+

युरोप अमेरिकालाई दुना-टपरी बेच्ने उद्यमी

पूरा सूची
Shares
बुबा बेपत्ता भएपछिको बाल्यकालको दुःख अनि भारतमा काम गरेर परिवार पाल्ने श्रीमान् । माइती र घरमा चरम विपन्नतासँग लड्दै पनि भावनाले सफलताको सिंढी चढिन् । अहिले उनी सुदूरपश्चिमकै सफल महिला उद्यमी बनेकी छिन् ।
भावना पुलामीमगर

भावना पुलामीमगरलाई गरिबीले थिचेपछि बीचमै पढाइ छाडिन् । चार भाइबहिनी पढाउने खर्चको जोहो गर्न बुवा भारतमा मजदुरी गर्न हिंडे । तर बुबा उतै बेपत्ता भएपछि परिवार सम्हाल्ने जिम्मेवारी आमाको काँधमा पुग्यो ।

बुवा सम्पर्कविहीन भएपछि पैसा कमाउने आधार टुट्यो । ट्युसन पढ्ने पैसा नभएर टेष्ट परीक्षा पास भए पनि उनले एसएलसी दिन सकिनन् । बीचमै पढाइ छुट्यो । आमाले विवाह गरिदिने योजना बनाएपछि नाइँनास्ति गर्न सक्ने अवस्था पनि थिएन ।

धेरै पढ्ने धोको थाती राख्दै २०६२ सालमा उनी विवाह बन्धनमा बाँधिइन् । विवाह गरेर गएको घरको आर्थिक अवस्था पनि कमजोर थियो । श्रीमान् भारतमा रोजगारी गरेर जीविका चलाउन विवश थिए ।

यसरी माइती र घरको विपन्नताले उनलाई उद्यमी बन्न प्रेरित गर्‍यो । बंगुर पालनबाट व्यावसायिक यात्रा थालेर अहिले उनी सुुदूरपश्चिमकै सफल र प्रतिष्ठित महिला उद्यमी बनेकी छन् । उनी हुन्, धनगढी उपमहानगरपालिका–१४ फूलबारी एच गाउँकी भावना पुलामीमगर ।

२०४४ साल कात्तिकमा बुवा भीमबहादुर रानामगर र आमा चित्रमाया रानामगरको विपन्न परिवारमा जन्मिएकी हुन्, भावना । गरिबीमा हुर्किएकी भावना पैसाको अभावकै कारण पढाइ छाड्न बाध्य भइन् । कलिलो उमेरमा विवाह पनि त्यही विपन्नताकै परिणाम थियो ।

८ कक्षा पढ्दाको कुरा हो, बुवा रोजगारीका लागि भारत गएका थिए तर अहिलेसम्म फर्किएका छैनन् । चार भाइबहिनीलाई आमाले मात्रै पढाउन नसक्ने भएपछि उनले १० कक्षा पढ्दा–पढ्दै स्कूल छाडिन् । २०६२ सालमा विवाह बन्धनमा बाँधिइन् ।

विवाहपछि उनलाई गाउँकै स्कूलमा बाल विकास शिक्षक भएर काम गर्ने अवसर मिल्यो । उनी आफैंले पढाउने बालबालिकाको अवस्था देखेर मन बुझाउँथिन् । कापी, कलम विना नै जब बालबालिका स्कूल पुग्थे; भावना सोच्थिन्, ‘म मात्र होइन यहाँका धेरैजसो मानिस गरिबीको चपेटामा रहेछन् ।’

चार वर्षसम्म बाल विकास शिक्षक भएर काम गरेकी उनले त्यसपछि भने जागिर छाडिन् । त्यो बेला श्रीमान् भारतमा मजदुरी गर्थे, त्यो कमाइले घर खर्च चलाउनै मुश्किल पर्न थाल्यो । जीविका चलाउन उनले गाउँमा पाँच वटा पाठा किनेर बंगुर पाल्न सुरु गरिन् । अरूको धान कुटेर, घाँस काटेर बंगुरका लागि आवश्यक भुसाको व्यवस्था गर्थिन् ।

स्थानीयस्तरमै बंगुरको मासु बिक्री गर्न थालिन् । यसबाट भएको आम्दानीले कुखुरा पालन व्यवसाय पनि सुरु गरिन् । १०० वटा कुखुराका चल्लाबाट सुरु गरेको व्यवसायलाई विस्तार गर्दै ५०० चल्लासम्म राखिन् । बोइलर कुखुरा पाल्न थालेकी भावनाले गाउँघरमै मासु बिक्री गर्दै आइन् ।
तर रोग लागेर भएका चल्लाहरू मरेपछि भने उनले कुखुरा पालन व्यवसाय छाडिन् । त्यसपछि उनी केही समय घरायसी काममै केन्द्रित भइन् । तर, आर्थिक उपार्जनको माध्यम सिर्जना गरिसकेकी उनलाई खाली बस्ने इच्छा भएन ।

तालिम लिएर दुना टपरी उद्यमतिर

२०७४ सालमा भावनाकै अगुवाइमा तीन जना महिलाले वडा कार्यालयमा ‘सीपमूलक तालिम पाऊँ’ भनेर माग गरे । उनीहरूले विपन्न वर्गका महिलालाई खाली समयको सदुपयोग गर्न सीप सिकाउनुपर्ने भन्दै त्यसपछि आफूहरू आत्मनिर्भर बन्ने भनेर वडामा निवेदन दिए ।

महिला स्वयम् नै अग्रसर भएर तालिम माग्न आएपछि वडा कार्यालयले पनि दुना–टपरी बनाउने तालिम दियो । उक्त तालिममा निवेदन दिने तीन जना मात्रै होइन अन्य २० जनाले पनि दुना–टपरी बनाउने तालिम लिने अवसर पाए ।

१० दिनको तालिम लिएपछि भावनाले गाउँकै विष्णु भुसाल र सरिता बुढामगरसँग मिलेर दुना–टपरी उद्योग चलाउने योजना बनाइन् । तीनै जनाले पैसा संकलन गर्दै २ लाख ९० हजारमा दुना–टपरी बनाउने मेसिन खरीद गरेर व्यवसाय अघि बढाए ।

फूलबारी दुना–टपरी उद्योग दर्ता गरेर साझेदारीमा व्यवसाय शुरू गरे पनि बजारको निकै ठूलो समस्या थियो । उनीहरूले दुना–टपरी निःशुल्क रूपमा दिंदा समेत नलिने अवस्था थियो । तर, प्रचारप्रसारको माध्यमबाट उनीहरूले बजार व्यवस्थापनको काम पनि गरे ।

व्यवसाय ठिकै चलिरहेको थियो तर सहकार्य गर्ने मध्येकी विष्णुको मिर्गौलामा पत्थरीका कारण निधन भएपछि साझेदारी टुट्यो । त्यसपछि भावना र सरिता पनि अलग भए । २०७६ सालमा भावनाले सानीडाँडा फूलबारी दुना–टपरी उद्योग दर्ता गरिन् ।

शुरूका दिनमा उनी आफैं सालको पात जंगलबाट टिपेर उद्योगसम्म ल्याउँथिन् । एक लाखको इलेक्ट्रिक मेसिन घरमै राखेर दुना–टपरी बनाउन थालिन् । त्यतिन्जेलसम्म दुना–टपरीको प्रयोग गर्ने क्रम शुरू भइसकेका कारण उनलाई बजार पाउन धेरै ठूलो सकस खेप्नुपरेन ।

भावना सुरुआतमै दैनिक ४०० देखि ५०० सम्म दुना–टपरी बनाउन थालिसकेकी थिइन् । त्यसपछि भने गाउँका अन्य महिलालाई पनि फुर्सदको समयमा दुना–टपरी बनाउने काममा लाग्न प्रेरित गरिन् । केही महिलाले सुरुआतमा उनको उद्योगमा आंशिक रूपमा काम थाले ।

तर अहिले दैनिक जसो २०० जना महिला जंगलबाट पात टिपेर उद्योगमा ल्याएर बिक्री गर्ने काम गर्दै आएका छन् । गाउँका पाँच जना महिलाले त उनको उद्योगमा पूर्णकालीन रोजगारी पाएका छन् । दुना–टपरी बनाउँदा पिसका हिसाबले ज्याला दिने भएकाले फुर्सदका बेला पनि काम गर्न गाउँका महिला आउँछन् ।

भावनाको उद्योगले टपरीको प्रति पिस दुई रुपैयाँ, दुनाको ५० पैसा अनि प्लेटको एक रुपैयाँ ज्याला दिंदै आएको छ । गाउँका महिलाले जंगलबाट पात टिपेर प्रति किलो ८ रुपैयाँका हिसाबले उनको उद्योगमा बिक्री गर्छन् । भावना अहिले उद्यमी मात्रै होइन, रोजगारदाता पनि बनेकी छन् ।

अहिले उद्योगको लगानी १० लाख पुगिसकेको छ । मेसिनको संख्या बढाएर ६ वटा पुर्‍याएकी छन् । रोचक कुरा के भने, शुरूका दिनमा निःशुल्क दिंदा पनि लिन नमान्ने दुना–टपरी अहिले बजारको माग धान्न मुश्किल पर्न थालेको छ । ‘सुरुआती दिनमा दुना–टपरीको प्रयोगबारे बुझाउनै समस्या थियो’ भावनाले भनिन्, ‘तर अहिले त माग धान्नै नसक्ने अवस्थामा छौं । बजार पाइएको छ । म व्यवसायप्रति खुशी छु ।’

अमेरिकासम्म दुना–टपरीको व्यापार
भावनाको उद्योगले बनाएको दुना–टपरी स्थानीय बजारमा मात्रै होइन अहिले अन्तर्राष्ट्रिय बजारसम्म पुग्न थालेका छन् । जब उनले आफ्नो उद्योगमा बनेका दुना–टपरी सामाजिक सञ्जाल फेसबुक, टिकटकमा प्रचार गर्न थालिन् त्यसपछि नै बजार विस्तारको बाटो खुल्यो ।

सामाजिक सञ्जालको माध्यमबाट भावनाको सम्पर्कमा पोखराका व्यापारी आए । त्यसपछि ती व्यापारीले उनको उद्योगले बनाएका दुना–टपरी खरिद गर्न थाले । भावनालाई त्यसपछि स्थानीयस्तरमा सीमित दुना–टपरीको बजार थप विस्तार गर्ने अवसर मिल्यो ।

अहिले तिनै व्यापारीको माध्यमबाट उनले उत्पादन गरेका दुना–टपरी देश, विदेश पुग्न थालेका छन् । अमेरिका, अष्ट्रेलिया, जापान लगायत मुलुकसम्म भावनाले बनाएका दुना–टपरी जान थालेका छन् ।

गरिबीका कारण कुनै बेला आत्महत्याको समेत प्रयास गरेको अनुभव बोकेकी भावना चुनौतीको सामान गर्नुपर्छ भनेर अघि बढेपछि आफ्नो जीवन मात्रै होइन, आफूप्रति समाजकै सोच परिवर्तन गर्न सफल भएकी छन् । उनी भन्छिन्, ‘मलाई उद्यमी बनाउने महत्वपूर्ण पक्ष मेरो परिवारको गरिबी हो ।’

‘अहिले दैनिकजसो ५ देखि १० हजार धनगढीमा र सोही हाराहारीमा महेन्द्रनगरमा दुना–टपरी बिक्री हुने गरेका छन् । हप्तामा ४० देखि ५० हजारसम्म पोखरा पठाउँछौं’ भावनाले भनिन्, ‘पोखराका व्यापारीले अमेरिका, अष्ट्रेलिया, जापान पठाउनुहुन्छ । उहाँले उद्योगको सबै उत्पादन यतै पठाउनुस् भन्नुहुन्छ तर त्यसो गर्न सकिएको छैन ।’

कतिसम्म भने अरूको भन्दा धनगढीको उद्योगको दुना–टपरी राम्रो भएको भन्दै माग दिनदिनै बढ्दै गएको छ । दुना–टपरी उद्यमी भएपछि भने भावनाको जीवनस्तर फेरिएको छ । आर्थिक हैसियतमा सुधार भएको छ । अहिले उनको वार्षिक कमाई १४/१५ लाख माथि छ ।

कुनै बेला कठोर संघर्षका दिन बिताएकी भावना अहिले आफ्नै कमाइले दुई–दुई वटा पक्की घर बनाउन सफल भएकी छन् । दुई छोराछोरीलाई राम्रै स्कूलमा पढाइरहेकी छन् । उनको पौरखबाट नै यो सब सम्भव भएको हो ।

अब प्रशिक्षक पनि

अब उनको परिचय पनि फेरिएको छ । अहिले उनी दुना–टपरी उद्यमी महिला मात्रै होइनन्, समाजकी एक कुुशल प्रशिक्षक पनि हुन् । आफूले सिकेको सीप अरू महिला दिदीबहिनीलाई पनि सिकाउनुपर्छ भन्ने उनको मान्यता छ ।

त्यसैले अहिले दुना–टपरी प्रशिक्षकका रूपमा तालिम दिन देश दौडाहामा हुन्छिन् । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, अछाम, डोटी लगायत जिल्लामा पुगेर महिलालाई दुना–टपरी बनाउने तालिम दिइसकेकी छन् । झापा, मकवानपुर, धादिङ लगायत जिल्लामा पनि उनी प्रशिक्षकका रूपमा पुगेकी छिन् ।

भावनाले हालसम्म कम्तीमा पनि ६०० महिलालाई दुना–टपरी बनाउने तालिम दिइसकेकी छन् । प्रशिक्षणबाट पनि भावनाको राम्रो कमाइ हुन्छ । सीप सिकेर मात्रै हुँदैन, त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने मान्यता राख्ने भावना अरू महिलालाई पनि उद्यमी बन्न प्रेरित गर्ने गर्छिन् । उनका श्रीमान् ८ वर्षदेखि साउदी अरबमा सुपरभाइजरको जागिर खान्छन् । अब श्रीमान्लाई पनि स्वदेशै बोलाएर उद्यममै लगाउने योजना भावनाको छ ।

भावना महिलालाई श्रीमान्को भरमा मात्र बाँच्न नहुने सुझाव दिन्छिन् । ‘दिदी–बहिनीहरूले पुरुष मान्छेको मात्रै आश गरेर बस्नुहुँदैन । चुलोचौकोमा काम गरेपछि बच्ने समयको सदुपयोग गरेर सक्दो काम गर्नुपर्छ’ उनले भनिन्, ‘संघर्षको प्रतिफल मीठो हुन्छ । जीवनमा केही न केही गर्नुपर्छ ।’

गरिबीका कारण कुनै बेला आत्महत्याको समेत प्रयास गरेको अनुभव बोकेकी भावना चुनौतीको सामान गर्नुपर्छ भनेर अघि बढेपछि आफ्नो जीवन मात्रै होइन, आफूप्रति समाजकै सोच परिवर्तन गर्न सफल भएकी छन् । उनी भन्छिन्, ‘मलाई उद्यमी बनाउने महत्वपूर्ण पक्ष मेरो परिवारको गरिबी हो ।’

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।