
चितवनको सौराहा नजिकै छ, कल्पवृक्ष बेटर गुड्स नामक गैरसरकारी संस्था । त्यो संस्था मार्फत महिलालाई उद्यमशील बनाउने अभियानमा डेढ दशकदेखि जुटेकी छिन्, सीता अधिकारी ।
चुल्हो–चौकामा सीमित महिलालाई उद्यमशील बनाएर समाजको मूल प्रवाहमा ल्याउने लक्ष्य लिएकी सीताले सीप सिकाएर थुप्रै महिलालाई आफ्नो खुट्टामा उभिन सक्ने बनाइसकिन् । उनको अभियानमा ३०० भन्दा बढी महिला जोडिइसकेका छन् ।
महिलालाई उद्यमशील बनाउन विभिन्न तालिम तथा क्षमता विकास अभियान चलाउँदै आएको उनी बताउँछिन् । यी सबै काम गर्ने सोच र प्रेरणाको श्रेय उनी आफ्नो बाल्यकाल र पारिवारिक पृष्ठभूमिलाई दिन्छिन् ।
सीतालाई सानैदेखि सामाजिक काममा रुचि थियो । महिलाका विषयले त झनै संवेदनशील बनाउँथ्यो । ‘छोरी पढाउनुहुन्न’ भन्ने त्यसबेलाको समाज देखेर उनको मन पोल्थ्यो । सचेत भनिएका घर–परिवारमा त महिलालाई हेर्ने दृष्टिकोण सकारात्मक थिएन भने दूरदराजका महिलाले कस्तो जीवन बाँचेका होलान् भन्ने कुराले सधैं घोचिरहन्थ्यो ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेपछि जागिर खाने टन्टोतिर नलागी सीता श्रीमान् बासु ढुंगानासँगै गाउँ फर्किने निधो गरिन् । सामाजिक अगुवा बासुले आफ्नै पहलमा गाउँमा पुल बनाउनेदेखि पुस्तकालय खोल्नेसम्मका काम गरे । प्रकृति, पर्यावरण, शिक्षा, सचेतना जस्ता विषयमा चासो राख्ने बासुले विभिन्न संघ–संस्थाको सहयोगमा खैरहनी झुवानीमा सामुदायिक पुस्तकालय खोलेका थिए ।
श्रीमान्ले खोलेको पुस्तकालय जाँदा सीता जहिले पनि पुरुष मात्रै देख्थिन् । आखिर महिला कहाँ छन् ? पुस्तकालयमा किन आउँदैनन् ? उनीहरूलाई केले छेकिरहेको छ ? जस्ता प्रश्न उनको मनमा उब्जन्थे । महिलाहरू किन चुल्हो–चौकामै खुम्चिएका छन् भनेर उनले सूक्ष्म अध्ययन गरिन् । अनि महिलाको समूह बनाएर अघि बढ्ने निर्णय गरिन् ।
सीताले शुरूमा १३ जना महिलाको समूह बनाएर उनीहरूलाई पुस्तकालयसम्म आउने वातावरण तयार गरिन् । पढ्ने महिलाको समूह बनाउने, उनीहरूका रुचिका पुस्तक ल्याउने, पालैपालो पढ्न र बोल्न लगाउने गर्न थालिन् । महिलासँग सम्बन्धित पुस्तक पढ्न रुटिन नै बनाएर पुस्तकालय आउनुपर्ने नियम बनाइन् । दकस मानेर पुस्तकालय नआउने महिला पनि विस्तारै आउन थाले ।
सार्वजनिक फोरममा कतै पनि ठाउँ नपाउने, बोल्न नसक्ने, आइसोलेटेड हुने महिलाहरूको क्षमता विकासका विभिन्न तालिम दिने काम पुस्तकालय मार्फत पनि गरिन् । महिलाको समूहलाई ठूलो र व्यापक बनाउन झुवानी महिला सामुदायिक बचत तथा ऋण सहकारी संस्था खोलिन् ।
त्यो संस्थामा सेयर हाल्ने रकम समेत नभएका महिला थिए । कतिपयले मासिक बचत समेत गर्न सक्दैनथे । ती सबै अवस्थामा सुधार गर्दै सीताले महिलाको ठूलो समूहलाई सहकारी मार्फत समेटेर साना–साना ऋण प्रवाह गर्ने र आधारभूत आवश्यकताबाट सिर्जित समस्याको हल खोजिन् । चप्पल र राम्रो लुगा नभएर, नपढेको भएर कार्यक्रममा आउन नसक्ने महिलाहरू विस्तारै खुल्न थाले ।
सीताले झुवानी सहकारी संस्थाको नेतृत्व ८ वर्ष गरिन् । २५०० बढी महिला समेटेर सदस्य बनाइन् । पुरुषलाई राख्दा नेतृत्वमा सधैं उनीहरू नै रहने अवस्था हुने देखेर महिलालाई मात्र सदस्य बनाएको सीता बताउँछिन् ।
‘सहकारीमा सेयर हाल्न र बचत गर्न सक्ने हुनुपर्छ भन्ने थिएन । बढीभन्दा बढी महिलालाई यसमा जोड्नु, पहुँच पुर्याउनु थियो’ उनी भन्छिन्, ‘पैसाको अभावमा महिलाले सहकारीको सदस्य हुनबाट वञ्चित हुनुहुँदैन भन्ने थियो ।’
सहकारी राम्रोसँग चल्न थालेपछि आफैंले सशक्तीकरण गरेका महिलालाई जिम्मा लगाएर उनले सन् २०११ मा कल्पवृक्ष नामक गैरसरकारी संस्था खोलिन् । कल्पवृक्ष मार्फत महिलालाई घर बाहिर ल्याउने, उद्यमशील बनाउने र आफ्नै खुट्टामा उभिन सक्ने बनाउने सीताको लक्ष्य थियो ।
त्यतिबेला देशमा चरम लोडसेडिङ थियो । शहरी क्षेत्रमा दिनरात बत्ती जान्थ्यो भने ग्रामीण भेगमा त विद्युत् पुगेकै थिएन । तत्कालीन घटना सम्झँदै सीता भन्छिन्, ‘साँझको समय थियो, झुपडीघरको छेउमा बत्ती बालेर पुरुषहरू रक्सी खाइरहेका थिए । भित्र अँध्यारोमा आगो छेउ बसेर एक महिला खाना पकाइरहेकी थिइन् । स–साना केटाकेटी अँध्यारोमा लडीबुडी खेलिरहेका थिए, मलाई यो दृश्यले असाध्यै घोच्यो ।’
अधिकांश समय भान्सामा बिताउने महिला सधैं अँध्यारोमा बसेको देखेपछि सीताले सौर्य पोर्टेबल बत्ती उनीहरूसम्म पुर्याउने निधो गरिन् । एक हजार रुपैयाँ पर्ने सोलार बत्ती घर–घरसम्म पुर्याउने अठोट सहित सौराहा नजिकै एक स्टोर खोलिन् । झुन्ड्याउन मिल्ने सोलार बत्ती दिउँसो चार्जका लागि घाममा राख्ने अनि राति बालेर पढ्न र काम गर्न सकिने खालको थियो ।
एक हजार रुपैयाँ तिर्न नसक्ने महिलाका लागि सहकारीबाट किस्तामा ऋण दिने वा अनुदानमा वितरण गर्ने काम गरिन् । अर्को गज्जबको आइडिया पनि लगाइन् सीताले– स्थानीय महिलाले उत्पादन गरेका सामग्रीहरू आफ्नो पसलबाट बेच्ने, त्यसबाट प्राप्त रकम सोलार बत्तीमा कटाउने र बाँकी रकम फिर्ता गर्ने ।
‘म पसलमा बसेर महिलाका सामान बेच्थें । आफ्नोभन्दा पनि महिलाले उत्पादन गरेका सामान चाँडो बिक्री होस् भन्ने चाहन्थें’ सीता भन्छिन्, ‘म उहाँहरूको सामानलाई व्यापक बनाउन चाहन्थें ।’
यसरी सोलार बत्ती भएपछि महिलाहरूले रातको समयमा पनि काम गर्न थाले । उद्यमशीलता विकास भएको अनुभूति सीताले गरिन् । विभिन्न सहयोगी संघ–संस्थालाई जोडेर उनले निःशुल्क रूपमा थप सोलार बत्ती वितरण पनि गरिन् ।
सीताले विभिन्न जिल्लामा सामाजिक उद्यमशीलताको अभियान चलाइन् । ‘एक्लै गरेर केही हुँदैन, सामूहिक रूपमा गरेको कामले मात्र सफलता प्राप्त हुन्छ भन्ने मान्यताका साथ चितवन, बर्दिया र सिरहामा महिलालाई उद्यमशील बनाउने अभियान चलाएँ’ उनी भन्छिन्, ‘सेल्स एजेन्टको रूपमा उत्पादनको महत्व बुझाउने, रकम नहुनेलाई विभिन्न संस्था मार्फत जोड्ने, त्यो पनि नभए सानो–सानो ऋणको व्यवस्था मिलाउने काम गरें ।’
तालिम र पैसा दिएर मात्रै महिलालाई व्यवसायी बनाउन सकिंदैन भन्ने पाठ डेढ दशकको अनुभवले आफूलाई सिकाएको सीता बताउँछिन् । तालिम दिएका व्यक्तिहरूलाई चरणबद्ध रूपमा सहयोग गरे मात्रै उद्देश्यमा पुग्न सकिने उनको बुझाइ छ ।
कल्पवृक्षसँग काम गर्ने गैरसरकारी संस्थाले लन्डनमा आयोजित एक अवार्ड समारोहमा महिला र केटीहरूको लागि स्वच्छ ऊर्जाको लागि सन् २०१७ को अन्तर्राष्ट्रिय एस्डेन पुरस्कार जित्यो । अफ्रिकामा उनको संस्थाले अर्को अवार्ड जित्यो । सन् २०१६ मा सीतालाई डीएफआईडी कोषमा सञ्चालित ‘स्प्रिङ एक्सिलेटर’ कार्यक्रममा बोलाइयो ।
सीता यतिबेला कुक–स्टोभ र पानी फिल्टर जस्ता स्वास्थ्य र स्वच्छताका उत्पादन, कृषि सामग्री र घरेलु उपकरण प्रयोगको दायरा विस्तार गरिरहेकी छिन्, जसले महिला र बालबालिकालाई समय बचत गर्न र स्वस्थ राख्न मद्दत गर्छ । भारतको बैंग्लोर, लखनऊ र म्यानमारका केही ठाउँमा नेपालकै मोडलमा सामाजिक उद्यमशीलता विकासमा काम भइरहेको सीताको भनाइ छ ।
अहिले चितवन सहित कैलाली र बर्दियामा कल्पवृक्षले काम गर्दै आएको छ । इन्डक्सन चुल्हो, स्यानिटरी प्याडको प्रयोग, एलईडी बल्व, सोलार वाटर पम्प, कृषि औजार, वाटर फिल्टर सप्लाइमा महिला समूह मार्फत काम भइरहेको छ ।
यस वर्ष बाँके र कञ्चनपुरमा कार्यक्रम गर्ने लक्ष्य संस्थाको छ । कहिले आफ्नै महिला उद्यमी मार्फत त कहिले समूह र साना सहकारी मार्फत समुदायमा जाने गरेको सीताले सुनाइन् । उनको सौराहास्थित कार्यालयमा अहिले ११ जना विभिन्न तहका कर्मचारीले काम गरिरहेका छन् । चितवन, कैलाली र सिरहामा विभिन्न महिला समूहले स्थानीय प्रतिनिधिका रूपमा काम गरिरहेका छन् ।
तपाईंहरूलाई सामान बेच्ने कुनै कम्पनीका एजेन्टका रूपमा त चिन्दैनन् भन्ने प्रश्नमा सीता भन्छिन्, ‘पहिला–पहिला कतिपयले यस्तै आरोप लगाउँथे । कुनै कम्पनीले खटाएको मान्छे होला पनि भन्थे । तर हामी सबै कुरा बुझाउँथ्यौं । हाम्रो पहिलो उद्देश्य सामान बेच्ने नभई महिलालाई सशक्तीकरण गर्ने, क्षमता विकास गर्ने, समाजको मूल प्रवाहमा ल्याउने र व्यावसायिक क्षमता बढाउने हो ।’
सीताले तालिम दिएका, सिकाएका कतिपय महिला गत स्थानीय निर्वाचनमा वडाध्यक्ष, वडा सदस्य, पालिका उपाध्यक्षसम्मको उम्मेदवार बने । ‘उभिएर बोल्न नसक्ने, धक मान्ने, डराउने महिलाहरू अहिले आफैंले नेतृत्व गरेर हिंडेको देख्दा खुशी लाग्छ । उनीहरूको सफलताको पछाडि हामी छौं जस्तो अनुभूति हुन्छ’ सीता भन्छिन्, ‘हामीले तालिम दिएका झन्डै ६० जना त अहिले आफ्नो व्यवसायमा जम्नुभएको छ ।’
सामाजिक उद्यमशीलताको विकासमा सरकारले स्थानीय तह मार्फत कार्यक्रम बनाउन सके अहिलेको अवस्थामा धेरै सुधार ल्याउन सकिने सीताको बुझाइ छ । ‘एकल प्रयासले सबै कुरा हुँदैन’ उनी भन्छिन्, ‘चुल्हो, ग्यास बाँडेर मात्रै हुँदैन, दिगो सञ्चालन र व्यवस्थापन हुनुपर्छ ।’