
पचासको दशकमा सिद्धार्थ वनस्थली मावि, बालाजु विद्यार्थीको रोजाइमा अग्रपङ्तिमा थियो । त्यसबेला एसएलसीमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने भएकोले पनि माध्यमिक तहको शिक्षा पार गर्न विद्यालय छनोट गर्दा स्वाभाविक रूपमा अभिभावकहरूको रोजाइमा यो स्कूल पर्थ्यो ।
चाबहिलमा जन्मे–हुर्केकी निर्मला फुयालले पनि विद्यालय तहको शिक्षा पूरा गर्न सिद्धार्थ वनस्थली मावि, बालाजु रोजिन् । यसे स्कूलबाट एसएलसी उत्तीर्ण गरेपछि उनी प्रवीणता प्रमाणपत्र तहमा विज्ञान विषय रोजिन् ।
अमृत साइन्स क्याम्पसबाट प्रवीणता तह सकेकी फुयालले स्नातक तहको अध्ययन त्रिचन्द्रबाट सकिन् । वनस्पति विज्ञानमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट स्नातकोत्तर तहको अध्ययन सक्दा उत्कृष्ट पाँच विद्यार्थीमा उनी परिन् । आधारभूत तहदेखि विश्वविद्यालयसम्मको उनको नतिजा औसत भन्दा माथि थियो ।
‘म औसत विद्यार्थी भन्दा अलि माथि नै थिएँ । एमएस्सीको नतिजामा टप फाइभभित्र परें’, फुयाल भन्छिन् । विज्ञानका फरक–फरक विधा मध्ये उनले वनस्पति रोज्नुमा कुनै खास कारण थिएन । उनले भनिन्, ‘रसायन र प्राणीतर्फ पढ्न मन लागेन । ल न त भनेर वनस्पति विषय पढें ।’
स्नातकोत्तर सकेपछि उनी अध्यापनतिर लागिन् । २०६६ सालमा अध्यापन पेशालाई पूर्णविराम लगाएर यात्रा शुरु भयो स्थायी सरकार भनिने निजामती सेवाको । अधिकृत तहबाट सेवामा प्रवेश गरेकी उनले वनस्पति विभाग अन्तर्गतको ‘सहायक वैज्ञानिक’ भूमिकाबाट कार्य प्रारम्भ गरिन् । वनस्पति विभाग अन्तर्गत रहेको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीमा उनले तीन वर्ष काम गरिन् ।
विभागको कार्यमा देशभरि रहेका वनस्पतिको अनुसन्धान, अन्वेषण र खोज पर्दछ । यही अवधिमा उनको अध्ययनको दायरा फराकिलो बन्यो । उनी भन्छिन्, ‘देशका विभिन्न स्थानमा वनस्पतिको अध्ययन अनुसन्धानको काममा गएँ ।’ नेपाल र बेलायतको टोली सहित उनी वनस्पतिको खोजी र अनुसन्धानका लागि सिन्धुपाल्चोकको भैरवकुण्ड पुगिन् ।
‘विदेशी टोली सहित २१ दिन बसेर त्यहाँबाट नमूना संकलन गरेर ल्यायौं’ फुयाल भन्छिन्, ‘त्यो अध्ययन र अनुसन्धानले नेपालमा रहेका वनस्पति पहिचान गर्न सहयोग पुर्यायो ।’ नेपाल फ्लोरा लेखनका लागि देशभरिबाट नमून संकलन गर्नुपर्दछ । सिन्धुपाल्चोकबाट गरिएको संकनल तथा अध्ययनले वनस्पतिहरूको संकलन सूची ‘नेपाल फ्लोरा’ प्रकाशित गर्न मद्दत पुग्यो ।
२०६९ सालमा वनस्पति विभागको मुख्यालय थापाथली सरुवा भइन् । बायोलोजिकल हुँदै प्रचारप्रसार शाखामा पुगिन् । त्यसपछि वनस्पति र जडीबुटी क्षेत्रको अध्ययनको दायरा फैलाउन निजामती सेवालाई अल्पविराम लगाइन् । विद्यावारिधि तहको अध्ययन सक्न अध्ययन विदामा बसिन् । अनि शुरू भयो उनको टिमुरमाथि खोज र अनुसन्धानको यात्रा ।
टिमुरमा पीएचडी
सरकारले आर्थिक विकासमा टेवा दिने ३३ जडीबुटी मध्ये प्राथमिकतामा टिमुर पनि राखेको छ । पीएचडीका लागि फुयालले टिमुर नै छनोट गरिन् । त्रिवि र डाबर नेपालबाट छात्रवृत्ति र आफ्नो अध्ययन अनुसन्धानलाई अघि बढाइन् । त्यसअघि भने जडीबुटीको खोज अनुसन्धानका लागि त्रिविले कुनै निजी क्षेत्रको उद्योगसँग सहकार्य गरेको थिएन ।
उनले पीएचडीका लागि टिमुर नै रोज्नुको पनि खास कारण थियो । ‘नेपालमा अधिक बिक्री हुने गैरकाष्ठ वन पैदावरमध्ये टिमुर एक हो, तर किसानले खेती गरे पनि त्यसमा अध्ययन अनुसन्धानको अभाव थियो’ अध्येता फुयालले प्रष्ट्याइन्, ‘यसबारे विस्तृत अध्ययन नभएको हुँदा मैले पीएचडीका लागि टिमुर रोजें ।’
अब उनको टिमुर यात्रा शुरू भयो । यसको अध्ययन गर्न उनी सल्यान पुगिन् । सल्यान नै रोज्नुको कारण ‘त्यो एरियाको टिमुर अति राम्रो’ मानिन्थ्यो । वनस्पति विभाग कार्यालय समेत सल्यानमा रहेको हुँदा किसानसम्म सहज पहुँच हुनका साथै आवश्यक तथ्यांक संकलन र अध्ययन हुने भएकाले सल्यान रोजिएको उनले सुनाइन् । एक गाउँ एक उत्पादन अन्तर्गन सल्यान टिमुरका लागि प्राथिकतामा राखेको फुयालले बताइन् ।
टिमुरको व्यावसायिक खेती मुख्यगरी कर्णालीका जिल्लामा गरिन्छ । अन्य जिल्लाको तुलनामा सल्यानबाट टिमुर निर्यात बढी हुने फुयाल बताउँछिन् । नेपालमा प्राप्त हुने आठ प्रजातिका टिमुरमध्ये फुयालले ‘जान्थोजाइलम अर्माटम’ को अध्ययन अनुसन्धान गरेकी छन् ।
यो प्रजाति एक हजार मिटरदेखि २५ सय मिटरसम्मको उचाइमा खेती गर्न सकिन्छ । फुयालका अनुसार नेपालमा चलनचल्तीमा भनिंदै आएको टिमुरको प्रकृति नै ‘जान्थोजाइलम अर्माटम’ हो । टिमुरमा रहेका रासायनिक तत्वहरू तथा औषधीय गुणमा फुयालले अनुसन्धान गरेकी छन् ।
टिमुरको उत्पादकत्व बढाउन उनको अनुसन्धानले सहयोग पुर्याएको छ । फुयालको अनुसन्धानले टिमुरको बिउबाट विरुवा उम्रने क्षमता दरमा वृद्धि भएको छ । फुयालका भनाइमा, उनको अनुसन्धान अघि सय बिरुवा रोप्दा १० देखि २० प्रतिशत मात्रै हुर्कने अवस्था थियो । अनुसन्धानमा आधारित रहेर उत्पादन भएका बिरुवाको हुर्कने दर बढेको छ । उक्त दर वृद्धि भएर ६० प्रतिशत हारहारी पुगेको उनको भनाइ छ ।
उनको अनुसन्धानले भन्छ, ‘टिमुरको अंकुरणका लागि ‘जीएथ्री’ सबैभन्दा उपयुक्त विधि हो ।’ बीउबाट बिरुवा हुने क्षमता टिमुरको एकदमै कमजोर रहेको फुयाल बताउँछिन् । अध्ययनको क्रममा उनले टिमुरको प्रजातिहरू मासिंदै गएको तथ्य थाहा पाइन् ।
सन् २०२२ मा वनस्पति शास्त्रमा विद्यावारिधि गरिन् । त्रिविबाट टिमुरमा विद्यावारिधि गर्ने पहिलो महिला भएको फुयालको दाबी छ । फुयालले टिमुरको अनुसन्धान बारे अन्तर्राष्ट्रिय मञ्चमा समेत धारणा राख्ने अवसर पाइन् ।
सन् २०१८ मा जापानमा भएको सम्मेलनमा नोबल पुरस्कार विजेताहरू सहभागी ‘जेएसपीएस होप मीटिङ’ मा उनले टिमुरमा आधारित रहेर प्रस्तुति दिएकी थिइन् ।
सहभागी विज्ञहरूले आफ्नो अनुसन्धानलाई चासोपूर्वक लिएको उनी बताउँछिन् । १२० देशबाट सहभागी वैज्ञानिक र अनुसन्धानकर्ताका विचारहरू सुन्दा ती देशमा गरिएका खोज अनुसन्धानको विधि, लगानीमा नेपाल धेरैपछि रहेको उनले बुझिन् ।
अनुसन्धानमा रहेको समस्या बारे उनी भन्छिन्, ‘हामीकहाँ न फन्डिङ छ न त अनुसन्धानको कार्यलाई सघाउने संस्थाहरू नै । पूर्वाधारमा हामी यसै पनि पछि छौं । ल्याब समेत छैनन् ।’
नेपालमा घरायसी रूपमा टिमुरको प्रयोग हुँदै आएको छ । फुयालको भनाइ अनुसार, मुद्राको प्रचलन नहुँदा वस्तुसँग वस्तु विनिमय गर्दा टिमुरसँग साटफेर गर्ने प्रचलन थियो । तिब्बतका व्यापारीसँग नेपाली किसानले वस्तु साटासाटको माध्यम टिमुर मार्फत गर्थे ।
यसलाई विस्तारै औषधि कम्पनीहरूले प्रयोग गर्न थाले । विश्वमा टिमुर पाउने देशहरूमा मुख्यगरी नेपाल, भारत, चीन, भुटान, लाओस लगायत छन् । नेपाली टिमुर अन्यको तुलनामा प्रख्यात रहेको फुयाल बताउँछिन् ।
नेपालमा उत्पादन हुने मध्ये ९० प्रतिशतभन्दा बढी टिमुर निर्यात हुन्छ । निर्यातको अधिकांश हिस्सा भारतमा जाने गरेको छ । एउटै परिवारले वार्षिक ५० लाख रुपैयाँ बढीको आय आर्जन गरेको तथ्य सुनाउँदै फुयाल भन्छिन्, ‘सल्यानमा अन्य बालीनाली छोडेर टिमुरतिर आकर्षित हुने किसान प्रशस्त छन् ।’
टिमुरको तेलको माग बढ्दो दरमा रहेको उनी बताउँछिन् । सौन्दर्य प्रसाधनका सामग्रीमा सेतो टिमुरको प्रयोग गरिएको हुन्छ । टिमुरलाई अचारका साथै औषधिका रूपमा पनि प्रयोग गरिन्छ । यद्यपि, टिमुर पूर्ण रूपमा औषधि भने होइन ।
टिमुरबाट निकालिएको तेल दाँतमा कीरा लाग्नबाट बचाउन प्रयोग गरिन्छ । कलेजोको सुरक्षा गर्न, जीउ सुन्निने समस्याबाट मुक्त हुन, मधुमेह र उच्च रक्तचाप नियन्त्रण गर्न, फुड पोइजनिङ हटाउन र कीटाणुलाई मार्न, दुखाइ कम गर्न र मुखको क्यान्सरलाई रोक्न लगायतमा टिमुरको प्रयोग गरिन्छ ।
टिमुरका जानकारहरूका अनुसार लिनालुलको मात्रा प्रशस्त हुँदा घाउ चोटपटक, दुखाइ, सुन्निएको बाउँडिने र एलर्जीको उपचारमा प्रभावकारी हुन्छ । टुथपेस्ट उत्पादक कम्पनीले समेत टिमुरको प्रयोग गरेका हुन्छन् । कीटनाशक औषधिका रूपमा समेत प्रशोधित टिमुर प्रयोग गरिन्छ ।
टिमुर खेती हुने पहाडी जिल्लाहरूमा किसानका लागि बाँदर समस्या बनेको छ । तर, टिमुर भने बाँदरले खाँदैन । किसानका लागि टिमुर उपयुक्त बाली हुनुको अर्को कारण कडा गन्ध हुने हुँदा कीराहरूले क्षति पु¥याउन सक्दैनन् ।
टिमुर खेती गर्ने किसानको आय आर्जन बढेको छ । तर, यथोचित मूल्य नपाएको उनको निचोड छ । अन्यत्र जस्तै टिमुरमा पनि किसानले वास्तविक मूल्य नपाउनुमा बिचौलिया कारण रहेको उनी बताउँछिन् । ‘दोहोरो कर प्रणालीले गर्दा किसान मर्कामा परेका छन् । टिमुर संकलन कसले गर्ने भनेर कुनै विधि बनेको छैन ।’
अहिले किसानले टिमुरलाई व्यावसायिक खेती गरी आय आर्जनको माध्यम बनाएका छन् । नेपालमा मुख्यतः कर्णालीका जिल्लामा व्यावसायिक खेती गर्ने गरिएको छ । सल्यानमा सर्वाधिक खेती हुने टिमुर रुकुम, जाजरकोट, सुर्खेत, दैलेख, रोल्पा, म्याग्दी, गुल्मी, बाग्लुङ, पाल्पा, स्याङ्जा, पर्वत लगायत जिल्लामा पनि खेती गरिन्छ । यो खेती प्रणालीमा अध्येता फुयालको अध्ययनले पनि सहयोग पुर्याएको छ ।
एउटै लेख ६३९ पटक ‘साइटेसन’
२०६६ सालमा अधिकृत तहबाट निजामती सेवामा प्रवेश गरेकी फुयाल गत पुसमा उपसचिवमा बढुवा भएकी छन् । वैज्ञानिक अधिकृतका रूपमा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रमा कार्यरत उनी उपसचिव भएसँगै वन तथा वातावरण मन्त्रालयमा कार्यरत छिन् ।
उनी वन तथा वातावरण मन्त्रालय मातहतका कर्मचारीलाई प्रशिक्षण गर्दै आएकी छन् । हाल, कर्मचारीहरूको सीप अभिवृद्धि गराउने भूमिकामा छन् उनी । फुयालको बुझाइमा वनस्पतिलाई जुन तहमा महत्व दिनुपर्ने हो, त्यो अनुसारको प्राथमिकता दिइएको छैन ।
उनी भन्छिन्, ‘मेरो अनुसन्धानबाट पत्ता लगाए अनुसार मात्रै गर्यो भने पनि यसको उत्पादकत्व बढाउन सकिन्छ । तर अहिलेसम्म कुनै सुझाव पनि कार्यान्वयन गरिएको छैन ।’ उनी अहिले पनि टिमुरको खेतीका लागि कृषकहरूलाई उत्प्रेरित गरिरहेकी छन् । भन्छिन्, ‘अहिले पनि मलाई दिनहुँजसो कृषकहरूको फोन आइरहन्छ ।’
फुयालले विद्यावारिधिका क्रममा गरेको अनुसन्धान थुप्रै विदेशी जर्नलहरूले समेत उद्धृत (साइटेसन) गरेका छन् । गुगल स्कलरमा फुयालको एउटा लेखको ‘साइटेसन’ ६३९ पटकभन्दा बढी भएको छ ।
‘जतिसुकै अनुसन्धान गरौं यदि त्यो सार्वजनिक गर्न सकिएन भने कामको मान्यता हुँदैन । मैले गरेको काम विश्वका वैज्ञानिक र अनुसन्धानकर्ताले सन्दर्भ सामग्री बनाएका छन्’ फुयाल खुसी व्यक्त गर्दै भन्छिन्, ‘अनुसन्धान गर्नु, अनुसन्धानात्मक लेखलाई जर्नलमा प्रेषित गर्नु र रिभ्यूबाट आएको सुझाव सम्बोधन गर्नु चुनौतीपूर्ण भए पनि खुसी लाग्ने कुरा हो ।’
तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर