+

मान्छे र माटोको स्वास्थ्य जोगाउने उद्यमी

पूरा सूची
Shares
चिकित्सक बनेर बिरामीको सेवा गर्न नपाए पनि पीएचडी गरेरै भए पनि ‘डाक्टर’ लेख्ने सपना बोकेकी भैरहवाकी पुनम अग्रवाल प्रकारान्तरले देशको सफल उद्यमी बन्न पुगिन् । उनको प्राङ्गारिक मल उद्योगले मान्छे र माटोको स्वास्थ्य बचाउने काम गरिरहेको छ ।
पुनमकुमारी अग्रवाल

महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बन्ने संकल्प लिएकी भैरहवाकी पुनमकुमारी अग्रवालको त्यो सपना पूरा हुन सकेन । तर उनी समग्र मानव स्वास्थ्य र खाद्यान्न उब्जाउने माटो बचाउन देशकै ठूलो प्राङ्गारिक मल उद्योगकी सञ्चालक बन्न पुगिन् ।

सिरहाको मारवाडी परिवारमा जन्मे–हुर्केकी पुनमको सानैदेखिको धोको पढेर एमबीबीएस डाक्टर बन्ने थियो । त्यसका लागि उनले दुई पटकसम्म प्रवेश परीक्षा दिइन् तर पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सकिनन् । परिवारले लाखौं रुपैयाँ खर्चेर एमबीबीएस पढाउन नचाहेपछि पुनमको डाक्टर बन्ने सपना मोडियो ।

उनले माइक्रो बायोलोजी (सूक्ष्म जीव विज्ञान) पढेर डाक्टरलाई नै पढाउने सोच बनाइन् । त्यसै अनुसार उनी सफल भइन् र रूपन्देहीको देवदह र भैरहवाको युनिभर्सल मेडिकल कलेजमा प्राध्यापन गर्न थालिन् ।

जीवन खुशीसाथ राम्रैसँग चलेको थियो । तर जब कोभिड महामारी नेपाल भित्रियो, त्यो बेला पुनमले कोरोना भाइरस संक्रमणका कारण ५४ वर्षका बुबा गुमाउन पुगिन् । पति सिद्धार्थ अग्रवाल पनि कोभिड संक्रमणबाट थला परे । पुनमले घरमै राखेर उपचार अनि स्याहारसुसार गरिन् र पतिलाई बचाउन सफल भइन् ।

परिवारभित्र र देश–विदेशमा कोरोना भाइरसको संक्रमणले पुर्‍याएको अकल्पनीय मानवीय क्षति, जनजीवनमा पारेको विश्वव्यापी असर, आयात बन्द हुँदा किसानले एक बोरा रासायनिक मलका लागि भोगेको सास्ती जस्ता यावत् समस्या नजिकबाट नियाल्ने क्रममा पुनमको मन–मस्तिष्कले क्षतिको कारण जान्न खोजिरहेको थियो ।

कोरोना महामारीबाट भएको मानवीय क्षतिको एउटा कारण स्वस्थ खानपानको कमी हो भन्ने अधिकांश डाक्टरले भनिरहेका थिए । कोरोना महामारीबाट करोडपतिहरू पनि मृत्युवरण गरिरहेको दृश्य पुनमले नजिकबाट देखिन् । पैसाले मात्रै संक्रमित बचाउन नसकिने, स्वच्छ खानपान र जीवनशैली चाहिने, यस्ता व्यक्ति संक्रमित भए पनि भाइरसलाई जित्न सक्ने भन्ने उनले डाक्टरको मुखबाट सुनिन् ।

पुनम आफैं पनि सूक्ष्म जीव विज्ञानको प्राध्यापक भएकाले यो कुराले उनको दिमागमा क्लिक गर्‍यो । रासायनिक मल र कीटनाशक विषादी प्रयोग गरेर उब्जेका खाद्यान्न, तरकारी, फलफूल खाएपछि मान्छे कसरी रोग प्रतिरोधी र स्वस्थ हुनसक्छ ? भन्ने उनको मनमा खेलिरह्यो ।

अर्कोतर्फ नेपालमा वर्षेनि रासायनिक मल अभाव हुने, मल पाउन किसानले सधैं सास्ती खेप्नुपर्ने तर त्यही मलले माटोको उर्बरा शक्ति नष्ट गर्ने मात्रै होइन त्यसको प्रयोग भएर उब्जेका अन्नबाली मानव स्वास्थ्यका लागि हितकर नहुने तथ्य पुनमले राम्रोसँग बुझेकी थिइन् ।

‘नेपालमा वर्षेनि मलको अभाव भइरहने सदाबहार समस्याका बीच कोरोना महामारीका बेला त्यो समस्या झन् बढ्यो,  अन्य वस्तु आयात ठप्प हुँदा जनजीवनमा परेको असर देखेपछि प्राङ्गारिक मल उद्योग खोल्नुपर्छ भन्ने सोच आयो’, पुनमले भनिन् ।

कोभिडले जन्माएको ‘ग्रो मोर’

कोरोना महामारीपछि पुनमले नयाँ संकल्प गरिन्– मान्छे र माटोलाई बचाउन रासायनिक मलको साटो प्राङ्गारिक मलको प्रयोगबाट खाद्यान्न उब्जाउने । त्यसका लागि आफैं प्राङ्गारिक मल कारखाना खोल्ने ।

पति सिद्धार्थसँग सल्लाह गरिन् । कोरोना महामारीबाट भाग्यले बाँचेका सिद्धार्थ उनको कुरामा सहमत भइहाले । किनकि जति धन सम्पत्ति भए पनि स्वास्थ्य भन्दा ठूलो र बलियो केही नहुने रहेछ भन्ने उनले भर्खरै भोेगेका थिए ।

पुनमको प्रस्तावमाथि सिद्धार्थले केही समय अध्ययन गरे । अनि साझेदारीमा चितवनमा चलाइरहेको सिमेन्ट उद्योग बेचेर रूपन्देहीमा नेपालकै पहिलो ठूलो आधुनिक प्राङ्गारिक मल उद्योग खोल्ने निर्णयमा पुगे । ‘कोरोनाबाट बुबा गुमाएकी थिएँ, धन्न श्रीमान्लाई बचाउन सकियो’ त्यो त्रासपूर्ण अवस्था सम्झिंदै पुनमले भनिन्, ‘एउटै परिवारका सदस्यबीच पनि छूत–अछूतको जस्तो व्यवहार गर्नुपर्ने अवस्था थियो ।’

त्यो बेला मैले जति पटक डाक्टरसँग फोनमा परामर्श लिन्थें उनीहरू भन्थे, स्वस्थकर खानपानमा ध्यान दिनु, तागतिला खानेकुरा खान दिनु । तर सबैजसो खानेकुरा रासायनिक मल र कीटनाशक विषादी छरेर उत्पादन गरिएका थिए । यसबाट मलाई प्राङ्गारिक मल उद्योग खोल्नुपर्छ भन्ने आइडिया फुर्‍यो ।’

यो निर्णयमा पुगेकी पुनमलाई उद्योग स्थापना गर्ने जग्गा र मेशिन खरीदका लागि चाहिने ३० करोडमध्ये १० करोड अपुग भयो । कर्जाको जोहो गर्न पति सिद्धार्थलाई भनिन् । अग्रवाल दम्पती प्रपोजल फाइल बोकेर २० वर्षदेखि कर्जाको कारोबार गरिरहेको सिद्धार्थ बैंक गए ।

‘सिद्धार्थले ६ महिनासम्म झुलायो र अन्तिममा मल कारखाना सफल नहुने भन्दै कर्जा दिएन’ पुनमले भनिन्, ‘फेरि प्रभु बैंकमा गयौं उसले पनि सरकारले खोल्न नसकेको मल कारखाना एउटा व्यक्तिले कसरी खोल्न सक्छ भनेर महामारीको कारण देखाउँदै कर्जा दिएन ।’

अग्रवाल दम्पती बुटवलमा केन्द्रीय कार्यालय रहेको साइन रेसुंगा डेभलपमेन्ट बैंकमा गए । प्रपोजल हेरेपछि बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल सहित कर्जा विभागको टिम प्राङ्गारिक मल उद्योगमा कर्जा लगानी गर्न तयार भयो । पुनमले भनिन्, ‘बैंकका सीईओ पौडेलले यो देशको आवश्यकता हो, कारखाना सफल हुन्छ भनेर हौसला समेत दिए, त्यसले झनै कन्फिडेन्ट बढायो ।’

कर्जा पाएपछि उनीहरूले रूपन्देहीको रोहिणीमा ३० करोड लगानीमा नेपालकै ठूलो अर्गानिक मल उद्योग स्थापना गरे । दुई वर्षमै रोहिणी गाउँपालिका–४, कोटहवामा ५ बिघा क्षेत्रफलमा ‘ग्रो मोर’ अर्गानिक मल उद्योग सञ्चालनमा ल्याए । दैनिक दुई सय मेट्रिक टन उत्पादन क्षमताको उद्योगले ‘रत्नम अर्गानिक दानेदार मल’ को व्यावसायिक उत्पादन शुरू गर्‍यो ।

एक वर्ष धान, गहुँ, मकै, तरकारी लगायत बालीमा परीक्षण गर्दा सफल भएपछि उद्योगले लुम्बिनी सहित गण्डकी, बागमती, मधेश र सुदूरपश्चिम प्रदेशका किसानलाई लक्षित गरी दैनिक १०० मेट्रिक टन भन्दा बढी मल उत्पादन गर्दै आएको पुनम बताउँछिन् । उद्योगले ५, २५ र ५० केजी तौल प्याकेजिङमा मल बजारमा ल्याएको छ ।

‘नीतिगत व्यवस्था गर्ने हो भने हामी सिंगो नेपाललाई प्राङ्गारिक देश बनाउन सक्छौं, जसरी भारतको सिक्किम प्राङ्गारिक प्रदेशका नामले प्रख्यात छ ।’

‘उत्पादनको लाइसेन्स त सजिलै पाइयो तर मल बिक्रीको लाइसेन्स पाउन प्रशासनिक झमेलाले एक वर्ष बढी समय लाग्यो’ पुनमले भनिन्, ‘घरेलु स्तरका अर्गानिक मल उद्योग थुप्रै थिए, तर प्राङ्गारिकमा नेपालकै पहिलो ठूलो उद्योग भएकाले नीतिगत झमेला बेहोर्दै अहिले सरकारी निकायबाटै सूचीकृत मल उद्योग भएको छ ।’

पुनमका अनुसार उद्योगले वार्षिक एक लाख मेट्रिक टनसम्म उत्पादन गर्न सक्छ । उद्योगमा हाल ४० जनाले रोजगारी पाएका छन् र पूर्ण क्षमतामा सञ्चालन हुँदा १५० जनाले रोजगारी पाउने छन् ।
व्यावसायिक उत्पादन थालेको एक वर्षमै नेपालका ५० जिल्लामा डेढ सय बढी स्थानमा डिपो खोलेर मल बिक्री गरिरहेको अग्रवालले बताइन् ।

‘उच्च गुणस्तरको भएकाले हाम्रो उत्पादनलाई नेपाली किसानले मात्रै होइन, सीमावर्ती भारतीय किसानले पनि मन पराएर माग गरिरहेका छन्’ अग्रवालले भनिन्, ‘अब मानव स्वास्थ्य र माटोको उर्वरा शक्ति जोगाउन सरकारले पनि अर्गानिक मल प्रवर्द्धन गर्नुपर्छ ।’

अर्गानिक मल रासायनिक मलको तुलनामा सस्तो र गुणस्तरीय रहेको अग्रवालले बताइन् । ‘हाम्रो अरू पनि व्यवसाय छ, त्यसबाट नाफा कमाउँछौं, तर प्राङ्गारिक मल कारखाना नाफा कमाउन नभई, मान्छे र खेतीयोग्य माटो दुवैको स्वास्थ्य बचाउन खोलेका हौं ।’

उनका अनुसार ५० किलो रासायनिक डीएपी मलको मूल्य करिब २४०० रुपैयाँ पर्ने गरेकोमा रत्नम् अर्गानिक मलको मूल्य १५०० रुपैयाँ पर्छ । बजारमा अर्गानिक मलका नाममा पूरा मात्रामा पोषकतत्व नभएका मल बिक्री भइरहेको जनाउँदै अग्रवालले यसलाई रोक्न तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताइन् ।

नेपालमा वार्षिक ५ लाख ३० हजार मेट्रिक टन रासायनिक मलको माग छ । रासायनिक मल खरीदमा मात्रै मुलुकको झण्डै ४० अर्ब रुपैयाँ खर्च हुने गरेको छ । यो उदाहरण दिंदै अग्रवालले भनिन्, ‘सरकारले अर्गानिक मललाई प्रवद्र्धन गर्ने नीति, योजना र कानून बनाउने हो भने रासायनिक मल आयातमा वर्षेनि विदेशिने अर्बौं रुपैयाँ जोगाउन सकिन्छ । यसबाट व्यापार घाटा सन्तुलनमा ल्याउन योगदान मिल्छ । अनि मल अभावको सधैंको सास्ती अन्त्य भई किसानले सहज रूपमा चाहे जति मल आफ्नै देशमा पाउन सक्छन् ।’

सरकारले नीतिगत प्रोत्साहन गर्ने हो भने उद्योगले दुई वर्षभित्र विदेशबाट हुने रासायनिक डीएपी मलको आयात पूर्णरूपमा रोक्न सक्ने पुनम बताउँछिन् । उद्योगले क्षमता विस्तार गरी दैनिक ५०० मेट्रिक टन मल उत्पादन गर्न सक्ने उनले बताइन् ।

उद्योगको अहिलेको क्षमताको आधा मात्रै उत्पादन गर्दा वार्षिक एक अर्बको आयात विस्थापित गरेको र थप क्षमता विस्तार गर्दा एक वर्षमा १५ अर्ब रुपैयाँ बराबरको रासायनिक मल आयातलाई रोक्न सकिने उनी बताउँछिन् । उनी भन्छिन्, ‘नीतिगत व्यवस्था गर्ने हो भने हामी सिंगो नेपाललाई प्राङ्गारिक देश बनाउन सक्छौं, जसरी भारतको सिक्किम प्राङ्गारिक प्रदेशका नामले प्रख्यात छ ।’

आफूले अघि सारेको प्राङ्गारिक मल उद्योगलाई सफल बनाउन र अघि बढाउन पति सिद्धार्थको अतुलनीय साथ रहेको पुनम बताउँछिन् । ‘मलाई नेपालकै पहिलो ठूलो प्राङ्गारिक मल उद्योग लिड गर्न पति सिद्धार्थको ठूलो साथ र सपोर्ट छ’, पुनमले भनिन् ।

‘डाक्टर’ हुन नपाएर बनेकी उद्यमी

२०३९ सालमा जन्मेकी पुनमलाई आईएस्सी पास गरेलगत्तै परिवारबाट बिहे गर्न दबाब थियो । मारवाडी समुदायमा अपवादलाई छाडेर छोरीहरूको बिहे २० वर्षभित्रै गरिदिने प्रचलन थियो । तर पुनम बिहे होइन पढेर एमबीबीएस डाक्टर बन्ने अठोट पूरा गर्न चाहन्थिन् । तर पटक–पटक प्रयास गर्दा पनि एमबीबीएसमा उनको नाम निस्किएन । अनि डाक्टर बन्ने बाटो मोडियो ।

त्यसपछि पुनमले एमबीबीएसका विद्यार्थीलाई नै पढाउन पाउने विषय माइक्रो बायोलोजी (सूक्ष्म जीव विज्ञान) विषय पढ्ने निधो गरिन् । र, त्रिचन्द्र क्याम्पसमा बीएस्सीमा भर्ना भइन् । माइक्रो बायोलोजी पढ्दै उनले मैतीदेवीका मारवाडी समुदायका छोराछोरीलाई होम ट्युसन पनि पढाउन थालिन् । उनले फर्स्ट डिभिजनमा बीएस्सी उत्तीर्ण गरिन् ।

चिकित्सक बनेर बिरामीको सेवा गर्न नपाए पनि पीएचडी गरेरै भए पनि ‘डाक्टर’ लेख्ने सपना बोकेकी पुनम अग्रवाल प्रकारान्तरले देशको सफल उद्यमी बन्न पुगिन् ।

अनि त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग कीर्तिपुरमा छात्रवृत्तिमा एमएस्सी पढ्न प्रवेश परीक्षा दिइन् । ४० जनाको कोटाभित्र छनोट हुन उनी सफल भइन् । पहिलो वर्षको नतिजामा ४० जनामध्ये उत्कृष्ट २० जनाले मात्र मेडिकल माइक्रो बायोलोजी र बाँकी २० जनाले इन्भाइरोन्मेन्ट माइक्रो बायोलोजी पढ्न पाउने नियम थियो । पुनमले आफूले चाहेको विषय पढ्न पाइन् ।

पहिलो वर्षको नतिजामा ७८ प्रतिशत अंक सहित डिस्टिङ्सनमा उत्तीर्ण भएपछि कलेजहरूमा पुनमको माग हुन थाल्यो । उनलाई नोबेल कलेज सिनामंगल, लर्ड बुद्ध एकेडेमी र कर्णाली कलेज अफ हेल्थ साइन्समा बीएस्सी नर्सिङ तथा ब्याचलर इन पब्लिक हेल्थ विषयमा पढाउन अफर आयो । उनले ती कलेजहरूमा कक्षा लिन थालिन् । मासिक डेढ लाख रुपैयाँसम्म कमाइ हुन थाल्यो ।

नोबेल कलेजमा पहिलो दिन कक्षा लिन जाँदा गार्डले विद्यार्थी ठानेर कक्षामा पढाइ शुरू भइसकेकोले जान नमिल्ने भनेर रोके । अनि पुनमले ब्याचलर इन पब्लिक हेल्थका हेडलाई गार्डसँग फोनमा कुरा गराइन् । अनि मात्र कक्षा कोठामा जान पाइन् ।

‘सानी देखेर गेटमा गार्डले नपत्याएर रोके, कक्षा कोठामा गएर प्रोजेक्टर मगाएर पढाउन शुरू गर्दा विद्यार्थीहरू हाँस्न थाले, यस्ता लेक्चर चाहिंदैन भनेर हुटिङ गरे’ पुनमले भनिन्, ‘एक दुई पिरियड लिएपछि मेरो क्षमता चिने, पढाउने शैली मन पराए अनि बल्ल कन्भिन्स भएर रेस्पेक्ट गर्न थाले ।’

घरमा फेरि विवाहको कुरा चल्यो । अब पुनमसँग विवाहबाट भाग्ने र उम्किने कुनै उपाय थिएन । बुबा वैजनाथ अग्रवालले भैरहवाका सिद्धार्थ अग्रवालको नाम लिएर आए । व्यापारी र सिमेन्ट उद्योगका सञ्चालक थिए । पुनमले शुरूमा विवाह गर्न मानिनन् । बिजनेस म्यानसँग विवाह गर्‍यो भने स्वतन्त्रतामा सम्झौता गर्नुपर्छ भन्ने लाग्यो तर पछि कन्भिन्स भइन् । अनि भयो दाइजोरहित विवाह ।

यसरी चिकित्सक बनेर बिरामीको सेवा गर्न नपाए पनि पीएचडी गरेरै भए पनि ‘डाक्टर’ लेख्ने सपना बोकेकी पुनम अग्रवाल प्रकारान्तरले देशको सफल उद्यमी बन्न पुगिन् । उनका भनाइमा, उनको मल उद्योगले मान्छे र माटोको स्वास्थ्य बचाउने काम गरिरहेको छ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।