+

सहाराविहीनकी सरकारी वकिल

पूरा सूची
Shares
सावाँ अक्षर नचिन्ने हजुरबाले वृद्ध भत्ता बचाएर पढाएकी नातिनी अहिले देशको सरकारी वकिल छिन् । आमाले छोरी जन्माएको भनेर बाबुले छाडेपछि मावलीमै बसेर पढेकी ममता श्रेष्ठ भन्छिन्, ‘मैले र आमाले खेपेभन्दा चर्को हिंसा यो समाजमा छ ।’ 
ममता श्रेष्ठ

केही महिनाअघिको कुरा हो, कीर्तिपुरमा एक शिक्षिकाले छिमेकी महिलालाई बोक्सीको आरोपमा दुर्व्यवहार गरिन् । त्यो देखेर ममताको मथिंगल हल्लियो । अशिक्षा, अज्ञानताका कारणले कुरीति र लैंगिक विभेद भएको ठानिने समाजमा २५ वर्षीया शिक्षिकाले छिमेकीलाई बोक्सीको आरोप लगाएकी थिइन् । 

भावुक बनेकी ममताले काठमाडौं जिल्ला अदालतमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको यात्री कविताबाट बहस शुरू गरेर भनिन्, ‘एउटा शिक्षिकाले एक वृद्धालाई यो हदसम्म लाञ्छित गर्नु सामान्य कुरा हुँदै होइन ।’ 

करीब डेढ वर्षअघिको अर्को घटना पनि ममताको मनमा ताजै छ । उपत्यकाको ग्रामीण भेगमा एक जना ४५ वर्षीया महिलाको लडेर खुट्टा मर्किएको रहेछ । नजिकैको मेडिकल पसलेले घाइतेलाई बेडमा सुताएर इन्जेक्सन लगाइदिए । अर्धचेत अवस्थामा रहेकी उनीमाथि स्वास्थ्यकर्मीबाटै जबर्जस्ती करणी (बलात्कार) भयो ।

आफ्नो गोप्यतामा साह्रै चिन्तित पीडितले सरकारी वकिलको कार्यालयमा आउनासाथ महिला वकिल मिलाइदिन हारगुहार गरिन् । ‘समाजले मलाई नै दोष दिन्छ कि भन्ने डर छ’ भन्दै उनी काँपिरहेकी थिइन् । ममताले उनलाई कानूनी सहयोग मात्रै होइन, सकेको मनोवैज्ञानिक परामर्श समेत गरिन् । 

‘यहाँ पो तपाईंहरूले सरकारी वकिल छान्न पाउनुहुन्छ, सबैतिर यस्तो सुविधा हुँदैन’ ममताले उनलाई भनिछन्, ‘अदालतमा न्यायाधीश छान्न मिल्दैन, धेरैजसो पुरुष न्यायाधीश हुन्छन् । उनीहरूलाई देखेर डराउनुहँुदैन, आफ्नो कुरा स्पष्ट राख्न नसके मुद्दा कमजोर हुन्छ । मुद्दा कमजोर भएपछि हामीले जति चिच्याएर बहस गरे पनि तपाईंले न्याय पाउन कठिन हुन्छ ।

०००

ललितपुर कुपण्डोलकी ममता श्रेष्ठ थापाथली प्रसूति गृहमा जन्मिइन्, कुपण्डोलमा नै हुर्किइन् । आमाले दुई छोरी जन्माएपछि बाबुले उनीहरूलाई हेला गरे । उनीहरू कुपण्डोलको मामाघरमा हुर्किए । 

थसिखेलको उड्सभिल स्कूलबाट एसएलसी पासपछि ममताले जावलाखेलको डीएभी कलेजबाट विज्ञान विषयमा ‘प्लस टु’ गरिन् । आफ्नो र आमाको न्यायका लागि कानून पढ्ने विचार गरिन् । उनलाई मामाले ‘ल पढ्नेहरूको कोठाभरि किताब हुन्छ, तिमी सक्दैनौं कि ?’ भनेर विकल्प सोच्न पनि सुझाए । उनले कानून नै पढ्ने अठोट गरिन् र प्रवेश परीक्षामा नाम निकालिन् । मामाले खुशीले लड्डु खुवाए । 

उनले नेपाल ल क्याम्पसबाट पाँचवर्षे बीएएलएलबी गरिन् । बार काउन्सिलको जाँच पास गरिन् अनि एलएलएम पढ्न थालिन् । न्यायसेवाको अधिकृतका लागि प्रतिस्पर्धामा उनको नाम निस्कियो, उनले सरकारी वकिल समूह रोजिन् । 

तीन वर्षको अवधिमा तीन वटा सरकारी वकिलको कार्यालयमा काम गर्दा उनीसँग अनेक अनुभव थपियो, समाजमा आफू र आमाले खेपेको भन्दा चर्को हिंसा व्याप्त रहेको महसुस गरिन् । राजधानीको चक्रपथ बाहिरको संसार नदेखेकी उनले मुद्दाको मिसिलबाट नेपाली समाजको ऐना देख्ने मौका पाइन् । 

‘एउटा कानून व्यवसायीको पहिलो मुद्दा, त्यो पनि आफ्नै बाबुको विरुद्ध’ उनले फेसबुकमा आफ्नो फोटो सहित लेखिन्, ‘प्रहरी चौकीभित्र मलाई एउटा उजुरी लेख्न पाँच मिनेट पनि लागेन, जबकि मेरी आमालाई एउटा उजुरी दर्ता गर्न २२ वर्ष लाग्यो ।’

उच्च सरकारी वकिलको कार्यालयमा रहँदा सहायक न्यायाधिवक्ता ममताले बहस गर्ने सीप सिकिन् । बहसकलामा वर्षौं बिताएका र बजारमा नाम चलेका कानून व्यवसायीहरूको तर्कलाई कसरी खण्डन गर्ने भन्ने मेसो पाइन् । जिल्ला सरकारी वकिलको कार्यालयमा सरुवा भएपछि कामको दायरा अरू फराकिलो भयो । 

फौजदारी न्यायप्रणालीमा जाहेरीबाट शुरू हुने अनुसन्धान अभियोजन हुँदै माथिल्लो तहमा पुनरावेदन गर्दासम्म सरकारी वकिलको भूमिका रहन्छ । कम्तीमा दिनकै १० वटा मुद्दा हेर्ने सरकारी वकिल फौजदारी न्यायप्रणालीको विज्ञ समेत हो । मुद्दा अभियोजन, बहस बाहेक फैसलापछि पुनरावेदन तहमा जाने भए त्यसको मस्यौदा गर्ने र नजाने भए नजिरहरू समेत खोजेर राय सहित फाइल पेश गर्ने काम सरकारी वकिलहरूको हो । 

कानून अनुसार, सरकारी वकिलहरूले अनुसन्धान गर्नेहरूलाई निर्देशन दिन पाउँछन् । अनुसन्धानका क्रममा कतिपय सरकारी वकिलहरूको मौखिक निर्देशन प्रहरीले सहजै स्वीकार्छन् । कतिपयले कुर्सीमा बसेकी महिला र भर्खरैकी किशोरी देखेर निर्देशन सुन्न आनाकानी गर्छन्, ममतासँग यदाकदा त्यस्तो अनुभव पनि छ । 

‘अरू साथीहरूले मौखिक निर्देशन दिंदा पुग्छ होला, त्यस्तो अवस्थामा मैले कानूनी औजार प्रयोग गरेर लिखित निर्देशन दिने गरेकी छु’ उनी भन्छिन्, ‘अनुसन्धानमा भएको कमजोरी औंल्याएर कानूनी दफाका आधारमा लिखित निर्देशन दिएपछि आनाकानी गर्ने सम्भावना रहँदैन, पालना गर्न बाध्य हुन्छन् ।’ 

कार्यक्षेत्रहरूमा विभेदका अवशेषहरू बाँकी रहेको स्वीकार्ने उनी तुलनात्मक रूपमा अदालतको इजलासहरूमा आफूले कमै विभेद महसुस गरेको बताउँछिन् । लैंगिक हिंसाका घटनामा भने महिला सरकारी वकिलहरूले गर्ने अनुभव ठिक उल्टो हुँदोरहेछ । संवेदनशील पीडा र कठिनाइ भोगेका पीडितहरू पुरुषहरूको तुलनामा महिला सरकारी वकिलहरू देखेमा आफ्नो अवस्था बताउन र पीडा पोख्न सहज मान्छन् । 

केही वर्ष काम गरेर छिट्टै न्यायाधीश बन्ने अवसरहरू आइरहने भएकाले न्याय सेवामा न्यायप्रशासन समूह (अदालतका कर्मचारीको क्षेत्र) मा तुलनात्मक आकर्षण छ भने सरकारी वकिल समूह कमैको रोजाइमा पर्छ । उनी भने अरू विधाभन्दा सरकारी वकिल समूहमै आकर्षित थिइन् । 

लोकसेवामा नाम निस्किएपछि ममतालाई पीडितको तर्फबाट वकालत गर्न पाइने अवसरले आकर्षित गरेको थियो । ‘मलाई म र मेरो आमा जस्तो मान्छेको पक्षमा वकालत गर्नुछ । त्यसैले आगामी दिनमा पनि सरकारी वकिलमा नै करिअर अघि बढाउने सपना देखेकी छु’ उनी भन्छिन्, ‘पीडितहरूको न्यायका लागि लड्न पाउने भएकाले नै मैले कानून पढेकी हु । पीडितहरूको अधिकारका लागि लड्नु त मेरो सपना हो ।’

सरकारी वकिलहरूले आफ्नो बहसको ठूलो समय ‘आरोपितहरूलाई थुन्नुपर्छ, कैद गर्नुपर्छ’ भन्ने तर्कमा बिताउने गर्छन् । जन्मसिद्ध स्वतन्त्रताको अधिकार अंकुश हुने गरी आरोपितहरूलाई थुन्नुपर्ने वकालत उनीहरूको हुन्छ । 

‘कुनै मानिसको स्वतन्त्रताले अरूको स्वतन्त्रतामा ज्यादा हानि पुग्छ भने मात्रै व्यक्तिको स्वतन्त्रता निलम्बन गरी थुनिने हो । उसको स्वतन्त्रताले अरूलाई हानि हुन्छ भनेर दाबी गर्ने अधिकार सरकारलाई मात्रै छ’ ममता भन्छिन्, ‘आरोपितहरूको स्वतन्त्रताले पीडितको अधिकार र अमनचयन हनन् हुने भएकाले थुन्नैपर्छ भनेर वकालत गर्ने हो ।’ 

सरकारी वकिलबारे घरसमाजको आ–आफ्नै बुझाइ देखेर ममता छक्क पर्छिन्, कहिलेकाहीं उनलाई दिक्क लाग्छ । शहरी बस्तीहरूमा नै सरकारी वकिललाई ‘निःशुल्क बहस गर्ने वकिलहरू’ भन्ने बुझाइ रहेछ । साथीसंगीहरूले उनको भूमिका र कामबारे सोध्छन्, अनि ‘तिमी त फ्रिमा मुद्दा लड्ने सरकारी वकिल होइन ? मेरो पनि मुद्दा छ, हेरिदिन मिल्दैन ?’ 

दुई वर्षअघिको कुरा हो, लोकसेवामा नाम निकाल्नासाथ घर फर्किंदा हजुरबा खुशीले दंग थिए । हजुरआमाले पटक–पटक ममताको अनुहारमा हेरिन् । सावाँ अक्षर चिन्नबाट वञ्चित वृद्ध दम्पतीका लागि नातिनीको यो उपलब्धि कता हो कता ठूलो थियो । 

हजुरआमाले उनलाई सोधिन्, ‘तिमी सुब्बा जत्तिको हो ? कि सुब्बा भन्दा माथिल्लो हो ?’ जवाफ पाएपछि शुरूमा पत्याउनै गाह्रो भयो । राम्ररी नेपाली बोल्न समेत नसक्ने हजुरबाले वृद्धभत्ता बचाएर नातिनीको पढाइका लागि अनेक उपाय गरेकी थिइन् । सुब्बासम्मको पदबारे मेसो पाएकी उनी पहिलो प्रयासमै नातिनी त्योभन्दा माथिल्लो पदमा पुगेकोमा गद्गद् थिइन् । 

‘नातिनीले केही गर्ली’

अध्ययनका क्रममा ममताले अनेक हन्डर खाइन्, पाठ सिकिन् । पाँचवर्षे एलएलएमका क्रममा उनले ल फर्ममा गएर इन्ट्रनसिप गर्नुपर्ने भयो । पाँचवटा फर्ममा आवेदन दिए पनि कसैले स्वीकारेनन् । उनले ललितपुर महानगरपालिकामा आवेदन दिइन्, कानून महाशाखा प्रमुख खगेन्द्र वस्तीले बोलाए, उनले महानगरमा पुगेका कानूनी विवादका विषयमा काम सिक्न थालिन् । 

‘मैले महसुस गरें कि हामी जस्ता साधारण पृष्ठभूमिबाट आएकाले कडा संघर्ष र प्रतिस्पर्धा गर्नुपर्ने रहेछ । त्यसपछि अझै मिहिनेत गर्न थाले’ उनी भन्छिन्, ‘अनि बल्ल कानूनको पढाइको गहिराइ थाहा भयो । अन्ततः म नेपाल ल क्याम्पसको प्रवेश परीक्षामा पहिलो भएँ । त्यो मेरो परिश्रम र समर्पणको प्रतिफल थियो ।’ 

विस्तारै उनको जिम्मेवारी फराकिलो हुँदै गयो । महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको वारेस भएर अदालतहरूमा जान थालिन् । महानगरपालिकाका करीब २ हजार मुद्दामा वारेस भएर काम गरेको बताउँदा उनलाई गर्व लाग्छ । तीन महिने इन्ट्रनसिपका लागि महानगरपालिका गएकी उनी तीन वर्षजति पारिश्रमिक सहित करारमा काम गरिन् । उनी भन्छिन्, ‘त्यतिबेला बल्ल मलाई पढ्नुपर्ने रहेछ भन्ने ज्ञान भयो ।’

कार्यालय बाहेक ममता कानून अध्यापनमा सक्रिय छन् । राजनीतिप्रतिको दिग्दारीका कारण निर्वाचन प्रक्रियामा सामेल हुन छाडेको शहरी क्षेत्रका युवालाई सक्रिय बनाउँदै छिन् । समुदायमा आधारित भएर ‘जेनभोट’ नामक अभियानले युवा समुदायलाई निर्वाचन प्रक्रिया र मतदानप्रति प्रेरित गर्छ । बँचेको समयमा टिकटकबाट कानून सम्बन्धी ज्ञानगुनका कुरा बाँड्छिन् । 

अब ममतासँग केही खास सपना छन्, गुमाउनै नहुने खालका । २०८३ सालपछि उनलाई उपसचिवमा प्रतिस्पर्धा गर्ने बाटो खुल्छ । त्यसभन्दा अघि नै राम्रो अंक ल्याएर कानूनमा स्नातकोत्तर (एलएलएम) गर्नु छ । ‘नातिनीले केही गर्ली’ भन्ने हजुरबा/हजुरआमाहरूको आशामा पालुवा भर्नु छ । मामाहरूको हौसलालाई सार्थक बनाउनु छ । 

‘मेरो र आमाको अवस्था सुधार्ने हो भने मैले पढ्नुपर्छ भन्ने अठोट थियो, त्यसैले यहाँसम्म आइपुगेकी हुँ’ उनी भन्छिन्, ‘पीडितहरूको न्यायका लागि म लडेको देख्दा आमा निकै खुशी हुनुहुन्छ । मैले उहाँको खुशीका लागि पनि अझै मिहिनेत गर्नुपर्नेछ ।’

पहिलो मुद्दा नै आफ्नी आमाको 

पाँचवर्षे कानूनको स्नातक सकेपछि उनले बार काउन्सिलको जाँच दिइन्, कानून व्यवसायीको लाइसेन्स निकालिन् । कानूनको स्नातकोत्तर (एलएलएम) प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएकी उनी पहिलो दिन नेपाल ल कलेजमा पुग्न कम्ती उत्साहित थिइनन् । 

९ चैत, २०७७ को दिन । मास्टर्सको पहिलो कक्षा लिन ममता नेपाल ल क्याम्पस पुग्नुपर्ने थियो, तर उनी हान्निएर जिल्ला प्रहरी कार्यालय इलाम गइन् । ‘एउटा कानून व्यवसायीको पहिलो मुद्दा, त्यो पनि आफ्नै बाबुको विरुद्ध’ उनले फेसबुकमा आफ्नो फोटो सहित लेखिन्, ‘प्रहरी चौकीभित्र मलाई एउटा उजुरी लेख्न पाँच मिनेट पनि लागेन, जबकि मेरी आमालाई एउटा उजुरी दर्ता गर्न २२ वर्ष लाग्यो ।’ 

पढाइमा सिकेको सीप आफ्नै लागि प्रयोग गर्न पाउनेहरू कति खुशी होलान् ? सिकारु इन्जिनियर आफ्नो घरको डिजाइन गर्न पाए कति फुरुङ्ग पर्ला ? भर्खरै डाक्टर बनेको व्यक्तिले आफन्तकै पहिलो उपचार गर्न पाउँदा कति दंग होला ? 

ममता श्रेष्ठका लागि त्यो कुरा ठिक उल्टो भयो, संघर्षका साथ पढेर प्राप्त गरेको कानून व्यवसायको सीपको पहिलो प्रयोग बाबु विरुद्ध गर्नुपर्‍यो । आमाको न्यायका लागि त्यति अप्रिय निर्णय गर्नुपरे पनि उनलाई गर्व छ । उनले त्यसबारे विस्तृतमा प्रतिक्रिया दिन चाहिनन् । 

ल क्याम्पसमा एलएलएम पढ्दै गर्दा ममताको व्यस्तता र मिहिनेत बढ्यो । बिहान एलएलएमको कक्षा, दिउँसो महानगरपालिकाको काम, कतै कोचिङ र क्लास नलिई हरेक साँझ लोकसेवाको तयारी गरिन् । नाम निस्केपछि चाहिं उनमा द्विविधा भयो । 

प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएकी उनले पहिलो सेमेष्टरमा पनि त्यही उपलब्धि पछ्याएर उत्कृष्ट भएकी थिइन् । एकाएक जागिर शुरू गर्दा पढाइ बिथोलिन्छ कि भनी उनी चिन्तित भइन् । ल क्याम्पसका प्रमुख डीएन पराजुली, विजयकुमार मिश्र लगायतले लोकसेवाबाट प्राप्त उपलब्धि नगुमाउन सुझाव दिए । अनि सरकारी वकिलको नियुक्तिपत्र बुझिन् । उच्च सरकारी वकिलको कार्यालय, पाटनमा पहिलो पोस्टिङ भयो । 

पढाइ सकिनासाथ उपत्यका बाहिरको कार्यक्षेत्र रोज्ने, त्यहाँ नियमित कामका साथै अरू थप खोज अनुसन्धान गर्ने मनस्थितिमा छिन् उनी । ममता भन्छिन्, ‘जहाँ बढी महिला हिंसा र कसुरजन्य घटना हुन्छन्, मलाई त्यहीं गएर काम गर्न मन छ ।’

पहिलो पटक उच्च अदालत, पाटन पुग्दा पाइला अल्मलिन थाले, नौ–नाडी फतक्कै गले, उनलाई बेस्सरी डर लाग्यो । एमबीबीएस पास गरेको डाक्टर पहिलो पटक सोझै अपरेसन थिएटरमा पुगे जस्तै । जिल्ला अदालतले थुनेको विरोधमा हत्या सम्बन्धी घटनाका आरोपितले धरौटीमा रिहा हुन उच्च अदालतमा निवेदन दिएका थिए, उनले त्यही मुद्दामा बहस गर्नुपर्ने भयो । 

ममता श्रेष्ठले मुद्दाको मिसिल लिएर घर गइन्, अनि बिहान ४ बजे उठेर तयारी गरिन् । बहसपछि न्यायाधीशले जिल्ला अदालतकै आदेश सदर गरे, उनलाई मुद्दा नै जिते जस्तो भयो । त्यसयता उनले दुई वर्षको अवधिमा करीब १५ सय जति त घरेलु हिंसा, यौनसँग सम्बन्धित अपराधका मुद्दाहरू हेरिन् । केही महिना जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा काम गरेकी उनी अहिले ललितपुरमा कार्यरत छिन् ।

समाजको दोहोरो अनुहार

मुद्दाका मिसिलमा घोत्लिंदा उनले पीडकको आरोप लागेका, पीडित, उनका आफन्तहरूको मनोविज्ञान पढ्न पाइन् । उनलाई समाजको दोहोरो चरित्र देखेर आश्चर्य लाग्न थाल्यो । सरकारी वकिलको कार्यालयमा बेलाबेलामा आउनेहरूले गर्ने व्यवहार र मनोवृत्तिले उनको मथिंगल नराम्रोसँग हल्लाउँदो रहेछ । 

घरेलु हिंसा, यौन दुर्व्यवहार, बलात्कार लगायत मुद्दाका आरोपितहरूलाई बयान तथा अरू कामका सिलसिलामा सरकारी वकिलको कार्यालयमा लगिन्छ । सहायक न्यायाधिवक्ता श्रेष्ठले उनीहरूलाई निर्धक्कको मनस्थितिमा भेट्छिन् । 

आरोपितहरूले ‘मैले अपराध गरेकै हैन’, ‘हाम्रो सहमतिमै त्यस्तो भएको हो’, ‘त्यो बच्चालाई मैले नै संरक्षण गरेको हो’, ‘मैले उसलाई यसो छोएको मात्रै हो’ भनेर निर्धक्क आफ्नो बचाउ गरिरहेका हुन्छन् । न उनीहरूको अनुहारमा ग्लानिबोध देखिन्छ, न पश्चात्ताप । १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोप खेप्नेहरू निसंकोच र निर्धक्क देखिन्छन् । 

त्यसको ठिक उल्टो, पीडितहरू मास्क लगाएर विस्तारै आउँछन् । बाहिर कसैले आफूलाई देख्ला कि भनेर सुटुक्क भित्र पस्छन् । कोही बालबच्चा लिएर आउँछन् र रुन्छन् । बलात्कृत छोरीलाई लिएर आउने आमाहरूले पछ्यौराले अनुहार छोप्छन् । पीडितका साक्षीहरू पनि करीब–करीब त्यही मनोवृत्तिबाट गुज्रिरहेका हुन्छन् । कोही त आफूलाई हिंसा गर्नेलाई नै छुटाइदिन अनुनयविनय गर्छन् । 

‘हाम्रो समाजले पीडितलाई नै लाञ्छना लगाउँछ । तिमी बलात्कारमा पर्‍यौ किनभने तिमी गलत थियौ भन्ने सोच समाजमा व्याप्त छ’ तीन वर्ष फौजदारी मुद्दाबाट समाज पढ्न पाउँदा उनको अनुभवले भन्छ, ‘किन छोटा लुगा लगाएको ? किन केटाहरूसँग बसेर रक्सी खाएको ? किन रातिराति बाहिर डुलेको ? भनेर समाजले महिलालाई प्रश्नैप्रश्न तेर्स्याउँछ । जबकि पुरुषमाथि कुनै प्रश्न हुँदैन ।’

ममता अहिले अन्तर्राष्ट्रिय कानून र संवैधानिक कानून अध्ययन गरिरहेकी छन् । नेपाल पक्ष रहेको अन्तर्राष्ट्रिय सन्धिहरूले देशलाई महिला हिंसा विरुद्ध विशेष दायित्व तोकेको छ । पढाइ सकिनासाथ उपत्यका बाहिरको कार्यक्षेत्र रोज्ने, त्यहाँ नियमित कामका साथै अरू थप खोज अनुसन्धान गर्ने मनस्थितिमा छिन् उनी । ममता भन्छिन्, ‘जहाँ बढी महिला हिंसा र कसुरजन्य घटना हुन्छन्, मलाई त्यहीं गएर काम गर्न मन छ ।’

फोटोः शंकर गिरी

लेखक
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।