+

क्रिकेटका दुर्लभ कीर्तिमानी

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
भनिन्छ क्रिकेटमा कीर्तिमानहरू टुट्नलाई बन्छन् । तर, नेपालका ‘ब्याटिङ अलराउण्डर’ दीपेन्द्रसिंह ऐरीले विश्व क्रिकेटमा बनाएको सर्वाधिक छिटो ९ बलमा अर्धशतक, तोडिने छैन ।
दीपेन्द्रसिंह ऐरी

भनिन्छ क्रिकेटमा कीर्तिमानहरू टुट्नलाई बन्छन् । एक पटक बनेको कीर्तिमान ढिलो–चाँडो तोडिन्छन् । तर नेपालका ‘ब्याटिङ अलराउण्डर’ दीपेन्द्रसिंह ऐरी (२४) ले विश्व क्रिकेटमा बनाएको सर्वाधिक छिटो ९ बलमा अर्धशतक, अब तोडिने छैन ।

उनको ब्याटले त्यो सुनौलो कीर्तिमान सन् २०२३ सेप्टेम्बर २७ मा चीनको हाङ्ग्जाउमा एसियन गेम्स अन्तर्गत मंगोलियाविरुद्ध टी–२० आई खेलमा बनेको थियो ।

उनी क्रिजमा आउनुअघि अर्धशतक कल्पना गर्न सकिंदैनथ्यो । किनकि इनिङ सकिन ११ बल बाँकी थियो । तर १९औं ओभरको दोस्रो बल सामना गर्न क्रिजमा उत्रिएका उनलाई मुगुन अल्तानखुयागले लगातार दुई वाइड गरे । त्यसपछि ५ बलमा पाँच छक्का हाने । अन्तिम ओभरको पहिलो बलमा कुशल मल्लले स्ट्राइक दिएपछि छक्का, त्यसपछि दुई र बाँकी दुई बलमा २ छक्का हान्दै अविश्वसनीय रूपमा ९ बलमै ५० रन बनाए ।

त्यसअघि भारतीय पूर्व क्रिकेटर युवराज सिंहले २००७ को टी–२० विश्वकपमा इंग्ल्यान्ड विरुद्ध १२ बलमा अर्धशतकको कीर्तिमान बनाएका थिए । कठिन मानिएको युवराजको त्यो कीर्तिमानलाई दीपेन्द्रले सहजै तोडिदिए ।

विश्व क्रिकेट इतिहासमा सयौं महान् र विस्फोटक ब्याटर आए, गए । फेरि आउनेछन्, जानेछन् । तर नेपाली ठिटोले बनाएको ९ बलको कीर्तिमान तोड्न सम्भव छैन । किनभने क्रिकेटमा ८ बलमा ८ छक्का हान्दा पनि ४८ रन मात्रै हुन्छ । त्यसैले कसैले अद्भुत प्रदर्शन गरे बराबर हुन सक्छ ।

दुर्लभ कीर्तिमानसँगै दीपेन्द्रले धेरैको मन जिते । क्रिकेटमै भविष्य देख्नेलाई आइडल बने । अन्तर्राष्ट्रिय क्रिकेटमै एकै ओभरमा ६ छक्का हान्ने खेलाडीको सूची छोटो छ । टी–२० आईमा त भारतका युवराज सिंह र वेष्टइन्डिजका किरन पोलार्डले मात्रै हानेका छन् । दुई फरक ओभरमा ६ बलमा ६ छक्का हान्ने उनी विश्वकै पहिलो खेलाडी हुन् ।

‘त्यो दिन मलाई ब्याटिङमा जान मन थिएन, अरू खेलिरहेका थिए । सर (मोन्टी देशाई)ले मलाई पठाउनुभएपछि म गएँ’ दीपेन्द्रले त्यो दिन सम्झँदै भने, ‘तीन छक्का हानेपछि बल्ल मलाई छिटो हानेर कीर्तिमान बनाउँ जस्तो लाग्यो ।

उनले अगाडि थपे, ‘कुशल मल्लले पनि साथ दिए । म नन स्ट्राइकमा थिएँ, उसले एक रन लिएर ल दाइ हान भनेर स्ट्राइक दिए । अनि विश्व कीर्तिमान बन्यो ।’

दीपेन्द्रले १३ अप्रिल २०२४ मा एसीसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेर अर्को रेकर्ड बनाए । उनी नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी हुन् ।

‘सबै खेल खेल्थ्यो । यहाँबाट चार पाँच किलोमिटर टाढा महेन्द्रनगरमा रहेको कभर्डहलमा पुगेर दैनिक अभ्यास गर्दथ्यो’ उनले अनलाइनखबरसँग भने, ‘अहिले गाउँ, समाज र देश सबैको नाम राखेको देख्दा खुसी लाग्छ ।’

अन्तर्राष्ट्रिय क्रिकेटमै एकै ओभरमा ६ छक्का हान्ने खेलाडीको सूची छोटो छ । टी–२० आईमा त भारतका युवराज सिंह र वेष्टइन्डिजका किरन पोलार्डले मात्रै हानेका छन् ।

दुई फरक ओभरमा ६ बलमा ६ छक्का हान्ने उनी विश्वकै पहिलो खेलाडी हुन् । उनले मंगोलियाविरुद्ध दुई फरक ओभरमा ६ छक्का हानेका थिए ।

यो रेकर्डभन्दा उनले तोडेको सोच ठूलो छ । ‘मान्छेलाई छक्का हान्न ठूलो मान्छे र पावर भएको हुनुपर्छ भन्ने लाग्छ । तर दिप्पीलाई हेर्‍यो भने त्यस्तो छैन’ मल्ल भन्छन्, अब नेपालीले पनि छक्का हान्न सक्ने रहेछ भन्ने भयो ।’

उनी ब्याटिङ मात्रै होइन, बलिङ र फिल्डिङमा पनि छुरा छन् । नेपाली क्रिकेटका थ्रीडी क्रिकेटर उनलाई टाइगर उपनामले समेत चिनिन्छ । उनी आईसीसीको टी–२० आई वरीयता अलराउण्डरतर्फ शीर्ष ६ मा पर्ने पहिलो नेपाली खेलाडी हुन् । उनी बाहेक नेपाली क्रिकेटमा कुनै पनि वरीयता शीर्ष–२० पार लगाउन सकेका छैनन् ।

सुदूरपश्चिममा हुर्किएको प्रतिभा

नेपाली क्रिकेटमा कञ्चनपुर क्रिकेटको उर्भर भूमि हो । दीपेन्द्र पनि त्यही उर्बर माटोमा बाल्यकालदेखि नै फक्रिन पाए । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर भानुचोकमा दीपेन्द्रको परिवार नै क्रिकेटमय थियो ।

विकेटकिपर प्रदीप ऐरी काकाका छोरा हुन् । उनकी बहिनी राजमती महिला टोलीकी अलराउण्डर हुन् । बुबा गगनसिंहका अनुसार दीपेन्द्र सानैदेखि खेल भनेपछि हुरुक्कै हुन्थे ।

‘सबै खेल खेल्थ्यो । यहाँबाट चार पाँच किलोमिटर टाढा महेन्द्रनगरमा रहेको कभर्डहलमा पुगेर दैनिक अभ्यास गर्दथ्यो’ उनले अनलाइनखबरसँग भने, ‘अहिले गाउँ, समाज र देश सबैको नाम राखेको देख्दा खुसी लाग्छ ।’

उमेर समूहमा घरेलु क्रिकेटमा अलराउण्डर टोलीमा परेपछि दीपेन्द्र नेपालको यू–१९ टोलीमा परेका थिए । २०१४ मा एसीसी यू–१९ प्रिमियर लिग प्रतियोगितामा उनले ४ विकेट लिनुको साथै ११४ रन बनाएका थिए । त्यसपछि २०१६ को यू–१९ विश्वकपमा उनले ७८ रन बनाउनुको साथै ७ विकेट लिएका थिए ।

त्यही वर्षको अन्त्यमा भएको यू–१९ एसिया कपले दीपेन्द्रलाई थप एक्स्पोजर दियो । १५ डिसेम्बरमा घरेलु टोली श्रीलंकासँग भएको खेलमा नेपाल १ रनले पराजित भयो, तर ९० रनको इनिङ उनको करिअरको टर्निङ प्वाइन्ट जस्तै बन्यो ।

त्यही प्रदर्शनको बलमा उनी राष्ट्रिय टोलीमा परे । नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन अन्तर्गत केन्यासँग दुई खेलको सिरिज खेल्नुपर्ने थियो । तत्कालीन कप्तान पारस खड्काले एपेन्डिक्सका कारण खेल गुमाएपछि दीपेन्द्रलाई टोलीमा समेटेको थियो । ११ मार्चमा टीयूमा केन्या विरुद्ध डेब्यू गर्दै उनले ५६ बल खेलेर १९ रन बनाए । नेपाल ५ विकेटले पराजित भएको त्यो खेलमा दीपेन्द्रले धेरै ठूलो इनिङ खेल्न नसके पनि मैदानमा देखाएको धैर्य र साहसले टोलीको मन जिते । दोस्रो खेलमा ६२ रनको अर्धशतकीय इनिङ खेलेपछि दीपेन्द्र लगातार नेपाली टोलीमा रहँदै आएका छन् ।

२०१७ नोभेम्बर १२ मा यू–१९ एसिया कपमा नेपालले भारतलाई १९ रनले हराउँदै इतिहास रच्दा पनि दीपेन्द्रले नै नायक थिए । नेपालले कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भारतलाई हराएको त्यो एक मात्रै खेल हो । त्यो खेलमा प्लेयर अफ द म्याच बनेका उनले ८८ रन बनाउनुको साथै ४ विकेट लिएका थिए ।

२०१८ को एकदिवसीय विश्वकप छनोटमा ओडीआई मान्यता पाउन निर्णायक खेलमा पपुवा न्यूगिनी विरुद्ध उनले ५० रन बनाउनुको साथै ४ विकेट लिएका थिए ।

२०१९ मा पारसले कप्तानी छाडेपछि ज्ञानेन्द्र उपकप्तानबाट नेतृत्वमा आए । अनि दीपेन्द्र नेपालको उपकप्तान बने । तर २०२१ सम्म दीपेन्द्रको प्रदर्शन सोचे जस्तो भएन । एक समय उनलाई टिममा राखेकोमा समेत प्रश्न उठेको थियो । तर टोलीले उनीमाथि विश्वास कहिल्यै गुमाएन ।

दीपेन्द्र ब्याटिङ मात्र होइन, बलिङ र फिल्डिङमा पनि उत्तिकै अब्बल छन् । उनी मिडियम पेसर थिए । ब्याकपेन समस्याले दीपेन्द्र यू–१९ विश्वकपपछि अफ स्पिनर बने । अफ स्पिनले थप नयाँ उचाइमा पुर्‍यायो । उत्कृष्ट अलराउण्डर उनी फिल्डिङबाट पनि खेल जिताउन सक्ने खुबी भएका क्रिकेटर हुन् ।

२०२१ डिसेम्बरमा खेलाडीहरूको ग्रेडिङमा टिप्पणी गरेपछि क्यानले ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटायो । त्यो कारबाही उनको करिअरको अर्को टर्निङ प्वाइन्ट बन्यो । उनी चटक्क क्रिकेट छाडेर विदेश जाने सोचमा थिए । तर साथीभाइले सम्झाएपछि क्रिकेटमा अडिए ।

कारबाहीपछि पहिलो पटक टोलीमा फर्किएका उनले २०२२ को सुरुवातमा आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट ‘ए’ मा दीपेन्द्रले सानदार प्रदर्शन गरे । तर नेपाल सेमिफाइनलमा युएईसँग ६८ रनले हार्दा विश्वकप खेल्ने सपना त्यहीं सकिएको थियो । २०२२ मार्च २६ मा दीपेन्द्रले पपुवा न्युगिनी विरुद्ध दोस्रो ओडीआई खेलमा १०५ रनको शतकीय इनिङ खेले । उनको अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक थियो ।

मलेसिया विरुद्ध टी–२० आईमा टीयूमा २०२२ अप्रिल २ मा ११० रनको शतकीय इनिङ खेले । २०२३ मा मोन्टी देशाई मुख्य प्रशिक्षक भएपछि दीपेन्द्र ओडीआईमा मध्यक्रमबाट फिनिसरमा पुगेका छन् । मध्यक्रममा संघर्ष गरेका उनले फिनिसरमा खुलेर रन जोडेका छन् । अहिले दीपेन्द्र नेपालका प्रमुख हतियार हुन् । उनी क्रिजमा हुँदासम्म टोली र समर्थक सधैं जितको आशा राख्छन् ।

दीपेन्द्र ब्याटिङ मात्र होइन, बलिङ र फिल्डिङमा पनि उत्तिकै अब्बल छन् । उनी मिडियम पेसर थिए । ब्याकपेन समस्याले दीपेन्द्र यू–१९ विश्वकपपछि अफ स्पिनर बने । अफ स्पिनले थप नयाँ उचाइमा पुर्‍यायो । उत्कृष्ट अलराउण्डर उनी फिल्डिङबाट पनि खेल जिताउन सक्ने खुबी भएका क्रिकेटर हुन् ।

नेपालले आईसीसी विश्वकप लिग–२ का अन्तिम १२ मध्ये ११ खेल जित्दा, प्रिमियर कपको उपाधि जित्दा सबै खेलमा दीपेन्द्रको भूमिका महत्वपूर्ण थियो । गत वर्ष आईसीसी टी–२० विश्वकप एसिया छनोटमा उनको पहिलो खेल सिंगापुरसँग खेल्नुअघि अभ्यासमा चोट लागेको थियो । तर विश्वकपमा निर्णायक खेल यूएई विरुद्ध उनले त्यो चोटका बाबजुद खेल्ने साहस देखाए ।

आईसीसी टी–२० विश्वकप २०२४ मा सबभन्दा बढी अपेक्षा नेपालले दीपेन्द्रबाट गरेको थियो । त्यसमा भने उनी चुके । उनी आफैं पनि सन्तुष्ट छैनन् । उनले पहिलो खेलमा नेदरल्यान्ड्ससँग १ रन बनाउँदा १ विकेट लिएका थिए । दक्षिण अफ्रिका विरुद्ध ६ रन बनाएका उनले ३ विकेट लिए । त्यो खेलमा नेपाल मात्र १ रनले पराजित भयो । यदि दक्षिण अफ्रिकालाई हराउन सकेको भए नेपाली क्रिकेटकै एक ठूलो उपलब्धि हुन्थ्यो ।

दीपेन्द्र युवा पुस्ताका कुशल कप्तान पनि हुन् । उनले यू–१९ मा नेपालको कप्तानी गरे, नेपालले त्यही बेला भारतलाई हरायो । घरेलु प्रतियोगितामा पनि उत्तिकै सफल छन् । उनले २०१९ मा सीआईबी अत्तरियाको कप्तानी गर्दै टोलीलाई धनगढी प्रिमियर लिग (डीपीएल) उपाधि दिलाए ।

अर्को फ्रेन्चाइज लिग नेपाल टी–२० मा लुम्बिनी अल स्टार्सलाई उपाधि दिलाए । २०२३ मा नेपाल पुलिस क्लबलाई नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण र २०२४ मा प्रधानमन्त्री कपको उपाधि दिलाए । पछिल्लो समय उनले विदेशी फ्रेन्चाइज लिग पनि खेल्न थालेका छन् । ग्लोबल टी–२० क्यानडा र इन्टरनेशनल टी–२० लिग खेलिसकेका उनी यत्तिमै रोकिन चाहँदैनन् ।

भुपेन्द्र जिसी