+

बिमार जितेर बडीबिल्डर

पूरा सूची
Shares
कुनै बेला स्वास्थ्य ठीक बनाउन जीम जान थालेकी रजनी श्रेष्ठले विस्तारै आफूलाई बडीबिल्डरको उम्दा खेलाडी बनाइन् । उनले अहिलेसम्म राष्ट्रिय स्तर हुँदै दक्षिण एशियाली, एशियाली र विश्व स्तरका प्रतियोगितामा पदक जितिसकेकी छन् ।
रजनी श्रेष्ठ

रजनी श्रेष्ठ, शारीरिक सुगठन अर्थात् बडीबिल्डर खेलाडी । बडीबिल्डिङमा सामान्यतः पुरुष खेलाडी धेरै हुन्छन् । तर रजनी त्यस्ती पात्र हुन्, जसले नेपालबाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय पदक जितेकी छन् ।

रजनीले गत मंसिरमा माल्दिभ्समा सम्पन्न १५औं वर्ल्ड बडीबिल्डिङ एण्ड फिजिक च्याम्पियनसिप–२०२४ मा महिला ५५ केजी तौल समूहतर्फ रजत जितिन् । वर्ल्ड च्याम्पियनसिपमा उनको पहिलो प्रतिस्पर्धा थियो, र पदकविहीन हुनु परेन ।
‘गोल्ड ल्याउने लक्ष्य राखेकी थिएँ, तर सिल्भर ल्याएँ देशका लागि’, रजनी भन्छिन् । रजनीले राष्ट्रिय स्तर हुँदै दक्षिण एशियाली, एशियाली र विश्व प्रतियोगितामा पदक जितेकी छन् ।

थाहै नपाई बडीबिल्डर

रजनीले सन् २०१७ देखि खेल्न शुरू गरेकी हुन् । त्यो बेला महिलाका लागि कुनै क्याटेगोरीबारे नै उनलाई थाहा थिएन । विस्तारै बुझ्दै गइन् । बडीबिल्डिङमा बडीबिल्डिङ मात्र नभएर अरू विधा पनि हुन्छन् । जस्तै– मोडल फिजिक्स, फिजिक्स, स्विम सुट ।

शुरूमा रजनीले महिला फिजिक्स विधामा सहभागिता जनाएकी थिइन् । सन् २०१७ मा मिस्टर काठमाडौंमा सहभागी भइन् । त्यसमा उनी महिलातर्फ फिजिकमा पहिलो भइन् । त्यसपछि उनी आफैंले राम्रो बडी बनाउन युट्युब हेर्न थालिन् । प्रतियोगितामा भाग लिन भने एक वर्ष ग्याप राखिन् ।

सन् २०१९ मा रजनी फेरि स्टेज चढिन् । २०१९ मा सम्पन्न साउथ एशियन गेम्समा प्रतिस्पर्धा गर्दा रजनीको बडी स्ट्रक्चर नै परिवर्तन भइसकेको थियो । उनको शरीर फिजिकबाट बडीबिल्डिङको वेइट क्याटेगोरीमा पुगिसकेको थियो ।

‘२०१९ मा एकै पटक खेल्दा मेरो साइज बढी नै बनाइसकेकी रहेछु । साउथ एशियनमा मैले फिजिकमा खेलेकी थिएँ । जजहरूले तपाईंको जीउ एकदमै राम्रो छ, तर यो फिजिक भन्दा पनि बडीबिल्डिङ भयो भन्नुभयो’ रजनी भन्छिन्, ‘फिजिक भन्दा बडीबिल्डिङ खेल्नु भन्नुभयो । म झन् खुशी भएँ । मैले यति मिहिनेत गरिसकेकी रहेछु भन्ने भयो ।’

सन् २०२३ मा नेपालमै भएको ५५औं एशियन बडीबिल्डिङ च्याम्पियनसिपमा उनले आफ्नो फेभरेट विधा ५५ केजी समूहमा नेपालका लागि स्वर्ण जितिन् । यो उनको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक थियो ।

सन् २०१९ मा इन्डोनेसियामा हुने ५३औं एशियन बडीबिल्डिङ च्याम्पियनसिप नजिकिंदै थियो । उनले बडीबिल्डिङमै प्रतिस्पर्धा गर्ने सुझाव पाइन् । र, त्यसैमा तयारी गरिन् ।

नेपालबाट दिनेश राजभण्डारीसँगै रजनी पनि इन्डोनेसिया गइन् । बडीबिल्डिङमा सात फरक पोज दिनुपर्छ । यो फिजिक भन्दा फरक थियो । शुरूमा उनलाई पोजबारे धेरै जानकारी थिएन । तर विस्तारै बानी पारिन् ।

‘एक्लै आएकी छु भने मैले बेस्ट दिनुपर्छ भनेर बेस्ट दिएँ । नभन्दै देशको लागि सिल्भर ल्याउन पाउँदा आफैंमाथि गर्व लाग्यो’, उनी भन्छन् ।

त्यसबेला उनले महिला ५५ केजी तौल समूह र महिला ३० वर्षमाथिको विधामा गरी दुई पदक जितेकी थिइन् । ‘त्यतिखेरको फिलिङ व्यक्त गर्नै सक्दिनँ । एकदमै प्राउड मोमेन्ट थियो’ उनी भन्छिन्, ‘मलाई बडीबिल्डर रजनी श्रेष्ठ भनेर चिनाउन दिनेश दाइको ठूलो सहयोग छ ।’ यसपछि रजनीले लगातार महिला बडीबिल्डिङमै प्रतिस्पर्धा गर्न थालिन् ।

सन् २०२३ मा नेपालमै भएको ५५औं एशियन बडीबिल्डिङ च्याम्पियनसिपमा उनले आफ्नो फेभरेट विधा ५५ केजी समूहमा नेपालका लागि स्वर्ण जितिन् । यो उनको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक थियो । त्यो पनि आफ्नै परिवारको सामुन्ने जित्न पाउनु सुखद् क्षण थियो ।

यो स्वर्णपछि दक्षिण कोरियामा हुने १४औं वर्ल्ड बडीबिल्डिङ च्याम्पियनसिपको तयारी थालिन् । यद्यपि अन्तिम समयमा कोरियाको भिसा नआउँदा सहभागी हुन पाइनन् । काठमाडौंमा रजनीसँग पछि परेका खेलाडीहरूले त्यहाँ स्वर्ण र रजत जिते ।

रोगको उपचार जीम

मोरङकी रजनीले सानै उमेरमा विवाह गरिन् । छोरो जन्मियो । उमेरले तीन दशक हुँदा रजनीको स्वास्थ्यमा समस्या देखियो । घाँटीमा मासुका डल्ला देखिएपछि उनी आत्तिइन् । नेपालदेखि भारतका अस्पतालहरू पुगिन् ।

‘सबैतिर क्यान्सरको शंका गर्नुभयो । एक हप्ता औषधि खाँदा ठिक भएको जस्तो हुने । नखाँदा फेरि उस्तै हुने’ रजनीले भनिन्, ‘मैले डा. मीरा लगायत धेरैलाई देखाएँ । एक्सरे गरेर हेर्दा मेरो घाँटीमा २७–२८ वटा मासुका डल्ला छर्लङ्गै देखिन्थ्यो । त्यतिखेर मलाई बायोप्सी गर्नुपर्छ, यो निकाल्नुपर्छ भनेर भन्नुभयो । हामी घर फर्केर रातभरि रोयौं ।’

यस्तो समस्याले दुई वर्ष सतायो । डिप्रेसनकै तहमा पुगिन् । श्रीमान् र छोरा पनि चिन्तित थिए । एक दिन श्रीमान् समिर श्रेष्ठले रजनीलाई जीम जान सल्लाह दिए । जीम र फिटनेसले धेरै रोग निको भएको समिरले बताएपछि रजनी पनि जीम जान तयार भइन् । त्यो बेलासम्म उनलाई जीममा खासै रुचि थिएन ।

‘श्रीमान्‌सँगै मित्रपार्कमा रहेको अन्जन शाहीको जीममा गयौं’ रजनी भन्छिन्, ‘विस्तारै एक्सरसाइज गर्दै गएँ । जीम ओनर अन्जन शाही दाइ र मेरो श्रीमान्‌ले ट्रेन गराउनुभयो । मलाई वेइट ट्रेनिङमा फोकस गराउनुभयो । एक महिना–दुई महिना बित्यो । त्यसपछि छाम्दा सबै डल्लाहरू गायब भएछन् ।’

श्रीमान् भगवान् जस्तै बने । ‘गडले नै तिमी जीम जाउ अनि ठीक हुन्छ भन्नुभए जस्तो भयो’, उनी भन्छिन् । जीमबाट विस्तारै उनको शरीर परिवर्तन हुँदैगयो । रजनी फिट देखिन थालिन् । त्यत्तिकैमा अन्जन शाहीले मिस्टर काठमाडौंमा भाग लिन सुझाव दिए । श्रीमान्‌ले पनि सहमति जनाए । अनि शुरू भयो– रजनीको बडीबिल्डिङ करिअर ।

स्टेज उक्लेपछि ब्ल्याङ्क

रजनीको रोग निको भयो । शरीर राम्रो भयो । बडीबिल्डिङ प्रतियोगितामा भाग लिन थालिन् । तर एक छोराकी आमा । टु पिसमा प्रतिस्पर्धा गर्नुपर्ने । घर समाजले के भन्ला ? सहज हुने कुरै थिएन ।

‘जब मैले स्टेजमा जानुपर्छ पब्लिकको अघि टु पिसमा देखिनुपर्छ भन्दा एकदम नराम्रो लागेको थियो । घरपरिवार, छरछिमेक सबैले हेर्छ भन्ने भा’थ्यो’ रजनीले सुरुआती क्षणबारे भनिन् । तर त्यस्तो समस्या पनि समाधान हुँदै गयो । ‘जब म स्टेजमा जान्छु, कसरी बडी पार्टमा फोकस हुन सकुँ भन्नेमा ध्यान हुन्छ । अरू सबै ब्ल्याङ्क हुन्छ’, उनी भन्छिन् ।

आफूबाटै प्रभावित भएर सुदूरपश्चिमकी एक महिलाले त छोराछोरी हुर्किसकेपछि जीम गरेर बडीबिल्डिङमा लागेको रजनीले बताइन् । ‘सुदूरपश्चिमबाट एक जना सिस्टरले तपाईंलाई देखेपछि म पनि यो फिल्डमा लागें भनेर गर्व गर्नुभयो । म एकदमै भावुक भएँ ।’

स्टेज चढेपछि सबै बिर्सेर ब्लास्ट गर्ने कला नै रजनीको ऊर्जा बन्यो । ‘तिमी स्टेज बाहिर झोक्राएर बसेको जस्तो देखिन्छ्यौ, जब स्टेजमा जान्छ्यौ अचम्म गछ्र्यौ भन्छन् साथीहरूले’, उनी भन्छिन् । अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेल्न थालेपछि छरछिमेकले पनि कुरा बुझ्न थालेको उनी बताउँछिन् ।

रजनीको यो सफलतामा सबैभन्दा धेरै साथ त परिवारबाटै प्राप्त भएको छ । ‘परिवारबाट पूर्ण समर्थन छ’ उनी भन्छिन्, ‘एउटा पुरुषको सफलतामा महिलाको हात हुन्छ भने जस्तै मेरो सफलता पछाडि पुरुषको हात छ ।’

जीवन र माया

रजनीले बडीबिल्डिङमा लागेर प्राप्त गरेको सबैभन्दा ठूलो कुरा जीवन हो । त्यसपछि सारा नेपालीको माया । रोग लाग्दाकी रजनी र बडीबिल्डर रजनीको जीवनमा धेरै परिवर्तन छ । ‘एकदमै धेरै परिवर्तन भा’छ । पहिलो कुरा त नयाँ जीवन पाएकी छु । त्यसपछि सबैको माया पाएकी छु । जसलाई शब्दमा बयान गर्न सक्दिनँ’, उनी भन्छिन् ।

कतिसम्म भने उनलाई नेपालबाट मात्र नभई, छिमेकी भारतको दार्जीलिङ, भुटानबाट समेत फोन मेसेजहरू आउने गर्छन् । जसले उनलाई अझ धेरै उत्साह थपेको छ । ‘शुरूमा आफ्नो परिवार र छरछिमेकको माया पाएकी थिएँ, अहिले मलाई देशले माया गर्छ । जीवन परिवर्तन भा’छ । धेरैले फलो गर्नुहुन्छ, एकदम खुशी लाग्छ ।’

आफूबाटै प्रभावित भएर सुदूरपश्चिमकी एक महिलाले त छोराछोरी हुर्किसकेपछि जीम गरेर बडीबिल्डिङमा लागेको रजनीले बताइन् । ‘सुदूरपश्चिमबाट एक जना सिस्टरले तपाईंलाई देखेपछि म पनि यो फिल्डमा लागें भनेर गर्व गर्नुभयो । म एकदमै भावुक भएँ ।’

महिला फिटनेस सेन्टरहरू पनि धमाधम खुल्न थालेका छन् । ती सेन्टरको उद्घाटनमा रजनी पनि जान्छिन् । किनकि त्यसमा महिलाहरू धेरै हुन्छन् । महिलाहरूले घरको काम गरेर मात्र नपुग्ने र फिटनेसमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।
रजनीले रोगलाई जितिन् । राष्ट्रिय, अन्तर्राष्ट्रिय पदक जितिन् । चर्चा कमाइन् । रोल मोडल बनिन् । देश–विदेश घुमिन् । सबैको प्रिय भइन् । यति धेरै कुरा हुँदा पनि रजनीलाई केही कुरा अझै अपुग लाग्छ ।

‘यतिका वर्ष गेम खेलें । परिवारलाई समय दिन पा’छैन । दशैं तिहार कस्तो हुन्छ त्यो बिर्सिनै सकें । अब सबै परिवारसँग बसेर आनन्दले दशैं–तिहार मनाउने इच्छा छ’, उनले भनिन् ।

लेखक
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।