
छोरीलाई स्कूल पठाउनुहुन्न भन्ने रुढीवादी सोचको अन्त्य भइनसकेको त्यो बेला जातीय छुवाछूत प्रथाले समाजमा जरो गाडेरै बसेको थियो । दलित समुदायका बालबालिकाले कखरा सिक्ने अवसर शायदै पाउँथे ।
नवलपरासी जिल्लाको सुस्ता पूर्व बौदिकाली गाउँपालिका–३ डेढगाउँको सामाजिक चित्रण पनि यस्तै थियो । सोही गाउँको दलित बस्तीमा हुर्किएकी हुन् मित्रकुमारी परियार । उनी अहिले गोरखा नगरपालिकाको १३ नम्बर वडा हाँक्दैछिन् । गएको स्थानीय तह निर्वाचनमा उनी नेकपा माओवादीका हरिबहादुर खनाललाई पराजित गर्दै नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएकी हुन् ।
दलित समुदायकी त्यसमाथि महिला भएकै कारण बाल्यकालका उनका थुप्रै रहर र सपना अधुरै रहे । तर अभिभावकले उनलाई स्कूलसँगको दूरी कहिल्यै टाढा हुन दिएनन् । उनलाई पढाउनकै निम्ति आमा बेंसी झरिन् । ‘त्यो बेला गाउँमा स्कूल थिएन’ उनी सम्झिन्छिन्, ‘तल बेंसीमा स्कूल थियो तर औलो लाग्छ भनेर प्रायः बेंसीमा मान्छे बस्दैनथे ।’
आमा फूलमाया नेपालीकै जोडबलमा उनले विद्यालय शिक्षा हासिल गरिन् । २०४६ सालमा डेढगाउँ माविबाट उनले एसएलसी उत्तीर्ण गरिन् । दलित समुदायबाट एसएलसी उत्तीर्ण गर्ने गाउँको पहिलो महिला उनै थिइन् । ‘दलितका बच्चाले स्कूल देख्न पाउने त परको कुरा, सिलाइ मेसिन बोकेर बिष्टको घरमा धाउनुपर्थ्यो’ उनी भन्छिन्, ‘तर ममीको जोडबलमा मैले स्कूल पढ्न पाएँ ।’
एसएलसी पश्चात् पनि उनको अध्ययनमा विश्राम लागेन । पोखराको पृथ्वीनारायण क्याम्पसमा भर्ना भएर आफ्नो अध्ययन अघि बढाइन् । मानविकी शास्त्रमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरिन् । सरकारी जागिर खाने उनको लक्ष्य थियो । अवसर कुरिरहेकी थिइन् ।
जब विवाह गरेर गोरखा आइन् अनि श्रीमान्को साथ–सहयोगले उनलाई थप हौसला प्रदान गर्यो । २०५१ सालमा विवाह गरेकी उनले २०५२ सालमा शिक्षा सेवा आयोगको परीक्षा दिइन् । लिखितमा नाम निकाल्न सफल भए पनि अन्तर्वार्तामा फालिइन् तर हिम्मत हारिनन् ।
आफ्नो अध्ययनलाई अघि बढाइन् । तनहुँको आँबुखैरेनी क्याम्पसबाट स्नातक उत्तीर्ण गरिन् । राजनीतिमा सक्रिय उनका श्रीमान्को प्रभावले उनमा पनि सामाजिक काम गर्ने इच्छा जागृत हुन थाल्यो । २०५७ सालमा महिला तथा बालबालिका कार्यालयको महिला जागृत कार्यक्रमका लागि सामाजिक परिचालकको रूपमा उनी छनोट भइन् ।
साविकको देउराली गाविसको सामाजिक परिचालकको रूपमा उनले १७ वर्ष काम गरिन् । सोही क्रममा उनमा राजनीतिप्रतिको मोह पलाउन थाल्यो । ‘कार्यक्रमका दौरान गाउँ–गाउँमा गएर दिदीबहिनीको समस्या सुन्ने र समाधानका लागि पहल गर्ने काम हुन्थ्यो, त्यो बेलादेखि सामाजिक काम सँगसँगै राजनीतिप्रति पनि इच्छा पैदा हुन थालेको हो’, उनले भनिन् ।
विद्यार्थी जीवनमा उनले राजनीति गर्ने त परको कुरा राजनीति भनेको के हो भनेर राम्ररी बुझ्न समेत पाइनन् । पिएन क्याम्पसमा पढ्दा विद्यार्थी आन्दोलनको नाममा ढुंगासम्म हानेको उनी सम्झिन्छिन् । तर त्यसपछि पनि राजनीतिप्रति उनको कुनै चासो थिएन ।
विवाहपश्चात् श्रीमान्को प्रभाव र सामाजिक परिचालकको रूपमा समुदायका महिलासँगको घुलमिलले उनलाई राजनीतिप्रतिको मोह जगाइदियो । २२ साउन २०६३ मा उनले पहिलो पटक नेपाली कांग्रेसको पार्टी सदस्यता लिइन् र पहिलो पटक कांग्रेसको पार्टी अधिवेशनमा वडाको प्रतिनिधि बनेर गोरखामा राजनीतिक जीवन अघि बढाइन् ।
त्यसयता उनी महिलाको अधिकांश कार्यक्रममा सहभागी हुन थालिन् । उनीहरूको समस्यामा घुलमिल हुन थालिन् । समस्या समाधानका लागि आवाज उठाउने र पीडितको न्यायका लागि सम्बन्धित निकायको ढोका ढकढक्याउन अग्रसर रहिन् । मानवअधिकार हनन् र महिला हिंसा विरुद्ध आवाज उठाउन थालिन् ।
यस बीचमा दलित महिला संघमा पनि आबद्ध भएर काम गरिन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा गोरखा नगरपालिकाको कार्यपालिका सदस्य बनिन् । नगर कसरी चल्छ भन्ने कुरा सिक्ने अवसर पाइन् । स्थानीय तह निर्वाचन २०७९ मा गोरखा नगरपालिका वडा नम्बर १३ को अध्यक्ष पदमा निर्वाचित भइन् । तीन वर्षदेखि कुनै न कुनै कम्युनिष्ट घटकबाट वडा अध्यक्ष जित्दै आएकोमा यो वडामा मित्रकुमारीले पहिलो पटक कांग्रेसको झण्डा गाडिन् ।
महिला त्यसमाथि दलित, चुनाव जित्न उनलाई त्यति सहज थिएन । प्रचारप्रसारका समयमा पनि लाञ्छित भनाइहरू सुन्नुपथ्र्यो । उनका अगाडि नभने पनि पछाडि कुरा काट्नेहरू ‘दमिनीलाई नमस्ते गर्नुपर्ने भो’ भन्न समेत भ्याउँथे । तर उनी यस्ता लाञ्छनालाई बेवास्ता गर्दै अघि बढिन् ।
गोरखा नगरपालिकाका १४ वटा वडामा नेतृत्व गर्ने अध्यक्षमध्ये महिला उनी मात्रै हुन् । स्थानीय तहमा दलित महिलाले नेतृत्व गर्न विरलै पाउने अवसर उनले पाएकी छिन् । जिल्लाका कुल ९४ वडामा उनी सहित अन्य दुई वडाको अध्यक्षमा मात्रै महिलाको नेतृत्व छ । त्यसमध्ये पनि दलित समुदायको तर्फबाट नेतृत्व गर्ने उनी एक मात्र वडा अध्यक्ष हुन् ।
उनले जितेका वडामा बाहुन क्षेत्रीको बाहुल्य छ । दलित त्यसमाथि महिला नेतृत्व तहमा पुग्दै गर्दा काम गर्न भने त्यति सहज परिस्थिति नहुने उनको बुझाइ छ । अप्रत्यक्ष रूपमा भए पनि महिला र दलितप्रतिको भिन्न दृष्टिकोणका भावहरू केही वडावासीहरूबाट झल्किने उनी महसुस गर्छिन् ।
भन्छिन्, ‘प्रत्यक्ष रूपमा देखाउँदैनन्, तर भित्री रूपमा दलित त्यसमाथि महिला भनेर अलि अर्कै व्यवहार देखाए जस्तो गर्छन्, त्यो मैले महसुस गर्छु ।’ नगरपालिकामा हुने वडाध्यक्षहरूको बैठकमा पनि कहिलेकाहीं आफू हेपिएको महसुस गर्ने गरेको उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘अलिअलि विभेदको गन्ध त आउँछ तर बेवास्ता गर्दै जनताको सेवामा लाग्छु ।’
‘बैठकमा मैले उठाएका कुरालाई बेवास्ता गर्ने र मैले लगेका वडाका योजना र प्रस्तावलाई खासै सुनुवाइ गरेको देख्दिनँ’ उनले भनिन्, ‘त्यो हुँदा म महिला भएर हेपेको हो कि जस्तो लाग्छ ।’ आफ्नो वडाका योजनामा कमै बजेट विनियोजन हुने गरेको र पालिका नेतृत्वबाट खासै साथ र सहयोग पाउन नसकेको उनको भनाइ छ ।
प्रदेश र संघबाट पनि बजेट ल्याएर वडामा विभिन्न योजनाका कामहरू अघि बढाइएको उनी बताउँछिन् । उनका अनुसार, अहिले उनको वडामा चेपाङटारी, गल्छिना र दराई गाउँलाई लक्षित गरी ६५ लाखको दरौंदी लिफ्ट सिंचाइ आयोजना बन्दैछ ।
केही वर्षदेखि अलपत्र उक्त योजनाको काम वडाध्यक्ष परियारकै पहलमा थप बजेट विनियोजन भएर अघि बढेको हो । ‘शुरू भएको काम रकम अभावका कारण अलपत्र परेको रहेछ, मैले सम्बन्धित निकायमा गएर पहल गरेपछि अहिले रकम आएर काम अघि बढेको हो’, उनले भनिन् ।
त्यस्तै ६ करोड लागतमा वडा कार्यालय जाने मझुवा बैटारी हटिया सडक कालोपत्रेको काम भइरहेको छ । संघ र प्रदेशको रकमबाट अन्य सिंचाइ र खानेपानी योजनाका कामहरू पनि अहिले धमाधम भइरहेको उनले बताइन् । त्यसका लागि उनी पटक–पटक मन्त्रालय समेत धाउने गरेकी छन् ।
वडाध्यक्षको शपथ ग्रहणसँगै उनले सुशासन र भ्रष्टाचाररहित वडा बनाउने प्रण गरेकी थिइन् । वडाका सबै जनप्रतिनिधि र कर्मचारीलाई घूस नलिने सामूहिक प्रतिबद्धता समेत गराइन् । वडा कार्यालयको भवन र त्यहाँसम्म पुग्ने पक्की सडकको उनको प्रतिबद्धता अहिले पूरा हुँदैछ ।
उनको अधिकांश समय वडावासीको सेवामा बित्ने गर्छ । तिरो तिर्ने र सिफारिश लिने कामका लागि वडा कार्यालय धाउनुपर्ने अवस्थालाई उनले सहजीकरण गरिदिन्छिन् । उनी भन्छिन्, ‘उहाँहरू आफैं उपस्थित नभए पनि दिन मिल्ने सिफारिशका लागि मोबाइलबाट आवश्यक डकुमेन्ट मगाएर बनाइदिने गरेकी छु र उहाँहरूको घरमा पुर्याइदिने पनि गर्छु ।’
वडा कार्यालय आउजाउका लागि सेवाग्राहीलाई अनावश्यक दुःख दिन नचाहेको उनी बताउँछिन् । वडा कार्यालयमा बसेर सेवा दिनेसँगै विभिन्न योजना अनुगमनमा पनि उनको दौडधुप उत्तिकै हुन्छ । ‘बिदाको दिन पनि घर बस्न खासै मन लाग्दैन, वडाकै काम र वडावासीकै सेवामा दिन बित्छ’, उनले भनिन् ।
पहिलो वर्ष कामको सिलसिलामा उनले केही आलोचना खेप्नुपर्यो । वडामा उनी अनुपस्थित हुँदा सेवा ठप्प हुने गर्थ्यो । सेवाग्राहीले दुःख पाउँथे । निमित्तको जिम्मेवारी दिन थालेपछि अहिले उनको अनुपस्थितिमा पनि कुनै सेवा रोकिंदैन । एक वर्षको अनुभवले उनलाई यो कुरा सिकाइदियो । ‘पहिलो वर्ष कार्यवाहक दिने कुरा थाहै भएन, म बिदामा हुँदा सेवा नै रोकिन्थ्यो । अहिले म कतै जानुपर्यो भने निमित्त दिएर जान्छु, कुनै सेवा रोकिंदैन’, उनले भनिन् ।
विशेषगरी महिला सशक्तीकरणका कार्यक्रमहरू उनको प्राथमिकतामा छन् । आयआर्जनसँग जोडिएका महिला लक्षित कार्यक्रमहरू उनले वडामा सञ्चालन गर्दै आएकी छन् । समाजमा अझै पनि छुवाछूत र जातीय विभेदको अन्त्य भइनसकेको उनी बताउँछिन् । विवाह भएर आएपछि धारामा जाँदा आफूमाथि जातीय हिसाबले भेदभाव भएको बिर्सेकी छैनन् ।
उनी भन्छिन्, ‘विवाह गरेर आएपछि धारामा जाँदा छोइएला जस्तो गर्थे, अहिले वडाध्यक्ष भएपछि त्यस्तो विभेद गरेको थाहा छैन ।’ समाजमा यस्ता विभेदहरू कायम रहेकाले त्यसको अन्त्य गर्नुपर्ने उनको भनाइ छ । उनका भनाइमा, अशिक्षा र कमजोर आर्थिक अवस्थाका कारण महिला र दलितमाथि फरक व्यवहार हुने गर्छ ।
‘छुवाछूत र जातीय तथा लैङ्गिक विभेद अन्त्यका लागि शिक्षा आवश्यक छ, त्यसका लागि गाउँ–गाउँमा अभियान सञ्चालन हुनुपर्छ’, उनले भनिन् । महिला सशक्तीकरणका लागि थप कामहरू गर्ने र छुवाछूत र जातीय विभेद विरुद्ध सचेतना फैलाउन अग्रसर रहने उनले बताइन् ।
वडाध्यक्ष भएसँगै उनको व्यस्तता पनि बढेको छ । योजना अनुगमन, बैठक लगायत विभिन्न कार्यक्रममा पनि सहभागी हुनुपर्ने बाध्यता छ । ४९ बसन्त पार गरिसकेकी उनी गृहिणी समेत हुन् । सबै काममा समय व्यवस्थापन गर्न त्यति सहज छैन तर, यसमा उनी अब्बल देखिएकी छन् ।
स्थानीय शम्भु अधिकारीले वडा अध्यक्ष परियारको खुलेर प्रशंसा गरे । ‘वडा कार्यालयबाट दिने सेवा त छँदैछ व्यक्तिगत समस्यामा पनि सहयोग गर्न उहाँ उत्तिकै अग्रसर हुनुहुन्छ’ उनले भने, ‘वडाभित्रका सबैजसो कार्यक्रममा सहभागी हुने, वडावासीको गुनासो सुन्ने गर्नुहुन्छ । महिलालाई भोट दिएर गल्ती पो भयो कि भन्ने अवस्थै छैन ।’
आगामी लक्ष्य के छ भन्ने अनलाइनखबरको प्रश्नमा उनले भनिन्, ‘जनताको चाहना अनुसार म राजनीति र सामाजिक सेवामा अग्रसर हुँदै जान्छु । म गैरदलित पुरुष बराबर काम गर्न सक्छु, त्यसैले नेतृत्व तहसम्म पुगेर काम गर्न सकिन्छ भन्ने उदाहरण आफू बन्न चाहन्छु ।’ यसको स्वाभाविक अर्थ भनेको, आगामी निर्वाचनमा उनका आँखा नेतृत्वको कुर्सीतिर हुनेछन् ।