
वर्षौंदेखिका अन्धकार आँखामा उज्यालो रेखा कोरिंदाको क्षण शब्दमा वर्णन गर्न सकिंदैन । आमाबुबाले आफ्ना सन्तानको अनुहार पहिलो पटक देख्दा, उनीहरूको मुहारमा देखिने खुशीको चमक, हर्षका आँशु र मनबाट निस्कने भावना अद्भुत र अमूल्य हुन्छ ।
त्यो अवस्था झनै भावुक हुन्छ जब आमाले पहिलो पटक आफ्नो शिशुको अनुहार देख्छिन् । पहिलो नजर र त्यसपछि कस्सिने मायाको अँगालो जीवनभर अविस्मरणीय बन्छ । तीन दशकको चिकित्सा यात्रामा यस्ता धेरै क्षणको साक्षी हुन्, वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.रीता गुरुङ ।
आँखाको ज्योति फर्किएपछि धेरैले आफ्ना मनका गाँठा फुकाउँछन् । ‘कल्पना गर्नुहोस्, जन्म दिंदा आफ्नो बच्चालाई देख्न नपाएकी आमाले पहिलो पटक सन्तानको अनुहार देख्दा कस्तो अनुभूति गर्छिन् !’ डा. रीताले एक वर्ष अगाडि दुर्गम गाउँका आमा–छोराको संवाद सुनाउँदै भनिन्, ‘आमा, अब तपाईंले मलाई देख्न सक्नुहुन्छ !’ छोराको बोली भुइँमा खस्न नपाउँदै आमाको आँखाबाट बरर्र आँशु झर्छन् । वर्षौंदेखि अन्धकारमा बाँचेकी ती आमाले पहिलो पटक आफ्नो सन्तानको अनुहार हेर्दै भन्छिन्, ‘बाबु, तिमी त बुढो भइसकेछौ !’
दुर्गम पहाडी गाउँमा आयोजित आँखा शिविरको यो दृश्य साधारण थिएन । प्रत्येक दिनजसो यस्ता भावुक क्षणहरू देखिन्छन् । अनि उनीहरूको आँखामा छचल्किएको खुशीको आँशु अवर्णनीय हुन्छ । डा. रीता यस्ता दृश्य देख्दा भावुक हुन्छिन् । बिरामीले भगवान्को दर्जा दिंदा उनी भन्छिन्, ‘म केवल माध्यम हुँ, हजुरसँगको सम्बन्ध नै मेरो लागि सबैभन्दा ठूलो धन हो ।’
६८ वर्षीया डा. रीता नेपालको आँखा स्वास्थ्य क्षेत्रको एक दूरदर्शी र दक्ष नेत्ररोग विशेषज्ञ हुन् । तिलगंगा नेत्र विज्ञान संस्थानकी कार्यकारी निर्देशकको रूपमा उनले देखाएको क्षमता र समर्पण अतुलनीय छ ।
७० हजारभन्दा बढी सफल शल्यक्रिया मार्फत हजारौं नेपालीको जीवनमा उज्यालो छरेकी छिन् उनले । ओपीडीमा हजारौं बिरामी जाँचेकी छन् । तर, उनको दृष्टिकोण केवल शल्यक्रियामा सीमित छैन । तिलगंगा आँखा प्रतिष्ठानको नेतृत्व गर्दै गुणस्तरीय र किफायती आँखा स्वास्थ्य सेवालाई जनताको पहुँचमा पुर्याउने उनको अभियान प्रशंसायोग्य छ ।
विशेषगरी ग्रामीण क्षेत्रमा आँखा स्वास्थ्य सेवाको विस्तारमा उनको योगदान महत्वपूर्ण छ । दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय आँखा उपचार (मोतिबिन्दु शल्यक्रिया) सेवा प्रदान गर्न उनले निरन्तर पहल गरिरहेकी छन् ।
उनको नेतृत्वमा तिलगंगाले उपचार सेवा सँगै लेन्स उत्पादन, शैक्षिक तालिम र गुणस्तरीय आँखा शिविरहरू पनि सञ्चालन गरिरहेको छ । एक कुशल नेत्र रोग विशेषज्ञका रूपमा डा. रीताको विशेषज्ञता र नवीन सोचले नेपाललाई विश्व मानचित्रमा स्थापित गरेको छ । उनको नेतृत्वमा तिलगंगाले अन्धोपन न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ ।
यसले नेपाल र अन्य मुलुकका नागरिकको आँखा स्वास्थ्यमा सकारात्मक प्रभाव परेको छ । उनको साहस, दूरदर्शिता र समर्पणले थुप्रै युवा चिकित्सकलाई प्रेरित गरेको छ । डा. रीताको नेतृत्वमा तिलगंगाले विकास गरेको किफायती र प्रभावकारी आँखा हेरचाह मोडेल विश्वभर प्रशंसित छ ।
आमाले बनाएको आँखा डाक्टर
कास्कीको घान्द्रुकमा जन्मिएकी डा. रीता गुरुङको जीवनकथा संघर्ष र सफलताको मौलिक उदाहरण हो । ६ दशक अघिको नेपाली समाजमा, जहाँ छोरीलाई बोझ मानिन्थ्यो र छोरा भए मात्र स्वर्ग प्राप्ति हुने विश्वास गरिन्थ्यो, त्यस्तो रुढीवादी परिवेशमा आमा आशादेवीको सोचले रीतालाई यो स्थानसम्म पुर्यायो ।
माइली छोरीको रूपमा जन्मिएकी रीताको बाल्यकाल सरल थिएन । उनी सानै छँदा भारतीय सेनामा रहेका बुबा दानबहादुरले सन् १९६५ को भारत–पाकिस्तान युद्धमा सहादत प्राप्त गरे । बुबाको निधनपछि तीन छोरीको पालनपोषणको जिम्मेवारी आमाको काँधमा आयो । ‘आमाको दूरदर्शी सोच नै मेरो जीवनको आधार बन्यो’, रीताले आमा सम्झिन् ।
आमाले तीनै छोरीलाई काठमाडौंको बोर्डिङमा पढाइन् । गाउँमा खेती–किसानी गरेरै उनले छोरीको पढाइ खर्च जोहो गरिन् । महेन्द्र भवनबाट प्राथमिक शिक्षा पूरा गरेकी रीताले त्यसपछि चिकित्सा अध्ययन संस्थान हुँदै विदेशमा उच्च अध्ययनको मौका पाइन् ।
उनले रूसबाट एमबीबीएस पूरा गरिन् । त्यसपछि बेलायतमा आँखाको विशेषज्ञता हासिल गरेर नेपाल फर्किएपछि पोखराको हिमालय अस्पतालमा पहिलो नेत्र रोग विशेषज्ञको रूपमा सेवा गरिन् । बाल्यकालमा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. रामप्रसाद पोखरेलले आँखाको नानी फेरेको कथाले रीतालाई गहिरो प्रभाव पार्यो । र, उनलाई नेत्र विज्ञानतर्फ आकर्षित गर्यो ।
तिलगंगाको जग
नेपालमा आँखाका बिरामीका लागि केही गर्नुपर्छ भन्ने सोचका साथ डा. सन्दुक रुइत र डा. रीताले तिलगंगास्थित एउटा भवनमा अस्पताल सञ्चालन गर्ने योजना बनाए । थापाथलीको दुई वटा सानो कोठाबाट शुरू भएको तिलगंगाको यात्रामा दुई चिकित्सकबीच अटुट साझेदारी बन्यो ।
यसरी ३० वर्ष अगाडि (सन् १९९४) मा तिलगंगा स्थापना भएसँगै दुई चिकित्सकले समर्पित भएर काम गरे । ‘त्यो भुईंतलामा हामी तीन काम एकैसाथ गथ्र्यौं’ डा. रीता सम्झिन्छिन्, ‘एकातिर बिरामी जाँच, अर्कोतिर शल्यक्रिया र छेउमै लेन्स बनाउने काम ।’
एक जनाले शल्यक्रिया गर्थे, अर्काले बिरामी जाँच्थे । यसरी एक–अर्काको साथ र सहयोगमा तिलगंगाको जग बलियो हुँदैगयो । ‘एकैपटक ठूलो भवन बनाउने क्षमता थिएन हामीसँग’ डा. रीता ती दिन सम्झिन्छिन्, ‘दृढता र धैर्यले साना–साना इँटा जोड्दै आजको तिलगंगा निर्माण भएको हो ।’
हरेक नयाँ भवनसँगै उनीहरूको अनुभव बढ्दै गयो, जसले पछिल्ला विस्तारहरूलाई सहज बनायो । ‘कुनै पनि संस्थाको स्थापना, सञ्चालन र प्रतिष्ठा कायम राख्न सजिलो छैन । तर निरन्तर प्रयास, मिहिनेत र समर्पणले असम्भव लाग्ने कामलाई पनि सम्भव बनाउन सकिन्छ’, डा. रीताले तिलगंगासँगको अनुभव सुनाइन् । आज तिलगंगा विश्वस्तरीय संस्था बनेको छ ।
तिलगंगाले नै दुर्गम क्षेत्रमा २५ वटा सामुदायिक आँखा केन्द्र (कम्युनिटी आई सेन्टर) सञ्चालन गरेको छ, जहाँ डाक्टर हुँदैनन् तर ट्रेन गरिएको जनशक्ति बस्छ । यी केन्द्रले आँखाका लागि काम गर्ने गर्छन् । जहाँ बिरामीको प्राथमिक उपचारमा आँखा जाँच, चश्मा बनाउने, आकस्मिक उपचार तथा औषधि दिने काम हुन्छ ।
दुर्गमको आँखामा उज्यालो छर्दै
डा. रीताले तिलगंगा आँखा अस्पताल मार्फत दुर्गम क्षेत्रका जनताको आँखामा ज्योति भर्ने जस्तो महत्वपूर्ण काम गरिरहेकी छिन् । उनको दृढ संकल्प छ, ‘काठमाडौंमा बसेका मानिसले पाउने सेवा दुर्गममा पुर्याउनुपर्छ ।’
‘बूढाबूढी भएपछि आँखा नदेख्नु त स्वाभाविक हो नि’ भन्ने गलत धारणाले कति मानिस अँध्यारोमा बाँच्न बाध्य छन् । आर्थिक अभाव र जनचेतनाको कमीले काठमाडौंसम्म आउन नसक्ने मानिसको पीडा बुझेर नै डा. रीता र उनको टोली गाउँ–गाउँ पुग्छ ।
तिलगंगाका सबै चिकित्सकले वर्षमा कम्तीमा चार पटक दुर्गम क्षेत्रमा सेवा दिने प्रतिबद्धता जनाउनैपर्छ । डा. रीता आफैं पनि वर्षमा चार–पाँच पटक दुर्गम क्षेत्रमा पुग्छिन् । ‘दुर्गम क्षेत्रका मानिसमा जनचेतना र आर्थिक क्षमता कम छ’ उनी भन्छिन्, ‘उहाँहरूको दुःख देखेर हामी त्यहाँ पुगिरहेका हुन्छौं ।’
विशेषगरी दुर्गम क्षेत्रका महिलाको स्थिति दयनीय छ । मोतिबिन्दुको समस्या महिला र पुरुषमा समान भए पनि अन्धोपनको शिकार बढी महिला छन् । परिवारमा बुबा र आमा दुवैमा अन्धोपन देखिए प्राथमिकता पुरुषलाई दिइन्छ । ‘एउटै परिवारमा आमा र बुबा दुवैलाई आँखाको समस्या भयो भने पहिले बुबाको उपचार गरिन्छ’, डा. रीता बताउँछिन् ।
आर्थिक परनिर्भरता, शैक्षिक चेतनाको कमी र सामाजिक बन्धनले महिलाहरू अस्पतालसम्म पुग्न सक्दैनन् । यही कारण तिलगंगाको टोली गाउँमा शिविर लगाउँछ, जहाँ महिलाको सहभागिता उल्लेख्य हुन्छ । डा. रीताको नेतृत्वमा तिलगंगाको एक शिविरमा १०–१२ जनाको टोलीले दूरदराजमा सेवा दिइरहेको हुन्छ ।
‘कतिपयको त अस्पताल कुर्दा जीवन नै गइसकेको हुँदोरहेछ’ उनले अनुभव सुनाइन्, ‘त्यसकारण हामी उहाँकै नजिक पुग्ने प्रयास गर्छौं ।’ गाउँमा गरिने शल्यक्रियाको गुणस्तरमा कुनै सम्झौता गरिंदैन । ‘अस्पताल र दुर्गममा गरिने अप्रेसनको आउटकम एउटै हुन्छ’, डा. रीताको दाबी छ ।
विदेशीको रोजाइमा आँखा उपचार
४५ वर्षको अवधिमा नेपालको आँखा स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । सन् १९८० मा गरिएको सर्वेक्षणले देखाएको ०.८ प्रतिशत अन्धोपनको दर अहिले ०.३ मा झरेको छ । यो नेपालको स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि हो ।
मोतिबिन्दु अझै पनि अन्धोपनको प्रमुख कारण छ । सन् १९८० को दशकमा कुल अन्धोपनको ७० प्रतिशत मोतिबिन्दुका कारण हुने गरेको थियो । यद्यपि, समग्र अन्धोपनको दरमा भने उल्लेख्य कमी आएको छ । विशेषगरी, पश्चिम तराई क्षेत्रमा पहिले व्यापक रूपमा देखिने आँखाको नानीमा फुलो पर्ने समस्या अहिले पूर्ण रूपमा निवारण भएको छ ।
तर, नयाँ चुनौती देखापरेका छन् । डा. रीताका अनुसार, मधुमेह र उच्च रक्तचापको बढ्दो प्रकोपले नयाँ खालको अन्धोपनको जोखिम सिर्जना गरेको छ । विशेषगरी मधुमेहजन्य अन्धोपनको उपचार अत्यन्तै चुनौतीपूर्ण हुन्छ । ‘घरघरमा चिनी रोग (मधुमेह) र उच्च रक्तचापको समस्या छ । मधुमेहको कारणले हुने अन्धोपन उपचार गर्न एकदमै गाह्रो छ’, डा. रीता भन्छिन् ।
नेपालको आँखा स्वास्थ्य सेवाले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । सस्तो र गुणस्तरीय सेवाका कारण भारत, बंगलादेश र भुटान जस्ता छिमेकी देशबाट पनि बिरामी उपचारका लागि नेपाल आउने गरेका छन् । विशेषगरी आँखाको नानी प्रत्यारोपण, मधुमेहजन्य अन्धोपन र आँखाको ट्युमरको उपचारका लागि विदेशी बिरामीले नेपाल रोज्ने गरेका छन् ।
तीन दशकको यात्रा सम्झँदा डा. रीताको आँखामा विशेष चमक देखिन्छ । ‘कहिलेकाहीं आफैंलाई अचम्म लाग्छ, यहाँसम्म कसरी आइपुगियो ?’, उनी मुस्कुराउँछिन् ।
नेपालमा महिला नेतृत्वको यात्रा सधैं सहज पनि हुँदैन । महिला भएकै कारण यो ठाउँसम्म आइपुग्न अतिरिक्त मिहिनेत गर्नुपर्यो भन्ने प्रश्नमा उनले भनिन्, ‘चिनाउनका लागि धेरै मिहिनेत गर्नुपरेन । तर, आफूजत्तिकै योग्यता भएको पुरुषको तुलनामा पद सम्हाल्न महिलाले बढी परिश्रम गर्नुपर्ने रहेछ ।’
दुई कोठाबाट शुरू भएको यात्रा आज विश्वप्रसिद्ध तिलगंगा आँखा अस्पतालसम्म आइपुगेको छ । तर यो सफलताको श्रेय डा. रीता एक्लैको होइन भन्नेमा उनी स्पष्ट छिन् । ‘मैले मात्रै गरेर यो सब सम्भव थिएन । यो सफलता पछाडि पूरै टीमको अथक् मिहिनेत छ’, उनी विनम्रता प्रकट गर्छिन् ।
आलोचनालाई पनि सकारात्मक रूपमा लिन्छिन् डा. रीता । ‘मैले तिलगंगाको कार्यकारी हुन्छु भनेर कहिल्यै काम गरिनँ । काम गर्दै जाँदा समयसँगै त्यसको कदर मात्रै भएको हो’, उनी स्पष्ट पार्छिन् ।
आज पछि फर्केर हेर्दा, ती सुरुआती दिन, चुनौतीपूर्ण क्षण र प्रतिबद्ध टीमले सिर्जना गरेको यो सफलताले डा. रीतालाई भावुक बनाउँछ । हुन पनि सपनाबाट शुरू भएको यात्राले आज हजारौं नेपालीको जीवनमा उज्यालो छरेको छ ।
फोटोः चन्द्र आले