ड, केएफसी जस्तो ठूलो ब्रान्ड बनाउन चाहन्थे । हुन पनि अहिलेसम्म १६ वर्षको यात्रा हेर्दा विश्वस्त हुन सकिन्छ, उनीहरू सही पदचाप पछ्याइरहेका छन् ।

भारतमा सबैजसो ठूला शहरका ठूला मल, सुपरमार्केट, विमानस्थल, फुड पार्क तथा अन्य व्यस्त बजारहरूमा यो क्विक सर्भिस रेस्टुरेन्ट (क्युएसआर) को आउटलेट देखिन्छ । भारतका विभिन्न ३२ शहरमा यो रेस्टुराँका ६८० भन्दा बढी आउटलेट खुलिसकेका छन् ।

यो भारतको सबैभन्दा ठूलो मोमो चेन बनेको छ, समग्र रेस्टुराँ चेनको संख्यामा हेर्दा पनि यो अग्रस्थानमै पुगिसकेको छ । यो रेस्टुराँको चेनले वास्तवमा भारतीयहरूको स्वाद नै परिवर्तन गरिदिएको छ । एक दशक अघिसम्म नेपालको रैथाने खाजा मोमोका बारेमा सुन्दै नसुनेका भारतीयहरूको जिब्रोमा अहिले त्यसैको स्वाद झुन्डिएको छ ।

यो मोमो चेन आफू मात्रै विस्तार भएको छैन, अन्य साना व्यवसायीलाई पनि व्यवसायको अवसर प्रदान गरिरहेको छ । दिल्ली, कोलकाता, मुम्बई लगायत अधिकांश भारतीय शहरका गल्ली–गल्लीमा ठेलागाडामा समेत मोमो खानेहरूको भीड देखिन्छ ।

भारतमा मोमोका पारखी र पसलहरू पहिलेदेखि नै थिए । तर, यसलाई देशभर लोकप्रिय खाजा बनाउने श्रेय भने वाउ मोमोलाई नै जान्छ । यो खानाको एउटा परिकार मात्रै नभएर ‘क्याटगोरी’ कै रूपमा स्थापित भएको हुमागाईं बताउँछन् ।

६ फिट लम्बाइ र ६ फिट चौडाइको एउटा सानो कियोस्कबाट सुरु भएको वाउ मोमोले चालु आर्थिक वर्षमा ७ अर्ब भारतीय रुपैयाँ (करिब ११ अर्ब ३४ करोड नेरु) को कारोबार गर्ने अनुमान छ ।

रेस्टुराँको चेन विस्तारका क्रममा उनीहरूलाई लगानीको लागि थप पूँजी आवश्यक भयो । त्यसपछि उनीहरूले सन् २०१५ मा एन्जल इन्भेस्टरहरूबाट पहिलो चरणको लगानी उठाए । त्यतिबेला नै कम्पनीको मूल्यांकन १०० करोड भयो र त्यसको १० प्रतिशत अर्थात् १० करोड भारु इन्डियन एन्जल नेटवर्कबाट उठाए ।

उनीहरूको व्यापार वार्षिक ५० देखि ६० प्रतिशतका दरले बढिरहेको थियो । त्यसलगत्तै सन् २०१७ मा दोस्रो चरणमा र २०१९ मा तेस्रो चरणमा उनीहरूले फन्ड संकलन गरे । सन् २०१९ मा उनीहरूको कम्पनीको मूल्य ८ अर्ब ६० करोड तय भयो र उनीहरूले टाइगर ग्लोबल म्यानेजमेन्टबाट १ अर्ब ३० करोड रुपैयाँ पूँजी भित्र्याए ।

यही साल सन् २०२४ को सुरुमै कम्पनीको मूल्यांकन २३ अर्ब भारु भई उनीहरूले चौथो चरणमा ४ अर्ब १ करोड भारु (६ अर्ब ६४ करोड रुपैयाँ बराबर) नयाँ लगानी संकलन गरेका थिए । कम्पनीमा मलेसियाको खजनाह नेशनल बर्हार्ड र ओक्स क्यापिटल म्यानेजमेन्टले त्यो लगानी गरेका थिए । आजका दिनमा विभिन्न एजेन्सीले गरेको मूल्यांकनका आधारमा कम्पनीको मूल्य ३० अर्ब भारुसम्म रहेको हुमागाईं बताउँछन् ।

अहिले चारवटा ब्रान्डमा क्वीएसआरको चेन विस्तार गरिरहेका छन् उनीहरूले– वाउ मोमो, वाउ चाइना, वाउ चिकेन र वाउ कुल्फी । कुल्फी उनीहरूको सबैभन्दा नयाँ ब्रान्ड हो । यी ब्राण्डहरूमध्ये कतिपयका फरक–फरक आउटलेट छन् भने कतिपय आउटलेटहरू सबै उत्पादन पाइने कम्बो किसिमका पनि छन् ।

साथै, प्याकेजिङ सहित फ्रोजन मोमोे बेच्ने एफएमसीजी उत्पादन पनि उनीहरूले सुरु गरेका छन् । यो सेग्मेन्टमा उनीहरूले थुक्पा तथा ‘कोको चार्ज’ नरिवल पानी (कोकोनट वाटर)को उत्पादन पनि छ । एफएमसीजी उत्पादनहरू केही एयरलाइन्सहरूले राख्न थालेका छन् भने निर्यात पनि सुरु भएको जानकारी हुमागाईंले दिए ।

अहिले कम्पनीले ६ हजारभन्दा बढीलाई रोजगारी दिइरहेको छ । ‘रेस्टुरेन्ट सेवामूलक व्यवसाय हो, यसमा धेरै मानिसले रोजगारी पाउँछन् । अहिले ५ हजार ८०० त पेरोलमै छन्, बाँकी अन्य कम्पनीहरूसँग सम्झौता गरेर लिएका कर्मचारी छन्’, उनले भने ।

यसरी कम्पनीले कसरी तीव्र विस्तार गर्न सक्यो भन्ने विषयमा विनोद भन्छन्– ‘हामीले परम्परागत मोमोलाई आधुनिकीकरण गर्‍यौं । भारतीयहरूको स्वाद अनुसार यसलाई ‘इनोभेसन’ पनि गर्‍यौं । हाम्रो अनुसन्धान र विकासको एउटा टिम छ, जसले विभिन्न स्वाद तथा परिकारको विकास गरिरहन्छ । सम्भाव्यताका आधारमा हामी बजारमा लैजान्छौं ।’

फुडकोर्टहरूमा १०–१२ प्रकारका मोमोका विकल्पहरू उपलब्ध भएको उनको भनाइ छ । कम्पनी ठूलो हुँदै गएपछि हुमागाईं र दर्यानीले आफ्ना पूर्व सहपाठीहरूलाई पनि साझेदार बनाउँदै लगेका छन् । अहिले उनीहरूसँगै सेन्ट जेभियर्समा पढेको साह एम रहमान र एल मुरलीकृष्णन सह–संस्थापकका रूपमा कम्पनीमा भित्रिएका छन् ।

दर्यानी कम्पनीको प्रमुख कार्यकारी अधिकृत समेत हुन्, जसले ब्रान्ड विस्तार तथा मार्केटिङको काम हेर्छन् । हुमागाईं कम्पनीको प्रमुख सञ्चालन अधिकृत हुन्, उनको जिम्मामा उत्पादन, गुणस्तर नियन्त्रण तथा अनुसन्धान र विकासको जिम्मेवारी छ । पछि आबद्ध भएका रहमानले लेखा तथा मुरलीकृष्णनले ब्रान्डिङ र मार्केटिङ हेर्ने गर्छन् ।

दुई वर्षभित्र १ हजार करोड अर्थात् १० अर्ब भारु कारोबार पुर्‍याउने लक्ष्य उनीहरूले राखेका छन् । ‘दुई वर्षकै बीचमा वाउ मोमोका आउटलेटको संख्या पनि १ हजार पुर्‍याउँदैछौं’, उनले भने । उनीहरूले अहिले भारतमै बजार विस्तारलाई प्राथमिकता दिएका छन् । तर, अन्तर्राष्ट्रिय बजारमा वाउ मोमोलाई पुर्‍याउने दिशामा अनुसन्धान भइरहेको पनि उनले बताए ।

आजको १० वर्षमा वाउ मोमोको भविष्य कस्तो देख्नुहुन्छ त भन्ने प्रश्नमा हुमगाईं भन्छन्, ‘हामी ग्लोबल फुड चेन बन्ने लक्ष्य लिएर हिंडेका छौं, संसारका धेरै देशमा वाउ मोमोका चेन हुनेछन्, हामी आईपीओमा गइसकेका हुनेछौं ।’

नेपालमा वाउ मोमो ल्याउने योजना के छ त भन्ने प्रश्नमा उनले भने, ‘आगामी तीन–चार वर्षमा दक्षिणएशियाका अन्य मुलुकमा पनि विस्तारको योजना छ, त्यसको पनि अनुसन्धान भइरहेको छ, त्यसै क्रममा नेपालमा पनि शाखा विस्तार हुनसक्छ ।’

सन् २०२७ सम्ममा सार्वजनिक निष्कासन (आईपीओ) मा जाने तयारीमा वाउ मोमो छ । ‘त्यसबेलासम्म कम्पनीको आकार ८ हजार करोड अर्थात् ८० अर्बको बन्ने लक्ष्य छ, त्यसपछि आईपीओमा जाने’, उनले भने । आफूहरूको लक्ष्य जतिसक्दो छिटो युनिकर्न (१ अर्ब अमेरिकी डलरको कम्पनी) बन्ने रहेको उनको भनाइ छ ।

‘चेञ्ज, इनोभेट एन्ड इभोल्भ’ आफ्नो बिजनेस मन्त्र भएको उनको भनाइ छ । ‘यो समय निकै परिवर्तनशील छ, यसमा परिवर्तन र नवप्रवद्र्धन गर्दै अघि बढ्न सकिएन भने जुनसुकै बेला पनि पछि पर्न सकिन्छ’, उनको भनाइ छ ।

भारतमा स्टार्टअपहरूलाई विस्तारका लागि सरकारी नीतिहरूले पनि ठूलो सहयोग गरेको विनोद बताउँछन् । ‘भारतमा क्षमता भएकालाई ठूलो अवसर छ, भारतमा मात्रै होइन, विश्वभर नै छ, विश्वका ठूला कर्पोरेटहरूको नेतृत्वमा भारतीयहरू हुनुले पनि यो पुष्टि गर्छ’, उनले भने ।

वाउ मोमोमा विगतमा १०० देखि डेढसय नेपालीले काम गर्ने गरेकोमा अहिले त्यो संख्या केही घटेको उनको भनाइ छ । उच्च तहमा केही सेफहरूले काम गरिरहेको उनले बताए । भारतमा लाखौं नेपालीले काम गरिरहेका छन् । पछिल्लो समय खासगरी भारतमै व्यवसाय गरेका र शिक्षा आर्जन गरी प्रतिस्पर्धी बनेका व्यावसायिक नेपालीहरू बढिरहेको हुमागाईंको अनुभव छ ।

‘नेपालले शिक्षामा लगनी गर्नुपर्छ, ताकि नेपालीहरू कामको खोजीमा होइन, अवसरको खोजीमा बाहिर जाने क्षमता राखुन्, भारतीयहरूलाई भारत र विदेशमा दुवैतिर अवसर छ, संसारका ठूला कम्पनीहरूमा भारतीय मूलका सीईओ छन्’ उनी बताउँछन्, ‘गुणस्तरीय शिक्षा र सीप प्रदान गर्न सक्ने हो भने त्यो क्षमता नेपालीहरूमा पनि छ ।’

भारतले प्रदान गरेको अवसरलाई आफूहरूले उपयोग गरेर उद्यमशीलताको क्षेत्रमा काम गरिरहेको उनी बताउँछन् । नेपालले पनि त्यस्तो अवसर सृजना गर्न सक्नुपर्ने उनको भनाइ छ । ‘भारतमा कुनै राजनीतिज्ञको सन्तान विदेशमा बस्दैन, तर नेपालमा त्यस्तो छैन । हरेक राजनीतिज्ञ र जनताले आफ्नो देशको स्वामित्वबोध गरेर अघि बढ्नुपर्छ, स्थायित्व प्रदान गर्नुपर्छ । अस्थिर देशमा कोही पनि लगानी वा काम गर्न आउँदैन’, उनी भन्छन् ।

जनार्दन बराल