+

सामुदायिक स्कूलकी अब्बल व्यवस्थापक

पूरा सूची
Shares
उनी टिफिन घन्टीमा शिक्षकहरूसँग कुरा गर्छिन् । शिक्षक नआएर घन्टी खाली छ भने आफैं पढाउने गर्छिन् । कुन विद्यार्थी आएन, कसलाई के समस्या छ, आवश्यक परे विद्यार्थीको घरै पुग्छिन् । उनले प्रायः विद्यार्थीको घर देखेकी छिन् ।
पवित्रा माझी

विद्यालय होस् वा देवालय; सरकारी अड्डा वा अस्पताल, सिंहदरबार होस् वा पालिका बेथिति नपसेको ठाउँ नै छैन । गाउँ–ठाउँमा त अत्याचार र विभेद झन् चर्को छ । यस्ता विभेद र बेथिति विरुद्ध प्रश्न बोकेर उभिएकी भेटिन्छिन्, सर्लाहीकी सामाजिक अभियन्ता पवित्रा माझी (३५) ।

भालेको डाकसँगै शुरू हुन्छ सर्लाही बागमती नगरपालिका–१२, पुतलीचोककी पवित्राको दिनचर्या । ‘सखारै उठेर घरधन्दा सकिनँ भने सामाजिक काममा असर पर्छ । भान्सा र घरको काममा श्रीमान्ले सघाउने हुनाले मलाई बाहिर काम गर्न सजिलो छ’, पवित्रा भन्छिन् । घर नजिकैको जनजागृति आधारभूत विद्यालय र नगरपालिका कार्यालय उनको सामाजिक कामका मुख्य थलो हुन् ।

जनजागृति आधारभूत विद्यालयको व्यवस्थापन समितिकी अध्यक्ष हुन् पवित्रा । विद्यालयको समग्र व्यवस्थापनमा उनको सक्रिय भूमिका रहन्छ । उनकै कर्मका कारण पछिल्ला वर्षहरूमा विद्यालयको मुहार फेरिएको छ ।

पठनपाठन प्रभावकारी बन्दै गएको छ । विद्यार्थीको चाप बढ्दो छ । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा ३५० विद्यार्थी छन् ।

उनी व्यवस्थापन समितिमा पुग्नुअघि शौचालय तोडफोड अवस्थामा थियो । कक्षाकोठाहरू फोहोर, वर्षौंदेखि रंगरोगन गरिएको थिएन । जस्ताको छानो भए पनि गर्मीको समयमा पंखा थिएनन् । बालकक्षाको कोठामा मात्रै कार्पेट थियो तर खेल सामग्री थिएनन् ।

स्थानीय अभिभावकका भनाइमा, ‘आवश्यक निगरानी नहुँदा शिक्षक शिक्षिकाले मन लागे पढाउने, नलागे नपढाउने अवस्था थियो । कति विद्यार्थी आए, कति आएनन् हिसाबै थिएन । रिजल्ट निकाल्दा फस्र्ट, सेकेन्ड र थर्ड विद्यार्थीलाई पुरस्कार दिने अरूलाई मतलबै नगर्ने चलन थियो ।’

पवित्रा भन्छिन्, ‘म अध्यक्ष भएर आएपछि सबभन्दा पहिले नियमित रूपमा विद्यालयमा निगरानी गर्न थालें । देखेको कमि–कमजोरी सुधार गर्ने प्रयास गरें । शिक्षकलाई सुझाव दिन थालें । कुन विद्यार्थी आयो, आएन त्यसको रेकर्ड नियमित चेक हुन थाल्यो । लामो समय नआउने विद्यार्थीका अभिभावकलाई सम्पर्क गरेर किन आएन सोध्ने, अभिभावकलाई घर–घरमै गएर पनि भेटेर सुझाव लिने काम हुनथाल्यो ।’

उनी भन्छिन्, ‘म विद्यालय जाँदा गेटभित्र प्रवेश गर्ने बित्तिकै कक्षा पाँच आउँछ । शिक्षक र विद्यार्थीलाई डिस्टर्व नहुने गरी पालैपालो हेर्छु । कहिले ढोका र कहिले झ्यालपट्टिबाट । दिवाखाजा पकाइरहेको ठाउँमा आज के पाक्दैछ भनेर हेर्छु । शौचालय सफा छ–छैन अनि विद्यार्थीहरू को धारामा छन्, कसले के गर्दैछ, हेर्छु । अनि बल्ल अफिसमा बस्छु ।’

उनी टिफिनको घन्टीमा शिक्षकहरूसँग कुरा गर्छिन् । कुनै दिन कुनै शिक्षक नआएर घन्टी खाली गइरहेको छ भने आफूले पनि पढाउने गर्छिन् । कुन विद्यार्थी आएन, कसलाई के समस्या छ भनेर त्यस बारेमा शिक्षकसँग सोधेर गर्छिन् । आवश्यक पर्दा अभिभावकको घरमा पुग्छिन् । उनले प्रायः विद्यार्थीको घर देखेकी छिन् ।

महिला शिक्षित भए समाज चाँडै समृद्ध हुने उनको बुझाइ छ । उनको भनाइमा, ‘जबसम्म महिला शिक्षित हुँदैनन् तबसम्म परिवार र समाजमा उनीहरूले आफूलाई दह्रो रूपमा उभ्याउन सक्दैनन् । स्थानीयदेखि सबै तहका सरकारले महिलालाई फ्रन्टलाइन र नेतृत्व तहमा काम गर्ने अवसर दिनुपर्छ ।’

स्कूलमा अंग्रेजी माध्यममा पढाइ हुन्छ । कुनै विद्यार्थी स्कूल आएनन् भने उनको घरमा फोन जान्छ । अभिभावकसँग नियमित संवाद हुन्छ । दिवा खाजामा जंकफुड निषेध छ । पवित्राले दाता तथा विभिन्न संघ–संस्थासँग समन्वय गरेर शौचालय व्यवस्थापन, कक्षाकोठा रंगरोगन, डिजिटल कक्षाको सुरुआत गरेपछि विद्यालयमा देख्न सकिने परिवर्तन आएको छ ।

उनी भन्छिन्, ‘अहिले रिजल्टमा हामी अभिभावकलाई बोलाउँछौं । मार्कशिट देखाएर तपाइँको बच्चा यहाँ राम्रो, यहाँ कमजोर छ भनेर सुधार गर्नुपर्ने कुरा सुझाव दिन्छौं पूरा निजी स्कूलकै शैलीमा । अब चाँडै १२ कट्ठा जग्गा लिजमा लिएर त्यहाँ चारकोठे भवन प्रदेश सरकारबाट बनाउने योजना छ । त्यसपछि निमाविमा स्तरोन्नति गर्छौं ।’

यस बाहेक पवित्रा नगरपालिकाको शिक्षा शाखामा पनि गइरहन्छिन् । बागमती नगरपालिकाको शिक्षा नीति–नियम प्रभावकारी बनाउन राखिएका बैठकहरूमा उनी सहभागी हुन्छिन् । नगरपालिकाका सरकारी कर्मचारी र पदाधिकारीका सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था छ । नगर शिक्षा ऐन २०७६ मा यो व्यवस्था छ र ऐनले शैक्षिक मामिलामा नियमित रूपमा बैठक बसेर छलफल गर्नुपर्ने व्यवस्था गरेको छ ।

सामुदायिकसँगै निजी विद्यालयको पठनपाठन प्रभावकारी तथा गुणस्तरीय बनाउने उपाय खोज्न पनि पवित्रा लागिरहन्छिन् । ‘हामी सामुदायिकसँगै संस्थागत विद्यालयलाई पनि सँगै लैजानुपर्छ भन्ने हिसाबले काम गरिरहेका छौं । अन्य पालिकामा निजी विद्यालयलाई खासै महत्व दिइँदैन । तर हामी उहाँहरूलाई बोलाएर सुझाव दिन्छौ’, उनी भन्छिन् ।

निरक्षर महिलाले गर्छन् लेखपढ

विभिन्न गैरसरकारी संघ–संस्थामा काम गरेका कारण पवित्राले स्थानीय समाजको धरातल बुझेकी छन् । जसमा सबभन्दा पछाडि महिला परेको र उनीहरूलाई शिक्षा, सीप दिएर सशक्तीकरण गरे परिवारसँगै समाज र राष्ट्र नै रूपान्तरण हुने उनको बुझाइ छ ।

पवित्राले २०७८ मा साहसी नेपाल संस्था स्थापना गरेकी छन् । अहिले यस संस्थाबाट तीन स्थानमा महिलालाई सीप र आत्मनिर्भर बन्न परिवर्तित महिला बुटिक (टेलर केन्द्र) स्थापना गरेकी छन् । जहाँ सीप सिकिसकेका महिलाहरू लुगा सिएर आय–आर्जन गर्छन् । चाहनेले सीप सिक्ने गरेका छन् ।

बागमती नगरपालिका–१२ बथानियामा खोलिएको परिवर्तित बुटिक सेन्टरमा ३ जना महिलाले रोजगारी पाएका छन् । यहाँ ८ जना महिला सिलाइ–कटाइ सिक्दैछन् । त्यस्तै बागमती नगरपालिका–४ जिरायतमा र वडा नम्बर ३ तल्लो जिरायतमा २–२ जना महिलाले रोजगारी पाएका छन् ।

त्यति मात्रै होइन, उनले आफ्नो संस्थाबाट २०७८ सालयता सर्लाहीका ५०० जना महिलालाई प्रौढ शिक्षा दिएकी छन् । सर्लाहीको बागमती नगरपालिका, ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकामा २२ वटा समूहमा २५–२५ जना महिलालाई प्रौढ शिक्षा दिइएको छ । उनको प्रयासमा ठूलो संख्याका निरक्षर महिला सामान्य लेखपढ गर्न सक्ने भएका छन् ।

बुबाले देखाएको बाटो

सर्लाहीको ईश्वरपुर नगरपालिका–४ माझीटोलमा जन्मिएकी पवित्रा बुबा मानबहादुर माझी र आमा शान्ता माझीका चार सन्तानमध्ये जेठी हुन् । सानैदेखि अध्ययनमा अब्बल उनले स्थानीय नारायण उच्च माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी हुन् ।

एसएलसीपछि स्टाफ नर्स बन्ने चाहना लिएर पवित्राले काठमाडौंको यात्रा तय गरिन् । तर, कमजोर आर्थिक अवस्थाका कारण उनको सोच बदलियो । अनि म्यानेजमेन्ट पढ्ने निधो गरिन् । मामाको कोठामा बसेर पढेकी पवित्राले पशुपति बहुमुखी क्याम्पस चाबहिलबाट म्यानेजमेन्टमा कक्षा १२ पास गरिन् ।


त्यसपछि उनलाई अर्थशास्त्र पढ्ने रुचि बढ्यो । त्यसपछि पवित्राले भारतको पश्चिम बंगालस्थित कालिम्पोङको उत्तर बंगाल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरिन् । विद्यालय जीवनदेखि नै सामाजिक कार्यमा रुचि राख्ने पवित्रालाई समाजसेवाको प्रेरणा बुबाबाट मिल्यो । बुबा मानबहादुर सामुदायिक क्लबका अध्यक्ष थिए र समाज सुधारका विभिन्न अभियानमा सक्रिय रहन्थे ।

‘बुबाले विभिन्न कार्यक्रम गर्नुहुन्थ्यो । महिलालाई पढाउने, आय–आर्जनको लागि बंगुरपालन, मैनबत्ती बनाउने, वनमाराबाट गुइँठा बनाउने तालिम दिने काममा लाग्नुहुन्थ्यो । यसबाट उहाँले समाजमा पाएको सम्मान देखेर म पनि ठूलो भएपछि उहाँ जस्तै पुण्यको काममा लाग्छु भन्ने लाग्थ्यो । अनि म पनि सामाजिक काममा लागें’, पवित्रा सुनाउँछिन् ।

सन् २०१० मा ग्रामीण नारी उत्थान संघ भन्ने संस्थामा सहजकर्ता भएर काम गर्न थालेपछि हो उनले मधेशको समाजलाई नजिकबाट बुझेको । संस्थासँग जोडिएर ग्रामीण भेगमा जाँदा समाजको धरातल अझ नजिकबाट बुझ्दै गइन् । स्नातकपछि विभिन्न गैरसरकारी संस्थामा लागेर सामाजिक कार्यलाई निरन्तरता दिइन् ।

त्यही क्रममा उनको भेट सन्तोष गदालसँग भयो । सन्तोष २०७४ सालमा बागमती नगरपालिकामा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिए । विचार मिल्दै गएपछि उनीहरू विवाहको निर्णयमा पुगे । तर, शुरूमा पवित्राको परिवार छोरीको विवाह सन्तोषसँग गरिदिन तयार थिएन । किनभने, पवित्रा जनजाति समुदायकी थिइन् भने सन्तोष दलित समुदायका । पवित्राको रोजाइलाई निकैपछि मात्रै स्वीकार गर्न तयार भयो उनको परिवार । २०७५ सालमा पवित्रा र सन्तोषले विवाह गरे ।

महिला शिक्षित भए समाज चाँडै समृद्ध हुने उनको बुझाइ छ । उनको भनाइमा, ‘जबसम्म महिला शिक्षित हुँदैनन् तबसम्म परिवार र समाजमा उनीहरूले आफूलाई दह्रो रूपमा उभ्याउन सक्दैनन् । स्थानीयदेखि सबै तहका सरकारले महिलालाई फ्रन्टलाइन र नेतृत्व तहमा काम गर्ने अवसर दिनुपर्छ ।’

क्षमता अनुसारको अवसर नपाउँदा आफूले अझै चाहे जस्तो काम गर्न नसकेको पवित्राको बुझाइ छ । ‘मेरो जे क्षमता छ त्यसअनुसार मैले अवसर पाएकी छैन । मैले जुन एजेन्डामा काम गर्न खोजिरहेकी छु, त्यसमा सरकारले सपोर्ट गरिदिए हुन्थ्यो । महिला शिक्षाको लागि स्थानीय सरकारले बजेट विनियोजन गरेर युवालाई त्यसमा लगाओस् । यसले समाज रूपान्तरण गर्न सहज हुन्छ’, उनको आग्रह छ ।

सर्लाहीमा महिला साक्षरता

सन् २०११ मा ग्रामीण नारी उत्थान संघबाट पवित्राको सामाजिक सेवाको यात्रा शुरू भएको हो । त्यहाँ एक वर्ष बिताउँदा उनले महिलाको जीवनस्तर सुधार्ने काम गरेकी थिइन् । त्यहीं काम गर्दा उनले महिलाको समस्या नजिकबाट बुझ्ने मौका पाइन् ।

सन् २०१२ मा सिड्स नेपालमा सहजकर्ताका रूपमा पाँच महिना काम गरेकी पवित्रालाई सन् २०१५ मा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) मा जेन्डर इन्टर्नको अवसर प्राप्त भयो । चार महिनासम्म लैंगिक समानताका मुद्दामा काम गरेपछि उनी अनुसन्धानमा आफ्नो रुचि देखाउँदै सन् २०१६ मा हेल्भेटास नेपालसँग जोडिइन् । त्यहाँ एक वर्ष काम गरिन् ।

सन् २०१८ मा उनले दुबईस्थित जायद युनिभर्सिटीमा रिसर्च प्रोजेक्ट को–अर्डिनेटरका रूपमा नेपालमै रहेर चार महिना काम गरिन् । सन् २०१७/१८ मा अमेरिकी दूतावासको ५५ प्रभावशाली युवाको काउन्सिल मेम्बरमा पर्न उनी सफल भइन् । महिला सशक्तीकरणका लागि समाजमा नयाँ शैलीमा प्रभावकारी काम गरेकोमा सन् २०२० मा बेलायतबाट प्रदान गरिने ‘विद एन्ड फर गर्ल २०–२०’ अवार्ड पाउन सफल भइन् ।

सरकारले परिणाममुखी बनाई निरन्तरता दिन नसकेको महिला साक्षरता कार्यक्रमलाई सर्लाही जिल्लामा बृहत् रूपमा लैजाने पवित्राको लक्ष्य छ । ‘महिला सशक्तीकरणको लागि महिला साक्षरता कक्षा अत्यन्त महत्वपूर्ण कार्यक्रम हो । सरकारले परिणाममुखी बनाएर निरन्तरता दिन सकेन । अब कम्तीमा सर्लाही जिल्लामा बृहत्तर रूपमा साक्षरता कक्षा लैजाने मेरो लक्ष्य छ’, उनी भन्छिन् ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।