
काममा खारिएका दुई डीएसपी (प्रहरी नायव उपरीक्षक) को बिदाइ भइसकेको थियो । यही बीचमा (सीडीओ) प्रमुख जिल्ला अधिकारी पनि बिदामा थिए । अनि जिल्लाको सुरक्षा कमाण्ड एक एसपी (प्रहरी उपरीक्षक) को हातमा थियो । सुरक्षाको हिसाबले यसै चुनौती रहेको यो समयमा विपत्तिको तूफानी एकैपटक आइपुग्यो ।
निरन्तरको वर्षा र सँगै आएको बाढी–पहिरोले ठूलो हताहती भयो । भौतिक मात्रै नभएर मानवीय क्षतिको स्थिति पनि त्यसै भयावह । परिस्थिति थियो– विपद्सँग जुध्नुको विकल्प पनि थिएन । तर त्यसका लागि न पर्याप्त स्रोतसाधन थियो न जनशक्ति नै । यही विषम परिस्थितिमा निरन्तर डटेर उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृत हुन्, बसुन्धरा खड्का ।
प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले जिल्ला प्रहरी कार्यालय काभ्रेको सुरक्षा कमाण्ड सम्हालेको सात महिना भइसकेको थियो । त्यतिबेला उनीसँग जिल्लामा डीएसपी राजकुमार श्रेष्ठ र इलाका प्रहरी कार्यालय बनेपामा डीएसपी लालध्वज सुवेदी थिए ।
११ असोज शुक्रवारको दिन थियो । शनिवार बिदा भइहाल्यो । आइतवार, सोमवारतिर सरुवा भएका डीएसपीको बिदाइ गर्ने तयारी बसुन्धराको थियो । तर सरुवा भएकालाई तुरुन्तै रमना गर्नु भन्ने हेडक्वाटरको निर्देशन अनुसार ११ असोजको बिहान ११ बजेतिर उनीहरू दुवै जनाको बिदाइ भयो ।
प्रहरीमा कार्यालय प्रमुख भएको व्यक्तिले चाडपर्वमा बिदा पाउनु दुर्लभ नै मानिन्छ । बसुन्धराका श्रीमान् पनि रौतहटका प्रहरी प्रमुख थिए । यही मौकामा उनी पनि ४ दिनको क्याबी छुट्टीमा छोरालाई लिएर रौतहट जाने तरखरमा थिइन् । तर घटनाले १८० डिग्री फन्को मार्यो । बिदा मनाउने होइन, पाएको बिदा रद्द गरेर आम सर्वसाधारणको जीउधनको रक्षा र रेस्क्युमा खट्नुपर्ने परिस्थिति बसुन्धरासँग आयो ।
‘एकातिर दुई डीएसपीको बिदाइ । सरुवा भएर आउने डीएसपीको पनि हाजिर नभएको अवस्था । यही बेलामा सीडीओ सा’ब पनि बिदामा । अनि विपद्को भयावह स्थिति पनि यही बेला’ ११ असोजको घटनाबारे बसुन्धरा स्मरण गर्छिन्, ‘क्याबी बिदा क्यान्सिल गरेर काममा भिडें । अहिले आफैंलाई कसरी यत्रो काम गरिएछ जस्तो लाग्छ ।’
उनी रौतहट नजाने निधो गर्दागर्दै ११ असोजको दिउँसो ३ बजेतिर इलाका प्रहरी कार्यालय मंगलटारबाट इन्स्पेक्टर कृष्ण गिरीको फोन आयो, ‘माम्ती सडकको ह्युम पाइप बाढीले बगायो ।’ ‘बीपी हाइवे’मा पर्ने यो ह्युम पाइप पनि प्रहरीले नै पालिकासँग समन्वय गरेर राखेको थियो ।
ह्युम पाइप बगाएको जानकारी आएसँगै बसुन्धराले सिन्धुली र काठमाडौं प्रहरीसँग सम्पर्क गरेर गाडी नपठाउन भनिन् । यो ह्युम पाइप बगाउनुलाई क्षति न्यूनीकरणको ठूलो उपहारको रूपमा उनी बुझ्छिन् । ‘ह्युम पाइप बगायो । त्यसको सूचना स्थानीय प्रहरीले तुरुन्तै दियो । सूचना पाएपछि मैले गाडी नपठाउन भनें । जसकारण हाइवेमा हुने ठूलो मानवीय क्षतिबाट हामी जोगियौं’, बसुन्धरा सम्झिन्छन् ।
उनले भने जस्तै ११ र १२ असोज २०८१ मा आएको वर्षासँगैको बाढीपहिरोका कारण नागढुंगा सडकखण्डमा बस नै पुरिएर यात्रुहरूले ज्यान गुमाउनु परेको थियो । जसकारण जिल्ला प्रहरी कार्यालय धादिङका एसपी र सीडीओलाई सरकारले कारबाहीस्वरुप तानेको थियो ।
छिमेकी जिल्लाका एसपी र सीडीओले राम्रोसँग ड्युटी गर्न नसकेको भनेर तानिंदा बसुन्धरा भने उत्कृष्ट विपद् व्यवस्थापकको रूपमा चिनिइन् । उनको कामको मूल्यांकन गर्दै प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयले उनलाई ‘उत्कृष्ट विपद् व्यवस्थापक’ को पुरस्कार दियो ।
वर्षा जारी थियो । सूचना लिने–दिने काम भइरहेको थियो । यही बीचमा ११ असोजको राति साढे ११ बजेतिर बेथानचोकमा मान्छे पुरिएको सूचना आयो । ‘पहिला आफ्नो ज्यान जोगाउ, चौकी जोगाउ । आफू सुरक्षित भएपछि मात्रै उद्धार गर्ने हो । त्यो पनि परिस्थिति अनुकूल हेरेर’ आफू मातहतका प्रहरीलाई उनको स्ट्याण्डबाई निर्देशन थियो ।
रातभर जनप्रतिनिधिले फोन गर्दै क्षतिको विवरण बताउँदै उद्धार गर्नुपर्नेबारे जानकारी गराए । जनप्रतिनिधिबाट आएका यी सबै सूचना उनले सेटबाट रिल गरिरहेकी थिइन्– ‘आफू जोगिएर उद्धार गर्नुस् ।’ पहिलो रात नसुती बित्यो । त्यसपछिका बाँकी चार रात पनि अनिंदै रहे ।
०००
११ गते रातभर मोबाइलमा निरन्तर घन्टी बजे पनि भोलिपल्ट १२ गतेबाट घन्टी बज्न कम भइसकेको थियो । अवस्था के भयो भने रातभरको वर्षाले बिजुली (पावर) अवरुद्ध भयो । एनटीसीको टावर पनि गयो । ‘टावर र पावर दुवै कट’ भएपछि अब भने कहाँ के भयो भन्ने सूचना आदानप्रदानमा समेत अन्योल भयो ।
दुई डीएसपीदेखि सीडीओ सूर्यप्रसाद सेढाई समेत बिदामा र टावर पावर दुवै कट भएपछि अब म एक्लै छु भन्ने भान बसुन्धरालाई पर्यो । ‘एक्लै छु भन्ने भएपछि जिम्मेवारी पनि बढ्दो रहेछ । त्यही सोचेर काम गरें, यति व्यवस्थित भएछ कि उद्धार हुन नसकेर मर्नु पर्यो भन्ने अवस्था आएन’ आफ्नो कामप्रति उनी गर्व गर्छिन् ।
भोलिपल्ट १२ गते ९ बजे एसपी बसुन्धराले विपद् व्यवस्थापन समितिको बैठक आफ्नै कार्यकक्षमा राखिन् । त्यसपछि जनप्रतिनिधिदेखि स्थानीय र आफ्नो टीमले उनलाई ठूलो सहयोग गर्यो ।
‘फस्र्ट ह्याण्ड’ सूचना दिने दायित्व प्रहरीकै थियो । चाहे त्यो सशस्त्र परिचालन गर्न होस् वा आर्मी । यही बेलामा माथिबाट क्षतिको विवरण माग हुन्थ्यो । तर दिनलाई बत्ती थिएन । हातैले लेखेर टिपाउने अवस्था आयो । पावर गएपछि एक व्यवसायीसँग मागेर बसुन्धराले जेनेटर आफ्नो कार्यालयमा जोडिन् । त्यसपछि पालिकाहरूलाई क्लस्टरिङ गरेर सूचना लिने दिने काम शुरू भयो ।
यही बीचमा काभ्रेको नयाँ सीडीओको रूपमा उमेश ढकाल हाजिर भए । लमजुङबाट सरुवा भएका डीएसपी मीन घले पनि काभ्रे आइपुगे । तीन दिनसम्म एक्लै ह्यान्डलिङ गरेकी बसुन्धराको जिम्मेवारी थोरै भए पनि हलुका भयो । अब ‘पोस्ट डिजास्टरको फेज’ मा काम गर्ने बेला भइसकेको थियो । यो बीचमा स्थानीय बासिन्दादेखि जनप्रतिनिधिसम्मले गरेको सहयोग महत्वपूर्ण रहेको उनी सम्झिन्छन् ।
विभिन्न मिसनमा रहँदा डिजास्टरमा काम गरेको अनुभवले पनि यो विपद्मा काम गर्न सजिलो भएको उनको बुझाइ छ । उनले २०७२ सालको भूकम्पमा प्रहरी हेडक्वाटरमा बसेर ‘फरेन नेशनल डेस्क’ मा काम गरेकी थिइन् । त्यतिबेला विदेशी नागरिकका सूचना लिने–दिने प्रमुख जिम्मेवारी उनको थियो ।
‘मिसिङ भएका, डेडबडी भेटिएका वा हस्पिटलमा भएकाहरूको डेटा लिएर त्यसको भेरिफाइ गर्दै दिने, ‘ब्ल्याक नोटिस’ निकाल्ने काम गरेकी थिएँ । जसले गर्दा विपद्को सूचनाबारे म जानकार थिएँ । यसले काम गर्न धेरै सजिलो भयो’, उनी भन्छिन् ।
यसका साथै युएन मिसनमा द्वन्द्वग्रस्त मुलुकहरू हाइटी, सुडान, साउथ सुडान, कंगो, लिबिया लगायतमा काम गरेको अनुभव पनि थियो बसुन्धरासँग । यो अनुभवले उनलाई सिकाएको छ– ‘विपद्को बेला सबैभन्दा ठूलो विषय इन्फर्मेशन म्यानेजमेन्ट हो ।’
सही टाइममा सही सूचना आयो भने त्यही अनुसार ‘एक्सन प्लान’ बनाएर काम गर्दा मानवीय क्षति कम हुने विश्वास उनको छ । तर सूचना लिने बेलामै टावर र पावर दुवै कट भएपछि उनलाई निकै गाह्रो अवस्था आएको थियो ।
यहीबीचमा बाटोमा फसेका यात्रु तथा केही स्थानीयलाई गाँस–बासको जोहो गर्नुपर्ने अवस्था थियो भने अर्कोतर्फ घाइते, बिरामी, ज्येष्ठ नागरिकलाई तत्कालै उद्धार गर्नुपर्ने अवस्था थियो । ज्येष्ठ नागरिक, सुत्केरी, बिरामी, गर्भवती महिलालाई प्राथमिकतामा राखेर हेलिकप्टर मार्फत उद्धार कार्य शुरू भयो ।
ह्युम पाइप बगाएपछि आवागमन रोकिए पनि यो बीचमा काभ्रेमा पर्ने बीपी हाइवेमा ७०० गाडी फसिसकेका थिए । यात्रु र स्थानीय गरेर करिब ८ हजार व्यक्तिलाई उद्धार गर्नुपर्ने अवस्था थियो । बीपी हाइवे आइल्याण्ड बनिसकेको थियो ।
यसरी अलपत्र परेका यात्रुमध्ये ८०० जनाको सेनाको हेलिकप्टर मार्फत उद्धार भयो । एकसय बढी प्राइभेट हेलिकप्टर मार्फत उद्धार भयो । बाँकीलाई स्थलमार्ग मार्फत बसबाट गन्तव्यमा पुर्याइएको थियो । यसका लागि पालिकासँग समन्वय गरेर स्वयम् सेवक, प्रहरी, स्थानीय समेत परिचालन गरिएको थियो ।
यो सम्पूर्णको कामको जस उनी आफ्नो टीमलाई दिन्छिन् । उनी भन्छिन्, ‘एउटा कमाण्डर सफल बनाउन उसको टीमको ठूलो हात हुन्छ । मेरो सम्पूर्ण टीम निर्देशनको अक्षरशः पालना गरेर काममा खटियो । त्यहाँको वास्तविकता बुझेर उनीहरूले काम गरे । रिपोर्टिङ गरे । त्यसैको परिणाम हामी सफल बन्यौं ।’
बिरामी र वृद्धवृद्धाहरूको उद्धारमा पनि उनले कमि हुन दिइनन् । उनीहरूलाई प्राथमिकतामा राखेर प्रहरी आफैंले जाउलो बनाएर समेत खुवाएको बसुन्धराको मानसपटलमा ताजै छ । ती बिरामी र वृद्धलाई लिएर आएको हेलिकप्टर फर्कने बेला पनि अलपत्र यात्रुका लागि खाद्य सामग्री पठाएर बाँड्ने अभियान पनि बसुन्धराले चलाइन् ।
‘रेस्क्यु गरेर फर्केको हेलिकप्टरमा हामीले जे–जे खानेकुरा भेटियो त्यो पठायौं । पानी समेत नभएर पानीका जार पठायौं । प्रहरीलाई भनेर राखिएका राशन बाँड्यौं’ त्यतिबेलाका घटना सम्झँदै उनी भन्छिन्, ‘हुँदा–हुँदा प्रहरी आफैं भोकै हुने अवस्था भयो ।’
त्यसपछि बोरामा प्रहरी युनिटको नाम लेखेर प्रहरीको राशन समेत पठाइएको उनी सम्झिन्छिन् । प्रहरी नलेखी पठाए हामीलाई पठाएको राशन प्रहरीले खायो भन्ने पर्ला भनेर नाम लेखेर उठाउनु परेको उनको भनाइ थियो ।
०००
यो उद्धार घटनामा बसुन्धरालाई हजारौं फोन आए । तर तीमध्ये एउटा फोन कलले भने उनलाई अहिले पनि झस्काइरहन्छ । ‘अननोन’ नम्बरबाट आएको कल बसुन्धराले रिसिभ गरिन् । उताबाट बच्चा रुँदै गरेको आवाज आयो । ‘मेरो आमालाई बचाइदिनु । बुवा कहाँ हुनुहुन्छ थाहा छैन । हेलिकप्टर पठाएर मेरो आमालाई बचाइदिनु’ बच्चाले रुँदै एसपी बसुन्धरालाई फोनमा भने ।
ठ्याक्कै मिति र बजे उनलाई याद नभए पनि यो घटना रोशी गाउँपालिका–५ को थियो । घर भत्किएपछि बाबु भाग्न सफल भएछन् । तर अज्ञात छन् । आमा पुरिएर आधा भाग चल्दैन । साइडमा बच्चाहरू रोइरहेका छन् । घटनास्थलमा भएका कोही व्यक्ति मार्फत एसपी खड्काको नम्बर पाएपछि ती बच्चाले रुँदै आमालाई बचाइदिन भनेका थिए ।
यो घटनाबारे यसअघि नै जनप्रतिनिधिले जानकारी गराएपछि एसपी बसुन्धराले घटनास्थलमा हेलिकप्टर पठाएकी थिइन् । तर हेलिकप्टर बस्न सम्भव भएन । त्यसपछि अर्को सानो हेलिकप्टर पठाइयो । त्यो पनि बस्न सम्भव भएन । हेलिकप्टर आएको तर आफ्नो आमालाई नलिई गएको भन्ने लागेपछि बल्ल बच्चाहरूले आमालाई बचाइदिन भन्दै फोन गरेका थिए ।
आधा भाग पुरिएकी ती आमाले पिसाब रोकिएको बताएकी रहिछिन् । यो फोनले बसुन्धरालाई एकदमै ‘इमोशनल’ बनायो । उद्धार नगरुन्जेलसम्म बिरामीलाई कसरी बचाउने ? समस्या भएपछि नै ‘सल्भ’ हुन्छ भने जस्तै उनको दिमागमा अर्को ‘आइडिया’ फुर्यो ।
अस्पतालसँग रिक्वेस्ट गरेर उनले ‘टेलिमेडिसिन’को व्यवस्था गरिन् । आफ्नै फोनबाट डाक्टर र घटनास्थलमा रहेका स्थानीय स्वास्थ्यकर्मीलाई टेलिफोन संवाद गराइन् । डाक्टरकै सल्लाह अनुसार पिसाब तान्ने काम भयो । केही समयमा ती महिलाको हेलिकप्टरबाट उद्धार भयो । ती महिलाले नयाँ जीवन पाइन् ।
अर्को यस्तै घटना थियो, तेमालमा । बच्चा सकुशल जन्मिएको तर प्लासेन्टा (सालनाल) अड्किएको सूचना आयो । स्वास्थ्य चौकीले उपचार गराउन सम्भव नभएको बताएपछि प्रहरीलाई खबर गरेर हेलिकप्टर पठाइदिन भनिएको थियो । तर त्यो दिन हेलिकप्टर जान सम्भव नभएपछि भोलिपल्ट मात्रै हेलिकप्टर पठाइएको थियो ।
एउटी सुत्केरी महिलाको उद्धारका लागि भनेर गएको हेलिकप्टरबाट भीरबाट लडेका अर्का एक घाइते र एक गर्भवती महिलाको उद्धार भएको थियो । सुत्केरी व्यथाले छट्पटाएकी ती महिलाले पछि जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् । एक जनाको उद्धार गर्न जाँदा जुम्ल्याहा बच्चाका आमा सहित अर्का एक व्यक्तिको पनि जीवितै उद्धार भएको थियो । यी घटना सम्झँदा विपद्को खटाइ र नतिजाबाट उनी गौरव महसुस गर्छिन् ।
०००
ललितपुरमा जन्मिएकी बसुन्धराको बाल्यकाल सुखसयलमै बितेको थियो । निजामती कर्मचारी बुवाले आफ्नी छोरी बसुन्धरालाई पनि आफू जस्तै कर्मचारी बनाउने सोच राखेका थिए । छोरीको अंग्रेजी पनि राम्रोे भएकाले परराष्ट्रतिर जागिर खाओस् भन्ने चाहन्थे बुबा ।
तर त्यसको ठिक विपरीत उनी भने अध्ययनका लागि अमेरिका जाने तयारीमा थिइन् । कलेजले पठाउनुपर्ने जति सबै डकुमेन्ट पठाइसकेकाले उनी भिसाको तयारीमा थिइन् । तर बुवाले नेपालमै केही गर्नुपर्छ, विदेश नजाऊ भनेपछि उनको अमेरिका यात्रा रोकियो । बुवाले परराष्ट्रमा ट्राई गर्नु भने पनि उनमा सरकारी जागिरको मोह थिएन ।
अमेरिका नगएर नेपालमै के गर्ने त ? उनको मनमा यो प्रश्न गडेको थियो । त्यतिबेला उनी ‘वेभ म्यागाजिन’ नियमित जसो अध्ययन गर्थिन् । त्यतिबेला वेभ म्यागाजिनमा छापिएको प्रहरीको बर्दी लगाएको एक महिला अफिसरको स्टोरीमा उनको नजर पर्यो । ती अफिसर थिइन् विमला थापा (पछि डीआईजीबाट अवकाश) । मैले उहाँको बायोग्राफी पढेपछि प्रहरीप्रति मेरो आकर्षण बढ्यो ।
‘नेशनल, इन्टरनेशनल रूपमा एक्सपोजर पनि भइने । अनि यत्रो जिम्मेवारी । त्यो पढेर मलाई कस्तो राम्रो जब भन्ने लागेको थियो’, उनी स्मरण गर्छिन् । प्रहरीप्रति मोह बढिरहेकै बेलामा एक जना नातेदारले ‘इन्स्पेक्टरमा खुलेको छ, दिंदा हुन्छ नि’ भनेपछि बसुन्धराले फारम भरिन् । यो थियो १५ जेठ २०६१ को दिन ।
प्रहरीमा जान्छु भनेपछि घरका मान्छेले पनि बरु विदेश जाऊ भन्छन् भन्ने सोचेर परिवारमा उनले यो कुरा सुनाइन् । तर ठिक उल्टो परिवारका सदस्यले हुन्छ जाऊ भने । यसको रहस्य पछि मात्रै उनले थाहा पाइन् जब इन्स्पेक्टरमा नाम निस्कियो परिवारबाट सहयोग भएन । लुरे मान्छे, दुःख पनि गरेको छैन । प्रहरीमा नाम निकाल्न सक्दैन । अनि इन्स्पेक्टर पनि हुँदैन अमेरिका जाने कुरा पनि रोकिन्छ भन्ने परिवारको सोचाइ रहेछ ।
यो कुरा उनले इन्स्पेक्टरमा नाम निकालेपछि परिवारले सहयोग नगरेपछि मात्रै बुझिन् । परिस्थिति पनि त्यतिबेला त्यस्तै थियो– द्वन्द्वका कारण भएको जागिर समेत प्रहरीहरूले छाडिरहेको अवस्था थियो । तर यहीबेला इन्स्पेक्टरको १२६औं ब्याचका ११३ जना इन्स्पेक्टर मध्ये एक्लो महिलाको रूपमा उनी तालिममा सामेल भइन् । आफ्नो ब्याचको एक्लो इन्स्पेक्टर बनेकी उनै बसुन्धरा अहिले प्रहरी संगठनकै एक्लो महिला एसपी हुन् ।
तस्वीरः आर्यन धिमाल