
सानो छँदा उनका गाउँका दाइहरू हिमाल जाने भन्दै झोली-तुम्बा कसेर हूल बाँधेर गाउँ छाड्थे । कम्तीमा तीन महिना हराउँथे । फर्केर आएपछि ‘सगरमाथा चढेर आएको’ भन्दै गाउँमा भोज खुवाउँथे ।
दुई-तीन कक्षामा पढिरहेकी दावा याङजुम शेर्पालाई लाग्थ्यो, ‘यो सगरमाथा भन्ने कस्तो होला ? यो हिमाल चढ्न पाए दाइहरूले जस्तै गाउँमा भोज खुवाउन पाइन्थ्यो ।’
हो, ठ्याक्कै त्यही बेलादेखि नै हाे दावाको मनमा विश्वको सर्वोच्च शिखर सगरमाथाले घर गरेको । कलिली दावाको कलिलो मनले त्यहीबेला एउटा दृढ अठोट गर्यो, ‘म एक दिन सगरमाथा चढेरै छाड्छु ।’
साँच्चै उनले बालखैमा लिएको अठोट चार पटक पूरा गरिसकिन् । २२ वर्षको उमेरमा पहिलो पटक सगरमाथा शिखर चुमेकी उनले गएको वैशाखमा चौथो पटक विजयी झण्डा फहराइन् । त्यतिमात्र होइन, उनले ८ हजार मिटर अग्ला संसारका १४ हिमालमध्ये १३ वटाको शिखर पनि चुमिसकिन् । बस्, अब एउटा अन्तिम शिखर बाँकी छ- तिब्बतको सिसापाङ्मा । त्यसपछि उनी बन्नेछिन्, ८ हजार मिटर अग्ला संसारका १४ हिमालको सफल आरोहण गर्ने नेपालकै प्रथम महिला ।
पर्वतारोहणमै उनका धेरै कीर्तिमान पनि बनेका छन् । सगरमाथाको सफल आरोहणपछि उनले संसारको दोस्रो अग्लो हिमाल पाकिस्तानको केटुको पनि शिखर चुमिन् । केटुको सफल आरोहण गर्ने सबैभन्दा कान्छी आरोहीको कीर्तिमान उनकै नाममा छ ।
दोलखाको अतिविकट रोल्वालिङ ना गाउँकी ३३ वर्षीया दावा अहिले जे छिन् र संसारले उनलाई जसरी चिन्छ, सायद त्यसबारे भने उनले न बाल्यकाल, न युवावय, कहिल्यै चिताएकी थिइनन् ।
यो सामान्य मानिसले चिताउने कुरा पनि होइन । त्यसमाथि ४२०० मिटर उचाइको अतिविकट हिमाली गाउँमा जन्मेर बालापन त्यहीँ बिताएकी एक बालिकाको कल्पना बाहिरको कुरा थियोे त्यो । दावा अहिले संसारमा सायद सगरमाथा आरोही कम, ‘नर्थफेस’ र ‘रोलेक्स’ को ब्रान्ड एम्बासडरका रूपमा बढी चिनिन्छिन् ।
यति ठूलो सफलता विरलैको निधारमा लेखिएको हुन्छ । विश्वप्रसिद्ध क्लोदिङ ब्रान्ड अमेरिकाको नर्थफेस र स्विट्जरल्यान्डको लक्जरी हातेघडी रोलेक्सको ब्रान्ड एम्बासडर हुन पाउनुको कथा भिन्नै छ दावासँग ।
यति मात्र होइन, उनी ‘इन्टरनेसनल फेडरेसन अफ माउन्टेन गाइड्स एसाेसिएसन्स’ (आईएफएमजीए) को इन्टरनेसनल माउन्टेन गाइडको प्रमाणपत्र पाउने नेपालमात्र होइन, एसियाकै पहिलो महिला पनि हुन् । संसारमा उनीजस्ता गाइड १०० जनामात्र छन् ।
कमजोर आर्थिक अवस्था हुँदाहुँदै सगरमाथा चढ्छु भन्ने सपना साँचेर रोल्वालिङबाट काठमाडौं उत्रिएकी दावाले पढाइलाई भने ४ कक्षाबाट माथि लैजान सकिनन् । परिवारको आर्थिक हैसियत राम्रो नहुँदा उनले पढाइ अगाडि बढाउन सकिनन् । गाउँमा उनको दैनिकी पानी ल्याउने र दाउरा बोक्ने थियो । यो क्रम वर्षौं चल्यो ।
स्कुले शिक्षा पूरा गर्न नपाए पनि काठमाडौं आउजाउ क्रममा दावाले अंग्रेजी र फ्रेन्च भाषा तालिम लिन थालिन् । अनि, लगातारको अथक् प्रयास र मिहिनेतका कारण दुवै भाषामा लगभग पोख्त भइन् ।
जब पुगिन् खुम्बु
उनको मावली गाउँ सोलुखुम्बुको खुम्बु हो । २१ वर्षको उमेरमा उनी एक दिन मामाघर पुगिन् । बच्चैदेखि सगरमाथा चढ्छु भन्ने अठोट लिएकी दावा त्यहाँ पुगेपछि खुम्बु क्लाइम्बिङ स्कुल फोर्चे पुगिन् ।
पर्वतारोहण तालिम दिने यो स्कुलमा उनले तालिम लिने मौका पाइन् । अनि, पर्वतारोहण तालिम लिन थालिन् । त्यो क्लाइम्बिङ स्कुल प्रख्यात अमेरिकी पर्वतारोही कनर्याड एंकरले स्थापना गरेका हुन् ।
खुम्बु क्लाइम्बिङ स्कुलमा तालिम लिने क्रममा उनी प्रख्यात पर्वतारोही एंकरको नजरमा परिन् । उनले सोधे, ‘तिमी शारीरिक हिसाबमा बलियो रहिछौ, एक्सपिडिसनमा काम गर्छ्यौ ?’ दावालाई ‘ढुंगा खोज्दा देउता मिल्यो’ भने झैं भयो । तत्काल जवाफ दिइन्, ‘अवश्य !’
‘त्यसपछि त मेरो भाग्य नै खुल्यो । अनि, यसरी मिहिनेत गरें कि मैले गडफादर नै मानेका एंकर पनि मेरो मिहिनेत देखेर चकित भए,’ दावा भन्छिन्, ‘सगरमाथा आरोहण गर्न लाखौं रुपैयाँ चाहिन्छ । मसँग पैसा हुने कुरा भएन । पहिलो पटक सगरमाथा आरोहण गर्न एंकरले गरेको सहयोग मेरो जीवनकै सबैभन्दा महत्वपूर्ण उपलब्धि हो ।’
पर्वतारोही एंकर नर्थफेसका एथलिट पनि थिए । त्यसबेला नर्थफेसको एउटा टोली सगरमाथा आरोहण गर्न आएको थियो । त्यसको नेतृत्व एंकरले गरेका थिए । यो सन् २०१२ को कुरा हो ।
हो, त्यसैका लागि एंकरले दावालाई सहयोगीका रूपमा काम गर्दै सगरमाथा आरोहणमा जाने प्रस्ताव गरेका थिए ।
‘मैले एंकरको पर्वतारोहण दलमा यति मिहिनेत गरेर काम गरें कि सबै सहकर्मी औधी खुसी भए । सगरमाथा आधार शिविरबाट पहिलो, दोस्रो र तेस्रो क्याम्पसम्म भारी बोकेर गएँ,’ दावा अहिले सम्झिन्छिन्, ‘चौथो क्याम्पबाट भने भारी बोक्नु परेन । उनीहरूसँगै सगरमाथा शिखरमा पहिलो पटक पाइला राख्न सफल भएँ । मैले बालखैमा देखेको एकमात्र सपना पूरा गरेरै छाडें ।’
सगरमाथाको सफल आरोहणपछि दावा थप उत्साहित भइन् । शिखर पनि चुमिन् र सहयोगीको काम गर्दा पारिश्रमिक बापत झन्डै ६ लाख रुपैयाँ हात पारिन् ।
‘त्यत्रो ठूलो रकम एकैचोटि हात पर्दा मलाई एकछिन त पत्यारै लागेन,’ दावा भन्छिन्, ‘मैले बाँकी जीवन हिमाल र हिमाली क्षेत्रमै काम गरेर बिताउने अठोट लिएँ र माउन्टेन गाइड बन्ने योजनामा लागें ।’
सगरमाथामा पहिलो पटक पाएको सफलतापछि दावाले लगातार पाँच वर्ष अन्तर्राष्ट्रिय माउन्टेन गाइडको तालिम लिइन् । बीचमा ट्रेकिङ र पर्वतारोहण पनि जारी राखिन् । आम्दानी राम्रै भइरहे पनि कमाएको पैसा माउन्टेन गाइड तालिममै खर्च हुन्थ्यो ।
‘सन् २०१३ देखि २०१७ सम्म अन्तर्राष्ट्रिय माउन्टेन गाइड तालिम पूरा गरें । र, मलाई आईएफएमजीएले प्रमाणपत्र दियो । यस्तो प्रमाणपत्र पाउने म पहिलो एसियाली महिला रहेछु,’ दावा भन्छिन्, ‘त्यसपछि मैले पछाडि फर्केर हेर्नुपरेको छैन ।’
नर्थफेस यात्रा
दावा पर्वतारोहणमा निरन्तर लागिरहेकी थिइन् । सन् २०१८ मा अमेरिकाको हिमालयन फाउन्डेसनले नेपालमा महिला बेचबिखन विरुद्धको एउटा कार्यक्रम आयोजना गरेको थियो । संयोगवश, दावाले त्यो कार्यक्रममा आफ्ना संघर्षका कथा सुनाउन पाइन् ।
त्यहाँ अर्को संयोग के जुर्यो भने सोही कार्यक्रममा अमेरिकाकै अर्को ठूलो क्लोदिङ ब्रान्ड ‘माउन्टेन हार्डवेयर’ का प्रमुख कार्यकारी अधिकृत पनि उपस्थित रहेछन् ।
दावाको कथा सुनेपछि उनले आफ्नो कम्पनीमा अनुबन्ध हुन प्रस्ताव गरे । दावाको हर्षको सीमा रहेन । लगत्तै आफ्ना गडफादर तथा नर्थफेसका एथलिट एंकरलाई खुसीको समाचार सुनाइन् ।
तर, एंकरले भने, ‘नर्थफेसमै अनुबन्ध गराउन प्रयास गर्छु ।’ त्यसपछि दावाले माउन्टेन हार्डवेयरको प्रस्तावलाई सधन्यवाद अस्वीकार गरिन् । लगत्तै, केही समयपछि दावा बनिन्- नर्थफेस ब्रान्ड एम्बासडर । त्यसबेला उनको सफलताको कथा संसारका अधिकांश सञ्चारमाध्यममा प्रमुखता साथ प्रकाशन र प्रसारण भएका थिए ।
नर्थफेसको ब्रान्ड एम्बासडर नियुक्त भएपछि दावा वर्षमा एकपल्ट उनीहरूसँग ट्रेकिङ वा पर्वतारोहणमा सहभागी हुन्छिन् । नर्थफेसले पर्वतारोहणमा जाँदा लगाउन उत्पादन गरेका लुगा लगाएर हिमालमा परीक्षण गर्ने लगायत काम गर्छिन् । यसबाट उनले आकर्षक पारिश्रमिक पाइरहेकी छिन् ।
नचिताएको रोलेक्स
संघर्षलाई सधैं आत्मसात् गर्दै आएकी दावाले सफलताका शिखर पनि त्यसैगरी चुमिरहेकी छिन् । उनको भागमा सायद सफलताको चाङ लेखेको छ । नर्थफेससँग आबद्ध भएको दुई वर्षपछि सन् २०२० मा उनलाई स्विट्जरल्यान्डको लक्जरी हातेघडी निर्माता कम्पनी रोलेक्सले ब्रान्ड एम्बासडर बन्ने प्रस्ताव गर्यो ।

‘नचिताएको प्रस्ताव आउँदा म त एकछिन के भन्ने र के गर्ने सोच्नै सकिनँ,’ दावा सुनाउँछिन्, ‘अनि, तुरुन्तै सम्हालिएर प्रस्ताव स्वीकारें ।’ नर्थफेस र रोलेक्सको ब्रान्ड एम्बासडर नियुक्त हुने पहिलो नेपाली महिला हुन् दावा ।
पछाडि परेका महिलालाई पर्वतारोहणमा ल्याउँदै
दावा आफूले पाएको सफलता आफूजस्तै अन्य महिलाले पनि पाउन् भन्ने कामना गर्छिन् । र, यसलाई मूर्तरूप दिन वर्षमा कम्तीमा १० महिलालाई यही क्षेत्रमा तालिम उपलब्ध गराइरहेकी छिन् ।
‘पहिला मैले धेरै नै संघर्ष गरेर यो क्षेत्रमा सफल भएँ । तर, अब चाहना भएका अतिविकट र दुर्गम भेगका एकल, बेचबिखनमा परेका युवतीलाई फोर्चे लगेर पर्वतारोहण तालिम दिइरहेकी छु,’ दावा खुसी हुँदै भन्छिन्, ‘यसमा नर्थफेस र रोलेक्सले पहिलो पटक आर्थिक सहयोग उपलब्ध गराइदिएका थिए ।’
तर, पछिल्लो चार-पाँच वर्षदेखि भने दावाले आफ्नै खर्चमा त्यस्ता महिलालाई पर्वतारोहण तालिम उपलब्ध गराइरहेकी छिन् ।
‘उनीहरूको गाउँबाट काठमाडौं हुँदै फोर्चेसम्म लैजाने, ल्याउने, तालिम दिलाउने, खाने, बस्ने सबै खर्च आफैं गरिरहेकी छु,’ दावा उत्साहित हुँदै भन्छिन्, ‘तीन साताको तालिम उपलब्ध गराउँदा प्रतिव्यक्ति ५० हजार रुपैयाँ खर्च लाग्ने गर्छ । हालसम्म ५० भन्दा बढीलाई यस्तो तालिम उपलब्ध गराइसकेकी छु ।’

उनले पर्वतारोहण तालिम दिलाएका ७५ प्रतिशत महिला यही क्षेत्रमा स्थापित भएर काम गरेको देख्दा उनलाई औधी खुसी लाग्छ ।
‘यो कामलाई सकेसम्म नछाड्ने योजना छ,’ दावा भन्छिन्, ‘आफ्नै खर्चमा गर्न सकिनँ भने प्रायोजक खोजेर भए पनि निरन्तरता दिनेछु ।’
शेर्पा विना हिमाल आरोहण लगभग असम्भव मान्ने गरिन्छ । शेर्पाले गाइड, सरदार र अन्य सहयोगीका रूपमा पर्वतारोहण क्षेत्रमा काम गर्दै आएका छन् । तर, त्यस्ता शेर्पा भने आर्थिक हिसाबमा सधैं पछाडि रहेको दावा बताउँछिन् ।
‘एकपटक हिमाल चढेर आएको पैसाले वर्षैभरि परिवार पाल्नुपर्ने बाध्यता शेर्पालाई छ,’ उनी भन्छिन्, ‘अझ आरोहण क्रममै हिमालमा ज्यान गुमाउने शेर्पाका परिवारको भने त्यसपछि बिचल्ली हुने गरेको छ ।’
पर्वतारोहण जोखिमको पेसा भए पनि बाध्यताले लाग्नुपरेको उनको भनाइ छ । उनी भन्छिन्, ‘सँगै काम गरिरहेका केही साथीले पाकिस्तानको केटु हिमाल आरोहण क्रममा ज्यान गुमाएको घटनाले मलाई धेरै दिनसम्म विक्षिप्त बनायो । तर, विस्तारै सम्हालिँदै आएँ र कामलाई निरन्तरता दिइरहेकी छु ।’
फोटो/भिडियोः शंकर गिरी