+

अशक्तता चिर्दै, डिजिटल पहुँच दिलाउँदै

पूरा सूची
Shares
काठमाडौं बबरमहलकी सुभासिनी श्रेष्ठ शारीरिक रूपमा आफैं अशक्त छिन् । तर, दृष्टिविहीन तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूसम्म डिजिटल पहुँच पुर्‍याउन उनले गरेको सत्कर्म प्रशंसनीय छ ।
सुभासिनी श्रेष्ठ

इच्छाशक्ति भयो भने शारीरिक रूपमा कमजोर व्यक्तिले पनि बलिया–बाङ्गाको भन्दा अब्बल काम गर्न सक्छ भन्ने ज्वलन्त उदाहरण हुन्, काठमाडौं बबरमहलकी सुभासिनी श्रेष्ठ (३६) । उनी नेपालकी यस्ती अपाङ्गता भएकी महिला हुन्, जो शारीरिक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिसम्म डिजिटल पहुँच पुर्‍याउन अहोरात्र खटिइरहेकी छिन् ।

२०४५ सालमा घरकी कान्छी छोरीको रूपमा जन्मिएकी सुभासिनीलाई जन्मजात स्पाइनल कर्डमा समस्या देखियो । ६ महिनाकी हुँदा अप्रेसन त भयो तर पूर्ण रूपमा निको भएन । दुई वर्षकी भएपछि अलिअलि उभिने र हात समाएर हिंड्न सक्ने भइन् । खुट्टाको विकास भने राम्ररी हुन सकेन । 

शारीरिक रूपमा अपाङ्ग भए पनि परिवारको साथ–सहयोग र आफ्नो मिहिनेत भयो भने पढाइ र करिअर एकसाथ अघि बढाउन सकिन्छ भन्ने देखाइन् सुभासिनीले । हिंड्न अप्ठ्यारो भएकोले ५ कक्षासम्म घर नजिकैको क्याम्ब्रिज एकेडेमीमा पढिन् । बाँकी पढाइ साउथ पोइन्ट बोर्डिङ स्कूलमा भयो र त्यहींबाट २०६२ मा फर्स्ट डिभिजनमा एसएलसी पास गरिन् । 

कम्प्युटर साइन्स लिएर प्लस टु पढ्ने उनको इच्छा थियो । यो इच्छामा परिवारले साथ दियो । क्रिमसन इन्टरनेशनल कलेजबाट प्लस टु गरेकी सुभासिनीले कान्तिपुर सिटी कलेजबाट कम्प्युटर साइन्समै स्नातक गरिन् ।

स्नातक सकिने बित्तिकै ‘अनलिमिटेड टेक्नोलोजी’ आईटी कम्पनीमा काम शुरू गरेकी उनले त्यहाँ पाँच वर्षको अनुभव बटुलिन् । त्यसपछि दुई महिना काठमाडौं महानगरपालिका आईटी डिपार्टमेन्टको डिआई ट्रेनिसिपमा काम गरिन् । 

२०७० सालमा रोटरेक्ट क्लबका बारेमा थाहा पाइन् । रोटरेक्टकै एउटा कार्यक्रममा एक जना प्रेरक वक्ता जोसेप निरौला आउँदैछन् भन्ने जानकारी पाइन् । अनि जोसेपको कार्यक्रममा गइन् । जोसेपले भनेका हरेक कुरामा सुभासिनीलाई चाख लाग्यो ।

‘आफ्नो भविष्य कस्तो बनाउने तपाईंकै हातमा छ । कसरी अगाडि बढ्न चाहनुहुन्छ, आफैं तय गर्नुपर्छ । आजैदेखि आफ्नो गोल सेट गरेर अगाडि बढ्नुहोस्’ जोसेपको यो अभिव्यक्तिले सुभासिनी साँच्चै प्रेरित भइन् । त्यसपछि रोटरेक्ट क्लब स्वयम्भूको सदस्यता लिइन् । 

६ महिना सदस्यको रूपमा सक्रिय भएपछि उनी सचिवमा बढुवा भइन् । रोटरेक्ट क्लबमा जोडिएर अरूलाई सहयोग गरिरहँदा त्यसले उनलाई थप सामाजिक कार्य गर्न प्रेरित गर्‍यो । त्यसपछि क्लबको अध्यक्षमा उम्मेदवारी दिइन् र चयन पनि भइन् । एक वर्ष अध्यक्षको रूपमा काम गर्दा उनले धेरै कुरा सिक्ने मौका पाइन् । 

२०७६ सालसम्मको यात्रा परिवारको साथ र सहयोगमै अगाडि बढिरहेको थियो । अब भने उनलाई परिवारको सहयोग विना नै काम गर्न सकियोस् भन्ने लाग्यो । र, चारपाङ्ग्रे स्कुटर किन्ने निधो गरिन् । भृकुटीमण्डपबाट अपाङ्गता कार्ड बनाइन् र चारपाङ्ग्रे स्कुटर लिइन् । त्यतिबेलासम्म उनले अपाङ्गता भएका व्यक्तिहरूका लागि केही गर्नुपर्छ भनेर सोचेकै थिइनन् । 

एकदिन सुभासिनीलाई आफ्ना फुपाजुले ‘अपाङ्गताको क्षेत्रमा काम गर्ने धेरै संस्था छन्, तिमी पनि जोडिनू’ भनेर सल्लाह दिए । त्यसपछि राष्ट्रिय शारीरिक अपाङ्ग संघ, नेपाल (एनएपीडी)मा जोडिएर स्वयंसेवीको रूपमा काम गर्न थालिन् । त्यहाँ काम गर्दा नेपालमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको अवस्था कस्तो छ र उनीहरूको हकहितको लागि के गर्नुपर्छ भन्ने बुझिन् । 

अहिले सुभासिनी एनएपीडीमा कार्यकारी सदस्यको रूपमा संलग्न छिन् । रेनबो डिसएबिलिटी नेपालको एउटा कार्यक्रममा उनी एनएपीडीको प्रतिनिधित्व गरेर पुगेकी थिइन् । त्यहाँ उनको कामबाट प्रभावित भएर सहकार्य गर्ने प्रस्ताव आयो । उनी अहिले रेनबो डिसएबिलिटी नेपालमा सचिवको रूपमा पनि कार्यरत छिन् । 

पढाइ आईटीतिरै भएकाले उनले शारीरिक तथा बौद्धिक रूपमा अपाङ्गता भएका व्यक्तिमा डिजिटल पहुँच कसरी पुर्‍याउने भनेर काम गरिरहेकी छिन् । सुुभासिनी सुनाउँछिन्, ‘शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि त खासै समस्या हुँदैन । तर दृष्टिविहीनहरूले पनि त ल्यापटप, मोबाइल प्रयोग गर्छन् नि ! उनीहरूलाई त्यसको प्रयोगमा के समस्या हुन्छ र समाधानका लागि के गर्न सकिन्छ भनेर अध्ययन गरिरहेकी छु ।’

हालसालै उनी नेपाल युवा परिषद्मा पनि साधारण सदस्यको रूपमा छनोट भएकी छिन् । साथै रोटरी क्लब अफ काठमाडौं हाइटमा पनि आबद्ध छिन् । 

२०७८ सालमा सुभासिनी आईआईएमएस कलेजमा स्नातकोत्तरमा भर्ना भइन् र २०८० मा पूरा गरिन् । स्नातकोत्तरको थेसिसमा उनको अनुसन्धान पार्किन्सन रोग पत्ता लगाउने मेसिन लर्निङ जस्ता नयाँ प्रविधिमा आधारित छ, जसले स्वास्थ्य र प्रविधिको क्षेत्रमा नयाँ दिशा दिनेछ ।

‘नेपालमा महिलाले कमै अवसर पाएका छन् । त्यसमा पनि अपाङ्गता भएका महिलाले त हरेक कुरामा सम्झौता गर्नुपर्ने हुन्छ । अवसर पाउने हो भने अपाङ्गता भएका महिलाले पनि धेरै काम गर्न सक्छन् भन्ने उदाहरणको रूपमा आफूलाई प्रस्तुत गर्न चाहन्छु’, उनी भन्छिन् । 

‘केही दिनअघि सेन्टजेभियर कलेज पुगेकी थिएँ । त्यहाँ ह्विलचियर युजरको लागि पनि छुट्टै शौचालय रहेछ । कुरा गर्दै जाँदा थाहा भयो, कलेजमा एक जना विद्यार्थी ह्विलचियर युजर रहेछन्, उनकै लागि छुट्टै शौचालय बनाइएको रहेछ ।’

समाजमा सामान्य व्यक्ति मात्र हैन, अपाङ्गता भएका र लैङ्गिक तथा यौनिक अल्पसंख्यक पनि छन् । उनीहरूलाई अन्य व्यक्तिलाई जस्तै व्यवहार गरिनुपर्छ, अवसर दिनुपर्छ भन्ने युवाहरूले बुझ्नुपर्छ । किनकि, युवाको सोचाइ परिवर्तन भए मात्र समाज र देश परिवर्तन हुनसक्छ । यो कुरा बुझाउन आफूले अभियन्ताको रूपमा काम गरिरहेको उनले बताइन् । 

सुुभासिनी प्लस टु पढ्दाको एउटा घटना सम्झन्छिन्— ‘त्यतिबेला बुबाले मलाई कलेज र अफिस लैजाने–ल्याउने गर्नुहुन्थ्यो । एक दिन बुबाले बिहान कलेज पुर्‍याइदिनुभयो । तर घरमा विशेष काम परेर बेलुका लिन आउन भ्याउनुभएन । घर जान माइक्रो चढें । माइक्रो प्याक भएकाले उभिनुपर्‍यो । खुट्टाले राम्ररी नटेक्ने भएकोले उभिन गाह्रो भइरहेको थियो । तैपनि कसैले सिट छोडिदिएन । त्यो बेला बसहरूमा अपाङ्गता सिट पनि छुट्याइएको थिएन । शंखमूलमा माइक्रो घुमाउँदा खुट्टाको सन्तुलन बिग्रिएर माइक्रोबाट खसें । त्यो बेला चोट लागेर दुई महिना कलेज नै छुट्यो ।’

त्यतिबेलै सार्वजनिक यातायातमा अपाङ्गको लागि सिट छुट्याइएको भए त्यो दुर्घटना हुँदैनथ्यो भन्ने उनलाई लागेको छ । ‘सार्वजनिक यातायातमा मात्र हैन, विद्यालय तथा अन्य सार्वजनिक स्थानमा पनि अपाङ्गको पहुँच छैन । त्यसैले सार्वजनिक संरचना लगायत अन्य संरचना अपाङ्गमैत्री हुन जरूरी छ’, उनको सुझाव छ ।

कुनै पनि व्यक्तिले सफलता हात पार्न शिक्षाको पृष्ठभूमि राम्रो हुनुपर्छ । तर हाम्रा धेरै विद्यालय अपाङ्गमैत्री छैनन्, जसले गर्दा धेरै शारीरिक रूपमा अपाङ्ग व्यक्तिले पढ्नै पाउँदैनन् । त्यसैले सबैभन्दा पहिले विद्यालयको संरचना अपाङ्गमैत्री हुनुपर्ने सुभासिनीको विचार छ । 

उनी भन्छिन्, ‘केही दिनअघि सेन्टजेभियर कलेज पुगेकी थिएँ । त्यहाँ ह्विलचियर युजरको लागि पनि छुट्टै शौचालय रहेछ । कुरा गर्दै जाँदा थाहा भयो, कलेजमा एक जना विद्यार्थी ह्विलचियर युजर रहेछन्, उनकै लागि छुट्टै शौचालय बनाइएको रहेछ ।’

पछिल्लो समय उनले आईआईएमएस कलेजमा पढाइरहेकी छिन् । उक्त कलेजमा आफूले पढाउने सबै कक्षा भुइँतालामा व्यवस्था गरिदिएर सहज बनाइदिएको सुभासिनी बताउँछिन् । ‘मलाई जस्तै अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई पनि कार्यालय स्थलमा सहज बनाइदिनु जरूरी छ’, उनी भन्छिन् ।

सुभासिनीको कामले महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई प्रविधि र नेतृत्वका क्षेत्रमा अगाडि बढ्न प्रेरित गरिरहेको छ । उनीहरूको अधिकारको प्रवर्धन र समावेशिता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

सुभासिनी श्रेष्ठ युवा नेतृत्व, जलवायु, न्याय र लैङ्गिक समानताकी अभियन्ता हुन्, जसले महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई सशक्त बनाएको छ । क्षमता र सामाजिक प्रभावले सुभासिनीलाई एक प्रेरणादायी नायक बनाएको छ, जसले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान दिएको छ ।

लेखक
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।